अफ्रिकामा भारत र चीनबीच प्रतिस्पर्धा
जेठ ९, नयाँ दिल्ली (भारत) । भारतका प्रधानमन्त्री मनमोहन सिंहले सोमवारदेखि ६ दिने अफ्रिका भ्रमण शुरू गरेका छन् । खनिजपदार्थ र अन्य वस्तुको धनी रहेको अफ्रिकी महादेशबाट फाइदा लिन पछिल्लो समयमा भारत र चीन सक्रिय भएका छन् । तर, अफ्रिकासँगको सम्बन्ध विस्तारमा भारतभन्दा चीन अगाडि देखिएको छ ।मनमोहन सिंहले अफ्रिकाको इथियोपिया र ताञ्जानियाको भ्रमण गर्नेछन् । त्यस अवसरमा उनले भारतको स्रोतनिर्भर अर्थतन्त्रका लागि चाहिने स्रोत ती देशबाट लिने त्यसको बदलामा ती देशलाई विकास कार्यक्रम उपलब्ध गराउने विषयमा वार्ता गर्नेछन् । त्यसैक्रममा सिंहले इथियोपियाको राजधानी अदिस अबाबामा भारत-अफ्रिका सम्मेलनलाई पनि सम्बोधन गर्ने भएका छन् । आफ्नो भाषणमा सिंहले १५ सदस्यीय अफ्रिकन युनियनलाई चीनको प्रभावबाट मुक्त हुन हौस्याउनेछन् ।
उदीयमान अर्थतन्त्र भारत र चीन ऊर्जा स्रोत, खनिज र खाद्यान्नको खोजीमा विश्वभरिका स्रोतसम्पन्न क्षेत्रमा अवसरको खोजी गरिरहेका छन् । एशियाका यी दुई शक्तिराष्ट्रले अफ्रिकामा आफ्नो प्रभाव बढाउन बेलाबेलामा कूटनीतिक बल पनि प्रदर्शन गर्छन् । चीनले भने भारतले भन्दा एक दशकअघिदेखि नै अफ्रिकासँग सम्बन्ध विस्तार गरिरहेको थियो । अफ्रिकाको सबैभन्दा ठूलो बैङ्क, स्टयार्ण्र्डड बैङ्कको २० प्रतिशत शेयरमा चीनको इण्डष्ट्रियल एण्ड कमर्शियल बैङ्क अफ चाइनाको स्वामित्व छ । पछिल्ला दिनहरूमा भारतले पनि अफ्रिकामा आफ्नो प्रभाव विस्तारका लागि भरमग्दूर प्रयास गरिरहेको छ । एजेन्सी
टेप्को प्रमुखद्वारा जिम्मेवारी वहन गर्दै राजीनामा
जेठ ९, टोकियो (जापान) । टोकियो इलेक्टि्रक पावर कम्पनी (टेप्को)का प्रेजिडेण्ट मासाताका शिमिजुले फुकुशिमा आणविक सङ्कटको जिम्मेवारी लिँदै राजीनामा गरेका छन् । उक्त आणविक केन्द्र क्षतिग्रस्त भएपछि टेप्कोलाई १५ अर्ब डलरको खुद घाटा लागेको छ । त्यसपछि टेप्कोलाई लागेको घाटा जापानको गैरवित्तीय कम्पनीमध्ये हालसम्मकै सबैभन्दा ठूलो भएको छ । यससँगै टेप्कोको भविष्यसमेत अनिश्चित हुन पुगेको छ ।जापानको विद्युत् सेवाप्रदायक टेप्को एशियाकै सबैभन्दा ठूलो हो । ६६ वर्षीय शिमिजुमाथि सक्षम नेतृत्व दिन नसकेको आरोप लाग्दै आएको थियो । शिमिजुपछि हाल प्रबन्ध निर्देशक रहेका ६० वर्षीय तोशिओ निशिजावा टेप्कोका प्रमुख हुनेछन् । जापानका प्रधानमन्त्री नाओतो कानलगायतका अन्य सांसद्ले समेत दुर्घटनापछिको अवस्थामा उचित कदम चाल्न नसकेकोमा टेप्कोको कडा आलोचना गर्दै आएका छन् ।
९ रेक्टरको भूकम्प र सुनामीबाट क्षतिग्रस्त आणविक केन्द्रबाट भइरहेको विकिरण चुहावट नियन्त्रणका लागि इञ्जिनीयरहरू अझै संघर्षरत छन् । प्रकोपबाट जापान तटीय क्षेत्र नै तहसनहस हुनुका साथै अर्थतन्त्रसमेत मन्दीतर्फ लागेको छ ।प्रकोपछि टेप्कोको शेयर ८० प्रतिशतले खस्किएको छ भने उसले सरकारी सहायताको समेत गुहार मागिसकेको छ । आफ्नो राजीनामा भाषणका बेला शिमिजुले दुर्घटनाबाट जनातामा परेको चिन्ता र समाजमा उत्पन्न समस्याका लागि क्षमा मागेका थिए । एजेन्सी
सत्यमलाई आश्चर्यजनक घाटा
जेठ ९, मुम्बई (भारत) । भारतीय सफ्टवेयर आउटसोस कम्पनी महिन्द्रा सत्यम्ले मार्चसम्मको त्रैमासमा अनपेक्षित घाटा भएको बताएको छ । उक्त त्रैमासमा ३ अर्ब २७ करोड भारू खुद घाटा भएको छ, जबकि त्यसअघिको त्रैमासमा ५८ करोड ९० लाख भारू खुद नाफा भएको थियो । कम्पनीमाथि अमेरिकामा चलिरहेको मुद्दाको खर्चले घाटा बढेको सत्यमको भनाइ छ ।
उक्त कम्पनीको नाम पहिले सत्यम कम्प्युटर सर्भिसेज रहेको थियो । कम्पनीका पूर्वअध्यक्ष र संस्थापक बी रामालिङ्गा राजुले आफूले कम्पनीको नाफाबारे झूटो वासलात देखाएको २००९ मा स्वीकार गरेका थिए । त्यसपछि भारतको व्यवसायजगत्मा सनसनी नै मच्चिएको थियो । धोखाधडीका कारण उक्त समूह नै झण्डै टाट पल्टिने अवस्थामा पुगेको थियो । कुनै समय भारतको सफ्टवेयर विकासका अग्रणी व्यक्तित्व रहेका राजु हाल धोखाधडी, ठगी र जालसाजीको मुद्दा खेपिरहेका छन् । एएफपी/रासस
एटीएम काण्डले प्रेजिडेण्टको राजीनामा
जेठ ९, टोकियो (जापान) । जापानको मिजुहो फाइनान्सियल ग्रूपका प्रेजिडेण्ट ताकाशी त्सुकामोतोले आफ्नो पदबाट राजीनामा गर्ने भएका छन् । मिजुहो बैङ्कको कम्प्युटर प्रणालीमा खराबीका कारण एटीएमहरू बन्द भएपछि त्यसको जिम्मेवारी लिँदै त्सुकामोतोले राजीनामा गर्ने भएका हुन् । हालका कर्पोरेट बैङ्किङ युनिटका प्रमुख यासुहिरो सातोले त्सुकामोतोको ठाउँ लिनेछन् । त्सुकामोतो भने बैङ्कको खुद्रा बैङ्किङ युनिटका प्रमुख हुनेछन् ।
जापानको वित्तीय सेवा नियामक निकायले कम्प्युटर र एटीएम प्रणालीमा देखिएको खराबीका लागि बैङ्कको व्यवस्थापनलाई जिम्मेवारी लिन दबाब दिएको थियो । त्यसैगरी ग्रूपको खुद्रा बैङ्किङ युनिट मिजुहो बैङ्क र कर्पोरेट बैङ्किङ युनिट मिजुहो कर्पोरेट बैङ्कलाई गाभ्ने योजना रहेको स्रोतले बताएको छ । एजेन्सी
भारतको सौर्य ऊर्जा क्षेत्रमा अवसर र चुनौती
जेठ ९, नयाँ दिल्ली (भारत) । भारतले २०२२ सम्ममा २० गिगावाट क्षमताको सौर्य ऊर्जा स्थापना गरिसक्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ । तर, आवश्यक तथ्याङ्क र तालीम प्राप्त जनशक्तिको अभावका साथै अनुभवहीन लगानीकर्ताका कारण त्यस्तो लक्ष्य चुनौतीपूर्ण हुने देखिन्छ ।२००९ देखि शुरू गरिएको सोलर मिशन योजनाअन्तर्गत भारतले २०१३ सम्ममा १ हजार ३ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । त्यसैगरी, २०१७ सम्ममा १० गिगावाटसम्म र २०२२ सम्ममा बाँकी लक्ष्य पूरा गर्ने योजना छ । सम्पूर्ण लक्ष्य पूरा हुन्जेलसम्ममा कुल ७० अर्ब डलरको लगानी गरिने अनुमान छ ।
लक्ष्य पूरा भएमा भारतको वर्तमान विद्युत् क्षमताको १२ प्रतिशतभन्दा पनि बढी बिजुली सौर्य ऊर्जाबाट हुनेछ । त्यसबाट भारतको कोइलामाथिको निर्भरता घट्नुका साथै आर्थिक वृद्धिका लागि आवश्यक थप बिजुलीको पनि आपूर्ति हुनेछ । त्यसैले सौर्य ऊर्जाको क्षेत्रमा धेरै मानिसमा उत्साह देखाएका छन् । आयोजना विकासकर्ता, उत्पादनकर्ता, ठेक्काप्रदायक लगायत सौर्य ऊर्जाको विशाल बजारमा प्रवेश गर्न उत्साहित देखिएका इण्डियन रिन्युएबल इनर्जी डेभलपमेण्ट एजेन्सीका अध्यक्ष देवाशिष मजुम्दारले बताए ।
तर, आवश्यक सूचना र तथ्याङ्कको अभाव सबैभन्दा ठूलो समस्याका रूपमा देखिएको मजुम्दार भनाइ छ । एउटा ठूलो जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा पहिले ४० वर्षसम्मको तथ्याङ्क खोजिने गरेको मजुम्दार ले बताए । तर, सौर्य ऊर्जाको क्षेत्रमा भने त्यस्तो कुनै प्राथमिक तथ्याङ्क नरहेको उनको गुनासो छ । नासाको स्याटलाइट र मौसम विभागबाट धेरै जानकारी पाइए तापनि वास्तविक कार्ययोजनाबारे भने आवश्यक जानकारीको अभाव छ ।त्यसबाट आयोजनाको लागत खर्च र जोखिम निकै बढ्न जान्छ । जसले गर्दा बैङ्क र सौर्य योजनाका लगानीकर्ताहरू लगानी गर्न आशङ्कित रहन्छन् । तैपनि प्रचुर प्रतिफलको सम्भावना देखेर धेरै मानिसहरूले आवश्यक अध्ययन र पूर्वतयारी नै नगरी सौर्य ऊर्जा क्षेत्रमा हात हालिरहेका मजुम्दारको मूल्याङ्कन छ । एजेन्सी
भ्रष्टाचार मुद्दामा अदालतद्वारा जमानत अस्वीकार
जेठ ९, नयाँ दिल्ली (भारत) । दिल्ली उच्च अदालतले २ जी मोबाइल अनुमतिपत्र भ्रष्टाचार काण्डमा मुछिएका पाँच जना कम्पनी कार्यकारीहरूको जमानत अस्वीकार गरेको छ ।ती पाँच जना अभियुक्तमा टेलिनोरका भारतीय साझेदार युनिटेकको प्रबन्ध निर्देशक सञ्जय चन्द्रा, एस्तिलातका भारतीय साझेदार डीबी ग्रूपका अध्यक्ष विनोद गोयन्कालगायत रिलाएन्स एडीए ग्रूपका ३ जना कार्यकारी छन् ।दूरसञ्चार अनुमतिपत्र काण्डमा भएको अर्बौं डलर भ्रष्टाचारमा उनीहरू पनि संलग्न रहेको आरोप छ ।
गत अप्रिल २० मा तल्लो अदालतले ती कार्यकारीहरूको जमानत अस्वीकार गरेदेखि नै उनीहरू जेलमा छन् । भारतको केन्द्रीय अनुसन्धान विभाग(सीबीआई)ले १४ व्यक्ति र तीन कम्पनीलाई २००७/०८ को दूरसञ्चार अनुमतिपत्र काण्डमा संलग्न रहेको आरोप लगाएको छ ।शुक्रवार पनि अदालतले भारतका एक प्रभावशाली राजनीतिकर्मी करुणानिधिकी छोरी तथा राज्यसभा सदस्य कनिमोझीलाई सोही काण्डमा सुनुवाइ गर्दै जेल पठाएको थियो । उक्त काण्डबाट भारत सरकारलाई ३९ अर्ब डलरसम्मको नोक्सान भएको दाबी गरिएको छ । एजेन्सी
Admin 2011-05-24