शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सुडानको जनवरी निर्वाचन तेल मुद्दामा केन्द्रित

पुस १०, पालोइच (सुडान) । पाइपलाइन उत्तरी क्षेत्र भएर गएका छन् तर तेल धेरैजसो दक्षिणतर्फ छ । त्यसैले अकुओक तेन दिइङ तथा दक्षिणी सुडानका अन्य पाँच अधिकारीले चीनको घरेलु तेल उद्योगको सित्तैमा दश दिने भ्रमण गर्न पाए । उनीहरूलाई पथप्रदर्शन गर्न महिला अनुवादकहरूलाई खटाइएको थियो र भव्य खानपान उपलब्ध गराइएको थियो भने खाना स्वादिलो पनि थियो । चिनियाँहरूले हामीहरूसँग नयाँ सम्बन्ध गाँस्न चाहेका छन्, यसअघि उनीहरू खार्तुम सरकारसँग सीधै कारोबार गर्थे, दिइङले बताए । जनवरीमा दक्षिण सुडानमा उत्तरबाट स्वतन्त्र हुने विषयमा जनमतसङ्ग्रह हुने भएको छ । त्यसपछि अफ्रिकाको सबैभन्दा ठूलो देश सुडान दुइ भागमा विभाजित हुनेछ । दक्षिणी क्षेत्रस्थित तेलमा दक्षिणी राजधानी जुबाको नियन्त्रण हुनेछ र उत्तरी राजधानी खार्तुमको नियन्त्रण यहाँबाट टुट्नेछ । चीन भने यी दुवैको बीचमा रहेर सुडानको उत्तरी तथा दक्षिणी दुवैतर्फा अधिकारीहरूसँग बलियो सम्बन्ध बनाउन चाहन्छ । मध्यसुडानस्थित उत्तर- दक्षिण सीमानजिक पालोइच शहरमा पेट्रोडार तेल प्रशोधन केन्द्र छ । त्यहाँ चिनियाँ सुपरिवेक्षक तथा सुडानी कामदारहरू गाढा रातो र नीलो  पहिरनमा काम गरिरहेका देखिन्छन् ।

सुडान अफ्रिकाको सहाराक्षेत्रमा नाइजेरिया र अङ्गोलापछि तेस्रो सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र हो । सुडानले गतवर्ष प्रतिदिन ४ लाख ९० हजार ब्यारेल तेल उत्पादन गरेको थियो, जुन २००६ को तुलनामा ५० प्रतिशतको वृद्धि हो । पेट्रोडारमा चीनको द चाइना पेट्रोलियम कर्पोरेशनको ४१ प्रतिशत स्वामित्व छ । त्यसैगरी उक्त केन्द्रमा अर्को एक चिनियाँ कम्पनीको ८ प्रतिशत तथा सुडानी सरकारको ६ प्रतिशत स्वामित्व रहेको छ । दक्षिणी सुडानको तेलबाट त्यहाँको सरकारलाई झण्डै साढे चार अर्ब डलर राजस्व प्राप्त हुन्छ जुन कुल राजस्वको झण्डै ९८ प्रतिशत हो ।सुडानको तेल उद्योग उत्तरी तथा दक्षिणी क्षेत्रबीचको सम्भावित हिंसाक्षेत्र मानिन्छ । तर, सो उद्योगले ती दुइ क्षेत्रहरूलाई एकताबद्ध समेत गर्न सक्छ । यसै महीनाको शुरूमा उत्तर र दक्षिण दुवै क्षेत्रका तेल तथा सुरक्षा मन्त्रीहरूले मध्यसुडानको तेल उत्पादन क्षेत्रमा भेट गरेका थिए । उक्त भेटमा जनवरी ९ मा हुने जनमतसङ्ग्रह अघि र पछि संयुक्त सुरक्षा बल स्थापना गर्ने सहमति भएको थियो । उत्तरी सुडान भएर जाने तेल पाइपलाइनका कारण दक्षिणी सुडानको तेल प्रशोधन उद्योगमाथि नियन्त्रण भएका व्यापारीहरूले उत्तरी सुडानसँग सम्बन्ध सुमधुर बनाइराख्न चाहन्छन् । तर दिइङजस्ता नेता भने तेल कम्पनीहरूसँग नयाँ सम्झौता गर्ने धारणा व्यक्त गर्दै आएका छन् । यसैबीच दिइङजस्ता धेरै दक्षिण सुडानी नेताले चिनियाँ सरकारी खर्चमा चीनको भ्रमण गरिसकेका छन् । एपी/रासस


भारतमा मूल्यबृद्धिको चिन्ता

पुस १०,मुम्बई/नयाँदिल्ली (भारत) । भारतमा इन्धन तथा खाद्यपदार्थको बढ्दो मूल्यसँगै मुद्रास्फीतिको चिन्ता बढेको छ र मुद्राको स्वाप रेट २६ महीनायताकै उच्च बनाएको छ । एशियाको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्रमा थप मूल्य वृद्धि हुने अपेक्षाले स्वाप रेट यसरी बढेको हो । अन्तरराष्ट्रिय बजारमा पनि कच्चा तेलको भाउ दुइ वर्षयताकै उच्च बिन्दुनजिक पुगेको छ । त्यसअनुरूप घरेलु बजारमा इन्धनको मूल्य बढाउने सम्बन्धमा भारत सरकारले आगामी हप्ता निर्णय गर्ने अपेक्षा गरिएको छ । यसै महीनाको शुरूमा इन्धनको सरकारी खुद्रा विक्रेताहरूले पेट्रोलको मूल्य बढाउने निर्णय गरेपछि मुद्रास्फीतिजन्य असर परेको थियो । सरकारले फेरि इन्धनको मूल्य बढाएमा त्यो भन्दा पनि व्यापक मुद्रास्फीतिजन्य असर पर्नेछ ।

यस वर्षको डिसेम्बर ११ सम्ममा भारतमा खाद्यपदार्थको मूल्य सूचकाङ्क १२ दशमलव १३ प्रतिशतले बढेको थियो । त्यसमा देशभरि व्यापक रूपमा खपत गरिने प्याजको उच्च मूल्य वृद्धि विशेष चिन्ताको विषय बनेको छ । सोही अवधिमा इन्धनको मूल्य सूचकाङ्क १० दशमलव ७४ प्रतिशतले बढेको छ । गत हप्ता त्यस्तो सूचकाङ्क क्रमश ९ दशमलव ४६ प्रतिशत तथा १० दशमलव ६७ प्रतिशतले बढेको थियो । रिजर्भ बैङ्क अफ इण्डियाले ऋणको ब्याजदर पनि छिट्टै बढाउने सम्भावना रहेको बताइएको छ । आगामी वर्ष५० देखि ७५ आधार बिन्दुसम्म ब्याजदरमा वृद्धि हुने सम्भावना छ । ब्याजदरमा हुने त्यस्तो वृद्धिमध्ये धेरैजसो २०१० को शुरूतिरै हुने एचएसबीसी बैङ्कको मुम्बई शाखाका निर्देशक मनीष वाधवानले बताए । रोयटर्स



दक्षिण अफ्रिकालाई 'ब्रिक’ मा औपचारिक निमन्त्रणा

पुस १०, प्रिटोरिआ  (दक्षिण अफ्रिका) । दक्षिण अफ्रिकाले उसलाई 'ब्रिक’ भनिने अन्तरराष्ट्रिय समूहमा आबद्ध हुन औपचारिक निमन्त्रणा आएको शुक्रवार घोषणा गरेको छ । त्यसबाट अफ्रिकाको आर्थिकद्वारका रूपमा दक्षिण अफ्रिकाको छवि प्रगाढ भएको उसले बताएको छ । हाल उदीयमान बजार अर्थतन्त्र भएका राष्ट्रहरू ब्राजिल, रूस, भारत तथा चीनलाई उनीहरूका नामको पहिला अक्षरहरू बीआरआईसीको आधारमा ब्रिक भनिन्छ । हाल बीआरआईसी (ब्रिक) को अध्यक्षता गरिरहेको चीनले दक्षिण अफ्रिकालाई सो समूहमा आबद्ध हुन आमन्त्रण गरेको विदेशमन्त्री माशाबानेले बताइन् । अन्तरराष्ट्रिय मुद्राकोषका अनुसार ब्रिकमा हाल रहेका सदस्यहरूले २०१४ मा विश्वव्यापी आर्थिक वृद्धिको ६१ प्रतिशत हिस्सा ओगटनेछन् । दक्षिण अफ्रिकासमेत सामेल भएपछि उक्त समूहलाई बीआरआईसीएस (ब्रीक्स) भनिनेछ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि दक्षिण अफ्रिकालाई समूहको पूर्ण सदस्यका रूपमा स्वीकार गरिएको बताएको छ । ब्रिकका सदस्य राष्ट्रहरू औपचारिक रूपमा आपसमा आबद्ध नभए पनि आर्थिक सहयोग तथा लगानी अवसर अभिवृद्धि गर्न ती राष्ट्रहरूले शिखर सम्मेलन गर्दै आएका छन् । रोयटर्स


आँधीले उखुबाली प्रभावित

पुस १०, सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यस्थित प्रमुख उखु उब्जनी क्षेत्रमा ठूलो पानी परेको छ । उष्णप्रदेशीय समुद्री आँधी टाशाले अष्ट्रेलियाको उत्तरपूर्वी तट पार गरेपछि सो पानी परेको मौसमविद्हरूले बताए । आँधीको गति कमजोर भइसके पनि त्यसले अझै पानी पार्ने मौसमविद्हरूले बताएका छन् । उखु उब्जनी क्षेत्रमा ठूलो पानी पर्दा उखुमा चिनीको मात्रा कम हुने बताइएको छ ।ब्राजिल र थाइल्याण्डसँगै अष्टे्रलिया पनि एक प्रमुख चिनी निर्यातकर्ता राष्ट्र हो । हालै आएको बाढीले उखु खेतीलाई नोक्सान गरेको थियो । त्यसपछि अष्ट्रेलियाले चिनीको निर्यातमा २५ प्रतिशतले कटौती हुने यसै महीना पूर्वानुमान गरेको थियो । अहिले आएको आँधी र पानीबाट उखुबालीमा थप नोक्सान हुने सम्भावना छ । उखुबालीमा भएको नोक्सानले चिनीको मूल्य ३० वर्षयताकै उच्च भएको छ । त्यसपछि अष्ट्रेलिया को सबैभन्दा ठूलो चिनी निर्यातकर्ता क्विन्सल्याण्ड सुगर लिमिटेडले ब्राजिल तथा थाइल्याण्डबाट कच्चा चिनी किन्ने भएको थियो । पहिले नै अर्डर लिइसकेको चिनीको निर्यात प्रतिबद्धता पूरा गर्न कच्चा चिनी किनिएको हो । अष्ट्रेलियामा यो वर्षको वसन्तऋतुमा हालसम्मकै सबैभन्दा ठूलो पानी परेको थियो । रोयटर्स


मूल्यवृद्धि रोक्न  चीनले ब्याजदर बढायो

पुस १०, बेइजिङ (चीन) । चीनको केन्द्रीय बैङ्कले ३ महीना पनि नपुग्दै दोस्रो पटक कर्जा र निक्षेप दुवैको ब्याजदर बढाएको शनिवार घोषणा गरेको छ । चिनियाँ अधिकारीहरू ऋण लिने प्रवृत्तिलाई कटौती गर्न, बढ्दो घरजग्गाको मूल्यलाई काबुमा राख्न र मूल्यस्फीति रोक्न संघर्ष गरिरहेका छन् । गत अक्टोबरको मध्यमा मात्र तीन वर्षपछि ब्याजदर पछिल्लो पटक बढाइएको थियो । त्यहाँको केन्द्रीय बैङ्क पिपुल्स बैङ्क अफ चाइनाले एक हरफको विज्ञप्तिमा कर्जा र निक्षेप दुवैको वार्षिक ब्याजदरमा २५ आधारभूत बिन्दुले बढाएको बताएको छ । अब यो दर क्रमशः ५ दशमलव ८१ र २ दशमलव ७५ प्रतिशत भएको छ । अर्थतन्त्रमा अधिक तरलताको अवस्थाले बढाइरहेको मुद्रास्फीतिलाई घटाउन यस्तो कदम चालिएको बताइएको छ ।विश्लेषकहरूले अहिले गरिएको ब्याजदर वृद्धि आउँदो वर्षअझ धेरै हुने अनुमान गरेका छन् ।

किनभने, उपभोक्ताको मूल्यवृद्धिको बढ्दो चिन्तालाई सम्बोधन गर्न स्थायित्वप्रति आशक्त नेताहरूले यस्तो कदम चाल्नुको विकल्प छैन । 'यस्तो ब्याजदर बढाउन क्रिसमस डे नै छानिनु अलि आश्चर्यजनक भए पनि यस्तो कदम सामान्यतः अपेक्षित नै थियो,' सिटी ग्रूपको बेइजिङस्थित अर्थशास्त्री केन पेङले भने । केन्द्रीय बैङ्कले मूल्यवृद्धि नियन्त्रण गर्ने विश्वास दिलाउन पनि यसो गर्नु आवश्यक थियो । गत महीना केन्द्रीय बैङ्कले ऋणदाता बैङ्कहरूलाई थप रकम मौज्दातमा राख्न र आफूले प्रवाह गर्ने ऋणलाई सीमित गर्न निर्देशन दिएको थियो । यस्तो निर्देशन यो वर्षमात्र ६ पटक दिइसकिएको छ । गत महीनामात्र अक्टोबर महीनाको दाँजोमा शून्य दशमलव ३ प्रतिशतले र गतवर्षको तुलनामा ७ दशमलव ७ प्रतिशतले मूल्यवृद्धि भएको छ । एएफपी/रासस


चीनको जलसंरक्षणमा ३० अर्ब डलर

पुस १०, बेइजिङ (चीन) । चीनले सन् २०११ मा जलसंरक्षण आयोजनाहरुका लागि ३० अर्ब डलरबराबर लगानी गर्ने योजना बनाएको छ । यसबाट अन्न उत्पादनमा आइपरेको प्राकृतिक विपत्ति घटाउने लक्ष्य उसले लिएको छ ।शनिबार सरकारी सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार देशका विभिन्न भागमा भएका गम्भीर प्रकृतिका बाढी र सुक्खाले यो वर्षबालीहरु नष्ट गरेर खाद्यवस्तुको मूल्य उच्चतहमा पुर्याएपछि सरकारले यस्तो योजना बनाएको हो । खाद्य उत्पादन कम हुँदा खाद्यवस्तुहरुको मूल्य गत नोभेम्बर महीनामा दुइ वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो ।

गत वर्षको भन्दा झण्डै १० प्रतिशत थपेर खर्च गर्न लागिएको यो योजना सिंचाइ आयोजनाहरुको सुधार र  मौसममा आधारित विपत्तिहरुसँग लड्ने क्षमताको विकासका लागि प्रयोग गरिने चिनियाँ जलस्रोतमन्त्री चेन लीलाई उद्धृत गर्दै चाइना डेलीले लेखेको छ । समाचारमा चीनले विगत ५ वर्षमा १ खर्ब डलर रकम जलसम्बन्धी आयोजनाहरुमा खर्च गरेको उल्लेख छ । 'हामीले जलसम्पदा गर्ने पूर्वाधारहरु निर्माणलाई तीव्रता दिनुपर्छ । यसलाई मुलुकको बढ्दो अन्न उत्पादन गर्ने मुख्य पूर्वाधारको रुपमा लिइनुपर्छ', चेनले भनेका छन् । यस वर्षको इतिहासमै सबभन्दा खराब प्राकृतिक विपत्तिहरु बेहोरेको चीनका अधिकारीहरुले करीब ८ करोड जनतालाई यस वर्षको हिउँदमा खाद्यसहायता आवश्यक पर्ने अनुमान गरेका छन् ।

गत महीना एक जना प्रमुख कृषिविशेषज्ञले मौसम परिवर्तनले गर्दा आउँदो २० वर्षभित्र चीनको अन्न उत्पादनमा १० प्रतिशतले कमी आउने र यसले त्यस मुलुकको खाद्यसुरक्षामा गम्भीर चुनौती खडा गर्ने बताएका थिए ।सन् २०१० मा ५४ करोड टन खाद्यान्न उत्पादन गर्ने अपेक्षा राखेको चीनले सन् २०२० सम्ममा यो परिमाणलाई ५५ करोड टन पुर्याउने लक्ष्य लिएको छ ।