शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सउदी अरेबिया वैकल्पिक ऊर्जाको खोजीमा
माघ ११, रियाद (सउदी अरेबिया) । विशाल तेल भण्डारण रहेको सउदी अरेबियाले आणविक तथा नवीकरणीय ऊर्जा समेत विकास गर्ने निर्णय गरेको छ । घरेलु बजारमा बढिरहेको ऊर्जाको मागका कारण उसको तेल निर्यातमा समेत असर पार्ने सम्भावना देखिएकाले त्यस्तो निर्णय गर्नुपरेको तेलमन्त्री एली-अल नाइमीले बताए ।

'हामीले धेरै किसिमका ऊर्जास्रोतलाई स्थानीय रूपमै उपयोग गर्नेतर्फ आवश्यक पाइला चालेका छौं’ मन्त्रीले भने । खासगरी सौर्य तथा आणविक ऊर्जाको विकासमा पहल गरिने  मन्त्रीले जानकारी दिएका छन् । सउदी अरेबियामा २ सय ६४ अर्ब ब्यारेल तेल भण्डारण रहेकाले आगामी ८० वर्षसम्म हालकै उत्पादन परिमाणले पुग्ने नाइमीले गत नोभेम्बरमा दाबी गरेका थिए । तर, तेल, विद्युत्जस्ता ऊर्जास्रोतमा घरेलु माग निकै बढिरहेकाले अन्य ऊर्जास्रोतमा ध्यान दिनुपरेको किङ अब्दुल्लाह सिटी फर एटमिक एण्ड रिन्युएबल इनर्जीका निर्देशक हाशेम यमनीले बताए । त्यसैले आणविक तथा नवीकरणीय ऊर्जा प्रविधि भएका देशहरू जस्तै कोरिया, अमेरिका, जापान, तथा फ्रान्ससँग त्यस विषयमा परामर्श गरिरहेको यमनीले जानकारी दिएका छन् ।       एपी/रासस

परिवारले सम्पत्ति चोरेः स्टान्ली हो

माघ ११, हङकङ (चीन) । मकाउका क्यासिनो सम्राट स्टान्ली होले आफ्नो अनुमतिविना नै आफ्नो व्यापार साम्राज्य पुनःसंरचना गरिएको बताएका छन् । साथै परिवारका सदस्यले आफ्नो सबै सम्पत्ति चोरेको आरोप पनि उनले लगाएका छन् । मकाउका सबैभन्दा ठूलो क्यासिनो सञ्चालक एसजेएम होल्डिङ्सका ८९ वर्षीय अध्यक्ष होले झण्डै आधा शताब्दीसम्म जुवा साम्राज्यलाई नेतृत्व दिएका थिए ।

होले उनको लान्सफोर्ड कम्पनीका शेयरहरू परिवारका सदस्यलाई हस्तान्तरण गर्ने अनुमति नदिएको होका वकिल गोर्डन ओल्डहयामले बताए । आफ्नो इच्छाविना नै आफ्नो व्यापार साम्राज्य बाँडिएको भन्ने होको गुनासो रहेको उनका वकिलले मोबाइल फोनबाट जानकारी दिए । 'यो डकैती हो’ होलाई उद्धृत गर्दै ओल्डहयामले बताए ।  रोयटर्स

विश्व बेरोजगारी दर हालसम्मकै उच्च

माघ ११, जेनेभा (स्वीट्जरल्याण्ड) । अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले विश्वव्यापी रूपमा आर्थिक पुनर्बहाली भइरहे पनि त्यसले रोजगारी सिर्जना गर्न नसकिरहेको सोमवार चेतावनी दिएको छ । धेरै देशहरूमा तीव्र रूपले आर्थिक पुनर्बहाली भइरहे पनि २०१० को आधिकारिक बेरोजगारी सङ्ख्या २० करोड ५० लाख रहेको छ । यसरी २००९ को विश्वव्यापी बेरोजगारी तथ्याङ्कमा २०१० मा पनि खासै सुधार आएको छैन । 'जबकि २००७ को विश्वव्यापी आर्थिक सङ्कट शुरू हुँदाभन्दा २ करोड ७६ लाख बेरोजगार व्यक्ति थपिएका छन्’ आईएलओले भनेको छ ।

साथै सन् २०११ मा विश्वव्यापी बेरोजगारी दर ६ दशमलव १ प्रतिशतले बढ्ने र २० करोड ३३ लाख व्यक्ति बेरोजगार हुने पनि उसले अनुमान गरेको छ । २००७ पछिको बेरोजगारीमध्ये आधाभन्दा बढी औद्योगिक अर्थतन्त्र तथा यूरोपियन युनियनमा रहेको छ । त्यसैगरी काम गर्ने उमेरमा पुगिरहेका थुप्रै युवाहरूले पनि काम पाइरहेका  छैनन् । तर, ब्राजिल, कजाखस्तान र थाइल्याण्डजस्ता विकासशील देशहरूका बेरोजगारी दर भने सङ्कटपूर्वको भन्दा पनि तल झरेको आईएलओले  बताएको छ ।  एएफपी/रासस

आईएमएफद्वारा तीव्र विश्वव्यापी वृद्धिको अनुमान

माघ ११, जोहानेसवर्ग (दक्षिण अफ्रिका) । अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले विश्वव्यापी आर्थिक पुनः बहालीले गति लिइरहेको मङ्गलवार बताएको छ । त्यसका साथै यूरोजोनको वित्तीय सङ्कटबाट आउन सक्ने जोखिमतर्फपनि कोषले सचेत गराएको छ । आईएमएफका अनुसार आर्थिक शक्तिहरू अमेरिका तथा जापानमा उपभोग बढ्दै गइरहेका बेला विश्वव्यापी रूपमा दुइ किसिमको पुनःबहाली देखिएको छ । विकसित अर्थतन्त्रमा भन्दा उदीयमान अर्थतन्त्रमा तीव्र वृद्धि भइरहेको छ । साथै विकसित अर्थतन्त्रमा बेरोजगारी पनि उच्च रहेको छ ।

तर, चीन तथा ब्राजिलजस्ता तीव्र गतिले वृद्धि भइरहेका अर्थतन्त्रहरू अति तात्ने (ओभरहिटिङ) सम्भावनाप्रति  पनि आईएमएफले सचेत गराएको छ । त्यसैगरी यूरोक्षेत्रको छेउमा रहेका देशहरूमा फेरि वित्तीय दबाब बढिरहेको हुँदा त्यसले अधोगामी जोखिमको सम्भावनालाई बढाएको छ । विश्व अर्थतन्त्रको उत्पादन २०११ मा ४ दशमलव ४ प्रतिशतले बढने पूर्वानुमान पनि आईएमएफले गरेको छ । एएफपी/रासस

उपभोक्ता आत्मविश्वास सूचकाङ्क ८ महीनाकै उच्च

माघ ११, वाशिङटन (अमेरिका) । अमेरिकाको उपभोक्ता आत्मविश्वास सूचकाङ्क पछिल्लो ८ महीनाकै उच्च भएको छ । तर, यो अझै पनि स्वस्थ अर्थतन्त्रलाई सङ्केत गर्ने तहभन्दा निकै तल छ । जनवरीमा उपभोक्ता आत्मविश्वास सूचकाङ्क ६० दशमलव ६ मा उक्लेको कन्फरेन्स बोर्डले बताएको छ । डिसेम्बरमा यो सूचकाङ्क ५३ दशमलव ३ रहेको थियो । यो परिसूचकको वृद्धि अर्थशास्त्रीहरूले अपेक्षा गरेभन्दा बढी हो । तर, उपभोक्ताको स्वस्थ सोचाइलाई व्यक्त गर्ने अङ्क ९० भन्दा परिसूचक निकै टाढा छ ।

रोजगार बजारमा राम्रो भएको अमेरिकीहरूले अनुभव गरेका छन् । त्यसकारण वर्तमान अर्थतन्त्र र आफ्नो अपेक्षा दुवैमा सुधार भएको उनीहरूको धारणा छ । एपी/रासस

बङ्गलादेशमा  शेयर बजार उक्लियो

माघ ११, ढाका (बङ्गलादेश) । बङ्गलादेशको शेयर बजार मङ्गलवारदेखि पुनः सञ्चालनमा आएको छ । बजार खुलेपछि शेयर मूल्य फेरि माथि उक्लेको छ । हालै शेयरको मूल्य धेरै तल झरेपछि लगानीकर्ताहरूले हिंसात्मक प्रदर्शन गरेका थिए । त्यसपछि त्यहाँको नियामक निकायले कारोबार स्थगित गरेको थियो । मङ्गलवार कारोवार बन्द हुँदा ढाका स्टक एक्सचेञ्जको परिसूचकाङ्क ७ दशमलव ८ प्रतिशतले उक्लेर ६ हजार ८ सय २१ दशमलव ८ को बिन्दुमा पुगेको छ । सरकारले बजारमा लगानीकर्ताको  विश्वास बढाउने दिशामा कदम चालिसकेकाले बजार स्थिर रहने एक ब्रोकरले बताए ।

केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कहरूलाई शेयर बजारबाट प्राप्त भएको नाफाको लाभांश वितरण नगर्न निर्देशन दिएको छ । बरु त्यसरी भएको नाफालाई भविष्यमा गरिने लगानीका लागि सुरक्षित राख्न केन्द्रीय बैङ्कको निर्देशन छ । विगतमा कतिपय वाणिज्य बैङ्क तथा अन्य वित्तीय संस्थाहरूले आफ्ना निक्षेपको ७५ प्रतिशतसम्म शेयर बजारमा लगानी गरेका थिए । त्यसरी गरेको लगानीबाट तीनले २०१० मा ठूलो नाफा प्राप्त गरेका थिए । तर, हालै ती बैङ्क तथा वित्तीय संस्थाहरूले शेयर बजारमा थप लगानी रोकेका थिए । रोयटर्स

भिनाक्यापिटलको क्याम्बोडियामा लगानी

माघ ११, नोम्हपेन्ह (भियतनाम) । भियतनामको सबैभन्दा ठूलो पूँजी व्यवस्थापक भिनाक्यापिटल इन्भेष्टमेण्ट म्यानेजमेण्ट लिमिटेडले छिमेकी क्याम्बोडियामा बजार विस्तार गर्न चाहेको छ । त्यसका लागि शुरूमा १० करोड डलरको लगानी गर्ने र अन्ततः एउटा प्रतिबद्ध कोषकै स्थापना गर्ने योजना कम्पनीले मङ्गलवार बताएको छ ।  भिक्टरी क्यापिटल भनिने उसको आफ्नै स्वामित्वको नयाँ एकाइले घरजग्गा, आतिथ्य उद्योग, पूर्वाधार तथा कृषिलगायतका विविध क्षेत्रमा लगानी गर्ने भिनाक्यापिटलले बताएको छ । भिनाक्यापिटलले खासगरी लण्डनस्थित तीनओटा कोषहरूमा रहेको १ अर्ब ७० करोड डलरबराबर सम्पत्तिको सुपरिवेक्षण गर्दछ ।

भिक्टरी क्यापिटलले क्याम्बोडियामा स्रोतको खोजी तथा व्यवस्थापन गर्नेछ तथा भिनाक्यापिटलको सिङ्गापुरस्थित कार्यालयले पूँजी उठाउन सहयोग गर्नेछ । तर, उसले  क्याम्बोडियामा कोषको स्थापना कहिले गर्नेछ भन्नेबारे उल्लेख गरेको छैन । चीन र दक्षिण कोरियाले क्याम्बोडियाको मात्र १० अर्ब डलरको अर्थतन्त्रमा प्रत्यक्ष लगानी बढाइरहेकै बेला भिनाक्यापिटलले यस्तो योजना र्सार्वजनिक गरेको छ । रोयटर्स