शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बङ्गलादेश शेयरबजारमा छानबिन

माघ १० ढाका बङ्गलादेश । बङ्गलादेशले ढाका स्टक एक्सचेाजको परिसूचकाङ्क अचानक तल झरेको विषयमा सरकारले छानबिनको आदेश दिनुका साथै बजारमा विश्वास बढाउन सुधारको कार्यक्रम सार्वजनिक गरेको छ । डिसेम्बर ५ मा परिसूचकाङ्क हालसम्मकै उच्च ८९१८ दशमलव ५१ मा पुगेपछि ३० प्रतिशतले तल झरेको थियो ।शेयरबजारमा त्यस्तो सङ्कट आउनुमा शेयरको अति मूल्याङ्कन तथा कमजोर नियमनलाई जिम्मेवार ठानिएको छ । परिसूचकाङ्क तीव्र रुपले तल झरेपछि आपुनो बचत गुमाएका साना लगानीकर्ताहरुले िहंसात्मक प्रदर्शन गरेका थिए । त्यसपछि बजारको अवस्थालाई नियामकहरुले गलत ढङ्गले व्यवस्थापन गरेको स्वीकारोक्ति सरकारबाट आएको थियो । गत बिहीवारदेखि स्थगित रहेको शेयर कारोबार मङ्गलवारदेखि फेरि यथावत् शुरु हुने अर्थमन्त्री एएमए मुहिथले आइतवार राति बताए । शेयर कारोबारमा हुने सट्टेबाजीलाई स्वचालित रुपले नियन्त्रण गर्ने प्रणाली सर्किट ब्रेकर अबका दिनमा प्रयोगमा नआउने पनि मन्त्रीले जानकारी दिए । हालै लागू गरिएको सर्किट ब्रेकर प्रणालीका कारण लगानीकर्ताहरुमा त्रास उत्पन्न भएको आरोप केही विशेषज्ञहरुले लगाएका थिए ।

'आगामी १५ दिनभित्र एउटा शक्तिशाली समिति गठन गरिनेछ जसले स्टकबजारमा आएको सङ्कटबारे छानबिन गर्नेछ । हामीसँग अब प्रत्येक दिन हुने कारोबारको तथ्याङ्क र सूचना रहेकाले बजारमा के भएको थियो भन्ने पत्ता लगाउन सकिन्छ' मन्त्रीले भने । मन्त्रीका अनुसार भविष्यमा लगानीकर्तालाई फेरि त्यस्तो ठूलो घाटा नहोस् भनेर सरकारले परिसूचकाङ्कको कार्यप्रणाली तथा नियमनमा पनि परिवर्तन गर्नेछ । बजारको नियामक निकाय सेक्युरिटिज एण्ड एक्सचेाज कमिशन सेकले कम्पनीहरुको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओभन्दा पहिले नै मूल्याङ्कन गर्ने 'बूक बिल्डिङ' प्रणाली खारेज गरेको छ । बूक बिल्डिङ प्रणालीको दुरुपयोग भएको आशङ्कामा सेकले त्यस्तो निर्णय गरेको हो । त्यसैगरी सेकले उसको प्रमुख निर्णय अङ्गमा केन्द्रीय बैङ्कका एकजना प्रतिनिधिलाई सामेल गर्नुको साथै बजारमा 'तदर्थ हस्तक्षेप' कार्य त्याग्नेछ  । एएफपी/रासस

भारत-इण्डोनेशिया व्यापार सम्झौताको तयारी

माघ १० जकार्ता इण्डोनेशिया । इण्डोनेशियाली राष्ट्रपति सुशिलो बाम्बाङ युधोयोनोले यसै हप्ता हुने आपुनो भारत भ्रमणका बेला १५ अर्ब डलरबराबरको लगानी सुनिश्चित गर्नका लागि पहल गर्ने सोमवार बताएका छन् । मङ्गलवार हुन लागेको एउटा व्यापार गोष्ठीमा दुवै पक्षले आपसी समझादरीमा हस्ताक्षर गर्ने अपेक्षा छ । उक्त गोष्ठीमा ५ सय जना भारतीय तथा इण्डोनेशियाली उद्यमीले भाग लिने युधोयोनोले आपुनो भ्रमणअघि संवाददाताहरुलाई जकार्तामा बताए ।'पूर्वाधार म्यानुफुक्चरिङ प्राकृतिक स्रोत तथा सेवालगायतका क्षेत्रहरुमा १५ अर्ब डलरको लगानी हुनेछ' युधोयोनोले भने । दुई देशबीचको व्यापार २००५ को ४ अर्ब डलरबाट तीन गुणाले बढेर २०१२ मा १२ अर्ब डलर पुगेको पनि युधोयोनोले जानकारी दिए । इण्डोनेशियाले उसको कमजोर पूर्वाधार क्षेत्रमा सुधार तथा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि २०१४ सम्ममा १ सय ४० अर्ब डलर खर्च गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये ९० अर्ब डलर निजीक्षेत्रका लगानीकर्ताहरुबाट हुने लक्ष्य इण्डोनेशियाली सरकारले राखेको छ ।     एएफपी/रासस

टोयोटा २०१० को सर्वाधिक गाडी उत्पादक

माघ १० टोकियो जापान । टोयोटाले २०१० मा संसारभरि ८४ लाख २० हजार गाडी बेचेर लगातार तेस्रो वर्ष पनि विश्वको सबैभन्दा ठूलो गाडी उत्पादक बन्न सफल भएको छ । टोयोटाको प्रमुख बजार उत्तर अमेरिकाबाट प्राविधिक त्रुटिका कारण गाडीहरु फिर्ता गरिए पनि उसले त्यस्तो सफलता प्राप्त गरेको छ । त्यसैगरी जनरल मोटस्र जीएमले सोमवार प्रकाशित गरेको तथ्याङ्कअनुसार उसले २०१० मा ८३ लाख ९० हजारओटा गाडी बेचेको छ । सन् २०१० मा टोयोटाभन्दा केही कम मात्र रहेको जीएमको विक्री सङ्ख्या अघिल्लो वर्षभन्दा १२ प्रतिशतले बढेको छ ।

गाडी निर्माण क्षेत्रका यी दुई ठूला हस्तीबीचको दूरी साँघुरिँदै जाँदा जीएमले टोयोटालाई फेरि उछिन्ने सम्भावना छ । उत्तर अमेरिकामा टोयोटाको बजार वृद्धि सन्तोषजनक छैन भने चीनमा ऊ जीएमभन्दा पछाडि छ । जीएमको जस्तो गाडीका विविध मोडलहरु टोयोटासँग नभएकाले वृद्धि सुस्तिएको एक गाडी बजार विश्लेषकले बताए । गाडी निर्माण क्षेत्रमा लगातार आठ दशकसम्म प्रथम स्थानमा रहेको जीएमलाई २००८ मा टोयोटाले जितेको थियो । त्यसपछिको ऋण सङ्कटको अवस्थाबाट जीएमलाई अमेरिकी सरकारले उद्धार गर्नुपरेको थियो ।केही समय टाट पल्टिनबाट जोगाउने अमेरिकी सरकारको कार्यक्रम बैङ्करप्सी प्रोटेक्शनको शरण लिनुपरेको जीएमले हाल आफूलाई पुनःसंरचना गरिसकेको छ । एपी/रासस

भारतको केन्द्रीय बैङ्कद्वारा मुद्रास्फीतिबारे चेतावनी

माघ १० मुम्बई भारत । भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इण्डियाले पहिले अपेक्षा गरेभन्दा पनि लामो समयसम्म उच्च मुद्रास्फीति हुने सम्भावना सोमवार व्यक्त गरेको छ । कमोडिटीहरुको मूल्यमा विश्वव्यापी रुपमा भएको वृद्धि तथा आपूर्तिको दबाबका कारण खाद्यपदार्थको मूल्य बढ्नाले उच्च मुद्रास्फीति रहने बैङ्कले बताएको छ ।त्यस्तो प्रतिवेदनबाट बैङ्कले मङ्गलवार गर्ने त्रैमासिक मूल्याङ्कनका बेला नीतिगत ब्याजदरलाई कम्तीमा २५ आधार बिन्दुले बढाउने सम्भावना बढेको छ । शेयर मूल्यमा कमी आएर आर्थिक वृद्धिमा आउन सक्ने जोखिम  घटेको तर अनुमान गरेभन्दा पनि शेयर मूल्यमा वृद्धि भएर मुद्रास्फीति बढ्ने जोखिम भने बढेको पनि बैङ्कको प्रतिवेदनमा भनिएको छ । त्यसैले मुद्रास्फीतिविरुद्धको दिगॊ नीति निर्माणमा केन्द्रित हुनुपर्ने बैङ्कको सुझाव छ ।'दिगो उच्च वृद्धिका लागि न्यून मुद्रास्फीतिको अवस्था रहनु आवश्यक छ । त्यसैले मुद्रास्फीति नियन्त्रण गर्नु अहिलेको वातावरणमा प्रमुख नीतिगत लक्ष्य भएको छ' बैङ्कले भनेको छ । मुद्रास्फीति नियन्त्रण गर्न बैङ्कले गत मार्चदेखि ६ पटक ब्याजदर बढाइसकेको छ । तर मुद्रास्फीति अझै पनि सामान्यभन्दा अति माथि रहेकाले ब्याजदरमा वृद्धि गर्नुपर्ने सम्भावना बैङ्कले डिसेम्बरमा नै व्यक्त गरेको थियो । एएफपी/रासस

बैङ्कर पक्राउको
आसाञ्जद्वारा आलोचना

माघ १० जेनेभा स्वीट्जरल्याण्ड । विकिलीक्सका संस्थापक जुलियन आसाञ्जले स्वीस बैङ्कका एक पूर्वअधिकारी एल्मरलाई पक्राउ गरेकोमा आइतवार स्वीट्जरल्याण्डको आलोचना गरेका छन् । एउटा स्वीस साप्ताहिक दख सोण्टासँगको अन्तरवार्तामा एल्मरले दाबी गरेको कर छलीको सूचनामा अनुसन्धान गरिनुपर्ने आसाञ्जको माग छ । एल्मरलाई नै पक्राउ गर्ने स्वीट्जल्याण्डको त्यस्तो कार्यबाट त्यहाँको विवादास्पद बैङ्किङबारे अन्तरराष्ट्रिय ध्यानाकर्षण भएको उनले दाबी गरे ।गएको शुक्रवार स्वीस सरकारी वकिलको कार्यालयले एल्मरलाई प्रहरीले सोधपुछपछि हिरासतमा राख्न सक्ने बताएको थियो । उनीमाथि बैङ्क गोपनीयतासम्बन्धी स्वीस कानूनको उल्लङ्घन गरेको आरोप छ । एल्मरलाई लामो समयका लागि हिरासत राख्ने प्रहरीको अनुरोधबारे सोमवार एक न्यायाधीशले निर्णय दिनेछन् । रोयटर्स

जापानमा सामाजिक सुरक्षामा सुधार

माघ १० टोकियो जापान । जापानी प्रधानमन्त्री नाओतो कानले समाजमा वृद्धहरुको सङ्ख्या तीव्ररुपले बढ्दै गएकाले उनीहरुको हेरचाहका लागि चाहिने खर्च जनताका तर्फबाट पनि बेहोरिनुपर्ने बताएका छन् । उनले राष्ट्रको ऋणलाई सन्तुलित अवस्थामा राख्न पनि जनताले योगदान गर्नुपर्ने बताए । संसद्को १ सय ५० दिने बैठकको उद्घाटन भाषणमा कानले त्यस्तो धारणा राखेका हुन् । देशको कर तथा सामाजिक सुरक्षाप्रणाली आमूल परिवर्तन गर्नुपर्ने कानको विचार छ । त्यसका लागि जुनको अन्त्यसम्ममा एउटा आधारभूत प्रस्तावको खाका तयार गर्नेतर्फ सरकारले काम गरिरहेको प्रधानमन्त्रीले जानकारी दिए ।

विश्लेषकका अनुसार यस विषयमा कानले कठिन निर्णय लिनुपर्ने अवस्थाको सामना गरिरहेका छन् । किनभने यस योजनाबारे जापानी जनमत विभाजित छ । देशको सामाजिक तथा आर्थिक धरातलमै परिवर्तन भइसकेकाले सामाजिक सुरक्षाप्रणालीमा व्यापक सुधार गरिनुपर्नेमा कानले जोड दिएका छन् । त्यसैले त्यसका लागि जनताले पनि खर्च बेहोर्न तयार हुनुपर्ने उनको धारणा छ । अर्थमन्त्री योशिहीको नोडाले पनि सरकारी बण्ड निष्कासनमा धेरै निर्भरता राम्रो नभएको चेतावनी दिँदै राज्यको कोषलाई बलियो बनाउन प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।
एएफपी/रासस

जुवा बादशाहको सम्पत्ति हस्तान्तरण

माघ १० हङकङ चीन । एशियाली क्यासिनो बादशाह स्टान्ली होले मकाउको क्यासिनो सोसाइडेड डे जोगोस डे मकाउ एसजेएम मा रहेको आपुना सबै लगानी परिवारका सदस्यका नाममा हस्तान्तरण गरेका छन् । ८९ वर्ष उमेरका होले कमजोर हुँदै गएको आपुनो स्वास्थ्यका कारण सम्पत्ति हस्तान्तरण गरेका हुन् । उनले एसजेएममा रहेको आपुनो ३२ प्रतिशत हिस्सामध्ये धेरैजसो हस्तान्तरण गरेका छन् । हङकङ स्टक एक्सचेाजमा सोमवार गरिएको एक दाखिलाअनुसार मकाउको क्यासिनो साचालकहरुमध्ये आधाभन्दा बढीमा एसजेएमको स्वामित्व छ । अब होसँग १ सयओटा मात्र शेयर बाँकी छन् ।

पोर्चुगलको पूर्वउपनिवेश मकाउमा रहेको आपुनो जुवा साम्राज्य आपुना सन्तानलाई हस्तान्तरण गर्ने क्रममा होले पछिल्लो कदम चालेका हुन् । २ वर्षअघि उनी अस्पतालमा भर्ना गरिएका थिए भने उनको शल्यचिकित्सासमेत भएको थियो । त्यसपछि उनी सार्वजनिक कार्यक्रममा विरलै देखा पर्छन्  । हो कार्यरत रहेका प्रबन्ध निर्देशकको पदमा होकी चौथी पत्नी एाजेला लिओन्ग निर्वाचित भएकी एसजेएमले डिसेम्बरमा घोषणा गरेको थियो । होलाई मकाउको जुवा उद्योगका पिता मानिन्छ र उनले चार दशकसम्म त्यस उद्योगलाई सफल नेतृत्व दिएका थिए । सन् २००२ मा भने सरकारले जुवा उद्योगमा होको एकाधिकारलाई अन्त्य गरेको थियो । एपी/रासस

बलिउड अभिनेत्रीका घरमा छापा

माघ १० मुम्बई भारत । भारतीय कर अधिकारीहरुले बलिउडका दुई महिला हस्ती प्रियङ्का चोपडा र कट्रिना कैफको अफिस तथा घरमा छापा मारेको सोमवार बताएका छन् । ती महिला कलाकारमाथि कर छली गरेको आशङ्कामा छानबिन हुँदै गर्दा छापा मारिएको हो । कर विभागका महानिर्देशक डीपी गौडले छापाको पुष्टि गरे पनि ती अभिनेत्रीहरुको आर्थिक कारोबारमा छानबिन गर्नुको कारण भने खुलाएनन् । दुवै अभिनेत्रीका प्रचारकहरुले भने हालसम्म प्रतिकि्रया दिएका छैनन् । २८ वर्षीया चोपडा पूर्वमिस वल्र्ड पनि हुन् भने २६ वर्षीया कैफ हङकङमा जन्मेकी हुन् । कैफकी आमा बेलायती नागरिक हुन् भने बुबा भारतीय कश्मिरमूलका हुन् ।भारतको साप्ताहिक समाचार पत्रिका इण्डिया टुडेका अनुसार कैफले प्रतिफिल्म ३ करोड भारु कमाउनुका साथै विज्ञापनमा मोडलिङ गरेर वार्षिक २ करोड ५० लाख भारु कमाउँछिन् । पहिलो फिल्म खेल्दा हिन्दीसमेत बोल्न नजान्ने कैफ गुगलमा सबैभन्दा बढी खोजी गरिने बलिउड स्टार हुन् । एएफपी/रासस