शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चीनद्वारा बढी नाफा बुझाउन राज्यनियन्त्रित कम्पनीलाई निर्देशन

फागुन १०, बेइजिङ (चीन) । चीनका बैङ्क र अन्य राज्यनियन्त्रित प्रमुख कम्पनीहरूलाई सरकारलाई अझ बढी नाफा बुझाउन निर्देशन दिइने एक अधिकारीले बताएका छन् । उपभोक्ता खर्च र साना व्यवसायलाई प्रोत्साहन गर्ने दिशामा सरकारी लगानी बढ्ने भएकाले त्यस्तो निर्देशन दिन लागिएको हो । घरेलु खपत बढाएर वैदेशिक निर्यात र लगानीमाथिको निर्भरता घटाउने रणनीतिअन्तर्गत त्यस्तो कदम आएको छ । राज्यनियन्त्रित ठूला कम्पनीहरूले अर्थिक वृद्धिलाई जनतामाझ बाँड्न नसकेको जनगुनासो पनि बढ्दै गएको छ ।हाल १० देखि १५ प्रतिशत नाफा मात्र सरकारलाई बुझाउँदै आएका त्यस्ता कम्पनीका प्रबन्धकहरूले ठूलो रकम तलब लिने गरेको पनि गुनासो छ  'सरकारलाई बुझाइने रकम भविष्यमा बढ्नेछ,’ राज्यनियन्त्रित नियमन निकाय एसेट सुपरभिजन एण्ड एडमिनिष्ट्रेशन कमिशनका सहअध्यक्ष शाओ निङले भने ।

उक्त कमिशनले चीनका १२१ ठूला कम्पनीहरूको सुपरिवेक्षण गर्दछ, जसमा पेट्रोचाइना लिमिटेड, बैङ्क अफ चाइना र चाइना मोबाइल लिमिटेडजस्ता विशाल कम्पनीहरू पनि छन् । ती कम्पनीहरूले आफ्ना शेयरहोल्डरलाई दिने नाफाको आधारमा सरकारलाई दिनुपर्ने रकमको अनुपात निकालिने शाओले जानकारी दिए । चीनले बैङ्किङ, स्टील उत्पादन, तेल र अन्य उद्योगमा राष्ट्रिय कम्पनीहरूलाई प्राथमिकता दिने नीति लिएको छ । त्यस अन्तर्गत त्यस्ता क्षेत्रका कम्पनीहरूलाई चीन सरकारले अनुदानलगायत अन्य सुविधासमेत उपलब्ध गराउँदै आएको छ ।तर, चिनियाँ कम्युनिष्ट पार्टीको पछिल्लो ५ वर्ष आर्थिक योजनाले घरेलु खपत र सेवा उद्योगलाई टेवा दिने नीति लिएको छ । त्यसअर्न्तर्गत, राज्यनियन्त्रित उद्योगमा रहेको लगानीलाई घरपरिवार र उद्यमीहरूको क्षेत्रमा स्थानानान्तरण गर्नुपर्ने हुन्छ । एएफपी/रासस

भारतमा दूरसञ्चारकाण्डमा विपक्षीको माग स्वीकार

फागुन १०, नयाँ दिल्ली (भारत) । भारतका प्रधानमन्त्री मनमोहन सिंह दूरसञ्चारकाण्डमा विपक्षी दलले माग गरेजस्तै अन्तरपार्टी संयन्त्रद्वारा छानबिन गर्न मङ्गलवार सहमत भएका छन् । दूरसञ्चारको अनुमितपत्रको २००८ मा गरिएको विक्रीसँग सम्बद्ध उक्त काण्डबाट सरकारलाई ४० अर्ब डलरसम्मको घाटा लागेको आरोप छ । अन्तरपार्टी संयन्त्रको छानबिन समिति गठनको माग राख्दै विपक्षी दलहरूले संसद् बैठकमा अवरोध गर्दै आएका थिए ।यसै महीनाको अन्त्यमा प्रस्तुत गरिने राष्ट्रिय बजेट सजिलै पारित होस् भनेर प्रधानमन्त्रीले विपक्षीका माग स्वीकार गरेका हुन् । त्यस्तो संयन्त्रको माग राख्दै गत अधिवेशनभर नै विपक्षीहरूले दैनिक रूपमा संसद्मा अवरोध गरेका थिए । तत्कालीन दूरसञ्चार मन्त्री ए राजाको मातहतमा दोस्रो पुस्ताको मोबाइल (२जी) अनुमतिपत्र अत्यन्त न्यून मूल्यमा बेचिएको आरोप छ । त्यसलाई भारतको हालसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड भनिएको छ । चर्को विरोधपछि राजाले गत महीना राजीनामा गरेका थिए । त्यसपछि राजालाई पक्राउ गरिएको थियो र हाल उनी जेलमा छन् ।भारतको अनुसन्धान निकाय सीबीआईले अनिल अम्बानीलगायत उच्च व्यापारीहरूलाई समेत त्यस काण्डमा संलग्नताको आशङ्कामा केरकार गरेको छ । एएफपी/रासस

चिनियाँ कामदारको एप्पललाई स्वास्थ्य आग्रह

फागुन १०, सुझोउ (चीन) । अमेरिकी कम्पनी एप्पलका लागि टचस्क्रीन बनाउने चिनियाँ कामदारहरूले विषालु रसायनबाट स्वास्थ्यमा हानी पुगेकाले त्यसको सम्बोधन गर्न कम्पनीलाई आग्रह गरेका छन् । पूर्वी चीनको सुझोउ औद्योगिक क्षेत्रमा रहेको विण्टेकले २००८ को मेदेखि २००९ को अगष्टसम्म हेक्साइल हाइड्राइड भनिने विषालु रसायन प्रयोग गरेको स्वीकार गरेको छ । तर, त्यस रसायनले कामदारलाई बिरामी बनाइरहेको थाहा पाएपछि त्यसको प्रयोग बन्द गरिएको पनि कम्पनीले दाबी गरेको छ ।'यो मृत्युकारक छ, यसले नदेखिने गरी मृत्युको मुखमा पुर्याइरहेको छ,’ एप्पलका प्रमुख कार्यकारी अधिकृत स्टीभ जब्सलाई लेखिएको पत्रमा भनिएको छ । 'जबदेखि हेक्साइल हाइड्राइड प्रयोग गर्न थालियो, एप्पल र विण्टेकको नाफामा प्रत्येक महीना करोडौंले वृद्धि भइरहेको छ । कामदारको जीवन र स्वास्थ्यलाई दाउमा राखेर त्यस्तो नाफा भएको हो,’ कामदारहरूले भनेका छन् । एप्पलले जनवरीमा ठूलो नाफा भएको घोषणा गरेको थियो । तर, चीनस्थित कामदारका लागि कारखानाको वातावरण अस्वस्थ्य रहेकोमा उसको चर्को आलोचना पनि भइरहेको छ । गत वर्ष चीनस्थित फक्सकन भनिने एप्पलको आपूर्तिकर्ता कारखानाका एक दर्जनभन्दा बढी कामदारले आत्महत्या गरेका थिए । कारखानाको वातावरण असहय भएकाले कामदारले आत्महत्या गरेका भन्ने आरोप आलोचकहरूले लगाउँदै आएका छन् । रोयर्टस

रिलायन्सको शेयरमा पाँच प्रतिशतले वृद्धि

फागुन १०, मुम्बई (भारत) । ब्रिटिश पेट्रोलियम (बीपी)सँगको नयाँ साझेदारी घोषणा गरेको भोलिपल्टै रिलायन्सको शेयर मूल्यमा मङ्गलवार ४ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ । बीपीले रिलायन्सको तेल बल्कमा ७ अर्ब २० करोड डलरको हिस्सा खरीद गर्ने सोमवार बताएको थियो । बीपी र रिलायन्सले सोमवार घोषणा गरेअनुसार उनीहरूको संयुक्त लगानी २० अर्ब डलरसम्म पुग्न सक्नेछ । शुरूमा, भारतस्थित २३ ओटा तेल र ग्यास ब्लकमा ३० प्रतिशत हिस्साका लागि बीपीले ७ अर्ब २० करोड दिने भएको हो । रिलायन्सका अध्यक्ष मुकेश अम्बानी र बीपीका प्रमुख कार्यकारीले लण्डनमा सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त लगानीलाई भारतमा भएको हालसम्मकै सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी भनिएको छ ।
एएफपी/रासस

चीनमा नयाँ सर्च इञ्जिन

फागुन १०, बेइजिङ (चीन) । चीनको प्रमुख सरकारी समाचार संस्था सिन्हवाले मङ्गलवार एउटा नयाँ इण्टरनेट सर्च साइट सञ्चालनमा ल्याएको छ । गत वर्ष सेन्सर गरिएको भन्दै गूगलले चीनस्थित आफ्नो सर्च इञ्जिनलाई बन्द गरेको थियो । त्यसपछि सिन्हवाले पाङ्गुसो डट कम भन्ने आफ्नै सर्च इञ्जिन ल्याएको हो ।चीनकै राज्यनियन्त्रित चाइना मोबाइल लिमिटेडसँगको साझेदारीमा सिन्हवाले उक्त सर्च इञ्जिन सञ्चालन गरेको छ । उक्त सर्च इञ्जिनबाट चिनियाँ कम्युनिष्ट पार्टीलाई जनताले प्राप्त गर्ने सूचनालाई नियन्त्रण गर्न सजिलो हुनेछ ।चाइना मोबाइलको ग्राहक सङ्ख्या व्यापक रहेकाले उक्त सर्च इञ्जिन व्यापारिक रूपले पनि सफल हुनसक्छ । तर, त्यसले हाल त्यहाँ सञ्चालनमा रहेको स्थानीय बाइडू इङ्कलाई भने विस्थापन गर्न गाह्रै पर्नेछ । बाइडूले हाल चीनको र्सच बजारको ७५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । चीन विश्वकै सबैभन्दा धेरै इण्टरनेट प्रयोगकर्ता भएको देश हो । एपी/रासस

बेष्ट बाईको चीनस्थित सञ्जाल बन्द

फागुन १०, बेइजिङ (चीन) । इलेक्ट्रोनिक सामानको अमेरिकी खुद्रा व्यापार सञ्जाल बेष्ट बाईले सङ्घाइस्थित प्रमुख कार्यालयलगायत चीनका विभिन्न ठाउँमा रहेका नौओटा पसल बन्द गर्ने बताएको छ । त्यसपछि चीनको तीव्र वृद्धि भइरहेको बजारमा टिक्न गाह्रो भइरहेको विदेशी कम्पनीमा बेष्ट बाई पनि थपिएको छ ।चीनमा भएका उसका पसलहरूलाई आफ्नै सहायक कम्पनी फाइभ स्टार अप्लाएन्स कम्पनीको मातहतमा ल्याउने बेस्ट बाईको योजना छ । कम्पनीले अन्य फाइदाजनक विकल्पको खोजी गर्न चाहेको छ । केही समयपछि दुइओटा पसल भने फेरि सञ्चालनमा ल्याउने योजना छ,’ बेष्ट बाईको विज्ञप्तिमा भनिएको छ । पसल बन्द गर्ने निर्णय कठिन भए पनि आफ्नो व्यापारिक रणनीतिमा भने विश्वस्त रहेको बेष्ट बाईका एशिया प्रमुख काल पटेलले बताएका छन् । एएफपी/रासस

जापानलाई लडाकू विमान बेच्न यूरोप र अमेरिकाको प्रतिस्पर्धा

फागुन १०,  टोकियो (जापान) । जापानले लामो समयदेखि नै अमेरिकी लडाकू विमान प्रयोग गर्दै आएको छ । त्यसैले यूरोपेली विमान निर्माताहरूले जापानलाई अमेरिकी विमानको साटो आफ्ना विमान खरीद गर्न मनाउँदै छन् । त्यसमा उनीहरू सफल पनि हुँदै गइरहेको जस्तो देखिन्छ । जापानका सामु यूरोफाइटर टाइफुन भनिने लडाकू विमान खरीदका लागि आकर्षक प्रस्ताव आएको छ । अमेरिकी विमानमा बेलाबेलामा आउने समस्या र बाधाका कारण यूरोपेली प्रस्तावमा जापान आकर्षित भएको देखिन्छ । तर, जापानका लागि पनि निर्णय गर्न त्यति सजिलो छैन । किनभने, जापान त्यसक्षेत्रमा अमेरिकाको प्रमुख सुरक्षा साझेदारमध्ये हो । चीन र रूस दुवैले आफ्ना हवाईसुरक्षाबललाई आधुनिकीकरण गरिरहेका छन् । यस्तो बेला यूरोपेली विमान खरीद गर्दा अमेरिका र जापानबीचको हवाईसुरक्षा सहयोगमा नै समस्या आउने केही विश्लेषकले बताएका छन् ।

जापानले पनि हाल आफूसँग रहेको लडाकू विमानहरूको उमेर पुगेपछि अत्याधुनिक विमान खरीद गर्न चाहेको छ । अमेरिकासँगको नजिकको सम्बन्धका कारण अमेरिकी लकहेड एफ-३५ र बोइङ एफ/ए-१८ खरीद गर्न जापानमाथि दबाब पनि छ । जापानले भने एफ-२२ राप्टर जासूसी विमान खरीद गर्न चाहेको छ । तर, अमेरिकाले त्यस्तो विमान दिन चाहेको छैन । त्यसैले, यूरोफाइटर टाइफुनले पनि जापानलाई लोभ्याउन सफल भएको छ । चार यूरोपेली देश ब्रिटेन, जर्मनी, फ्रान्स र इटलीको सैन्य उत्पादकहरूको संलग्नतामा यूरोफाइटर टाइफुन विमान निर्माण गरिएको हो । एपी/रासस

Admin 2011-02-23