तेलको मूल्य १ सय ६ डलरमाथि
चैत १०, सिङ्गापुर । एशियामा तेलको मूल्य बिहीवार १ सय ६ डलर प्रतिब्यारेल नाघेको छ । तेल धनी अरब देशहरूमा हिंसात्मक प्रदर्शन बढ्दै गएकाले तेलको मूल्य पनि बढेको हो । मेमा डेलिभरी हुने कच्चा तेलको मूल्य बिहीवार दिउँसो २९ सेण्टले बढेर १ सय ६ दशमलव शून्य ४ डलर प्रतिब्यारेल पुगेको छ । बुधवार बजार बन्द हुने बेलामा तेलको मूल्य १ सय ५ दशमलव ७५ डलर थियो, जुन २००८ को सेप्टेम्बर २६ पछि बजार बन्द हुँदाको अवस्थामा सबैभन्दा उच्च मूल्य हो । लण्डनमा बे्रण्ट क्रुड ८ सेण्टले बढेर प्रतिब्यारेल १ सय १५ दशमलव ५५ डलर पुगेको छ । मध्यपूर्व र उत्तर अफ्रिकाको अशान्तिले फेब्रुअरी १५ पछि तेलको मूल्यमा २४ प्रतिशतले वृद्धि भइसकेको छ । एपी/रासस
जापानको निर्यातमा वृद्धि
चैत १०, टोकियो (जापान) । जापानको निर्यात फेब्रुअरीमा गतवर्षको सोही अवधिमा भन्दा ९ प्रतिशतले बढेको छ । चीनतर्फो मागमा ठूलो वृद्धि भएकाले निर्यात पनि बढेको जापान सरकारले बताएको छ । अर्थ मन्त्रालयले बिहीवार बताएअनुसार, फेब्रुअरीमा ६९ अर्ब डलरको निर्यात भएर १५औं महीनासम्म पनि लगातार वृद्धि देखिएको छ । जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो । आफ्नो अर्थतन्त्रको पुनर्बहाली हुन जापान चीनबाट आउने मागमा निर्भर हुनुपर्छ । फेब्रुअरीमा चीनतर्फको जहाज ढुवानीमा २९ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, एशियातर्फको निर्यात भने १२ दशमलव ३ प्रतिशतले बढेको छ । एपी/रासस
आईम्याक्सको चीनमा थप ७५ सिनेमाघर
चैत १०, बेइजिङ (चीन) । आईम्याक्स कर्पोरेशनले आगामी ४ वर्षभित्र चीनमा थप ७५ ओटा सिनेमाघर खोल्ने घोषणा गरेको छ । चीनको सबैभन्दा ठूलो सिनेमा सञ्चालक वाण्डा सिनेमाजसँगको साझेदारीमा आईम्याक्सले थप सिनेमाघर खोल्ने भएको हो । यसबाट चिनियाँ सिनेमा उद्योगमा तीव्र विस्तार भइरहेको देखिएको छ । आईम्याक्स अमेरिकाको सिनेमा सम्बद्ध कम्पनी हो । आईम्याक्स उसको ठूलो फर्माटको फिल्म प्रविधिको लागि प्रख्यात छ । हाल उसको चीनभरिमा ४५ ओटा सिनेमाघर छन् । साथै, आगामी २०१६ सम्ममा ३ सय ओटा सिनेमाघर खोल्ने योजना आईम्याक्सले बनाएको छ । त्यसको लागि उसले वाण्डाबाहेकका अन्य सञ्चालकसँग पनि साझेदारी गर्नुपर्नेछ । सम्झौतामा दुवैपक्षले बेइजिङमा हस्ताक्षर गरेका थिए । तर, सिनेमाघर विस्तारको लागत र नाफाको बाँडफाँटबारे भने कुनै जानकारी दिइएको छैन् । चीनमा आईम्याक्सको तीव्र विस्तार भइरहेकाले अमेरिकाबाहिर वाण्डा नै आईम्याक्सको सबैभन्दा ठूलो एकल सञ्चालक हुनेछ । एएफपी/रासस
चीनमा धूमपान प्रतिबन्ध
चैत १०, बेइजिङ (चीन) । चीनले मे १ बाट सार्वजनिक क्षेत्रमा धूमपानमाथि प्रतिबन्ध लागू गर्ने भएको छ । त्यस अन्तर्गत होटेल, रेष्टुराँलगायतका सार्वजनिक क्षेत्रमा धूमपान निषेध गरिनेछ । चीन विश्वमै सवाधिक धूमपान अम्मली भएको देश हो । राज्यनियन्त्रित चिनीयाँ सुर्तीचुरोट उद्योगले बजारमा झण्डै एकाधिकार नै कायम गरेका छन् । त्यसबाट चीन सरकारलाई ठुलो आम्दानी हुने गरेको छ । त्यसैले धूमपान विरोधी प्रावधान लागू गर्न समस्या परिरहेको विशेषज्ञहरू बताउँछन् ।चीनमा धूमपानका कारण प्रत्येक वर्षकम्तीमा १० लाख मानिसको मृत्यु हुने गरेको छ । सरकारी तथ्याङ्कले पनि धूमपान ठूलो स्वास्थ्य चुनौतीमध्ये एक रहेको देखाएको छ । चीनका झण्डै ३० प्रतिशत वयस्क अर्थात् ३० करोड मानिसले धूमपान गर्दछन् । उक्त सङ्ख्या झण्डै अमेरिकाको पूरै जनसङ्ख्याबराबर हुन आउँछ । धूमपान प्रतिबन्धसँगै जारी गरिएको निर्देशिकाले सार्वजनिक क्षेत्रको स्वास्थ्य व्यवस्थापनमा थप नियमहरू पनि जारी गरेको छ । त्यसमा, भेण्टिलेशन राख्नुपर्ने, हावाको स्वच्छता कायम राख्नुपर्ने, कीटाणुनाशकको प्रयोग र मुसासाङ्लाजस्ता जीवको नियन्त्रणलगायतका प्रावधान छन् । एएफपी/रासस
डब्ल्यूपीपीको बेलायत फर्किने योजना
चैत १०, लण्डन (ब्रिटेन) । विज्ञापनको क्षेत्रमा विश्वमै अग्रणी डब्ल्यूपीपीले उसको मुख्य कार्यालय फेरि ब्रिटेन सार्ने भएको छ । सरकारले कम्पनीको मुनाफामा लाग्ने कर घटाएपछि त्यस्तो निर्णयगरिएको प्रमुख कार्यकारी मार्टिन सोरेलले बिहीवार बताएका छन् । सोरेलले डब्ल्यूपीपीको मुख्य कार्यालय आयरल्याण्डबाट सार्न सञ्चालक समिति र शेयरहोल्डरसमक्ष सिफारिश गरिने बताएका छन् । बेलायतको बजेटले कर्पोरेशन करमा अपेक्षाभन्दा पनि धेरै कटौती गरेपछि सोरेलले त्यस्तो बताएका हुन् । डब्ल्यूपीपीले २००८ मा उसको मुख्य कार्यालय बेलायतबाट आयरल्याण्ड सारेको थियो । ब्रिटेनको कर्पोरेट कर र खासगरी नाफामा लगाइने करसम्बन्धी नियमनको अनिश्चिततालाई त्यतिखेर मुख्य कार्यालय सार्नुको कारण बताएको थियो । एएफपी/रासस
Admin 2011-03-25