आरबीआईद्वारा अप्रत्यासित ब्याजदर वृद्धि
साउन १० । भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इण्डिया (आरबीआई)ले मङ्गलवार ब्याजदर ५० आधार अङ्कले बढाएको छ । योसमेत आरबीआईले गत मार्चपछि ११औं पटक ब्याजदर बढाइसकेको छ । हालको वृद्धिपछि रिपो दर ८ प्रतिशत पुगेको छ भने रिभस रिपो दर ७ प्रतिशत पुगेको छ । दोहोरो अङ्कमा रहेको महँगी नियन्त्रणका लागि ब्याजदर बढ्ने अपेक्षा गरिए तापनि एकैपटक ५० आधार अङ्कले बढाइएकोलाई भने कतिपयले आर्श्चर्य मानेका छन् ।तेलको उच्च मूल्य र बढ्दो उत्पादन खर्चका कारण महँगी चर्किएकाले ब्याजदर बढाउनुपरेको गभर्नर दुभ्भुरी सुब्बाराओले बताए । तर, महँगी नियन्त्रणका लागि चालिएका कदमको फलस्वरूप आर्थिक वृद्धि पनि केही सुस्तिने सुब्बाराओले चेतावनी दिए ।
भारतको महँगीदर प्रमुख विश्व अर्थतन्त्रमध्ये रूसपछि दोस्रो स्थानमा छ । जुनसम्मको वर्षमा महँगी दर अघिल्लो महीनाको ९ दशमलव शून्य ६ प्रतिशतबाट बढेर ९ दशमलव ४४ प्रतिशत पुगेको थियो । हालको महँगी दरलाई वित्तीय वर्षको अन्त्य अर्थात् आगामी मार्चसम्ममा ७ प्रतिशतमा झर्ने आरबीआईको लक्ष्य रहेको सुब्बाराओले बताए । खाद्यवस्तुमा रहेको चर्को महँगी अर्थतन्त्रको अन्य क्षेत्रमा समेत फैलिएकोमा केन्द्रीय बैङ्कले चिन्ता व्यक्त गरेको छ ।कतिपय व्यापारिक नेताहरूले भने ब्याजदर बढाउने कार्य स्थगित गर्न आह्वान गरेका छन् । बढ्दो ऋण खर्च र आर्थिक सुधारको अभावले उपभोक्ता खर्च र लगानीमा असर पुग्न सक्ने उनीहरूको तर्क छ ।तर, हालको ब्याजदर वृद्धिबाट भारत सरकार चर्को महँगी नियन्त्रणका लागि गम्भीर रहेको सङ्केत मिलेको विश्लेषकहरूको भनाइ छ । अर्थमन्त्री प्रणव मुखर्जीले पनि हालको ब्याजदर वृद्धिलाई महँगी नियन्त्रणका लागि बलियो सङ्केत भन्दै स्वागत गरेका छन् । एएफपी/रासस
प्रलय पर्खनु हुँदैन : ओबामा सल्लाहकार
साउन १०, वाशिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपतिका आर्थिक सल्लाहकारले ऋणसीमासम्बन्धी गतिरोध टुङ्गिन नसक्दा उत्पन्न हुने अवस्थाले प्रलय निम्त्याउने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाका आर्थिक सल्लाहकारहरूको समूह 'द व्हाइट हाउस काउन्सिल अफ इकोनोमिक एडभाइजस'का अध्यक्ष जिन स्परलिङले मङ्गलवार टेलिभिजन च्यानल एमएसएनबीसीसँग कुरा गर्दै गतिरोधलाई कुनै हालतमा समाधान गर्नुपर्ने र त्यस्तो प्रलय पर्खन नहुने बताएका छन् ।
स्परलिङले ऋणसीमासम्बन्धी गतिरोधको समाधान खोज्न सबैको ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गरेका छन् । तर, ऋणसीमासम्बन्धी अमेरिकी कङ्गे्रसमा लगिएको प्रस्तावमा राष्ट्रपति ओबामाले 'भिटो' प्रयोग गर्ने/नगर्नेबारे सोधिएको प्रश्नमा भने उनले स्पष्ट उत्तर दिएनन् । उनले राष्ट्रपतिले भिटो अनावश्यक ठानेको मात्रै जवाफ दिए । स्परलिङले ऋणसीमा गतिरोधको समाधान निकाल्न कुनै प्रकारको सहमतिमा पुग्नुपर्ने र त्यस्तो नभए अनिश्चितताको बादलले अर्थतन्त्रलाई छोप्ने बताए ।अमेरिकी अर्थमन्त्री टिमोथी गेइन्थरले ऋणसीमासम्बन्धी समस्याको समाधान नखोजिए सन् २०११ अगष्ट २ पछि अमेरिकी सरकार टाट पल्टने चेतावनी यसअघि नै दिएसकेका छन् । एपी/रासस
अमेरिकामा गोरा र अल्पसङ्ख्यकबीच सम्पत्ति खाडल बढयो
साउन १०, वाशिङटन (अमेरिका) । पछिल्लो २५ वर्षमा गोरा अमेरिकी र अन्य अल्पसङ्ख्यकबीचको सम्पत्ति खाडल बढेर हालसम्मकै ठूलो हुन पुगेको छ । पछिल्लो मन्दी र अनियमित पुनर्बहालीले अल्पसङ्ख्यकहरूले दशकौंसम्म प्राप्त गरेको लाभ फेरि गुमेको छ । अमेरिकी गोराहरू कालाभन्दा २० गुणाले र अमेरिकी हिस्पानीकभन्दा १८ गुणाले धनी हुन पुगेका पछिल्लो जनसाङ्ख्यिक तथ्याङ्कले देखाएको छ ।उक्त जनसाङ्ख्यिक विश्लेषणबाट आर्थिक मन्दीले जातीय र जनजातीय क्षेत्रमा समस्या बढाइरहेको देखिन्छ । घरजग्गाको मूल्य घट्दै जानुका साथै बेरोजगारी बढ्दै गएकाले त्यस्तो भिन्नता बढेको हो । किनभने, प्राय: युवा रहेका अल्पसङ्ख्यकहरूको प्रमुख सम्पत्ति भनेको घरजग्गा नै हो । उता, पाका गोराहरूले भने राम्रो सेवानिवृत्तिभरण पाउनुका साथै शेयरबजारमा समेत लगानी गरेकाले उनीहरू तुलनात्मक रूपले सुदृढ अवस्थामा छन् । एपी/रासस
पाकिस्तानमा बाढीको आर्थिक र मानवीय जोखिम : अक्सफाम
साउन १० । पाकिस्तानले गतवर्षको भीषण बाढीपछि पनि बाढी प्रतिरोधको क्षेत्रमा कुनै लगानी नगरेको अक्सफामले बताएको छ । गतवर्षको बाढीले १ हजार ७ सय ५० जनाभन्दा बढीको मृत्यु हुनुका साथै २ करोड १० लाख मानिस प्रभावित भएका थिए । पाकिस्तानको इतिहासमै सबैभन्दा ठूलो ठानिएको उक्त बाढीपछि लाखौं मानिस अझै पनि आपत्कालीन टहरा तथा आवासमा बसिरहेका छन् । यस वर्षको मनसुनमा पनि पाकिस्तानले त्यस्तै ठूलो बाढीको सामना गर्नसक्नेतर्फ अक्सफामले औंल्याएको छ ।
बाढी प्रतिरोधका उपायमा अहिले लगानी गरेर भविष्यमा धनजन र विकास कार्यमा क्षति हुनबाट जोगाउन सकिने अक्सफामका निर्देशक नेवा खानले बताइन् । गतवर्षको बाढीबाट उत्पन्न समस्या सम्बोधनका लागि पाकिस्तान सरकारले उचित कदम चाल्न नसकेको भन्ने आलोचना भएको थियो । खासगरी पाकिस्तानमा रहेको व्यापक भ्रष्टाचारबाट दाताहरू पनि थप सहयोग गर्न हच्किरहेका छन् । संयुक्त राष्ट्रसङ्घले पनि आपत्कालीन पुन: स्थापनाका लागि ६० करोड डलर अपुग रहेको बताएको छ । एएफपी/रासस
फोर्ड मोटर्सको नाफा घटयो
साउन १०, मिसिगन (अमेरिका) । फोर्ड मोटर्स कम्पनीले दास्रो त्रैमासमा नाफा घटेको बताएको छ । मङ्गलवार दास्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै फोर्डले उत्पादन खर्चमा भएको वृद्धि र एशिया क्षेत्रमा विक्री बढाउन गरिएका खर्चका कारण आम्दानी घटेको जानकारी दिएको हो ।कम्पनीले दास्रो त्रैमासिकमा २ दशमलव ४ अर्ब डलर आम्दानी गरेको उल्लेख गरेको छ । गतवर्षको यही अवधिमा फोर्डको आम्दानी २ दशमलव ६ अर्ब डलर रहेको थियो । तर, आम्दानी घटे पनि कम्पनी भने नाफामै रहेको बताइएको छ । फोर्डको यो लगातार नवौं त्रैमासिक नाफा हो । कम्पनीले उत्पादन गरेका गाडीहरूको विक्री बढे पनि स्टील, तामा र अन्य कच्चा पर्दाथको मूल्यमा वृद्धि तथा वस्तु विकासमा धेरै खर्च भएको कम्पनीले बताएको छ ।फोर्डको कुल आम्दानी दोस्रो त्रैमासिकसम्म १३ प्रतिशतले वृद्धि भई ३५ दशमलव ५ अर्ब डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । विश्लेषकहरूले यसअघि कम्पनीको आम्दानी ३२ दशमलव १५ अर्ब पुग्ने अनुमान गरेका थिए । एपी/रासस
दुबईका बैङ्किङ हब प्रमुख हटाइए
साउन १०, दुबई (यूएइ) । दुबईको प्रमुख बैङ्किङ हब अर्थात् दुबई इण्टरनेशनल फाइनान्स सेण्टरको प्रमुखबाट अहमद हुमेद अल-तायेरलाई हटाइएको छ । उनको ठाउँमा अब्दुल्लाह मोहमद सलेहलाई नियुक्त गरिने भएको छ । गत महीना अहमदलाई सरकार नियन्त्रित इमिरेट्स एनडीबी बैङ्कको अध्यक्ष पदबाट पनि हटाइएको थियो । सलेह भने हाल दुबई फाइनान्सियल सर्भिसेज अथरिटीको अध्यक्ष रहेका छन् । एपी/रासस
दोस्रो त्रैमासिकमा बेलायतको अर्थतन्त्रको वृद्धि सुस्त
साउन १०, लण्डन (बेलायत) । समस्याहरूसँग जुधिरहेको र बजेटघाटा कम गर्न संघर्षरत बेलायती अर्थतन्त्रको वृद्धि दास्रो त्रैमासिकमा सुस्त रहेको छ । 'अफिस अफ द नेशनल स्टाटिटिक्स' (ओएनएस)ले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै बेलायतको अर्थतन्त्र जुन महीनासम्म शून्य दशमलव २ प्रतिशतले वृद्धि भएको छ । अर्थतन्त्रको वृद्धिमा सुस्तता आउने पूर्वानुमानहरू यसअघि नै गरिएका थिए । आर्थिक वृद्धिसम्बन्धी नयाँ तथ्याङ्कहरू सार्वजनिक भएपछि अर्थमन्त्री जर्ज ओसबोर्नले सरकारका नीतिहरूको बचाउ गर्दै ऋणसङ्कट भोगिरहेका अमेरिका र यूरोजोनभन्दा बेलायत सुरक्षित रहेको प्रतिक्रिया दिएका छन् । उनले स्थितमा सुधार हुँदै गएको र नयाँ रोजगारीहरू सृजना हुनुले अप्ठयारो परिस्थिति सामना गरिरहे तापनि बेलायतमा तुलनात्मक रूपले स्थिरता रहेको दाबी गरेका छन् । विश्लेषकहरूले गत मार्च महीनामा जापानमा गएको विनाशकारी भूकम्प र सुनामीले गर्दा अर्थतन्त्रको वृद्धिमा सुस्ती आएको बताएका छन् । साथै २ महीनाअघिको शाही विवाहमा भएको अत्यधिक खर्चका कारण पनि वृद्धिदर कम भएको बताइएको छ । एएफपी/रासस
Admin 2011-07-27