जापानमा दुइ वर्षपछिको पहिलो व्यापारघाटा
फागुन ११, टोकियो (जापान) । जापानमा गत महीना २ वर्षयताकै पहिलो व्यापार घाटा देखिएको त्यहाँका अधिकारीहरूले बुधवार बताएका छन् । वस्तुको मूल्यमा वृद्धि हुनुका साथै निर्यात क्षेत्रको माग पनि घटेकोले व्यापारघाटा भएको बताइएको छ । अर्थ मन्त्रालयका अनुसार, जनवरी महीनाको निर्यातमा १ दशमलव ४ प्रतिशतले मात्र वृद्धि भएको छ । डिसेम्बरको निर्यातमा १३ प्रतिशतले वृद्धि भएको थियो । मध्यपूर्व र उत्तरी अफ्रिकामा देखिएको अस्थिरताले जापानको आयात खर्च पनि बढेको छ । तेल र अन्य वस्तुको मूल्यमा भएको वृद्धिबाट आयात खर्चमा पनि १२ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । वस्तुको मूल्य अझै बढ्ने सम्भवाना देखिएकाले जापानको आयात खर्च पनि अझै बढ्ने विश्लेषकहरूको अनुमान छ । स्रोतको कमी भएको जापानको अर्थतन्त्र निर्यातमा निर्भर छ । एएफपी/रासस
अरबको प्रदर्शनले एशियामा मूल्यवृद्धि
फागुन ११, हङकङ (चीन) । अरब क्षेत्रमा भइरहेको प्रदर्शनले एशियामा पनि तेलको भाउ चर्केको छ । किनकि एशियामा आपूर्ति हुने धेरैजसो तेल मध्यपूर्वबाट आउँछ । मङ्गलवार बे्रण्ट कच्चा तेलको फ्युचर्स मूल्य १ सय ८ डलरभन्दा पनि माथि पुगेको थियो । एशियामा भइरहेको तीव्र वृद्धिले उक्त क्षेत्रको अरबक्षेत्रबाट आउने तेलमा निर्भरता झनै बढाएको छ । लिबियामा हिंसात्मक प्रदर्शन जारी रहँदा एशियाली शेयरबजारहरू तल ओर्लेका छन् । जापान र दक्षिण कोरियाले आफूले उपभोग गर्ने इन्धनको ८० प्रतिशत हिस्सा आयात गर्छन् । चीन र भारतमा त्यस्तो अनुपात अलिकम भए पनि उनीहरूको खपत पनि बढ्दै गइरहेको छ । एशियाभरिमा उत्पादन हुने ऊर्जाको ३० प्रतिशत तेलबाट उत्पादन हुन्छ । जबकि कुल खपतको आधाभन्दा बढी तेल मध्यपूर्वबाट आयात गरिन्छ । एशियाली क्षेत्रमा भण्डारण पनि कम रहेकोले मूल्य वृद्धि र आपूर्तिको अभावले छिट्टै समस्यामा पार्छ । तेलको मूल्यवृद्धिबाट एशियाली क्षेत्रमा राजनीतिक डाइनामाइटको जस्तो बिष्फोटक परिवर्तन आउने गरेको छ । रोयटर्स/रासस
दिल्लीमा महँगी र भ्रष्टाचारविरुद्ध विशाल जनप्रदर्शन
फागुन ११, नयाँ दिल्ली (भारत) । भारतको राजधानी नयाँ दिल्लीमा बुधवार लाखौं मानिसले महँगीविरुद्ध प्रदर्शन गरेका छन् । चर्किंदै गएको मूल्यले देशका थुप्रै गरीब जनताको समस्या बढेको उनीहरूले गुनासो गरे । प्रदर्शनमा सहभागी धेरैजसो श्रमजीवी वर्गका मानिस देखिन्थे । कम्युनिष्ट झण्डा बोकेका ती प्रदर्शनकारीले भ्रष्टाचार र महँगीविरुद्ध नारा लगाएका थिए । नयाँ दिल्लीको केन्द्रमा भेला भएका प्रदर्शनकारीको भीडले वरिपरिका सडक अवरुद्ध भएका थिए । उक्त प्रदर्शन सेण्टर अफ इण्डियन ट्रेड युनियन्स (सिटु) ले अन्य सङ्गठनसँगको सहभागितामा आयोजना गरेको हो ।भारत सरकारले आउँदो बुधवार प्रस्तुत गर्न लागेको वाषिर्क बजेटअघि प्रदर्शन गरिएको छ । हजारौं महिलालगायत देशका १९ राज्यका श्रमिकहरू दिल्लीमा भेला हुँदै छन् । 'उनीहरूले देशमा भइरहेको कथित 'सुदृढ वृद्धि’मा आफ्नो न्यायोचित भागको माग गर्दै संसद् भवनअगाडि जुलुश प्रदर्शन गर्नेछन्’ सिटुको विज्ञप्तिमा भनिएको छ । सिटुले ८ लाखदेखि १० लाखसम्म प्रदर्शनकारी सहभागी हुने दाबी गरेको थियो, तर त्यसको पुष्टि भने भएको छैन । प्रहरीले पनि प्रदर्शनकारीको सङ्ख्या अनुमान गर्न सकेको छैन । प्रधानमन्त्री मनमोहन सिंहले बढ्दो महँगीले भारतको आर्थिक वृद्धिमै चुनौती दिएको बताउँदै आएका छन् । खाद्यवस्तुको चर्को मूल्य घटाउन तरकारी र अन्य वस्तुको आपूर्ति बढाउन सरकार प्रयासरत छ ।
प्रदर्शनमा सहभागी शिक्षक सङ्गठनका सभापति जगदीश ठाकुरले वाम झुकाव राख्ने सरकार भए पनि गलत नीति लिएको आरोप लगाए । 'महँगी नियन्त्रण गर्नुपर्छ । बेरोजगारी हल गर्नुपर्छ । निजीकरणलाई रोक्नुपर्छ,’ ठाकुरको माग थियो । प्रधानमन्त्री मनमोहन सिंहको सरकारले महँगीका साथै बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप खेपिरहेको छ । खासगरी, गत अक्टोबरमा दिल्लीमा भएको राष्ट्रमण्डल खेल र दूसञ्चार अनुमतिपत्रसम्बन्धी भ्रष्टाचार काण्डहरूले सिंहको सरकारलाई महिनौँदेखि बदनाम गरिरहेका छन् । विपक्षीहरूले माग गरेजस्तै दूरसञ्चार काण्डमा अन्तरपार्टी छानबिन गर्न सिंहले मङ्गलवार सहमति जनाएका छन् । एएफपी/रासस
साउदी राजाबाट जनतालाई ३५ अर्ब डलरको सहायता
फागुन ११, रियाद (साउदी अरेबिया) । साउदी राजा अब्दुल्लाहले आफ्ना जनतालाई ३५ अर्ब डलरबराबरको सहायता घोषणा गरेका छन् । मेरुदण्डको समस्याबाट पीडित भएपछि शल्यक्रियाको लागि अब्दुल्लाह अमेरिका गएका थिए । उपचारका लागि ३ महीना लामो विदेश बसाइपछि बुधवार देश फर्कींदा उनले त्यस्तो घोषणा गरेका हुन् । बढ्दो महँगी, बेरोजगारीलगायत परिवारहरूलाई सुलभ आवासको व्यवस्था मिलाउने कार्यक्रमहरूमा उक्त रकम खर्च गरिनेछ ।अरब क्षेत्रमा गरीबी, भ्रष्टाचार र तानाशाहीविरुद्ध प्रदर्शनहरू बढ्दै गइरहेका बेला साउदी राजाको यस्तो घोषणा आएको छ । साउदी अरेयिबा ओपेकको सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र हो । तर, निरङ्कुश राजतन्त्रात्मक शासनप्रणाली रहेको उक्त मुलुकमा विपक्षी र उदारवादीहरूले माग गरेजस्तो चुनावलगायतका राजनीतिक सुधारको कार्यक्रम भने ल्याइएको छैन । रोयटर्स
दक्षिणपूर्वी एशियाली क्षेत्रमा स्वच्छ ऊर्जाको सम्भावना
फागुन ११, सिङ्गापुर (सिङ्गापुर) । दक्षिणपूर्वी एशियामा गडगडाउँदा नदीदेखि ज्वालामुखीय वाष्पलगायतको प्रचुर नवीकरणीय ऊर्जा सम्भावना छ । तर, त्यहाँका सरकारहरूले त्यस्ता नवीकरणीय ऊर्जाक्षेत्रको सदुपयोग गर्ने तर्फ पर्याप्त प्रयास नगरेको विशेषज्ञ र अभियन्ताहरूले आरोप लगाएका छन् । नवीकरणीय ऊर्जाको प्रयोगबाट जलवायु परिवर्तन नियन्त्रण प्रयासमा पनि सघाउ पुग्छ । निजीक्षेत्रका कम्पनीहरूले नवीकरणीय ऊर्जाक्षेत्रमा लगानी गर्न पनि चाहेका छन् । तर, तेल र कोइलाजस्ता परम्परागत ऊर्जाक्षेत्रमाथिको निर्भरता घटाउने उनीहरूको प्रयासलाई सरकारी नीतिले बाधा पुर्याएको उनीहरूको गुनासो छ ।
इण्डोनेशियाको माउण्ट मेरापी र फिलिपिन्सको माउण्ट बुलुसानमा हालसालै भएको ज्वालामुखी विस्फोटनबाट पनि दक्षिणपूर्वी एशियामा भूतापीय ऊर्जाको सम्भावना प्रस्ट हुन्छ । तर, सौर्य, वायु, बायोमास र जलविद्युत्लगायतका नवीकरणीय ऊर्जाक्षेत्रलाई उपयोग गर्न खर्चिलो हुन्छ । चीन र भारतले भने नवीकरणीय ऊर्जाक्षेत्रमा दक्षिणपूर्वी एशियाले भन्दा राम्रो प्रगति गरेको जलवायु परिवर्तन नीतिका विशेषज्ञ पल कर्नोको मूल्याङ्कन छ । कोर्नेका अनुसार, 'पूँजीको अभाव छ कि भन्ने प्रश्न होइन’ । चीन र भारतमा जस्तो नीतिगत व्यवस्था परिपक्व नरहेकाले दक्षिणपूर्वी एशिया क्षेत्रमा लगानीकर्ताहरूले चासो नराखेका कोर्नेको धारणा छ । 'नवीकरणीय ऊर्जास्रोतको विकासका लागि त्यस्तो ऊर्जा उत्पादनपश्चात् पर्याप्त ग्राहक पाइने प्रत्याभूति गरिनु आवश्यक हुन्छ । त्यसैले नवीकरणीय ऊर्जा उत्पादनपछि त्यस क्षेत्रबाट केही समयका लागि वितरकहरूले खरीद गर्नैपर्ने नियम बनाउनुपर्छ,’ डब्ल्यडब्ल्यूएफका राफेल सेनेगाले भने । एएफपी/रासस
लिबियामा १ हजारको मृत्यु
फागुन ११, ट्रिपोली (लिबिया) । लिबियामा जारी प्रदर्शनलाई दबाउने क्रममा १ हजार जनाको मृत्यु भइसकेको इटालीका विदेशमन्त्रीले बुधवार बताएका छन् । लिबिया अफ्रिकाको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो । फ्रान्सले लिबियामा भइरहेको नरसंहारविरुद्ध नाकाबन्दीको आह्वान गरेको छ । त्यस्तो आह्वान गर्ने फ्रान्स पहिलो राष्ट्र हो । लिबियाका सैनिक शासक गद्दाफीले आफ्नो विरोध गर्ने प्रदशर्नकारीलाई साङ्ला भन्दै तीनलाई सखाप पारिने चेतावनी दिएका थिए । 'आगामी सूचनासम्मका लागि लिबियासँगको आर्थिक, व्यापारिक र वित्तीय सम्बन्ध खारेज गर्न म आह्वान गर्छु,’ फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले भने । तर, लिबियासँग कसरी व्यवहार गर्ने भन्नेमा अन्तरराष्ट्रिय समुदाय विभाजित देखिएका छन् । कतारका प्रधानमन्त्रीले लिबियालाई एक्ल्याइन नहुने धारणा राखेका छन् । यसैबीच लिबियाको धेरैजसो तेलस्रोत रहेको साइरेनाइका क्षेत्र गद्दाफीको नियन्त्रणबाहिर पुगिसकेको इटालीका विदेशमन्त्रीले बताएका छन् । रोयटर्स
भारती एयरटेलको यूरोप-इण्डिया केबल
फागुन ११, मुम्बई (भारत) । भारतको प्रमुख मोबाइल सेवाप्रदायक भारती एयरटेलले यूरोप र भारतबीचको गेटवे केबल सिष्टम सञ्चालनमा ल्याएको बुधवार घोषणा गरेको छ । एयरटेलसँगै १६ ओटा अन्तरराष्ट्रिय दूरसञ्चार कम्पनीले समेत त्यस्तो प्रणाली सञ्चालनमा ल्याएका छन् । मुम्बईदेखि लण्डनसम्मको १५ हजार किलोमिटर लामो केबलमा लगभग ७० करोड डलरको लगानी भएको छ । उक्त केबलको क्षमता ३ दशमलव ८४ टेराबिट्स प्रतिसेकेण्ड रहेको भारतीले बताएको छ । सो केबलबाट अफ्रिकाकी महादेशको सञ्चार आवश्यकता पूरा हुनुका साथै अन्तरराष्ट्रिय सञ्चारमा पनि सुधार आउने भारतीको दावी छ । रोयटर्स
Admin 2011-02-24