शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

भारतमा खुलाबजार अर्थतन्त्रको २० वर्ष

साउन ९ । भारतका वर्तमान प्रधानमन्त्री मनमोहन सिंहले खुलाबजार आर्थिक नीतिमार्फत आर्थिक क्रान्तिको सूत्रपात गरेको दुई दशक पुगेको छ । सन् १९९१ को जुलाई २४ मा तत्कालीन सरकारको अर्थमन्त्रीका हैसियतले सिंहले आमूल परिवर्तनकारी बजेट प्रस्तुत गरेका थिए । त्यतिखेर, भारतको अर्थतन्त्र झण्डै टाट पल्टिने अवस्थामा पुगिसकेको थियो । मात्र दुई हप्तासम्मका लागि खाद्य र तेलको आयात धान्ने विदेशी मुद्रा सञ्चिति थियो भने आपत्कालीन ऋणका लागि ४७ टन सुन बैङ्क अफ इङ्गल्याण्डतर्फ उडाइएको थियो ।

यसरी, कुनै समय विश्व बैङ्कका अर्थशास्त्री समेत रहिसकेका सिंहले आफ्नो देशलाई अर्न्तर्मुखी समाजवादी नीतिबाट बजारमैत्री नीतितर्फडोर्याएका थिए । सिंहले कर सङ्कलनमा सरलीकरण, भन्सार दर कटौती, विदेशी लगानी आर्कषण, सरकारी कम्पनीको निजीकरण र उत्पादनको सीमा खारेजीजस्ता बजारमैत्री नीति लिएका थिए । त्यसैगरी, धेरै उद्योगमा ५१ प्रतिशतसम्मको विदेशी स्वामित्वलाई अनुमति दिनुका साथै विदेशी कच्चा पदार्थ र मेशिनरीमाथिको नियन्त्रण पनि हटाइएको थियो ।  तर, चामत्कारिक आर्थिक वृद्धिको नेतृत्व गरे तापनि सिंहले भ्रष्टाचार र घूसखोरी नियन्त्रण गर्न नसकेको आरोप पनि खेपिरहेका छन् । देशका झण्डै ४२ प्रतिशत जनता अझै पनि प्रतिदिन १ दशमलव २५ डलरभन्दा मुनिको आयले जीवन गुजारा गर्छन् । खासगरी, पछिल्लो समयमा सिंह सरकारप्रति सामान्य जनता र व्यापारिकजगत् दुवैथरी असन्तुष्ट देखिएका छन् ।
एएफपी/रासस

उरुग्वे कोपा अमेरिका विजेता

साउन ९, ब्युनस आयस (अर्जेण्टिना) । पाराग्वेलाई ३-० ले हराउँदै उरुग्वेले कोपा अमेरिका च्याम्पियनशिप २०११ को उपाधि उचालेको छ । आइतवार राति भएको फाइनलमा स्ट्राइकरहरू लुइस सुरेजको एक र डिएगो फोर्लानको दुई गोलसँगै उरुग्वेले कोपा अमेरिका कप हात पारेको हो ।खेल शुरू भएको १२औं मिनेटमा सुरेजले पहिलो गोल गरेका थिए । त्यसैगरी पहिलो हाफको ४२औं मिनेटमा मिडफिल्डर एजिडीओ आर्भालोले दिएको पासको सदुपयोग गर्दै स्ट्राइकर फोर्लानले गोलमा परिणत गर्दै उरुग्वेलाई २-० को अग्रता दिलाए । उक्त गोल कोपा अमेरिका च्पाम्पियनशिप अवधिभर फोर्लानको पहिलो गोल बनेको थियो । त्यसपछि फोर्लानले दोस्रो हाफको ४४औं मिनेटमा दोस्रो गोल गरेका थिए । फाइनलमा गरेको दुई गोलसँगै फोर्लानले ३१औं अन्तरराष्ट्रिय गोल गरेका छन् ।

प्रतिद्वन्द्वी पाराग्वेले गोल गर्ने केही राम्रा अवसर गुमाएको थियो । दोस्रो हाफको ९औं मिनेटमा पाराग्वेका स्ट्राइकर नेल्सन भाल्डेजले प्रहार गरेको बललाई उरुग्वेका गोलरक्षक फर्नाण्डो मुस्लेराले मुश्किलले बचाएका थिए । त्यसैगरी पाराग्वेका इभान पिरिसले दिएको पासलाई क्रिश्चियन रिभेरोसले गरेको गोल प्रयासलाई पनि उरुग्वेका गोलरक्षक मुस्लेराले विफल तुल्याएका थिए ।सन् १९९५ पछि उरुग्वेको यो पहिलो विजय हो । यो विजयसँगै कोपा अमेरिका  च्याम्पियनशिपमा उरुग्वेले १५औं जित हासिल गरेको छ । उरुग्वेका कप्तान डिएगो लुगानोले यो जितमा सम्पूर्ण देश नै हषिर्त भएको प्रतिक्रिया दिएका छन् । एएफपी/रासस

भारतमा वातावरण आयोग

साउन ९, नयाँ दिल्ली (भारत) । भारतका प्रधानमन्त्री मनमोहन सिंहले वातावरण र प्रदूषण नियमन गर्न एक नयाँ आयोग गठन गर्ने बताएका छन् । दिल्लीमा भइरहेको वातावरण तथा प्रकोप व्यवस्थापनसम्बन्धी दुईदिने विचारगोष्ठीमा आइतवार बोल्दै प्रधानमन्त्री सिंहले यस्तो जानकारी दिएका हुन् ।सिंहका अनुसार नयाँ गठन हुने आयोगले विभिन्न ठूला लगानीका योजनाहरूको वातावरणसम्बन्धी मापदण्डको नियमन गर्नेछ । उक्त आयोगले राजनीतिज्ञहरूलाई विकासका लागि अलोकप्रिय निर्णयगर्नुपर्ने बाध्यताबाट मुक्ति दिने पनि उनले बताए । सिंहले गरीब र विकासशील मुलुकहरूको पहिलो प्राथमिकता विकास निर्माण हुने तर वातावरणीय विषयवस्तुलाई उपेक्षा गर्नु पनि गलत हुने धारणा व्यक्त गरेका थिए । सानै आर्थिक वृद्धिका लागि केही मात्राको वातावरणीय विनाश र प्राकृतिक स्रोतहरूको अति उपयोग हुने गर्छ भन्ने सोचाइ अब स्वीकार गर्न नसकिने पनि सिंहको कथन थियो ।तीव्र आर्थिक विकास भइरहेको भारतमा वातावरणीय समस्या पनि उत्तिकै रहेको छ । वातावरण क्षेत्रमा काम गर्ने अभियानकर्ताहरूले सरकारले वातावरणीय समस्याप्रति आँखा चिम्लेको आरोप लगाउँदै आएका थिए । एपी/रासस

एक्काइसौं शताब्दीमा भोकमरीको अवस्था अनैतिक: अमाराल

साउन ९ ।  सोमालिया लगायतका अप्रिकाको सिङ अर्थात हर्न अफ अफ्रिका क्षेत्रमा १ करोड २० लाख मानिसले भोकमरीको सामना गरिरहेका छन् । थुप्रै केटाकेटीहरूले भोकमरीकै कारण मृत्युवरण गर्नुपर्ने अवस्थालाई संयुक्त राष्ट्रसङ्घको आपतकालिन सहायता प्रमुख क्रिस्टिना अमारालले  विश्वकै लागि 'अनैतिक’ भनेकी छिन् ।आमारालले गत नोभेम्बरदेखि नै वर्षा याममा पानी नपरेपछि उत्पन्न खडेरीले मानवीय विपत्ति आउनेबारे चेतावनी दिदैआएकी थिइन् ।दाताहरूले अल्पकालिन खाद्य सहायत स्वरूप केही नगद दिदैमा समस्याको समाधान नहुने अमारालको भनाइ छ । त्यसका साथै, किसानहरूको खडेरी सामना गर्ने क्षमता बढाउन दीर्घकालिन लगानीका साथै अन्तरराष्ट्रिय मध्यस्तथा पनि गरिनुपर्नु उनको तर्क छ ।

'२१ औं शताब्दीमा आइपुग्दापनि भोकमरीको घोषणा गर्नुपर्ने अवस्थालाई अनैतिक मानिनुपर्छ,’ अमारालले अन्तर्वाताको क्रममा भनिन । अन्तरराष्ट्रिय समुदायले वर्षौसम्म गरेको न्युन लगानीले नै हालको दीर्घकालिन खडेरी समस्या निम्तिएको अमारालले गुनासो गरिन । अमारालका अनुसार, गोठालाका लागि गोठ र चरन क्षेत्रको व्यवस्थापन, चौपायाको स्वास्थ्य सुधार, खडेरी सामना गर्नसक्ने खालका उन्नत बाली जस्ता योजनाले दीर्घकालिन समाधान दिनेछ । त्यसैगरी, द्वन्द्धरत विभिन्न राजनीतिक शक्तिहरूले वार्तामार्फत लोकतान्त्रिक बाटो पहिल्याउन सोमालियालीहरूले जिम्मेवारी वहन गर्नुपर्ने उनको सुझाव छ ।   एएफपी/रासस

संरक्षणमा लागेकाहरूले नै जङ्गल मासे

साउन ९, बैङ्कक (थाइल्याण्ड) । लण्डनस्थित एक गैरसरकारी संस्थाले संरक्षण अभियानमा लागेकाहरूले नै वनजन्य स्रोतहरू दुरुपयोग गरिरहेको आरोप लगाएको छ । लण्डनमा मुख्यालय रहेको गैरसरकारी संस्था ग्लोबल विटनेसले सोमवार एक प्रतिवेदन प्रकाशित गर्दै 'वर्ल्ड वाइड फण्ड फर नेचर' (डब्ल्यूडब्ल्यूएफ)सँग आबद्ध केही कम्पनीले काठ-दाउराको  गैरकानूनी व्यापारबाट लाभ लिइरहेको उल्लेख गरेको छ ।प्रतिवेदनमा डब्ल्यूडब्ल्यूएफसँग आबद्ध मलेसियाली कम्पनी ता आन होल्डिङ्स बर्हाडले बोर्नियो द्विपमा प्रतिदिन २० ओटा फुटबल मैदान क्षेत्रबराबरका जङगल क्षेत्र खाली गरिरहेको आरोप लगाइएको छ । खाली गरिएको उक्त क्षेत्रमा डब्ल्यूडब्ल्यूएफले वनजङ्गल संरक्षणका लागि 'हार्ट अफ बोर्नियो' कार्यक्रम सञ्चालन गरिरहेको छ ।

मलेसियाको सारावाक राज्यस्थित बोर्नियो द्विप विश्वमै दुर्लभ मानिएका ओराङउटान, गिब्बन र पाटे चितुवाजस्ता वन्यजन्तुको प्रमुख आश्रयस्थल मानिन्छ । प्रतिवेदनमा संरक्षण र स्थायित्वका नाममा परियोजना चलाउने डब्ल्यूडब्ल्यूएफले आफूसँग आबद्ध कम्पनीले वन्यजन्तुको आश्रयस्थल विनाश गर्दा पनि केही नबोलेकोमा आपत्ति व्यक्त गरिएको छ । साथै डब्ल्यूडब्ल्यूएफले बोर्नियो द्विपमा चलाइरहेको परियोजना पारदर्शी नभएको र सहभागी अन्य संस्थाहरूको बारेमा सार्वजनिक रूपले जानकारी नदिएको पनि आरोप लगाइएको छ ।तर, डब्ल्यूडब्ल्यूएफले भने ग्लोबल विटनेशको उक्त आरोप निराधार भएको भन्दै खण्डन गरेको छ । सोमवारै प्रकाशित एक विज्ञप्तिमा डब्ल्यूडब्ल्यूएफले ग्लोबल विटनेशको प्रतिवेदनमा विभिन्न गलत टिप्पणी भएको र भ्रम सृजना गर्नमात्र ल्याइएको बताएको छ ।        
 एपी/रासस

त्रुटिपूर्ण नोट छापेकोमा 'एचबीएससी हङकङ’द्वारा क्षमायाचना

साउन ९ हङकङ (चीन) । 'एचबीएससी' हङकङले त्रुटिपूर्ण नोटहरू छापेकोमा क्षमायाचना गरेको छ । बेलायती बैङ्किङ समूह एचबीएससीको हङकङ एकाइले सोमवार आफूहरूले १ सय दरका हङकङ डलरका त्रुटिपूर्ण नोटहरू छापेको स्वीकार्दै माफी मागेको हो । ती नोटहरूमा 'बहुइनिया' (कोइरालो) फूलका पत्रहरू गलत दिशातर्फ फर्किएको देखाइएका थिए ।हङकङ शहरको प्रतीकका रूपमा रहेको कोइरालो फूललाई नोटहरूमा गलत ढङ्गले देखाइएपछि बैङ्कको आलोचना भएको थियो । बैङ्ककी प्रवक्ताले सोमवार एएफपीसँग कुरा गर्दै उक्त असावधानीप्रति क्षमायाचना गरेकी छन् । साथै गलत ढङ्गले छापिएका कुनै पनि नोट वितरण भने नगरिएको जानकारी उनले दिइन् । प्रवक्ताका अनुसार बैङ्कले यथाशीघ्र उक्त त्रुटि सच्याउने गृहकार्य गरिरहेको छ । तर, गलत ढङ्गमा छापिएका ती नोटहरूको सङ्ख्या र पुन: छपाइको खर्चबारे भने बोल्न अस्वीकार गरिन् ।हङकङ सरकार र बैङ्कले उक्त त्रुटि के कारणले भएको हो पत्ता लगाउन नसके पनि गत सप्ताहान्तमा स्थानीय सञ्चारमाध्यमहरूले त्यसबारे समाचार प्रसारण गरेका थिए । एचबीएससीले हङकङ शहरमा प्रयोग गरिने ६५ प्रतिशत नोटहरूको छपाइ र वितरण कार्य गर्ने गरेको छ ।     एएफपी/रासस

दक्षिणबाट उत्तर  कोरियालाई पीठो सहायता

साउन ९, सियोल (दक्षिण कोरिया) । दक्षिण कोरियाले उत्तर कोरियालाई मानवीय सहायतास्वरूप पीठो पठाउने भएको छ । गतवर्षउत्तर कोरियाले दक्षिण कोरियाको एक द्विपमा क्षेप्यास्त्र आक्रमण गरेपछि पहिलोपटक उत्तर कोरियातर्फपीठो पठाउन लागिएको हो । क्षेप्यास्त्र आक्रमणपछि पनि दक्षिण कोरियाले ससाना मानवीय सहायता जारी नै राखेको थियो । तर, उत्तर कोरियाको सेनालाई खुवाउन दुरुपयोग हुन सक्ने आशङ्काले पीठो भने पठाएको थिएन ।

उत्तर कोरियाका शिशु केन्द्र, बाल अस्पताल र शिशु विद्यालयका लागि ४ सय टन पीठो पठाइन लागिएको दक्षिण कोरियाका एकता मन्त्रालयका प्रवक्ता चुन हे-सुङले बताए । गत २००८ मा दुई देशबीचको सम्बन्ध बिग्रनुअघिसम्म दक्षिणले उत्तरलाई वार्षिक ३ देखि ४ लाख टन चामल सहायता दिँदै आएको थियो । तर, ठूलो मात्रामा फेरि खाद्यान्न सहायता सुचारु गर्नुअघि उत्तरले  आणविक निशस्त्रीकरणतर्फस्पष्ट कदम चाल्नुपर्ने चुनले बताए ।                         एपी/रासस

जापानमा आणविक कार्यक्रमको विकल्प खोजी

साउन ९ । जापानका ७० प्रतिशत जनताले प्रधानमन्त्री नाओतो कानको आणविक मुक्त भविष्यको योजनालाई समर्थन गरेका छन् । तर, त्यसका साथै धेरैजसो जापानीहरूले कानलाई पदमुक्त भएको देख्न चाहेका आइतवारको एक मतसर्वेक्षणबाट देखिएको छ ।क्योदो समाचार समितिले गर्ने सर्वेक्षणअनुसार आणविक ऊर्जा कार्यक्रम बन्द गर्ने कानको योजनालाई ७० दशमलव ३ प्रतिशतले समर्थन गरेका छन् । त्यसैगरी, ६६ दशमलव ९ प्रतिशतले भने कान अलोकप्रिय भएकाले उनले राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।कुनै समय वातावरण अभियन्तासमेत रहिसकेका कानले आणविक ऊर्जाको साटो स्वच्छ ऊर्जा स्रोतलाई 'प्रमुख खम्बा’ बनाइनुपर्ने तर्क राख्दै आएका छन् । गएको मार्चमा भएको फुकुशिमा आणविक दुर्घटनापश्चात् जापानमा आणविक कार्यक्रम हटाउनुपर्ने माग बढेको छ । जापानमा रहेका ५४ ओटा आणविक केन्द्रमध्ये दुई तिहाइलाई नियमित परीक्षणको क्रममा बन्द गरिएको छ ।                  एएफपी/रासस

चीनमा एप्पलका दुई नक्कली पसल बन्द

साउन ९, बेइजिङ (चीन) । चीनमा एप्पलको नाममा नक्कली सामान बेच्ने दुइओटा  पसललाई अधिकारीहरूले बन्द गरिदिएका छन् । अन्य तीनओटा त्यस्तै नक्कली पसलमाथि भने एप्पलका कुनै पनि नक्कली सामान नभेटिएकाले कारबाही हुन सकेन । गत हप्ता चीनको युनान प्रान्तमा बसेकी एक अमेरिकी महिलाले एप्पलको सामान बेच्ने नक्कली पसलको फोटो आफ्नो ब्लगमा राखेकी थिइन् । ती नक्कली पसलको बनावट र कर्मचारीको टिसर्टसमेत ठयाक्कै सक्कली एप्पलको आधिकारिक बनोटसँग मिल्दोजुल्दो रहेको उनले लेखेकी थिइन् । त्यसपछि, अधिकारीहरूले ती नक्कली पसलमाथि छानबिन र कारबाही गरेका हुन् । एएफपी/रासस

Admin 2011-07-26