यूरोबण्ड र वित्तीय कारोबार करको प्रस्ताव
असोज ११, वाशिङटन (अमेरिका) । यूरोपियन कमिशनका प्रेजिडेण्ट होसे म्यानुएल बारोसोले बुधवार वित्तीय कारोबार कर र यूरोबण्ड सृजना गरी ईयूको हालसम्मकै ठूलो चुनौतीका रूपमा देखिएको आर्थिक सङ्कट समाधान गर्न प्रस्ताव गरेका छन् । सङ्कटबाट पार पाउन आवश्यक भइसकेको तथा त्यो सम्भव पनि रहेको बारोसोले बताए ।
सङ्कटका बेला यूरोपलाई एकताबद्ध हुन आह्वान गर्दै बारोसोले फ्रान्स र जर्मनीले यूरोजोन आर्थिक सरकारको निर्माणका लागि गरेको आग्रहलाई अस्वीकार गरे । बरू, त्यस्तो जिम्मेवारी यूरोपेली युनियनको कार्यकारी एकाइ यूरोपियन कमिशनको रहेको उनले बताए ।
कमिशनईयूको आर्थिक सरकार रहेकाले थप संस्थाहरू आवश्यक नपर्ने यूरोपेली पार्लियामेण्टमा दिएको भाषणमा बारोसोले भनेका छन् । बारोसोले युनियनको पार्लियामेण्टमा दिएको वार्षिक सम्बोधन भाषणमा विवादास्पद यूरोबण्डको पक्षमा स्पष्ट मत जाहेर गरेका छन् । आर्थिक नीतिको एकीकरण तथा अनुसाशनका लागि संयुक्त ऋण जारी प्रक्रिया सबैका लागि प्राकृतिक र लाभदायक कदम हुने उनले बताए ।
तर ,ईयूका कतिपय देशका करदाता ग्रीसजस्ता दीर्घकालीन ऋण उल्लङ्घनकर्ताका लागि कर तिर्न अनिच्छुक हुँदै गइरहेका बारोसोको टिप्पणी छ । एउटै मुद्रा यूरो चल्ने १७ राष्ट्रबीच यूरोबण्डबारे तीव्र मतभेद रहेको छ । बेल्जियम, लक्जेमबर्गलगायत वित्तीय समस्यामा रहेका देशले यूरोजोनको ऋणसङ्कट समाधानका लागि यूरोबण्डलाई प्रभावकारी र दिगो उपायका रूपमा हेर्छन् । एएफपी/रासस
एञ्जेला मर्केलका चुनौतीहरू अझै बढे
असोज ११, बर्लिन (जर्मनी) । यूरोजोनमा जारी ऋणसङ्कटका कारण जर्मन चान्सलर एञ्जेला मर्केलका रानीतिक चुनौतीहरू झनै बढेको देखिएको छ । ग्रीसबाट फैलिरहेको ऋणसङ्कटको सङ्क्रमण रोक्न प्रयत्न गरिरहेको भए तापनि मर्केलले सत्तारुढ गठबन्धनबाटै असहयोग र विरोधको सामना गर्नुपर्ने अवस्था सृजना हुँदै गएको छ । विशेषगरी ४ सय ४० अर्ब यूरोको 'यूरोजोन उद्धार कोष'को आकार दोब्बरले वृद्धि गर्ने योजनाको जर्मनीमा तीव्र विरोध शुरू भएको छ ।
मर्केल नेतृत्वको सरकारले कोषको आकार बढाउने प्रस्ताव बिहीवार संसद्मा प्रस्तुत गर्दैछ । तर, मङ्गलवार जर्मनीको सत्तारुढ मध्य-दक्षिण गठबन्धनबीच यूरोजोन उद्धार कोषबारे गरिएको एक मतदानमा ११ भोट विपक्षमा परेको थियो । त्यसैगरी सत्तारुढ गठबन्धनका दुई जनाले उक्त प्रस्तावको विरोधस्वरूप मतदान बहिस्कार गरेको बुझिएको छ । संसद्मा बिहीवार हुने मतदानमा यदि सत्तारुढ गठबन्धनका १९ जना सांसदहरूले प्रस्तावविरुद्ध मत खसाले वा बहिस्कार गरेमा मर्केलले विपक्षीहरूको भर पर्नुपर्ने अवस्था सृजना भएको बताइन्छ । विपक्षी सोसल डेमोक्रयाट र ग्रीन पार्टीले भने यो प्रस्तावको पक्षमा मतदान गर्ने बताइसकेका छन् । विश्लेषकहरूले यस्तो अवस्था आउनु मर्केल नेतृत्वको सरकारका लागि घातक भएको बताएका छन् । विपक्षीहरूले सहयोग गरे पनि सत्तारुढ दलभित्रैबाट असहयोग भएपछि सरकारको भविष्य अनिश्चित हुने देखिन्छ । यसबाट जर्मनीमा राजनीतिक अस्थिरता बढ्ने उनीहरूले बताएका छन् ।
चान्सलर मर्केल भने जसरी पनि यूरोजोन उद्धार कोषको आकार बढाउनुपर्नेमा दृढ छिन् । सन् २०११ जुलाईमै मेर्केलसमेत सहभागी भएको यूरोपियन युनियनको एक बैठकमा यूरोजोन उद्धार कोषको आकार बढाउने विषयमा सहमति भएको थियो । तर, सत्तारुढ गठबन्धनका प्रमुख घटकहरू ग्रीस, पोर्चुगल, आयरल्याण्ड हुँदै इटाली र स्पेनमा समेत फैलिइसकेको ऋणसङ्कट समाधान गर्न कोषको आकार नबढाई अन्य उपाय अपनाउनुपर्ने बताइरहेका छन् । यूरोजोन उद्धार कोषको आकार बढाउँदा जर्मन करदातामाथि थप बोझ बढ्ने उनीहरूको जिकिर छ । गत हप्ता मात्र जर्मन अर्थमन्त्री वुल्फग्याङ स्काउब्लेले प्रस्तावको विरोध गरिरहेका सत्ता सहयात्रीहरूलाई शान्त गर्न अहिले नै कोषको आकार बढाउने पक्षमा आफूहरू नभएको बताएका थिए । तर पनि कोषको आकार नबढाउन चेतावनी दिँदै आएकाहरू शान्त भएका छैनन् । अहिले सबैको दृष्टि बिहीवार जर्मनकीको ताल्लो सदन 'बुण्डेष्टाग'मा हुने मतदानमा केन्द्रित भएको छ ।
शेयर तथा ऋणपत्रको मूल्य पनि जर्मन संसद्को निर्णयबाट प्रभावित भएको छ । जर्मन नीतिनिर्माताहरूले कोषको आकार बढाउने र सङ्कट समाधान गर्ने आशा गरेका यूरोपेली शेयरबजारहरूमा मङ्गलवार ४ दशमलव ३ प्रतिशतको वृद्धि भएको थियो । यो वृद्धि सन् २०१० मेपछिकै सबैभन्दा ठूलो भएको बताइएको छ । तर, त्यही समयमा जर्मन ऋणपत्रका मूल्यमा भने कमी आएको देखिएको थियो । एजेन्सी
एशियामा 'डाटा सेण्टर’ स्थापना गर्दै गुगल
असोज ११, सिङ्गापुर । अमेरिकी सच इञ्जिन तथा इण्टरनेट कम्पनी गुगल इन्कले एशियामा तीनओटा 'डाटा सेण्टर स्थापना गर्ने बताएको छ । एएफपीसँग बुधवार कुरा गर्दै गुगल इन्कका एशिया-प्रशान्तक्षेत्रका सञ्चार प्रबन्धक ताज मिडोजले सिङ्गापुर, ताइवान र हङकङमा ती डाटा सेण्टर स्थापना गरिने जानकारी दिए । ती डाटा सेण्टर स्थापना गर्न २० करोड अमेरिकी डलर खर्च हुने पनि मिडोजले उल्लेख गरे ।
अत्याधुनिक सुविधासहितका ती सेण्टरका लागि ५६ एकड जमीन पनि कम्पनीले छनोट गरिसकेको उनले बताए । प्रत्येक सेण्टरमा कम्प्युटर, दूरसञ्चार प्रविधिसहित उच्च सुरक्षा प्रणाली र विनाअवरोधको शक्तिशाली विद्युत् आपूर्ति (पावर ब्याकअप) रहने उनले उल्लेख गरे । यसबाट कम्पनीले एशिया-प्रशान्त क्षेत्रका ग्राहकहरूले राम्रो सेवा पाउने अपेक्षा गरेको मिडोजले एएफपीलाई बताए । एशियामा विश्वका अन्यत्रभन्दा उच्च गतिमा इण्टरनेट प्रयोग बढिरहेकाले डाटा सेण्टरको आवश्यकता बढेको उनको कथन थियो । गुगलले हाल अमेरिका र यूरोपमा मात्रै डाटा सेण्टरको सञ्चालन गरिरहेको छ । यसका साथै अन्य कम्पनीहरूसँगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न पनि उसले डाटा सेण्टरहरू सञ्चालन गर्न लागेको हो । ४८ करोड ५० लाख इण्टरनेट प्रयोगकर्ता रहेको चीनमा केही प्रतिबन्ध सामना गरिरहेको गुगल चिनियाँ सच इञ्जिन 'बाइदु'सँग प्रतिस्पर्धा गरिरहेको छ । यो सङ्ख्या विश्वमै सबैभन्दा ठूलो भएको बताइन्छ ।
यसैबीच मङ्लवार लण्डनबाट प्रकाशित हुने 'द इकोनोमिष्ट' पत्रिकासँग आबद्ध 'इकोनोमिष्ट इण्टलिजेन्स युनिट'ले सार्वजनिक गरेको एक अध्ययनले एशियाली र पश्चिमाबीचको सूचनाप्रविधि खाडल घट्दै गएको देखाएको छ । अध्ययनले एशियाली सूचनाप्रविधि उद्योग बढी प्रतिस्पर्धात्मक बन्दै गएको र कपीराइट प्रणालीमा सुधार भएको बताएको छ । अध्ययनले सूचना प्रविधिको प्रतिस्पर्धात्मकतामा अमेरिका सबैभन्दा अघि रहेको पनि उल्लेख गरेको छ । त्यसैगरी सिङ्गापुर तेस्रो स्थानमा रहेको र जापान, ताइवान, अष्ट्रेलियालगायतका एशिया-प्रशान्त क्षेत्रका सात राष्ट्र प्रमुख २० स्थानमा परेको बताइएको छ । एएफपी/रासस
सङ्कटका बीच फ्रान्समा आर्थिक वृद्धिको आशा
असोज ११, पेरिस (फ्रान्स) । यूरोजोनको सङ्कटले नराम्ररी प्रभावित भएको अवस्थामा पनि सन् २०१२ मा आफ्नो देशको आर्थिक वृद्धि १ दशमलव ७ प्रतिशत रहने फ्रान्स सरकारले बताएको छ । बुधवार फ्रान्सको मन्त्रिपरिषद्मा पेश गरिएको सन् २०१२ को बजेट मस्यौदामा यस्तो उल्लेख छ । मस्यौदामा फ्रान्सको बजेटघाटा चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ५ दशमलव ७ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
सन् २०१२ मा भने बजेटघाटा ४ दशमलव ५ प्रतिशतको हाराहारीमा झर्ने आशा बजेट मस्यौदामा गरिएको छ । त्यसैगरी, सन् २०१३ र २०१४ मा यूरोपियन युनियन (ईयू)ले तोकेको सीमारेखाअनुसार क्रमश: ३ र २ प्रतिशत हुने अनुमान पनि गरिएको छ । साथै, सन् २०१५ सम्म सन्तुलन कायम गर्न बजेटघाटा १ प्रतिशतमा ल्याइने महत्त्वाकाङ्क्षी लक्ष्य पनि फ्रान्स सरकारले बजेटमार्फत लिएको छ । तर, ग्रीस, पोर्चुगल र आयरल्याण्डका खराब ऋणमा प्रदर्शित भएकाले फ्रान्समा सञ्चित ऋण भने पहिले अनुमान गरिएभन्दा बढी नै हुने बताइएको छ । यसरी सञ्चित भएको ऋण सन् २०११ मा जीडीपीको ८५ दशमलव ५ प्रतिशत र सन् २०१२ मा ८७ दशमलव ४ प्रतिशत पुग्ने अनुमान पनि गरिएको छ ।
त्यसैगरी, सन् २०१५ सम्म यो ऋण जीडीपीको ८४ दशमलव १ प्रतिशत रहने मस्यौदामा बताइएको छ । यसअघिईयू ले सन् २०१५ सम्म यूरोपेली राष्ट्रहरूले सञ्चित ऋण जीडीपीको ६० प्रतिशतमा झार्नुपर्ने निर्णयगरेको थियो । एएफपी/रासस
'टेप्को’ले कर्मचारी कटौती गर्नुपर्छ : जापान सरकार
असोज ११, टोकियो (जापान) । जापानको सबैभन्दा ठूलो विद्युत् उत्पादक टोकियो इलेक्ट्रिक पावर कर्पोरेशन (टेप्को)ले ७ हजार ४ सय कर्मचारी हटाउनुपर्ने देखिएको छ । फुकुसिमा आणविक भट्टीको दुर्घटनाका कारण घाटामा गएको 'टेप्को'को पुन:संरचनाका लागि जापान सरकारद्वारा गठित एक समितिले यस्तो सुझाव दिन लागेको एक प्रतिवेदनमा बताइएको छ ।
प्रतिवेदनअनुसार समितिले भूकम्प र सुनामीका कारण भएको आणविक दुर्घटनालाई सम्हाल्न असक्षम भएको भन्दै टेप्कोको व्यवस्थापनलाई पदमुक्त गर्न पनि सुझाव दिन लागेको बुझिएको छ । उक्त सुझावअनुसार कम्पनीबाट बर्खास्त गरिने कर्मचारीलाई अवकाशपछिको सुविधाबाट समेत वञ्चित गरिनेछ । जापानी दैनिक पत्रिका 'योमिउरी सिम्बुन'ले बुधवार प्रकाशित गरेको सो प्रतिवेदनमा आणविक दुर्घटनाका कारण प्रभावित दशौं हजार मानिसलाई क्षतिपूर्ति प्रदान गर्न टेप्कोलाई ३९ देखि ५२ अर्ब अमेरिकी डलरको आवश्यकता पर्ने पनि औंल्याइएको छ । त्यसैगरी फुकुसिमा आणविक भट्टीका क्षतिग्रस्त 'रियाक्टर'हरू हटाउन कम्पनीलाई थप अर्बौं डलर आवश्यक पर्ने पनि सो प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा कर्मचारी कटौती सन् २०१४ को मार्चभित्र गरिसक्नु पर्ने पनि बताइएको छ । टेप्कोको घाटा हाल एकदमै ठूलो रहेको र विद्युत्को मूल्य १० प्रतिशतले बढाइए पनि कम्पनीमा पूँजीको अभाव रहिरहने बताइएको छ ।
सन् २०११ मा जापानमा गएका विनाशकारी भूकम्प र सुनामीपछिको आणविक दुर्घटनाले टेप्कोलाई ७ अर्ब ४ करोड अमेरिकी डलर घाटा भएको बताइन्छ । विश्वकै ठूला ऊर्जा कम्पनीमध्येको एक टेप्कोसँग हाल आफ्नो कुल पूँजीको १० खर्ब येन (१३ अर्ब ७ करोड डलर) मात्र रहेको छ । सन् १९८६ मा युक्रेनमा भएको चेर्नोबिल आणविक दुर्घटनापछिकै सबैभन्दा नराम्रो दुर्घटना मानिएको फुकुसिमा दुर्घटनाका कारण जापानका उद्योग, कृषि र पर्यटनलगायतका क्षेत्रमा ठूलो नोक्सानी भएको थियो । एएफपी/रासस
अमेरिकी उपभोक्ताको मनोबल अझै कम
असोज ११, न्यूयोर्क (अमेरिका) । आर्थिक मन्दीले थलिएका अमेरिकी उपभोक्ताहरूको मनोबल सन् २०११ सेप्टेम्बरमा पनि अघिल्ला महीनाजस्तै रहेको देखिएको छ । अध्ययन संस्था 'द कन्फरेन्स बोर्ड'ले मङ्गलवार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा अमेरिकी उपभोक्ताहरूको मनोबल परिसूचक सेप्टेम्बरमा ४५ दशमलव ४ रहेको छ । यो परिसूचकमा सन् २०११ अगष्टमा भन्दा केही सुधार भए तापनि समग्रमा भने राम्रो नरहेको प्रतिवेदनमा उल्लेख छ । अगष्टमा उपभोक्ता मनोबल परिसूचक सन् २००९ अप्रिलपछिकै सबैभन्दा कम ४५ दशमलव २ रहेको थियो ।
अमेरिकाको क्रेडिट रेटिङ घट्नु, शेयरबजारमा तीव्र उतारचढाव, बेरोजगारी दरमा वृद्धि, यूरोजोनको ऋणसङ्कट तथा अमेरिकामा भएका राजनीतिक विवादका कारण अमेरिकी उपभोक्ताहरू डराएकाले परिसूचक घटेको प्रतिवेदनमा बताइएको छ । उपभोक्ता मनोबल परिसूचक ५० भन्दा कम रहनु अर्थतन्त्रका लागि राम्रो मानिँदैन । अमेरिकामा यो परिसूचक ९० भन्दा माथि पुगेमा मुलुकको आर्थिक वृद्धिदर स्वस्थ भएको मानिन्छ । त्यसैगरी, अमेरिकीहरू भविष्यप्रति पनि त्यति आशावादी नदेखिएका प्रतिवेदनमा उल्लेख छ । रोजगारी पाउन गाह्रो भएको गुनासो गर्ने अमेरिकीहरूको सङ्ख्या ४८ दशमलव ५ प्रतिशतबाट बढेर ५० प्रतिशत पुगेको बताइएको छ । त्यसैगरी, आफ्नो आम्दानी वृद्धि हुने आशा गरेकाहरू १४ दशमलव ३ प्रतिशतबाट घट्दै १३ दशमलव ३ प्रतिशत पुगेको पाइएको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदन सार्वजनिक भएपछि आर्थिक परामर्शदाता संस्था 'क्यापिटल इकोनोमिक्स'का अर्थशास्त्री पल डेल्सले यो समयमा अमेरिकीहरू निर्धारित स्थानभन्दा निकै तल झरेको बताए । यो समस्या समाधान गर्न अमेरिकमा हाल कायम ९ दशमलव १ प्रतिशतको बेरोजगारी दरमा ठूलो कमी आउनुपर्ने उनको भनाइ थियो । यसका लागि प्रतिमहीना २ लाख रोजगारी सृजना हुनुपर्ने डेल्सले उल्लेख गरे । त्यसैगरी, शेयरबजारहरूमा उत्साहजनक वृद्धि हुँदा उपभोक्ता मनोबल परिसूचक ६० देखि ७५ सम्म पुग्न सक्ने उनले अनुमान गरे ।
यसैबीच मङ्गलवार सार्वजनिक एक अर्को प्रतिवेदनमा अमेरिकी स्वास्थ्य बीमाको मूल्य ९ प्रतिशतले बढेको बताइएको छ । आर्थिक मन्दी भए पनि अमेरिकी कम्पनीहरूले आफ्ना कर्माचारीलाई प्रदान गर्ने स्वास्थ्य बीमामा वृद्धि भएकाले बीमामूल्य बढेको प्रतिवेदनमा उल्लेख छ । सन् २०११ मा कम्पनीहरूले आफ्ना कर्मचारीलाई प्रदान गर्ने १० वर्षको स्वास्थ्य बीमा १ सय १३ प्रतिशतले बढेको प्रतिवेदनले दखाएको छ । यो अध्ययन केइजर फेमिली फाउण्डेशनले
गरेको थियो । एजेन्सी
व्यवसायीहरूले विकास बैङ्कलाई समर्थन गर्नुपर्छ : गाइट्नर
असोज ११, वाशिङटन (अमेरिका) । अमेरिकी व्यवसायीहरूले विश्वव्यापी वृद्धिलाई बलियो बनाउन बहुपक्षीय विकास बैङ्कहरूको भूमिकालाई टेवा दिनुपर्ने अमेरिकी अर्थमन्त्री टिमोथी गाइट्नरले बताएका छन् । यूरोपको ऋणसङ्कटलगायतका कारणले विश्वव्यापी अर्थतन्त्रमा दबाब कायमै रहेको बेला विकास बैङ्कहरूले उदीयमान बजारको वृद्धि सुदृढ बनाएर मद्दत गर्न सक्ने गाइट्नरको टिप्पणी छ । उदीयमान बजार र विकासशील देशको आर्थिक वृद्धि बढेमा अमेरिकाको निर्यात तथा रोजगार बढ्ने गाइट्नरले सुझाए ।
बहुपक्षीय विकास बैङ्कभित्र विश्व बैङ्क समूह र अन्य चार क्षेत्रीय बैङ्क पर्दछन् । चार क्षेत्रीय बैङ्कहरू, अफ्रिकी विकास बैङ्क, एशियाली विकास बैङ्क, यूरोपियन बैङ्क फर रिकन्ष्ट्रक्शन एण्ड डेभलपमेण्ट र इण्टर-अमेरिकन डेभलपमेण्ट बैङ्क हुन् । सन् २००७-०९ को वित्तीय सङ्कटपछि अमेरिकी निर्यातलाई पनर्बहाली गर्न बैङ्कहरूमा रहेको अमेरिकी लगानी र उदीयमान बजारमा तिनले पाएको समर्थन महत्त्वपूर्ण रहेको गाइट्नरले बताए । ओबामा प्रशासनले वित्तीय वर्ष२०१२ का लागि बहुपक्षीय विकास बैङ्कमा ३ अर्ब ३० करोड डलरको माग गरेको छ ।
एजेन्सी
टोयोटाको विश्वव्यापी उत्पादन वृद्धि
असोज ११, टोकियो (जापान) । टोयोटा मोटर कर्पोरेशनले उसको विश्वव्यापी उत्पादन १ वर्षयता पहिलोपटक अगष्टमा बढेको बताएको छ । टोयोटा जापानको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी हो । टोयोटाको विश्वव्यापी उत्पादन १ वर्षअघिको भन्दा १० दशमलव ६ प्रतिशतले बढेर ६ लाख २६ हजार ८ सय १७ ओटा गाडी उत्पादन भएको छ । घरेलु र समुद्रपार दुवैतर्फा कारखानाहरूमा र खासगरी दक्षिण अफ्रिका , अष्ट्रेलिया, एशिया र यूरोपमा उत्पादन बढेको छ । यात्रुवाहक कारको निर्यात १५ प्रतिशतले बढे पनि घरेलु बजारको विक्री २५ प्रतिशतभन्दा बढीले खस्केको छ ।
मार्चमा आएको भूकम्प र सुनामीपछि भएको घाटा परिपूर्तिका लागि टोयोटाले आगामी महीनाहरूमा उत्पादन बढाउने तयारी गरेको छ । २०१२ को अक्टोबर र मार्चबीचमा टोयोटाले थप ३ लाख ५० हजार गाडी निर्माण गर्ने भएको छ ।
त्यसैगरी, निशान मोटर कम्पनीले पनि अगष्टमा दरिलो वृद्धि भएको बताएको छ । निशानको अगष्ट महीनाको विश्वव्यापी उत्पादन झण्डै २४ प्रतिशतले बढेर ३ लाख ८५ हजार १ सय १२ पुगेको छ । होण्डाले भने सातौं महीनासम्म पनि लगातार उत्पादन घटेको बताएको छ । त्यसैगरी, सुजुकी र माज्डा मोटर कर्पोरेशनको उत्पादन क्रमश: ११ दशमलव ५ प्रतिशत र ३ प्रतिशतले खस्केको छ । एपी/रासस
Admin 2011-09-29