क्यानडा र अष्ट्रेलियाद्वारा कासटेन्सलाई समर्थन
असार ११, ओटावा (क्यानडा) । क्यानडा र अष्ट्रेलियाले आगामी अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ)को प्रमुखमा मेक्सिकोका केन्द्रीय बैङ्क गभर्नर अगस्टीन कासटेन्सलाई समर्थन गर्ने भएका छन् । क्यानडेली अर्थमन्त्री जेम्स फ्लाहर्टी र अष्ट्रेलियाली अर्थमन्त्री वायेन स्वानले एक विज्ञप्ति जारी गर्दै ५३ वर्षीय कासटेन्सलाई समर्थन गरेका हुन् । अर्थशास्त्री कासटेन्सले यसअघि २००३ देखि २००६ सम्म आईएमएफमा काम गरिसकेका छन् ।विगतमा आईएमएफको तेस्रो वरिष्ठ पदाधिकारीसमेत रहिसकेका कासटेन्सको अनुभवले उनलाई प्रमुख पदको उपयुक्त उम्मेदवार बनाएको विज्ञप्तिमा भनिएको छ । तर, कासटेन्सले फ्रान्सेली अर्थमन्त्री क्रिष्टिन लागार्दबाट कडा चुनौतीको सामना गर्नुपर्नेछ । वास्तवमा, लागार्द नै आगामी आईएमएफ प्रमुखको प्रमुख दाबेदारका रूपमा देखिएकी छिन् ।
लागार्दलाई यूरोपले समर्थन गरिसकेको छ । २४ सीट रहेको आईएमएफको कार्यकारी समितिमा यूरोपको सीट सङ्ख्या ७ रहेको छ । नयाँ प्रबन्ध निर्देशकको पदमा सर्वसम्मति चुनिने समितिले अपेक्षा गरेको छ । अमेरिका र यूरोपबीचको एउटा अघोषित सम्झौताअनुसार आईएमएफको प्रमुख पदमा यूरोपेली र विश्व बैङ्कको प्रमुखमा अमेरिकी नागरिक रहँदै आएका छन् । तर, उदीयमान देशहरूले देशको आधारमा नभई योग्यताको आधारमा नयाँ प्रमुख चुनिनुपर्ने माग गर्दैआएका छन् । एएफपी/रासस
इजिप्टद्वारा अन्तरराष्ट्रिय ऋण नलिने निर्णय
असार ११, कायरो (इजिप्ट) । इजिप्टले अन्तरराष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कसँग गरेको ऋण आग्रहलाई फिर्ता लिएको त्यहाँका अर्थमन्त्री समिर रादवानका सल्लाहकारले बताएका छन् । अर्थमन्त्रीका सल्लाहकार अब्देलफत्तह अल गेबालीका अनुसार इजिप्ट सरकारले अन्तरराष्ट्रिय संस्थाहरूबाट ऋण नलिने निर्णयगरेको छ ।अन्तरराष्ट्रिय संस्थाहरूसँग गरिने ऋण आग्रहप्रति व्यापक जनआक्रोश रहेकोले त्यस्तो निर्णय गरिएको गेबालीले बताए । २०११-१२ का लागि प्रस्तुत गरिएको नयाँ बजेटमा पनि सार्वजनिक खर्चमा कटौती गर्ने लक्ष राखिएको छ । हालै इजिप्टको तहरीर स्क्वायरमा भएको व्यापक जनप्रदर्शनपछि त्यहाँका शासक होस्नी मुबारकले राजीनामा गरेका थिए । एएफपी/रासस
ओबामाद्वारा ऋण-सीमा विवादमा मध्यस्थता प्रयास
असार ११, वासिङ्टन (अमेरिका) । रिपब्लिकन र डेमोक्रयाट्सबीच राष्ट्रिय ऋण-सीमाबारेको वार्तामा देखिएको लामो गतिरोधलाई राष्ट्रपति बाराक ओबामाले तोड्ने प्रयास गरेका छन् । देशको आर्थिक स्थायित्वमा चुनौती देखिएको चेतावनी आउँदै गरेको बेला ओबामाको यस्तो प्रयास उनका लागि कडा परीक्षण नै हुनेछ ।दुई पक्षबीच प्रमुख असहमति करका बारेमा छ । ओबामालगायतका डेमोक्रयाटहरू बजेट घाटा कटौतीबारेको सहमतिमा कर वृद्धि र ठूला कम्पनी तथा धनी व्यक्तिलाई दिँदै आएको कर छूट (ट्याक्स ब्रेक) हटाउनुपर्ने धारणा राख्छन् । उता रिपब्लिकनहरूले भने कर वृद्धि नगरी सरकारी खर्च घटाउनुपर्ने तर्क गर्दैआएका छन् । दीर्घकालीन बजेट घाटामा कटौतीको विषयमा सहमति नगरी आफूहरूले थप ऋण लिन नदिने रिपब्लिकनहरूको भनाइ छ । तर, संसदले ऋणको सीमा (सिलिङ) नबढाएको खण्डमा अमेरिकी वित्तीय इतिहासमै पहिलोपटक डिफल्ट हुनसक्ने ओबामा प्रशासनको चेतावनी छ । एएफपी/रासस
युटुमाथि कर छलीको आरोप
असार ११, लण्डन (ब्रिटेन) । आयरल्याण्डको सबैभन्दा चर्चित रक सङ्गीत ब्याण्ड युटु र त्यसका प्रमुख गायक तथा वाद्यवादक समूह बोनोले कर छलेको आरोप लगाउँदै तिनीहरूको सङ्गीत कार्यक्रमलाई प्रदर्शनकारीले बिथोलिदिएका छन् । इङ्गल्याण्डको ग्लास्टनबेरी फेस्टिबलमा उक्त समूहले गरिरहेको कार्यक्रमलाई पूँजीवाद विरोधी समूह आट अनकटले बिथोलेका हुन् ।आट अनकटले २० फूट अर्थात ६ मिटर लामो बेलुन फुलाएर त्यसमा 'आफ्नो कर पनि तिर’ भन्ने सन्देश लेखेका थिए । पछि सुरक्षा कर्मचारीहरूले हस्तक्षेप गरेर बेलुनको हावा फुकाइदिएका थिए । भिडन्तमा झण्डै ३० जना संलग्न रहेका थिए ।
बोनोले विकासशील देशका गरीबी विरूद्ध अभियान चलाएतापनि आयरल्याण्डमा भने कर पनि नतिरेको आट अनकटको आरोप छ । देशमा आर्थिक सङ्कट रहेको बेला कर पनि नतिर्नु उचित नभएको दाबी गर्दै सङ्गीत कार्यक्रम बिथोलिएको हो । अन्तरराष्ट्रिय ऋणमोचन कार्यक्रम स्वीकार गरिसकेको आयरल्याण्डले बजेट खर्च कटौती, कर वृद्धि र बढ्दो बेरोजगारीलगायतका कठिनाइ भोगिरहेको छ ।युटुले २००६ मा आफ्नो कर्पोरेट आधारलाई आयरल्याण्डबाट नेदरल्याण्डमा सारेको बेला पनि चर्को आलोचना भएको थियो । कर छल्ने उद्देश्यले युटुले सङ्गीतको रोयल्टीमा झण्डै शून्य कर रहेको नेदरल्याण्डमा कर्पोरेट आधार सारेको आरोप छ । एएफपी/रासस
अष्ट्रेलियाली विमानसेवाका उडान रद्द
असार ११, सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाका सबै प्रमुख विमानसेवाले न्यूजिल्याण्डतर्फको उडान एक सातासम्मका लागि रद्द गरेका छन् । चिलीको प्युयेहेए ज्वालामुखी विष्फोटनपछि त्यस क्षेत्रको आकाशलाई खरानीले ढाकेकोले उडान रद्द गरिएको हो ।कोण्टासले न्यूजिल्याण्डतर्फको सबै उडान रद्द गर्नुका साथै ब्युनस आयसतर्फको उडानलाई २४ घण्टाले ढिलो गरेको छ । त्यसैगरी, अर्को विमानसेवा जेटस्टारले सिङ्गापुर न्युजिल्याण्डतर्फ सप्ताहान्तको दुवै दिनका उडानका साथै न्युजिल्याण्डभित्रका सबै आन्तरिक उडान पनि रद्द गरेको छ । त्यस्तै, भर्जिनले पनि न्यूजिल्याण्ड-अष्ट्रेलियातर्फको उडानलाई मङ्गलवारसम्मका लागि रद्द गर्नुका साथै समोआ र कूक आइल्याण्डतर्फको उडानमा पनि कटौती गरेको छ ।ज्वालामुखीबाट निस्कने खरानीले जेटको इञ्जिनमा खराबी पनि ल्याउन सक्छ । त्यसैले, अष्ट्रेलियाली विमानसेवाहरूले दैनिक करोडौं डलरको व्यापार गुमाएर भएपनि जोखिम लिन नचाहेका हुन् । एएफपी/रासस
बाइडुको ट्राभल वेबसाइटमा लगानी
असार ११, बेइजिङ् (चीन) । चिनियाँ सच इञ्जिन बाइडुले घरेलु ट्राभेल वेबसाइट क्यूनारमा ३० करोड ६० लाख डलर लगानी गर्नेभएको छ । चीनको बढ्दो पर्यटन व्यवसायबाट लाभ उठाउन बाइडुले उक्त ट्राभल सच इञ्जिनको बहुमत हिस्सा खरीद गर्ने भएको हो । चीन विश्वकै सबैभन्दा ठूलो अनलाइन बजार हो, जहाँ ४७ करोड ७० लाख जनाईण्टरनेट प्रयोगकर्ता रहेका छन् ।चीन सरकारसँग सेन्सर र साइबर आक्रमणसम्बन्धी विवादका कारण गत वर्षगूगलले चीन छाडेपछि त्यहाँको इण्टरनेट सच इञ्जिन बजारमा बाइडुकै वर्चश्व रहेको छ । आर्थिक वृद्धिसँगै पछिल्ला वर्षमा चीनको पर्यटन व्यवसाय पनि निकै फष्टाएको छ । बढ्दो धनी मध्यमवर्गले देशभित्रै र बाहिर पनि घुमघाम गर्ने क्रम बढेकोले चीनको पर्यटन व्यवसाय फष्टाएको हो ।त्यसका साथै चीनको हवाइयात्रा बजारमा पनि तीव्र वृद्धि भएर २०१० मा मात्र कुल २६ करोड ७० लाखले हवाइयात्रा गरेका थिए, जुन अघिल्लो वर्षको भन्दा १५ दशमलव ८ प्रतिशतले बढी हो । एएफपी/रासस
एलपीजीएमा यानी छेङ्को अग्रता
असार १०, पिट्सफोर्ड (अमेरिका) । शुक्रवार पूर्वाद्धमा आफ्नो अग्रता गुमाएकी ताइवानकी यानी छेङ्ले फेरि संघर्ष गर्दै पुन: अग्रता कायम गरेकी छिन् । उनले शुक्रवार २ अण्डर ७० को स्कोर बनाएर कुल स्कोर १३६(८ अण्डर) सहित प्याट हस्टभन्दा एक स्ट्रोकले अग्रता लिएकी हुन् । हस्टले भने शुक्रवार ६७ बनाएकी हुन् । त्यसैगरी, मोर्गन प्रेस्सेल, मिनिआ ब्लमक्विभ्सट र ही यङ पार्कले ६ अण्डर १३८ को कुल स्कोर बनाएका छन् ।
ट्राभेलर्समा काण्टलेको अग्रता
असार ११, क्रमवेल (अमेरिका) । ट्राभेलर्स च्याम्पियनशीपअन्तर्गत शुक्रवारको खेलमा १९ वर्षको क्याम्पसे ठिटा प्याट्रिक काण्टलेले अग्रता लिएका छन् । टीपीसी रिभर हाइल्याण्ड्स गल्फ कोसमा काण्ट्लेले १० अण्डर ६० स्कोरका साथ अमेच्योरअन्तर्गत टुरकै न्यूनतम राउण्ड बनाउन सफल भएका छन् । यस अघि १९५४ मा वेदसफिल्डमा भएको खेलमा टम्मी बोल्टले त्यस्तो स्कोर बनाएका थिए । साँझ परेकोले खेल स्थगित गरिँदासम्म काण्टलले ४ स्ट्रोकको अग्रता लिएका छन् । तर, त्यतिखेरसम्म दिनभरीमा उनले ३६ होलमात्र खेलेका थिए । एपी/रासस
Admin 2011-06-26