विदेशी कम्पनीहरूको बेइजिङसँग गुनासो
जेठ ११, बेइजिङ (चीन) । चीनमा व्यवसाय गरिरहेका यूरोपियन कम्पनीहरूले चीन सरकारले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । साथै, आगामी दिनमा त्यस्तो पक्षपातपूर्ण व्यवहार झनै बढ्दै जाने अनुमान ती कम्पनीले गरेका छन् । चीनस्थित यूरोपियन च्याम्बर अफ कमर्शको प्रतिवेदनमा बेइजिङले उसको स्वतन्त्र व्यापार प्रतिबद्धताको उल्लङ्घन गरिरहेको बताएको छ । प्रविधि उद्योग र अन्तरराष्ट्रिय प्रतिस्पर्धा निम्त्याए पनि चीनमा पक्षपातपूर्ण व्यवहार बढिरहेको प्रतिवेदनमा गुनासो गरिएको छ ।च्याम्बरका अनुसार, सर्वेक्षणमा भाग लिएका चीनस्थित ५ सय ९८ ओटा यूरोपेली कम्पनीमध्ये ४३ प्रतिशतले त्यस्तो गुनासो गरेका छन् । गतवर्षको त्यस्तै सर्वेक्षणमा ३३ प्रतिशतले मात्र गुनासो गरेका थिए । च्याम्बरका प्रेजिडेण्ट डेभिड कुसिनोले सबै बाधा हटाएर समान वातावरण बनाउन चिनियाँ नियामकहरूलाई आवान गरेका छन् ।बेइजिङले विदेशी र स्वदेशी दुवैथरीका कम्पनीलाई समान व्यवहार गरिने प्रतिबद्धता गर्दै आएको छ । तर, कम्प्युटर, स्वच्छ ऊर्जा र अन्य क्षेत्रका चिनियाँ उत्पादकले सरकारी अनुदान र सरकारी प्राथमिकता पाउने गरेका छन् । वित्तीय सङ्कटपछि विकसित देशको अर्थतन्त्रमा समस्या देखिएका बेला विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनमा पहुँच पाउन कम्पनीहरू संवेदनशील देखिएका छन् । एपी/रासस
भारतद्वारा बजेटघाटा कम गर्ने प्रयास
जेठ ११, नयाँ दिल्ली (भारत) । भारतका अर्थमन्त्री प्रणव मुखर्जीले ठूलो बजेटघाटाबाट अर्थतन्त्रलाई फाइदा नगर्ने मङ्गलवार बताएका छन् । हालै उच्च ऊर्जा खर्चका कारण सरकारलाई उसको लक्ष्य प्राप्ति गर्न अप्ठयारो पर्ने भारतको केन्द्रीय बैङ्कले चेतावनी दिएको थियो ।गतवर्ष भारतको बजेटघाटा कुल गार्हस्थ्य उत्पादनको ५ दशमलव १ प्रतिशत थियो । तर, २०१२ को मार्चमा सकिने यस आर्थिक वर्षमा भने बजेटघाटालाई ४ दशमलव ६ प्रतिशतमा झार्ने सरकारको लक्ष्य छ । तर, सरकारको यस्तो लक्ष्यलाई कतिपय विश्लेषकले भने महत्त्वाकाङ्क्षी बताएका छन् । एजेन्सी
सोनीमा अर्को अनलाइन आक्रमण
जेठ ११, टोकियो (जापान) । सोनीले उसको अनलाइन सुरक्षाप्रणालीमा अर्को आक्रमण भएको बताएको छ । यसपटक भने उसको क्यानडास्थित संयुक्त लगानी सोनी इरिक्सनका २ हजार ग्राहकको व्यक्तिगत सूचना चोरी भएको छ ।सोनी इरिक्सन क्यानाडा वेबसाइटबाट नाम ,ईमेल, र पासवर्ड चोरी भएको हुन सक्ने सोनी कर्पोरेशनका प्रवक्ता आत्सुओ ओमागारीले बुधवार बताए । तर, क्रेडिट कार्डबारेको सूचना भने चोरी नभएको प्रवक्ताले जानकारी दिएका छन् ।
उक्त सुरक्षा आक्रमणबाट क्षतिबारे कुनै जानकारी आएको छैन् । आक्रमणबारे मङ्गलवार पत्ता लागेपछि सभर बन्द गरिएको थियो । सोनी इरिक्सन स्वीडेनको एल एम इरिक्सन र सोनीबीचको संयुक्त लगानी कम्पनी हो । गत महीना पनि सोनीको प्लेस्टेशन नेटवर्क र अन्य अनलाइन सेवामा भएको सुरक्षा आक्रमणबाट १० करोडभन्दा बढी अनलाइन एकाउण्ट प्रभावित भएका थिए । ग्रीसस्थित आफ्नो सङ्गीत र मनोरञ्जन वेबसाइटमा पनि ५ हजार ५ सय एकाउण्टको सूचना चोरी भएको मङ्गलवार सोनीले बताएको छ । हालसम्मका अनलाइन सुरक्षा आक्रमणबाट सोनीले कुल १४ अर्ब येन अर्थात १७ करोड ३० लाख डलर थप खर्च बेहोर्नुपर्नेछ । उपभोक्ताहरूले चेप्टो आकारको फ्लाट प्यानेल टीभी खरीद गर्न थालेपछि सोनीको टीभी विक्रीमा पनि निकै कमी आइसकेको छ । एएफपी/रासस
विश्वव्यापी आर्थिक सङ्कट यथावत् : ओईसीडी
जेठ ११, पेरिस (फ्रान्स) । विश्व अर्थतन्त्रमा अझै स्टयाग्फ्लेशन (अर्थात् मूल्यवृद्धि भइरहे तापनि आर्थिक वृद्धि नहुनु) देखिएको आर्थिक सहयोग तथा विकास संस्था अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेण्ट(ओईसीडी)ले बताएको छ । त्यसका साथै, जापानको अर्थतन्त्र मन्दीतर्फ लागेको पनि ओईसीडीको चेतावनी छ ।साथै, २०११ को विश्वव्यापी आर्थिक वृद्धि ४ दशमलव २ प्रतिशतमा रहने संस्थाको अर्ध वार्षिक आर्थिक प्रतिवेदनमा भनिएको छ । त्यसका साथै, नकारात्मक अनिश्चिततातर्फसचेत रहन पनि ओईसीडीले सचेत गराएको छ ।
संस्थाका अनुसार हाल भइरहेको आर्थिक पुनर्बहाली असन्तुलित छ । जापानले भने मार्चको प्राकृतिक विपत्तिका कारण शून्य दशमलव ९ प्रतिशतको मन्दी बेहार्नुपर्ने पूर्वानुमान छ । तर, आगामी वर्षभने जापानले २ दशमलव २ प्रतिशतको वृद्धिदरले पुनर्बहाली गर्नेछ ।तेल र खाद्यवस्तुको मूल्यमा हुन सक्ने सम्भावित वृद्धि, जापानको सुस्त पुनर्बहाली, चीनको तीव्र ओरालो, यूरोजोनको ऋण समस्या र जापान एवम् अमेरिकाको अस्थिर वित्तीय अवस्थाले जोखिम यथावत् देखिएको प्रतिवेदनले भनेको छ । एएफपी/रासस
जापानको अर्थतन्त्रमा सुधारको सङ्केत
जेठ ११, टोकियो (जापान) । जापानको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको बैङ्क अफ जापानका गभर्नर मासाकी शिराकावाले बुधवार बताएका छन् । त्यसका साथै, आर्थिक जोखिमलाई केन्द्रीय बैङ्कले सजगतापूर्वक निरीक्षण गरिरहने पनि शिराकावाले बताए ।मार्चमा आएको भूकम्प, सुनामी र आणविक सङ्कटको मार परेपछि जापानको अर्थतन्त्र मन्दीतर्फ लागेको थियो । त्यसैगरी, अप्रिलमा जापानको निर्यात पनि निकै खस्केको हालैको एक प्रतिवेदनले देखाएको थियो । तर, चालू आर्थिक वर्षको उत्तरार्धमा बलियो पुनर्बहालीको सम्भावना रहेको शिराकावाले बताए ।
त्यसका साथै, केही कम्पनीले भने तिनको आपूर्ति सञ्जालमा देखिएको बाधा निराकरण गर्नेतर्फ कदम चालिरहेका छन् । भूकम्पपछिको समयमा खर्च गर्न डराइरहेका उपभोक्ताहरू पनि विस्तारै आश्वस्त हुँदै गएका छन् । विपत्तिको अल्पकालीन आर्थिक असर सोचेभन्दा निकै बढी रहेको थियो । त्यसबाट जापान ३ वर्षभित्रैमा दोस्रोपटक मन्दीतर्फलागेको थियो । एजेन्सी
Admin 2011-05-26