शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

भारतको दोहोरो आर्थिक वृद्धिको अपेक्षा अधुरो

वैशाख ११, नयाँ दिल्ली (भारत) । आगामी केही वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धि गर्ने भारतको सपना पूरा नहुने देखिएको छ । उच्च महँगी, सुस्त सुधार प्रक्रिया र अनिश्चित अन्तरराष्ट्रिय परिदृश्यका कारण भारतको लक्ष्य पूरा नहुने भएको हो । सत्तारूढ काङ्ग्रेस पार्टीमा १० प्रतिशतको आर्थिक वृद्धि शुरुआतकर्ताका रूपमा इतिहास रच्नका लागि लामो समयदेखि प्रयास गर्दै आएको छ । तर, भारतको आर्थिक योजना निकायले २०१७ सम्मको आर्थिक, सामजिक र अन्य लक्ष्य निर्धारण गर्ने क्रममा त्यस्तो वृद्धि हासिल हुन नसक्ने बताएको छ । 'आगामी ५ वर्षका लागि १० प्रतिशतको औसत आर्थिक वृद्धि लक्ष्य राख्नु सम्भाव्य छैन,’ योजना आयोगका सहअध्यक्ष मोण्टेक सिंह आहलुवालियाले भने । तर, ९ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राख्नु भने सम्भाव्य नै रहेको पनि आहलुवालियाले बताए ।

भारतमा अझै पनि ४० प्रतिशतभन्दा बढी जनसङ्ख्या गरीबीको रेखामुनि रहेका छन् । तिनले प्रतिदिन मात्र १ दशमलव २५ डलरमा आफ्नो जीविका चलाउँछन् । योजना आयोगका अनुसार २००७ देखि २०१२ को पञ्चवर्षीय अवधिको औसत वृद्धिदर ८ दशमलव २ प्रतिशत रहने सम्भावना छ । गतवर्ष अर्थमन्त्री प्रणव मुखर्जीले १/२ वर्षभित्रै भारतले दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने अपेक्षा व्यक्त गरेका थिए । तर, अर्थतन्त्रमा रहेको सरकारी नियन्त्रण घटाउनुका साथै शीप र शिक्षा तथा पूर्वाधारमा ठूलो लगानी नगरी त्यस्तो आर्थिक वृद्धि हासिल गर्न सम्भव नहुने अर्थशास्त्रीहरूको विचार छ । एएफपी/रासस

ताइवान बैङ्किङमाथिको नियन्त्रण चीनद्वारा फुकुवा

वैशाख ११, ताइपेइ (ताइवान) । चीनले आफ्ना बैङ्कहरूलाई ताइवानी बैङ्कहरूसम्म पहुँच बढाउन दिने भएको छ । मुख्य भूमि चीनका बैङ्कहरूमाथि लगाइएको हालको नियन्त्रण हटाइने चीनको बैङ्किङ नियामक निकाय चाइना बैङ्किङ रेगुलेटरी कमिशनका अध्यक्ष लिउ मिङकाङले बताएका छन् । त्यसबारे ताइवान भ्रमणमा रहेका लिउ र उनका ताइवानी समकक्षी चेन यु चाङबीच सोमवार ताइपेइमा वार्ता हुने भएको छ । त्यस्तो वार्ता जनवरीमा बेइजिङ र ताइपर्ेइले बैङकिङ अनुगमनसम्बन्धी सहयोग संयन्त्रको स्थापना गरेपछिको पहिलो हुनेछ ।

लिउका अनुसार नयाँ प्रावधानले ताइवानी बैङ्कहरूलाई मुख्य भूमि चीनमा शाखा खोलेपछि चिनियाँ मुद्रा रेन्मिन्बिमा कारोबार गर्न दिइनेछ । हालको प्रावधानअनुसार ताइवानी ऋणदाताहरूले मुख्य भूमि चीनमा शाखा खोलेको कम्तीमा १ वर्षभएपछि तथा तिनले नाफा गर्न थालेपछि मात्रै रेन्मिन्बिमा कारोबार गर्न पाउँछन् । २००९ मा चीन र ताइवानबीच बैङ्किङ, बीमा र सेक्युरिटिजको क्षेत्रमा अझ प्रभावकारी सहयोग आदानप्रदान गर्ने सहमति भएको थियो । सहमतिबाट ताइवानी र चिनियाँ बैङ्कहरूलाई एकअर्काको सम्पत्ति खरीद गर्न सजिलो हुने अपेक्षा गरिएको छ । त्यसका साथै चिनियाँ लगानीकर्ताहरूलाई ताइवानी शेयरबजारका शेयर खरीद गर्न  पनि सजिलो हुनेछ । एएफपी/रासस

कम्प्युटरको गडबडीले बैङ्क प्रमुखको राजीनामा

वैशाख ११, टोकियो (जापान) । जापानको दोस्रो ठूलो ऋणदाता मिजुहो फाइनान्सल ग्रूपअन्तर्गतको मिजुहो बैङ्कका प्रमुखले कम्प्युटरमा आएको ठूलो गडबडीका कारण राजीनामा गर्ने भएका छन् । गत महीनाको भूकम्प र सुनामी पछिको राहतका लागि मिजुहो बैङ्कमा ठूलो मात्रामा चन्दा जम्मा भएको थियो ।तर, त्यसपछि कम्प्युटर प्रणालीमा आएको गडबडीले मिजुहोको एटीम बन्द हुनुका साथै कारोबारमा पनि बाधा उत्पन्न भएको थियो । त्यसबाट भर्खरै ठूलो प्राकृतिक विपत्ति भोगेका सर्वसाधारण र व्यापारीले झनै कठिनाइको सामाना गर्नुपरेको थियो । मिजुहो बैङ्कका प्रेजिडेण्ट सातोरू निशिबोरीले कम्प्युटरमा फेरि त्यस्तो समस्या नआओस् भनेर योजना बनाइरहेका छन् । त्यसका साथै आउँदो जुनमा हुने शेयरहोल्डरको बैठकमा राजीनामा पनि दिने भएका छन् । रोयटर्स

जापानको आग्रह चीन र द. कोरियाद्वारा अस्वीकार

वैशाख ११, टोकियो (जापान) । जापानले आफ्नो देशबाट आयात गरिने खाद्य तथा अन्य उत्पादनमाथिको नियन्त्रणलाई 'न्यायोचित’ बनाउन गरेको आग्रहलाई चीन र दक्षिण कोरियाले अस्वीकार गरेका छन् । गत महीनाको आणविक दुर्घटनापछि विकिरण प्रदूषणको आशङ्काले जापानबाट आयातित वस्तुमा थुप्रै देशले कडा नियन्त्रण गरेका छन् । त्यसबाट आफ्ना उत्पादनको विश्वसनीयता पुन:स्थापित गर्न गाह्रो पर्ने जापानले जिकिर गरेको छ । चीन र दक्षिण कोरियाका व्यापार मन्त्रीहरूले आफ्ना जापानी समकक्षीलाई जापानले आपूर्ति सञ्जाललाई छिट्टै पुन:स्थापना गर्ने आशा पनि व्यक्त गरे । जापानमा उत्पादित वस्तुको अभाव हुन जाँदा त्यसको प्रभाव विश्वव्यापी अर्थतन्त्रमै पर्न सक्ने सम्भावना रहन्छ ।'जापानी उत्पादनमाथिको नियन्त्रणका लागि वैज्ञानिक आधार सुनिश्चित गरिनुपर्ने चीन र दक्षिण कोरियालाई आग्रह गरेको छु,’ जापानी व्यापारमन्त्री बान्री काइएदाले वार्तापछि भने । तर, दक्षिण कोरिया र चीनले जनताको सुरक्षा र खाद्यवस्तुको सुरक्षिततामा ध्यान दिनु आवश्यक रहेको जापानलाई भनेका छन् । रोयटर्स

सीडीका जन्मदाता तथा पूर्वसोनी प्रमुखको निधन

वैशाख ११, टोकियो (जापान) । जापानी कम्पनी सोनीका पूर्वप्रेजिडेण्ट नोरिओ ओगाको ८१ वर्षको उमेरमा मृत्यु भएको उक्त कम्पनीले बताएको छ । ओगाले कम्प्याक्ट डिस्क (सीडी)को विकास गरेर सङ्गीत उद्योगमै परिवर्तन ल्याएका थिए । सङ्गीतकै विद्यार्थी ओगाले १९८२ देखि १९९५ सम्म सोनीको नेतृत्व गरेका थिए । सो अवधिमा उनले इलेक्ट्रोनिक्स सामानको उत्पादक सोनीलाई विश्व सङ्गीत उद्योगकै साम्राज्य बनाउन सफल भएका थिए । उनको कार्यकालमा  सोनी सङ्गीत, चलचित्र र कम्प्युटर गेम क्षेत्रको अग्रणी कम्पनी हुन सफल भएको थियो ।

सीडी फर्म्याटको विकास गर्नुका साथै ओगाले १९६८ मा सीबीएस कर्पोरेशनसँग सोनीको व्यापार वार्तामा पनि नेतृत्व गरेका थिए । त्यसपछि सीबीएस/सोनी रेकर्ड्स हुँदै हाल सोनी म्युजिक इण्टरटेनमेण्ट भएको छ । त्यसैगरी १९८९ मा ३ अर्ब ४० करोड डलरमा कोलम्बिया पिर्क्चस खरीद गर्ने उनको निर्णयछि मनोरञ्जनका क्षेत्रमा सोनीको सामाज्य फैलिएको थियो ।साथै उनले सोनीको कर्पोरेट लोगो डिजाइन गर्नुका साथै पछिल्लो चरणमा सोनीलाई भिडियो गेम बजारको क्षेत्रमा विस्तार गरेका थिए । अवकाशपछि ओगाले एउटा पहाडी रिसोर्टमा कन्सर्ट हल निर्माणका लागि झण्डै २ करोड डलर अनुदान दिएका थिए । ओगालाई जापान सरकारले देशकै उच्च सम्मान दिएको थियो भने फ्रान्सले पनि प्रसिद्ध लेजन डे अनरबाट सम्मान गरेको थियो । एएफपी/रासस

Admin 2011-04-25