शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

घूसखोरीविरुद्ध सक्रियताका लागि ट्रान्सपरेन्सीको आह्वान

जेठ १०, बर्लिन (जर्मनी) । भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय अभियानमा कुनै प्रगति नदेखिएको ट्रान्सपरेन्सी इण्टरनेशनल (टीआई)को नयाँ प्रतिवेदनले देखाएको छ । राजनीतिक प्रतिबद्धताको अभावका कारण विदेशस्थित अधिकारीहरूलाई घूस खुवाउने विदेशी कम्पनीहरूको कार्यलाई रोक्न नसकिएको प्रतिवेदनको ठहर छ ।आर्थिक सहयोग र विकास संस्था अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड  डेभलपमेण्ट (ओईसीडी) मा हाल ३४ देश आबद्ध छन्, यसमध्ये प्रायः धनी देशहरू नै छन् ।

कम्पनीहरूले अन्य देशका सरकारी अधिकारीलाई घूस खुवाउने कार्यलाई अपराधका रूपमा लिन सरकारहरूलाई सन् १९९७ मै ओईसीडीले आह्वान गरेको थियो । तर, उक्त अभिसन्धिलाई हालसम्म ३८ देशले मात्र अनुमोदन गरेका छन् भने सक्रिय रूपमा सात देशले मात्र लागू गरेका छन् । त्यसमध्ये २१ ओटा देशले नगण्य वा कत्ति पनि लागू नगरेको टीआईको प्रतिवेदनले औंल्याएको छ ।यस अघिका ६ ओटा प्रतिवेदनले भने केही सुधार भइरहेको देखाएको थियो । तर, हालको प्रतिवेदनबाट भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय अभियानमै शिथिलता देखिएकोमा टीआईले चिन्ता व्यक्त गरेको छ । अभियानले काम गर्न नसक्नुमा मुख्यतः राजनीतिक प्रतिबद्धताको अभाव रहेको विशेषज्ञहरूले बताए ।

यस्ता भ्रष्टाचार रोक्न ओईसीडी, सरकारी नेताहरू र प्रमुख कार्यकारी अधिकृतहरूको नेतृत्वमा उच्चस्तरको राजनीतिक निर्णयलिइनुपर्ने टीआईको सुझाव छ । सक्रिय रूपमा लागू गर्ने देशमा डेनमार्क, इटली, नर्वे, स्वीट्जरल्याण्ड, ब्रिटेन, जर्मनी र अमेरिका रहेका छन् । नगण्य वा अलिकति पनि लागू नगरेका देशमध्ये ब्राजिलले भने राम्रो सुधार गरेको छ ।त्यसैगरी, ब्रिटेन, रूस, चीन र भारतले पनि सुधार गरिरहेका छन् । तर, जी७ मा रहेको क्यानडाले भने अझै पनि विदेशमा घूस ख्वाउने कम्पनीमाथि कारबाही गर्न खासै तदारुकता देखाएको छैन । एजेन्सी

चीनद्वारा सार्वजनिक स्वास्थ्य क्षेत्रमा अर्बौंको लगानी

जेठ १०, बेइजिङ (चीन) । चीनले सार्वजनिक स्वास्थ्य सेवाक्षेत्रको विस्तारका लागि यस वर्ष४ अर्ब ६० करोड डलरको लगानी गर्ने भएको छ । खासगरी निःशुल्क खोप कार्यक्रम तथा ६ वर्षमुनिका केटाकेटीको नियमित स्वास्थ्य परीक्षणका लागि उक्त रकम खर्च गरिनेछ ।स्वास्थ्य कार्यक्रम र सेवाको सुधारका लागि रकम खर्च गरिने चीनको स्वास्थ्य मन्त्रालयले मङ्गलवार बताएको छ । चीनले १२ ओटा स्वास्थ्य सेवा निःशुल्क पाउने केटाकेटीको उमेर ३ वर्षबाट बढाएर ६ वर्षपुर्याएको छ । त्यसैगरी, गर्भवती महिला र ६५ वर्षनाघेकालाई समेत सम्पूर्ण शारीरिक जाँचजस्ता निःशुल्क स्वास्थ्य सेवा दिइनेछ ।

चीनले २००९ मा स्वास्थ्य सेवा प्रणालीको सुधारका लागि ३ वर्षमा१ खर्ब २४ अर्ब डलर लगानी गर्ने लक्ष्य राखेको थियो । सोही योजनाअन्तर्गत नै हालको लगानी घोषणा गरिएको हो । चीनको सार्वजनिक स्वास्थ्य क्षेत्रमा वर्षौंदेखि आवश्यक लगानीको अभाव रहेको जनगुनासो रहँदै आएको छ । सोही जनगुनासोलाई सम्बोधन गर्ने क्रममा चीनले सार्वजनिक स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको हो । एपी/रासस

अदालतद्वारा भ्रष्टाचार आरोपीको जमानत अस्वीकार

जेठ १०, नयाँ दिल्ली (भारत) । एक भारतीय अदालतले दूरसञ्चार अनुमतिपत्र भ्रष्टाचार काण्डका अभियुक्तमध्येका एक शहिद बल्वाको जमानत दोस्रोपटक पनि अस्वीकार गरिदिएको छ । बल्वा एस्तिलातको भारतीय शाखा डीबी ग्रूपका उपाध्यक्ष हुन् ।सन् २००७/०८ मा भएको दूरसञ्चार अनुमतिपत्र भ्रष्टाचार काण्डलाई भारतको हालसम्मकै ठूलो भ्रष्टाचार मानिएको छ । बल्वासँगै डीबी ग्रूपका अन्य दुई कार्यकारीको जमानतसमेत अदालतले अस्वीकार गरेको छ । उक्त भ्रष्टाचार काण्डबाट भारत सरकारलाई ३९ अर्ब डलरसम्मको घाटा लागेको बताइएको छ, जुन झण्डै भारतको सुरक्षा बजेटबराबर हुन आउँछ । बल्वालगायत १४ जनामाथि भ्रष्टाचार काण्डमा मुद्दा चलाइएको छ ।

आरोपीहरूमा एक पूर्वदूरसञ्चार मन्त्री तथा सत्तापक्षीय सांसदलगायत तीनओटा कम्पनीसमेत छन् । उक्त भ्रष्टाचार काण्डपछि एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतको सुशासन र नियमन प्रक्रियाबारे नै प्रश्न उठेको छ ।सबै आरोपी हाल जेलमा बसेर सुनुवाइको पालो कुरिरहेका छन् । दूरसञ्चार क्षेत्रका बहुराष्ट्रिय कम्पनी टेलिनोर र एस्तिलातले भने उक्त काण्ड आफूहरू भारतमा प्रवेश गर्नुअघि नै भएको जिकीर गरेका छन् । एजेन्सी

भारतद्वारा अफ्रिकालाई ५ अर्ब डलर प्रस्ताव

जेठ १०, अदिस अबाबा (इथियोपिया) । भारतले अफ्रिकालाई ५ अर्ब डलरको सहायता दिने भएको छ । अफ्रिकालाई चीनको प्रभावबाट मुक्त हुन प्रोत्साहन स्वरूप भारतले त्यस्तो सहायता दिने भएको हो । भारतका प्रधानमन्त्री मनमोहन सिंहले अदिस अबाबामा भइरहेको भारत-अफ्रिका सम्मेलनलाई मङ्गलवार सम्बोधन गरेका छन् । त्यस क्रममा सिंहले भारत र अफ्रिकाबीचको ऐतिहासिक सम्बन्ध रहेकोमा जोड दिएका थिए ।

अफ्रिकामा आर्थिक वृद्धिको नयाँ इतिहास शुरू भएको बताउँदै उक्त महादेश विश्वकै प्रमुख वृद्धि क्षेत्र हुन सक्ने सिंहले बताए । 'भारत(अफ्रिका साझेदारी इतिहासदेखि नै आफ्नै किसिमको छ । उपनिवेशवाद, रङ्गभेद, गरीबी, रोग, अशिक्षा र भोकविरुद्ध हाम्रो साझा संघर्ष छ,’ सिंहले भने । सिंहले सोमवारदेखि आफ्नो ६ दिने अफ्रिका भ्रमण शुरू गरेका हुन् ।

सम्बोधनकै क्रममा सिंहले अफ्रिकाको विकासका लागि आगामी ३ वर्षमा५ अर्ब डलर ऋण सहायताको प्रस्ताव गरेका छन् । त्यसका साथै, नयाँ संस्था स्थापना र तालीम कार्यक्रमका लागि ७० करोड डलर, इथियोपिया-जिबाउटीबीच नयाँ रेल्वे लाइनका लागि ३० करोड डलर र अप्रिmकन युनियनको सोमालिया शान्तिस्थापना बलका लागि २० लाख डलरको सहयोग सिंहले प्रस्ताव गरे । भारत र चीनबीच  खानी, खाद्य र ऊर्जास्रोतको प्रतिस्पर्धामा अफ्रिकाको महत्त्वपूर्ण रणनीतिक स्थान छ । एजेन्सी

ब्याक्टेरियाबाट पनि विद्युत्

जेठ १०, ओस्लो (नर्वे) । विद्युत् उत्पादनको लागि सूक्ष्मजीवीलाई पनि प्रयोग गर्न सकिने वैज्ञानिकहरूको एक अध्ययनले देखाएको छ । सूक्ष्मजीवी ब्याक्टेरियाले प्राकृतिक रूपमै सूक्ष्म बिजुली उत्पादन गर्दछन् । ती ब्याक्टेरियाका कोष भित्तामा तारजस्तै सूक्ष्म अङ्ग रहेका हुन्छन् । समुद्रमा पोखिने तेलका साथै आणविक प्रदूषण सफा गर्न पनि त्यस्ता सूक्ष्म ब्याक्टेरियाको सहयोग लिन सकिने वैज्ञानिकहरूको प्रतिवेदनमा भनिएको छ ।त्यस्ता ब्याक्टेरिया र तिनका सूक्ष्म 'तार’ पत्ता लागेबाट वैज्ञानिकहरूले अब बिजुलीको चार्ज सङ्कलन गर्नका लागि अझ गुणस्तरीय इलेक्ट्रोड बनाउन सक्नेछन् । यसरी ब्याक्टेरियाबाट विद्युत्को खेती गर्न सकिने अनुसन्धानका प्रमुख लेखक एवम् वैज्ञानिक टम क्लार्कले बताए ।

क्लार्कका अनुसार, मानिसलगायत सबै जीवित प्राणीले विद्युत् उत्पादन गर्छन् । मानिसको मुटुको ढुकढुकी र मस्तिष्कले सोच्न पनि विद्युत्को आवश्यकता पर्छ । ती ब्याक्टेरियाले भने आफ्ना तारबाट आफूलाई चाहिएको भन्दा बढी बिजुली निष्कासन गर्छन् । त्यस्ता ब्याक्टेरियाले तेलको फोहोर, कम्पोष्ट मलजस्ता फोहोरबाट ऊर्जा प्राप्त गरेर त्यसलाई विद्युत्मा परिवर्तन गर्ने क्लार्कले बताए । एजेन्सी

Admin 2011-05-25