ड्रिमलाइनरमा 'अपरिपक्व’ प्रविधि
माघ ९, रियाद (साउदी अरेबिया) । बोइङले 'अपरिपक्व’ प्रविधिका कारण ७८७ ड्रिमलाइनर यात्रुवाहक जेट विमानको डेलिभरी झन्नै ३ वर्ष ढिलो हुन पुगेको आइतवार बताएको छ । 'हामीले प्रयोग गरेकामध्ये केही प्रविधि त्यति परिपक्व थिएनन् जति हुनुपर्ने थियो । हामीले परिणामको ख्यालै नगरी अपरिपक्व प्रविधिलाई विश्वव्यापी आपूर्ति सञ्जालमा प्रयोग गर्यौं,’ बोइङ कमर्शियल एयरप्लेन्सका प्रमुख कार्यकारी तथा अध्यक्ष जीम अल्बाले रियादमा भइरहेको एक सम्मेलनमा भने । आपूर्ति सञ्जालमा अपरिपक्व प्रविधि राख्नाले तथा आवश्यक सुपरिवेक्षण नगरेकाले त्यस्तो अवस्था आएको अल्बाको धारणा छ । तर, ३ वर्ष ढिला गरी आए पनि विमानको गुणस्तरप्रति आफू विश्वस्त रहेको अल्बाले बताए ।
'यो एउटा शानदार विमान हुनेछ, र यसले विद्यमान विमानहरूको दाँजोमा २० प्रतिशत ऊर्जा बचत गर्नेछ,’ अल्बाले भने । गत हप्ता बोइङले उसको पहिलो ७८७ विमानहरूको आपूर्ति पूर्वनिर्धारित फेब्रुअरीको साटो २०११ को तेस्रो त्रैमासमा मात्र गर्ने बताएको थियो । डि्रमलाइनर विमानको परीक्षण उडानमा शृङ्खलाबद्ध प्राविधिक त्रुटि तथा दुर्घटना भएपछि आपूर्ति समय पछि सारिएको हो । एएफपी/रासस
चीनको आर्थिक वृद्धिदर १० प्रतिशत
माघ ९, बेइजिङ (चीन) । चीनको अर्थतन्त्र २०११ मा ९ दशमलव ८ प्रतिशतले बढ्ने र मुद्रास्फीति ३ दशमलव ७ प्रतिशतमा झर्ने त्यहाँको एक सरकारी संस्था चाइनिज एकेडमी अफ साइन्सेजको अनुमान छ । घरेलु खपतका कारण वर्षको उत्तरार्द्धमा कुल गार्हस्थ्य उत्पादन बढ्ने चीनको सरकारी सञ्चारमाध्यम चाइना न्यूज सर्भिसले आइतवार बताएको छ । तलब तथा वस्तुको मूल्यमा वृद्धिका कारण मुद्रास्फीतिको प्रमुख मापक उपभोक्ता मूल्यसूची (सीपीआई) पहिलो त्रैमासमा सबैभन्दा उच्च बिन्दुमा रहनेछ । पहिलो त्रैमासपछि भने २०११ को वर्षभरि नै सीपीआई तल झर्ने एकेडेमीको प्रतिवेदनमा उल्लेख छ ।
चिनियाँ अर्थतन्त्रको वार्षिक वृद्धिदर २०१० मा विश्वव्यापी सङ्कटपछि कै तीव्र १० दशमलव ३ प्रतिशतमा पुगेको छ । साथै खाद्यवस्तुको चर्को मूल्यका कारण सीपीआई भने सरकारको वर्षभरिको लक्ष्य ३ प्रतिशतलाई नाघेर ३ दशमलव ३ प्रतिशतमा पुगेको छ । विश्वका अन्य देशहरू आफ्नो अर्थतन्त्रमा वृद्धि ल्याउन संघर्षरत छन् । तर, चीन भने आफ्नो अर्थतन्त्रको वृद्धिदरमा कमी ल्याउन चाहन्छ । साथै ऊ आफ्नो अर्थतन्त्रमा रहेको व्यापक तरलता घटाएर बढ्दो महँगी तथा घरजग्गाको चर्को मूल्यवृद्धिलाई नियन्त्रण गर्न चाहन्छ । अक्टोबरपछि चीनको केन्द्रीय बैङ्कले दुइपटक ब्याजदर बढाइसकेको छ । त्यसैगरी वाणिज्य बैङ्कहरूको ऋण दिने कार्य नियन्त्रण गर्न उनीहरूले सञ्चित कोषमा राख्नुपर्ने रकमको मात्रा पनि केन्द्रीय बैङ्कले बढाएको छ । एएफपी/रासस
दोहा वार्ताबारे लामी आशावादी
माघ ९, बर्लिन (जर्मनी) । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का प्रमुख पास्कल लामीले दोहा बैठकमा स्वतन्त्र व्यापार सन्धिबारे नयाँ सहमतिको सम्भावना १ वर्षअघिको भन्दा बढेको शनिवार बताएका छन् ।
'दुइ वर्षसम्म अवरुद्ध रहेको अथवा ज्यादै सुस्त गतिको वार्तापछि अब प्रगति हुने सम्भावना बढेको छ,’ लामीले कृषिमन्त्रीहरूको एक बैठकलाई बर्लिनमा सम्बोधन गर्दै भने । पहिलेको भन्दा राजनीतिक सन्दर्भबढी प्रतिबद्ध तथा अनुकूल देखिएको लामीको विचार छ ।
दोहा बैठक १० वर्षअघि कतारको राजधानी दोहामा शुरू भएको थियो । तर, डब्ल्यूटीओका १ सय ५३ सदस्य राष्ट्रबीचको आपसी असहमतिका कारण वार्तामा प्रगति हुन सकेको छैन । पछिल्लो पटक २००८ मा सम्झौताका लागि ठूलो प्रयास भएको थियो । तर, विकासशील तथा औद्योगिक राष्ट्रहरूबीच औद्योगिक उत्पादनमा कर घटाउने तथा कृषि उत्पादनमा अनुदान हटाउने विषयमा विवादका कारण वार्ता फेरि भङ्ग भएको थियो । अमेरिका तथा यूरोपले कृषिक्षेत्रको अनुदानमा पर्याप्त कटौती नगरेर सम्झौता प्रक्रियालाई असफल बनाएको आरोप थुप्रै विकासशील देशले लगाएका थिए । तर, कृषिसम्बन्धी अध्याय ९० प्रतिशत टुङ्गिसकेको र अन्य क्षेत्रमा समस्या रहेको लामीले बताए । एएफपी/रासस
म्यानमारमाथिको प्रतिबन्ध हटाउन दबाब
माघ ९, बैङ्कक (इल्याण्ड) । म्यानमारविरुद्ध पश्चिमी राष्ट्रहरूले लगाएको व्यापार प्रतिबन्धलाई अन्त्य गर्न दबाब बढ्दै गएको छ । तर, मानवअधिकार तथा लोकतन्त्रकी प्रतिमूर्ति आङसाङ सुकीसम्बन्धी विषयमा सुधार नभई हालको पश्चिमा नीतिमा परिवर्तन नआउने विशेषज्ञहरूको अनुमान छ ।
गतवर्षको नोभेम्बरमा २० वर्षपछिको पहिलो चुनाव सम्पन्न भएपछि सुकीलाई नजरबन्दबाट रिहा गरिएको थियो । त्यसपछि म्यानमारविरुद्ध अमेरिका तथा यूरोपियन युनियनले लगाएको दण्डात्मक प्रावधानको प्रभावकारिताबारे ताजा बहस शुरू भएको छ ।
नीतिनिर्माताहरूबीच नै थुप्रै आन्तरिक बहस भइरहेका छन् । म्यानमारविरुद्ध लामो समयदेखिको पश्चिमा नीतिमा रहेको मतैक्य कमजोर भएको छ, बैङ्ककस्थित एक पश्चिमा कूटनीतिज्ञले बताए । प्रतिबन्धका कारण पश्चिमी कम्पनीहरूले एशियाको एउटा स्रोतसम्पन्न क्षेत्रमा काम गर्न नपाएको प्रतिबन्धका आलोचकहरूको तर्क छ । त्यसैगरी विश्वको सबैभन्दा गरीबमध्येको देशको विकासलाई प्रतिबन्धले बाधा पुर्याएको आरोप पनि छ ।
म्यानमारसमेत सदस्य रहेको दक्षिणपूर्वी एशियाली देशहरूको सङ्गठन आशियानले पनि प्रतिबन्ध अन्त्य गर्न आह्वान गरेको छ । तर, म्यानमारको सैनिक शासनले हालै गराएको चुनावको स्वच्छताप्रति पश्चिमी देशहरू आलोचनात्मक रहेका छन् । त्यसैले 'ठोस सुधार’ नगरुन्जेल प्रतिबन्ध कायमै रहने उनीहरूले बताउँदै आएका छन् । एएफपी/रासस
ओबामाको आर्थिक एजेण्डाः प्रतिस्पर्धात्मकता
माघ ९, वासिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलवार अमेरिकी कङ्ग्रेसमा दिने आफ्नो दोस्रो वार्षिक सम्बोधन (स्टेट अफ द युनियन अड्रेस)मा अल्पकालमा रोजगार सृजना र दीर्घकालीन रूपमा अमेरिकी प्रतिस्पर्धात्मक क्षमता बढाउने खाका प्रस्तुत गर्ने बताएका छन् ।
अमेरिकी अर्थतन्त्रमा ऊर्जा थप्न दबाब झेलिरहेका ओबामाले सम्बोधनमा नवप्रवर्तनका लागि चाहिने खर्च प्रवर्द्धन गर्न तथा राष्ट्रिय ऋणलाई घटाउने आश्वासन दिने अपेक्षा छ । साथै आक्रामक हुँदै गएका रिपब्लिकनसँग सहकार्यको वाचा पनि उनले गर्ने सम्भावना छ ।
'अर्थतन्त्रबाट प्रत्येक व्यक्ति तथा स्मपूर्ण अमेरिकी परिवारलाई नै फाइदा पुर्याउने सुनिश्चित गर्न मेरो ध्यान केन्द्रित भएको छ,’ आफ्ना समर्थकहरूलाई शनिवार दिउँसो अनलाइनमा उपलब्ध गराइएको भाषणमा ओबामाले भनेका छन् । आफ्नो सम्बोधनको प्रमुख विषय अर्थतन्त्र हुने पनि उनले बताएका छन् । साथै अर्थतन्त्र २ वर्षअघिको भन्दा सुदृढ भएको, शेयरबजारमा सुधार भइरहेको, तथा व्यावसायिक नाफा बढिरहेको पनि ओबामाले दाबी गरेका छन् । स्वतन्त्र व्यापारका माध्यमबाट नै अमेरिकी निर्यात बढाउने तथा अमेरिकीहरूलाई रोजगार दिनेमा उनले जोड दिएका छन् । 'त्यसरी नै वर्तमानमा हामी रोजगार सृजना गर्नेछौं । त्यसरी नै भोलि अमेरिकालाई अझै प्रतिस्पर्धात्मक बनाउनेछौं र त्यसरी नै हामी भविष्यमा विजयी हुनेछौं’ ओबामाले भने ।एपी/रासस
भारत ब्याजदर बढाउँदै
माघ ९, नयाँ दिल्ली (भारत) । भारतको केन्द्रीय बैङ्कले यसै हप्ता ब्याजदरमा वृद्धि गर्ने भएको छ । योसँगै १२ महीनाभित्र सातौँ पटकको वृद्धि हुनेछ । चर्को महँगीले अर्थतन्त्रमा भइरहेको वृद्धिलाई नै ओझेलमा पार्न थालेपछि बैङ्कको त्यस्तो निर्णय आएको हो । सन् २०१० मा निकै तातेको शेयरबजार ब्याजदरमा वृद्धि हुने पूर्वानुमानका कारण तीन महीनाभित्रकै न्यून बिन्दुमा पुगेको छ । ब्याजदर बढेपछि हाल ८ दशमलव ५ देखि ९ प्रतिशतमा रहेको एशियाको तेस्रो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिदरमा कमी आउने सम्भावना छ ।
डिसेम्बर महीनामा वार्षिक मुद्रास्फीति नोभेम्बरको भन्दा झन्डै १ प्रतिशतले बढेर ८ दशमलव ४३ प्रतिशतमा पुगेको छ । खाद्यपदार्थ, पेट्रोल तथा अन्य कमोडिटीहरूको आकासिएपछि मुद्रास्फीति बढेको हो । रिजर्भ बैङ्क अफ इण्डियाले पनि 'मुद्रास्फीति आकासिने’ चेतावनी दिएको छ । विश्वकै प्रमुख लगानीकर्ता गोल्डम्यान साखले भारत र चीनको तीव्र मुद्रास्फीतिबारे यसै महीना आफ्ना ग्राहकलाई सजग गराएको छ । ती देशहरूमा रहेको आफ्नो लगानी 'वाल स्ट्रीट' तथा विश्वका अन्य पुराना शेयरबजारतर्फलैजान गोल्डम्यानले ग्राहकलाई सुझाव दिएको छ ।
'रिजर्भ बैङ्कले ब्याजदरमा २५ आधार बिन्दुले वृद्धि गर्ने अपेक्षा गरिएको छ । तर, ब्याजदर ५० आधार बिन्दुले बढ्न सक्ने सम्भावनाप्रति पनि सचेत रहनुपर्छ,’ एचएसबीसी बैङ्कका प्रमुख अर्थशास्त्री लिएफ लाइबेकर इस्केसनले भने । आगामी महीना चीनले पनि ५ प्रतिशतको मुद्रास्फीति तथा घरजग्गाको मूल्यमा भइरहेको अनपेक्षित वृद्धिको 'बबल'को सामना गर्न ब्याजदर बढाउने सम्भावना छ । एएफपी/रासस