रोजगारी बढाउने विषयमा ओबामाको सम्बोधन
असोज १०, सिलिकन भ्याली (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो सरकारको अहिलेको सबैभन्दा प्रमुख कार्य सुस्तिएको आर्थिक वृद्धिलाई पुन: गति प्रदान गर्न रोजगारी सृजना गर्नु रहेको बताएका छन् । अमेरिका तथा विश्वकै सूचनाप्रविधि राजधानी मानिने क्यालिफोर्नियास्थित सिलिकन भ्यालीमा सोमवार आयोजित एक कार्यक्रममा ओबामाले 'अमेरिकन जब्स एक्ट'ले नयाँ रोजगारी सृजना गर्ने उल्लेख गरे ।
अहिले अमेरिकामा १९ लाख रोजगारी सृजना गर्न तथा देशको कुल गार्हस्थ्य उत्पादन २ प्रतिशतले वृद्धि गर्न आफ्नो सरकारले छिट्टै नयाँ कार्यक्रम घोषणा गर्ने जानकारी पनि उनले दिए । व्यावसायिक-सामाजिक नेटवर्किङ साइट 'लिङ्क्डइन'ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ओबामाले सो साइटका प्रयोगकर्ता तथा कर्मचारीले सोधेका प्रश्नको उत्तर दिएका थिए । कार्यक्रममा उनले सार्वजनिक खर्च कटौती गर्ने र धनीहरूमाथि कर बढाउने सरकारको प्रस्तावको बचाउ गरेका थिए ।
अन्तरक्रियामा बोल्दै आबामाले केही प्रतिपक्षी रिपब्लिकनहरू कर घटाउँदै सन् १९२० को करप्रणालीमा फर्कन चाहेको आरोप लगाए । ओबामा सहभागी सो कार्यक्रम १ करोड १५ लाख प्रयोगकर्ता भएको 'लिङ्क्डइन' वेबसाइटबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । विश्लेषकहरू ओबामाले आगामी वर्ष हुने राष्ट्रपतीय चुनावको अघि सिलिकन भ्याली र सूचनाप्रविधिको मञ्च प्रयोग गर्नु महत्त्वपूर्ण भएको बताउँछन् । यसबाट धेरैभन्दा धेरै सामाजिक सञ्जाल तथा इण्टरनेट प्रयोगकर्ताहरूमाझ आफ्ना विचार पुर्याउन सकिने उनीहरूको भनाइ छ ।
ओबामाले इण्टरनेट सामाजिक सञ्जालको प्रयोग गर्न थालेपछि प्रतिपक्षीहरूले पनि उनलाई पछयाउँदै गएको देखिएको छ । सोमवारै सिलिकन भ्यालीको टाउन हलमा फेसबुकले आयोजना गरेको एक त्यस्तै कार्यक्रममा रिपब्लिकन पार्टीका नेताहरू सहभागी थिए । कार्यक्रममा बोल्दै रिपब्लिकन सांसदहरू एरिक क्याण्टर, केभिन म्याकार्थी र पल रायनले व्यापारीहरूमाथि लगाइएका करहरू घटाउनुपर्ने बताए । साथै, अमेरिकी सरकारले उद्योग व्यापारमाथि गरिरहेको नियमन कम गर्दै लानुपर्ने उनीहरूको धारणा थियो । एजेन्सी
विश्वकै ठूलो लेखापरीक्षकविरुद्ध जालसाजी मुद्दा
असोज १०, लण्डन (बेलायत) । विश्वको सबैभन्दा ठूलो लेखापरीक्षण तथा परामर्शदाता कम्पनी 'डेलोइट्टे टच तोमात्सु लिमिटेड'विरुद्ध अमेरिकामा जालसाजी मुद्दा दायर गरिएको छ । बेलायतमा मुख्यालय रहेको डेलोइट्टेले सन् २००७-०८ मा अमेरिकी घरजग्गा कम्पनी टीडब्ल्यूबी कर्पोरेशनको कारोबारको जालसाजी नियतवश पत्ता नलगाएको भन्दै सोमवार मुद्दा दायर गरिएको हो ।
अमेरिकाको मायामीस्थित अदालतमा दायर गरिएको सो मुद्दामा राम्ररी लेखापरीक्षण नगरेकैले टीडब्ल्यूबी कर्पोरेशन टाट पल्टिएको बताइएको छ । डेलाइट्टेले गरेको लेखापरीक्षणमा टीडब्ल्यूबी कर्पोरेशनको ७ अर्ब ६ करोड डलरको घाटाबारे केही पनि उल्लेख नगरिएको अभियोगपत्रमा उल्लेख छ । टीडब्ल्यूबी कर्पोरेशनको खारेजी प्रक्रियाको रेखदेख गर्ने जिम्मा लिएको एक ट्रष्टले मुद्दा दायर गरेको हो । सन् २००१ देखि २००८ सम्म कम्पनीको लेखापरीक्षण गरेको डेलोइट्टेले त्यहाँको जालसाजी थाहा पाँउदापाउँदै पनि सबै वित्तीय विवरण ठीक रहेको भूटो प्रतिवेदन दिएको अभियोगपत्रमा उल्लेख छ ।
सन् २००७-०८ मा आर्थिक सङ्कट शुरू हुँदा टीडब्ल्यूबी कर्पोरेशन टाट पल्टिएको थियो । उसको खारेजीका क्रममा मात्र कम्पनीमा ७ अर्ब ६ करोड जालसाजी भएको तथ्य खुलेको थियो । उक्त तथ्य सार्वजनिक भएपछि टीडब्ल्यूबी कर्पोरेशनका तत्कालीन अध्यक्ष ली फारकासलाई सन् २०११ अप्रिलमा ठगी र जालसाजीको अभियोगमा ३० वर्षको जेल सजाय सुनाइएको थियो । अमेरिकी न्याय मन्त्रालयका अधिकारीहरूले फारकासले चलाएको २ अर्ब ९ करोड डलरबराबरको धोकाधडीपूर्ण कार्यक्रमले कोलोनियल बैङ्क टाट पल्टिएको बताएका छन् । यो अमेरिकाको सबैभन्दा ठूलो क्षेत्रीय बैङ्क हो ।
अमेरिकामा भएको यो बैङ्क जालसाजी अहिलेसम्मकै सबैभन्दा ठूलो मानिएको छ । त्यसैगरी, जालसाजीका मतियार भएको अभियोगमा टीडब्ल्यूबी कर्पोरेशनका केही कर्मचारीलाई पनि जेल सजाय दिइसकेको छ । अन्य प्रमुख तीन लेखापरीक्षक फर्महरू प्राइसवाटर्स कुपर्स, केपीएमजी र अर्नेष्ट एण्ड योङविरुद्ध पनि अमेरिकामा विभिन्न मुद्दा चलिरहेका छन् । एजेन्सी
दक्षिण कोरियामा सन् २०१२ को बजेट पूर्ण तयार
असोज १०, सोल (दक्षिण कोरिया) । दक्षिण कोरिया सरकारले सन् २०१२ को बजेट संसद्मा प्रस्तुत गर्ने तयारी पूरा गरेको छ । मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण कोरियाली वित्तमन्त्री बाख जे-वानले सन् २०१२ को बजेटमा रोजगारी वृद्धि र बजेटघाटा कम गर्ने विषयहरू मुख्यरूपमा समावेश गरिएको जानकारी दिए ।
शुक्रवार संसद्मा प्रस्तुत गरिने बजेटको आकार ३ सय २६ दशमलव १ खर्ब वन (२ सय ७२ अर्ब ७० करोड अमेरिकी डलर) को हुने जानकारी विज्ञप्तिमा दिइएको छ । सन् २०११ को भन्दा बजेटको आकार ५ दशमलव ५ प्रतिशतले वृद्धि गरिएको विज्ञप्तिमा उल्लेख छ । संसद्मा प्रस्तुत गर्न लागिएको बजेटमा विश्वव्यापी आर्थिक मन्दीको असर कम गर्न लोक कल्याणकारी कार्यक्रमहरू विशेष रूपले समावेश गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । सरकारले मुलुकको अर्थतन्त्रमा मडारिइरहेको विश्वव्यापी आर्थिक मन्दीको बादल हटाउन विशेष जोड दिएको वानद्वारा जारी विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा सन् २०१२ मा सरकारले गर्ने खर्चहरू रोजगार वृद्धिमा केन्द्रित भएकाले यो 'रोजगार बजेट' भएको उल्लेख छ ।
बजेटमा ५ लाख ६२ हजार रोजगारी सृजना गर्न मात्रै ९० खर्ब ५ अर्ब वन ( ८ अर्ब ८ करोड डलर) खर्च गर्ने प्रस्ताव गरिएको उनले उल्लेख गरे । यो खर्च युवा तथा जेष्ठ नागरिकको रोगजारी वृद्धि गर्न केन्द्रित हुने बताइएको छ । सन् २०११ को बजेटमा रोजगारी वृद्धि गर्न ९० खर्ब वन (७ अर्ब ६५ करोड डलर) राखिएको थियो । यसैगरी, सरकारी आम्दनी सन् २०१२ मा ९ दशमलव ५ प्रतिशतले वृद्धि हुँदै ३ सय ४४ खर्ब १ अर्ब वन (२ सय ९२ अर्ब ८२ करोड डलर) गरिने लक्ष्य पनि बजेटमा राखिएको छ । यसबाट सन् २०१२ मा दक्षिण कोरियाको बजेटघाटा र कुल गार्हस्थ्य उत्पादनको अनुपात १ प्रतिशतमा झर्ने विश्वास लिइएको अर्थमन्त्री वानले गरेका छन् । चालू आर्थिक वर्षमा बजेटघाटा कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत रहेको छ । त्यस्तै, स्वास्थ्य, शिक्षा र रक्षामा क्रमश: ६ दशमलव ४, ९ दशमलव ३ र ५ दशमलव ६ प्रतिशतको वृद्धि पनि बजेटमा प्रस्ताव गरिएको छ । अर्थमन्त्रीको विज्ञप्तिअनुसार सन् २०१२ मा आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशत र मुद्रास्फीति ३ प्रतिशतको हाराहारीमा रहनेछ ।
यसैबीच एक अर्को समाचारअनुसार दक्षिण कोरियाली अर्थमन्त्री चोई जुङ-क्युङले आगामी मङ्गलवार राष्ट्रपति लि म्युङ-वाकसमक्ष आफूले राजीनामा दिने बताएका छन् । मन्त्री क्युङले यो महीनाको मध्यमा दक्षिण कोरियाभरि अचानक भएको एक दुर्लभ विद्युत् कटौतीका कारण राजीनामा दिने निर्णयगरेको बताइएको छ । अचानक विद्युत् प्रसारण रोकिँदा हजारौं मानिस लिफ्टमा घण्टौं थुनिएका थिए । विद्युत् प्रसारण रोकिएपछि उद्योगधन्दा बन्द हुँदा आर्थिक क्षति भएको र ट्राफिक अस्तव्यस्त भएकाले सोको जिम्मेवारी लिँदै क्युङले राजीनामा गर्ने समाचारमा बताइएको छ । मन्त्री क्युङले एक विज्ञप्ति प्रकाशित गर्दै यसबाट भएको क्षेतिप्रति क्षमायाचना गरिसकेका छन् । एजेन्सी
एशियाली सूचनाप्रविधि कम्पनीको प्रतिस्पर्धात्मकता वृद्धि
असोज १० । एशियाली देशहरू सूचनाप्रविधिको क्षेत्रमा पश्चिमेली कम्पनीहरूकै हाराहारीमा पुग्न थालेका मङ्गलवार प्रकाशित एक तथ्याङ्कले देखाएको छ । कपीराइट सुरक्षालाई बलियो बनाएर तथा नियमनसम्बन्धी सुधार लागू गरेर एशियाली कम्पनीहरूले आफ्नो प्रतिस्पर्धात्मकता बढाउन सफल भएका हुन् । इकोनोमिष्ट इण्टेलिजेन्स युनिट (ईआईयू)को एक प्रतिवेदन अनुसार सूचनाप्रविधि कम्पनीका लागि अझै पनि विकसित देशहरू नै आकर्षक गन्तव्य रहे पनि धेरै एशियाली देशहरूले आफ्नो प्रतिस्पर्धामकतामा ठूलो प्रगति गरेका छन् ।
अहिले पनि अमेरिका नै विश्वको सबैभन्दा प्रतिस्पर्धी सूचनाप्रविधि उद्योगका रूपमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमश: फिनल्याण्ड र सिङ्गापुर छन् । त्यसैगरी, विश्वका २० सबैभन्दा प्रतिस्पर्धी परिसूचकमा यूरोपको वर्चस्व छ । विदेशी लगानी नीति, पूर्वाधार, सूचनाप्रविधि उच्च शिक्षा, पेटेण्ट दर्ता, कपीराइट सुरक्षा र पूँजीमा पहुँचजस्ता विभिन्न आधारमा उक्त परिसूचक तयार पारिएको हो ।
यसपटकको सर्वेक्षणमा प्रमुख-२० को सूचीमा एउटा एशियाली देश थपिएर कुल सात देश रहेका छन् । तिनमा सिङ्गापुर, अष्ट्रेलिया, ताइवान, जापान, न्यूजील्याण्ड, दक्षिण कोरिया र हङकङ छन् । सर्वेक्षण गरिएका जम्मा ६६ देशमध्ये मलेशिया र भारतले तीव्र सुधार गरेका छन् । मलेशिया ११ स्थान उक्लेर ३१औं र भारत १० स्थान उक्लेर ३४औं स्थानमा रहेका छन् । चीन भने ३८औं स्थानमा छ । एएफपी/रासस
अमेरिकामा घर विक्री ५० वर्षयताकै न्यून
असोज १०, वाशिङटन (अमेरिका) । अमेरिकामा मार्च-अगष्ट समयलाई 'घर विक्रीको याम' का रूपमा चिनिन्छ । घर खरीदविक्रीको उपयुक्त मौसम मानिने यो समयमा चारैतिर घर खरीदविक्रीको लहर चलिरहेको हुन्थ्यो । व्यापक चहलपहल हुने यो समयमा घरजग्गा कारोबारमा निकै ठूलो मन्दी छाएको छ । ५० वर्षयता व्यवस्थित रूपमा घरजग्गा कारोबारको रेकर्ड राख्न थालिएपछि यो वर्षमा आँकडाहरूले चिन्ताजनक सङ्केत गरेको छ ।
सोमवार अमेरिकी वाणिज्य विभागले सार्वजनिक गरेको प्रतिवेदनले मार्च-अगष्ट अवधिमा १ लाख ६८ हजार ओटा मात्र नयाँ घर विक्री भएका छन् । सन् २०१० को यही अवधिमा १ लाख ८० हजार घर खरीदविक्री भएका थिए । त्यसैगरी सन् २००९ मा २ लाख ८ हजार घर विक्री भएको वाणिज्य विभागका तथ्याङ्कहरूले देखाएका छन् । विभागले यो वर्षको नयाँ घरको विक्री विगत ५० वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा रहेको बताएको छ । सन् २००८ मा आर्थिक सङ्कट शुरू भएयता नयाँ घरको खरीदविक्री लगातार ओरालो लागिरहेको विभागले बताएको छ । आर्थिक सङ्कट शुरू हुनुभन्दा अघि मार्च-अगष्ट अवधिमा ४ लाख नयाँ घर खरीदविक्री हुने गर्दथे । पुराना घरको विक्रीमा पनि ठूलो कमी आएको देखिएको छ । यस वर्षमार्च-अगष्ट अवधिमा अमेरिकामा पुराना घरहरू २८ लाखओटा मात्र विक्री भए । एपी/रासस
ग्रीस उद्धारका योजनामा सहभागी हुन सकिन्छ : जापान
असोज १०, टोकियो (जापान) । जापानले ग्रीसको ऋणसङ्कट समाधान गर्ने प्रयत्नहरूमा सहभागी हुन सक्ने इच्छा देखाएको छ । जापानी अर्थमन्त्री जुन अजुमीले मङ्गलवार ऋणसङ्कटबारे यूरोजोन राष्ट्रहरूले निकाल्ने तर्कसङ्गत समाधानमा जापानले सहयोग गर्ने बताए । ग्रीसको ऋणसङ्कटले विश्वव्यापी आर्थिक सङ्कट हुने त्रासले सोमवार जापानको निक्केइ २२५ शेयर सूचकाङ्क विगत साढे दुई वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा ओर्लिएपछि जापानबाट यस्तो भनाइ आएको हो । अजुमीले ग्रीसलाई प्रदान गरिने सहयोगको केही भाग जापानले पनि बोक्न सक्ने बताए । तर, ऋणसङ्कट समाधानका लागि रकमको यथोचित र मुनासिव उपयोग गरिनुपर्नेमा आफूहरूको सधैं जोड रहने ओजुमीको भनाइ थियो ।
यसैबीच, जर्मन चान्सलर एञ्जेला मर्केलले बर्लिनमा मङ्गलवार आयोजित जर्मन उद्योगीहरूको एक सम्मेलनमा बोल्दै ग्रीस सरकारद्वारा अघि सारिएका संरचनात्मक सुधार कार्यक्रमहरूप्रति आफ्नो पूर्ण समर्थन रहेको बताइन् । तर, ग्रीसलाई सक्दो सहयोग गर्ने बताए पनि चान्सलर मर्केलले यसबारे विस्तृत रूपले भने केही बताइनन् । कार्यक्रममा उनले सबै यूरोजोनका राष्ट्रले प्रयोग गर्ने ऋणपत्र 'यूरोबण्ड'को अवधारणा पनि अस्वीकार गरिन् ।
एशियाली शेयरबजार उक्लिए
असोज १०, बेइजिङ (चीन) । यूरोजोन सङ्कटको कारण हालसालै ठूलो मात्रामा शेयरहरू विक्री गरिएपछि मङ्गलवार एशियाली शेयरबजारहरू उक्लेका छन् ।
यूरोपेली शेयरबजार तथा वालस्ट्रीट सोमवार उक्लेपछि मङ्गलवार एशियाली शेयरबजारसमेत उक्लेको हो । टोकियो शेयरबजार २ दशमलव ८२ प्रतिशतले उक्लेर ८ हजार ६ सय ९ दशमलव ९५, सिड्नी शेयरबजार ३ दशमलव ६४ प्रतिशतले उक्लेर ४ हजार ४ दशमलव ६ र सोल शेयरबजार ५ दशमलव शून्य २ प्रतिशतले उक्लेर १ हजार ७ सय ३५ दशमलव ७१ मा रहेको छ । त्यसैगरी, हङकङ र साङ्घाइका शेयरबजार क्रमश: ४ दशमलव १५ र शून्य दशमलव ९१ प्रतिशतले उक्लेका छन् । अघिल्ला दुई सेसनमा ११ प्रतिशतभन्दा बढीले ओर्लेको जकार्ताको शेयरबजार पनि मङ्गलवार ४ दशमलव ७६ प्रतिशतले उक्लेको छ । उता, अघिल्ला तीन सेसनमा झण्डै १३ प्रतिशतले ओर्लेको बैङ्कक शेयरबजार ४ दशमलव ७१ प्रतिशतल उक्लेको छ । एएफपी/रासस
Admin 2011-09-28