थाइल्याण्डको अर्थतन्त्रमा वृद्धिको सङ्केत
फागुन ९, बैङ्कक (थाइल्याण्ड) । थाइल्याण्डको अर्थतन्त्रमा २०१० को चौथो त्रैमासमा फेरि वृद्धिको सङ्केत देखापरेको छ । थाइ अर्थतन्त्रमा केही समय मन्दी देखापरेको थियो । तर, सुदृढ निर्यात र घरेलु खपतमा भएको वृद्धिले अर्थतन्त्रमा सुधार आएको सोमवार प्रकाशित तथ्याङ्कले देखाएको छ । अक्टोबरदेखि डिसेम्बरसम्मको त्रैमासको कुल गार्हस्थ्य उत्पादन(जीडीपी) अघिल्लो त्रैमासको भन्दा १ दशमलव २ प्रतिशतले बढेको छ । त्यसैगरी अघिल्लो वर्षको सोही अवधिमा भन्दा ३ दशमलव ८ प्रतिशतले बढेको सरकारी आर्थिक योजना निकायले बताएको छ । अर्थतन्त्रमा २०१० मा ७ दशमलव ८ प्रतिशतको वार्षिक औसतले वृद्धि भएको पनि उक्त निकायले जानकारी दिएको छ । सेप्टेम्बरसम्मको लगातार दुइ त्रैमाससम्म थाइ अर्थतन्त्र खुम्चेको थियो, जसलाई प्राविधिक रूपले मन्दीको अवस्था भनिन्छ । बलियो थाइ मुद्रामा र विश्वव्यापी अर्थतन्त्रमा आएको उतारचढावका कारण त्यस्तो मन्दी आएको थियो । तर, तुलनात्मक रूपले निकै सानो खुम्चाइ मन्दी नभएर वृद्धि पथमा आएको बाधामात्र रहेको अर्थशास्त्रीहरूको व्याख्या छ । साथै, २०११ मा भने वृद्धि सुस्तिएर ३ दशमलव ५ देखि ४ दशमलव ५ प्रतिशतमा रहने बताइएको छ । एएफपी/रासस
तेल र सुनको मूल्यमा वृद्धि
फागुन ९, लण्डन (ब्रिटेन) । लिबियामा जारी हिंसाका कारण तेलको मूल्यमा साढे दुइ वर्षयताकै उच्च वृद्धि भएको छ । तेलका मूल्यबारेको अनिश्चितताका साथै ब्याजदर बढ्ने सम्भावनाका कारण यूरोपेली शेयर बजार तल ओर्लेका छन् । मुद्रास्फीतिको चिन्ता र जोखिमयुक्त लगानीबाट जोगिने प्रवृत्तिका कारण सुनको मूल्य सात हप्ता यताकै उच्च बिन्दुमा पुगेको छ । ब्रेण्ट आयलको मूल्य २ डलर प्रतिब्यारेलले बढेर १ सय ४ दशमलव ४७ डलर पुगेको छ । उक्त मूल्य साढे २ वर्षयताकै उच्च हो । त्यसैगरी एशियाली बजारमा मार्चमा आपूर्ति हुने कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ८७ दशमलव ८७ डलर पुगेको छ । रोयटर्स
भारतमा बीपी र रिलायन्सको साझेदारी
फागुन ९, लण्डन (ब्रिटेन) । ऊर्जा क्षेत्रको अन्तरराष्ट्रिय कम्पनी ब्रिटिस पेट्रोलियम (बीपी)ले हालसम्मकै ठूलो मध्येको प्रत्यक्ष विदेशी लगानी भारतमा गर्ने भएको छ । भारतको रिलायन्स इण्डष्ट्रिजमार्फत तेल र ग्यासको क्षेत्रमा बीपीले त्यस्तो लगानी गर्ने भएको हो । त्यसअन्तर्गत बीपीले रिलायन्सको २३ ओटा तेल र ग्यास ब्लकको ३० प्रतिशत हिस्सा ७ अर्ब २० करोड डलरमा खरीद गर्नेछ । साथै, बीपी र रिलायन्सबीच ग्यासको स्रोत खोजी र मार्केटिङ क्षेत्रमा ५०/५० प्रतिशतको संयुक्त लगानी रहनेछ । 'यो साझेदारीबाट दुबै कम्पनीका शीपलाई भारतीय समुद्रमुनिको ब्लकहरूमा तेल खोजीमा प्रयोग गरिनेछ । यसले भारतको ऊर्जा सुरक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ,’ रिलायन्सका अध्यक्ष तथा कार्यकारी निर्देशक मुकेश अम्बानीले भने । भारतीय बजारका विश्लेषकहरूले सम्झौताको स्वागत गरेका छन् । त्यसबाट भारतको लगानी क्षेत्रमा विश्वास बढ्ने र तेलको उत्पादनको सामर्थ्य बढ्ने उनीहरूको अपेक्षा छ । रिलायन्ससँगको साझेदारीबाहेक क्याष्ट्रोल इण्डिया लिमिटेडमार्फत गाडीको लुब्रिकेण्ट क्षेत्रमा पनि बीपीको भारतमा लगानी छ । रोयटर्स
भियतनामको विद्युत् महशुलमा उच्च वृद्धि
फागुन ९, हनोइ (भियतनाम) । भियतनामले आगामी महीनाबाट उसको विद्युत् महशुलमा हालसम्मकै उच्च १५ प्रतिशतले वृद्धि गर्नेभएको छ । त्यसबाट बढ्दै गइरहेको मुद्रास्फीति नियन्त्रण कार्यमा झनै कठिनाइ आउने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् ।भियतनामका प्रधानमन्त्री न्गुयेन तान दुङले मार्च १ देखि लागू हुने गरी महशुल वृद्धिलाई स्वीकृत गरेको त्यहाँको समाचारपत्र द लेबरले बताएको छ । द लेबरका अनुसार प्रतिकिलोवाट प्रतिघण्टा ६ सेण्टका दरले त्यस्तो वृद्धि हुनेछ । हालको वृद्धि सरकारको क्षमताले भ्याएसम्मको न्यून रहेको उद्योग तथा व्यापार उपमन्त्रीले बताएका छन् । अर्थशास्त्री फाम ची लानले भने सो वृद्धि हालसम्मकै उच्च भएकाले त्यसबाट महँगी नियन्त्रण गर्न सरकारलाई कठिनाइ हुने चेतावनी दिएका छन् । भियतनामको मुद्रास्फीति हाल १२ प्रतिशतमा रहेको छ । एपी/रासस
चीन-ताइवान ऐतिहासिक व्यापार वार्ता
फागुन ९, ताइपेइ (ताइवान) । चीन र ताइवानका व्यापार उपमन्त्रीहरूबीच यसै हप्ता ऐतिहासिक भेटवार्ता हुने भएको छ । दुइ पूर्व प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध सामान्यीकरणतर्फको कदमको रूपमा यस भेटवार्तालाई लिइएको छ । 'दुवै पक्षका प्रतिनिधिहरूबीच ६० वर्षपछि पहिलोपटक भेटवार्ता हुने भएको छ, जसलाई दुइ देशका सरकारको समेत र्समर्थन रहनेछ,’ ताइवानका स्ट्रेट्स् एक्सचेञ्ज फाउण्डेशनका प्रवक्ताले भने । चीनसँगको नागरिक सम्बन्ध सुधारको लागि पहल गर्न सो अर्धसरकारी संस्थालाई ताइवान सरकारले अनुमति दिएको छ । गत महीना ताइपेइ र बेइजिङले इकोनोमिक कोअपरेशन कमिटी भन्ने नयाँ संस्थाको स्थापना गरेका थिए । दुइ पक्षबीच गत वर्ष गरिएको व्यापार सम्झौताबाट उत्पन्न आर्थिक मुद्दालाई सम्बोधन गर्न कमिटीको स्थापना गरिएको थियो । गत ६० वर्षभन्दा बढी समयदेखि चीन र ताइवान छुट्टाछुट्टै सरकारबाट शासित छन् । तर, ताइवान आफ्नै भूभागको एक हिस्सा भएको दाबी गर्ने बेइजिङले आवश्यक परे बलपूर्वक भए पनि एकता गरिछाड्ने बताउँदै
आएको छ । एएफपी/रासस
आर्थिक मन्दीमा पनि हतियार विक्री बढयो
फागुन ९, स्टकहोल्म (स्वीडेन) । विश्वका १ सय ठूला हतियार व्यापारीहरूले २००९ मा कुल ४ खर्ब १ अर्ब डलरको हतियार विक्री गरेका छन् । स्टकहोम अन्तरराष्ट्रिय शान्ति अनुसन्धान शिक्षालय (इण्टरनेशनल पीस रिसर्च इन्षिटच्युट, सिप्री)ले सोमवार प्रकाशित गरेको प्रतिवेदनमा उक्त जानकारी दिइएको छ । त्यसमा अमेरिकी हतियार कम्पनीहरू सदा झैं पहिलो स्थानमा छन् ।'विश्वव्यापी अर्थतन्त्रमा २००९ भरि नै मन्दी कायम रहे तापनि कुल हतियार विक्रीमा भने २००८ को भन्दा १४ अर्ब ८० करोड डलरले वृद्धि भएको थियो,’ सिप्रीले एक वक्तव्यमा भनेको छ । वार्षिक ८ प्रतिशतले भएको सो वृद्धि २००२ पछि कुल ५९ प्रतिशतले वृद्धि भएको उक्त संस्थाले बताएको छ । त्यसमध्ये, २००९ को कुल विक्रीको ६१ दशमलव ५ प्रतिशत हिस्सा अमेरिकाका ४५ कम्पनीले मात्र ओगटेका छन् ।
अमेरिकी कम्पनी र अमेरिकी हतियार बजारमा पकड रहेका यूरोपेली कम्पनीका हतियार विक्रीमा वृद्धि हुनुको प्रमुख कारणमा अमेरिकी सरकारको सैन्य सामग्री र सेवामा गरिने खर्च रहेको छ । विश्वका १० सबैभन्दा ठूला हतियार कम्पनीमा सातओटा अमेरिकी रहेका सिप्रीको सूचीले देखाएको छ । त्यसैगरी प्रमुख १ सयमध्ये ३३ ओटा कम्पनी नौ पश्चिम यूरोपेली देशमा रहेका छन् । ती नौ देशमा फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, नर्वे, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड र ब्रिटेन छन् । प्रमुख १ सयमध्ये १० ओटा कम्पनी भने एशियामा रहेका छन् । ती एशियाली देशमा जापान, भारत, र इजरायल लगायतका मध्यपूर्व क्षेत्र छन् । चीनका हतियार कम्पनीका तथ्याङ्क भने उक्त प्रतिवेदनमा समाविष्ट छैनन् । स्रि्रीको सूचीमा थुप्रै चिनियाँ कम्पनीहरूले स्थान ओगट्ने भए पनि सही सूचनाको अभावले त्यहाँको विवरण राख्न नसकिएको बताइएको छ । द्वन्द्व, हतियार, निःशस्त्रीकरणजस्ता क्षेत्रमा अनुसन्धानका लागि १९६६ मा स्थापित सिप्रीको ५० प्रतिशत खर्च स्वीडेन सरकारले बेहोरेको छ । एएफपी/रासस
म्याकडोनाल्डको भारतस्थित लगानी विक्रीमा
फागुन ९, मुम्बई (भारत) । म्याकडोनाल्ड कर्पोरेशनले भारतमा रहेको उसको संयुक्त लगानीमध्ये ५० प्रतिशत हिस्सा स्थानीय साझेदारलाई बेच्ने भएको छ । विक्री रकम खुलाइएको छैन, तर भारतमा म्याकडोनाल्ड अब फ्राञ्चाइजीका रूपमा रहने इकोनोमिक टाइम्सले सोमवार बताएको छ । म्याकडोनाल्ड विश्वकै सबैभन्दा ठूलो रेष्टुराँ सञ्जाल हो । भारतमा पनि १५ वर्षदेखि म्याकडोनाल्डले दुइओटा संयुक्त लगानीमार्फत सञ्चालन भएको थियो । त्यसमध्येको एउटा हार्डक्यासल रेष्टुराँ प्राइभेट लिमिटेडमा रहेको आफ्नो हिस्सालाई म्याकडोनाल्डले बेच्ने भएको हो । हार्डक्यासलको पश्चिम र दक्षिण भारतमा रेष्टुराँ सञ्जाल सञ्चालनमा रहेको छ । त्यसैगरी उत्तरी र पूर्वी भारतमा भने कनाट प्लाजा रेष्टुराँ प्राइभेट लिमिटेडको सञ्जाल छ । म्याकडोनाल्डले आइन्दा हार्डक्यासल रेष्टुराँहरूमा लगानी नगरे तापनि उसले आफ्नो ब्राण्डलगायत तालीम, विकास र ज्ञान भने उपलब्ध गराउनेछ । रोयटकर्स
चीनमा अलिबाबाका प्रमुखको राजीनामा
फागुन ९, साङ्घाइ (चीन) । वेबसाइटमार्फत गरिने व्यापार क्षेत्रको विशाल चिनियाँ कम्पनी अलिबाबा डट् कमका प्रमुख कार्यकारी तथा सञ्चालन प्रमुखले सोमवार राजीनामा दिएका छन् । एउटा छानबिनबाट धोखेबाज आपूर्तिकर्ताले उक्त साइटलाई प्रयोग गरेर क्रेताहरूलाई ठगेको पत्ता लागेपछि उनीहरूले राजीनामा दिएका हुन् ।प्रमुख कार्यकारी अधिकृत डेभिड वेइ र प्रमुख सञ्चालन अधिकृत एल्भिस लीले 'प्रणालीगत त्रुटि’को जिम्मेवारी लिँदै राजीनामा गरेका हुन् । उक्त त्रुटिका कारण धोखाधडी गर्नेहरू सफल भएको स्वीकार गर्दै दुवैले राजीनामा गरेका कम्पनीको विज्ञप्तिमा बताइएको छ ।
वेइ र ली लगायत व्यवस्थापनका उच्च सदस्यहरू आफै भने त्यस्तो धोखाधडीपूर्ण काममा संलग्न नरहेको छानबिनबाट पुष्टि भएको कम्पनीले दाबी गरेको छ । तर, वेइ र ली ले प्रणालीगत त्रुटिको जिम्मेवारी लिएका कम्पनीको बोर्डले स्वीकार गरेको छ । 'हाम्रो सबैभन्दा महत्त्वपूर्ण मान्यतामध्ये इमानदारिता पनि हो,’ संस्थापक तथा गैर-कार्यकारी अध्यक्ष ज्याक माले भने । त्यसैले कर्मचारीको इमानदारिता र अनलाइन बजारको विश्वसनीयता कायम राख्न कम्पनी दृढ रहेको माको दाबी छ । अलिबाबा डट कम चीनको सबैभन्दा ठूलो इण्टरनेट कम्पनीमध्ये एक हो । त्यस वेबसाइटले चीनका उत्पादक तथा थोक विक्रेता र संसारभरिकै क्रेताहरूबीच सम्पर्क गराउँछ । एएफपी/रासस
स्वीस बैङ्कका अधिकारी अमेरिकामा पक्राउ
फागुन ९, जेनेभा (स्वीट्जरल्याण्ड) । विशाल स्वीस बैङ्क क्रेडिट सुइसेसँग आबद्ध एक बैङ्कका अधिकारी अमेरिकामा पक्राउ परेका छन् । उक्त स्वीस बैङ्कका अमेरिकी ग्राहकहरूले उनीमार्फत कर छलेको आशङ्कामा पक्राउ गरिएको हो ।क्रेडिट सुइसे प्राइभेट एडभाईजर्सका बैङ्क म्यानेजरले दुइहप्ते भ्रमणका बेला आफ्ना ग्राहकलाई भेट्न अमेरिका पुगेका थिए । तर, उनलाई अमेरिका आइपुग्नेबित्तिकै पक्राउ गरिएको छ । ती अधिकारीको नाम भने खुलाइएको छैन ।हालसम्म उनीमाथि कुनै मुद्दा नचलाइए पनि अमेरिकी अधिकारीहरूले उनलाई केरकार गरिरहेका छन् । साथै, उनलाई अमेरिका छाडेर नजान पनि आदेश दिइएको छ । बैङ्कहरूले अमेरिकीहरूलाई कर छल्न सघाइरहेको आशङ्का अमेरिकाले गरेको छ । एएफपी/रासस
Admin 2011-02-22