भारत सरकारका सचिवको कार्यदक्षता मूल्याङ्कन
साउन ११, काठमाडौं । भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहले आफ्ना सचिवस्तरका कर्मचारीहरूको कार्यदक्षता मूल्याङ्कन सार्वजनिक गर्ने भएका छन् । आर्थिक वर्षसन् २०१०-११ को अवधिमा ६२ ओटा विभागका सचिवहरूको कार्यदक्षता मूल्याङ्कन गरिएको र अब त्यही सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइएको हो ।सचिवले सो वर्षका लागि 'रिजल्टस फ्रेमवर्क डकुमेण्टस' (आरएफडी)मा गरेका प्रतिबद्धताका आधारमा मूल्याङ्कन भइरहेको बताइएको छ । भारतबाट प्रकाशित हुने 'बिजनेश लाइन' पत्रिकाले दिएको जानकारीअनुसार सो मूल्याङ्कनलाई सम्पन्न गर्न मन्त्रिपरिषद् सचिवालयले काम गरिरहेको छ । समाचारमा बताइएअनुसार सचिवहरूको मूल्याङ्कनलाई उत्कृष्ट, धेरै राम्रो, राम्रो, सन्तोषजनक र निराशाजनक गरी पाँच भागमा स्तरीकरण गरिनेछ र सोहीअनुसार उनीहरूलाई पुरस्कृत पनि गरिने भएको छ । ती सचिवहरूको अवकाशपछि संवैधानिक, परराष्ट्र र अन्य निकायहरूमा गरिने नियुक्तिका लागि पनि त्यही मूल्याङ्कनलाई आधार बनाइने समाचारमा उल्लेख छ ।
लगातार २ वर्षसम्म 'धेरै राम्रो' र 'राम्रो' स्तर पाएका सचिवहरू पुरस्कार पाउनयोग्य हुनेछन् । उक्त पुरस्कार सचिवहरूको तलबको ४० प्रतिशतसम्म हुने पनि समाचारमा उल्लेख छ । अर्कोतर्फ नराम्रो' स्तर पाएकाहरूले भने पुरस्कार पनि नपाउने र अवकाशपछिको नियुक्तिमा पनि योग्य नहुने बताइएको छ ।आरएफडीमा नागरिक बडापत्र निर्माण र गुनासाहरू समाधान गर्ने संयन्त्रहरू अनिवार्य रूपले बनाउनुपर्ने शर्तहरू पनि छन् । ती शर्त पूरा भए/नभएको बारे एउटा स्वतन्त्र समितिले निश्चित गर्नेछ । सो समितिमा सरकारका पूर्वसचिवहरू, प्राध्यापकहरू र अन्य व्यक्तित्व छन् । भारत सरकारले नागरिकको सूचनाको हकअन्तर्गत सचिवहरूको स्तरीकरण पहिलोपटक सार्वजनिक गर्न लागेको हो ।सरकारी स्रोतलाई उद्वृत गर्दै पत्रिकाले दिएको जानकारीअनुसार आर्थिक वर्ष२०११-१२ मा ७४ जना विभागीय सचिवहरूको यस्तै मूल्याङ्कन गरिनेछ । सन् २०१० मा परीक्षणस्वरूप उक्त योजना ३ महीनाका लागि चलाइएको थियो तर त्यसको नतीजा भने सार्वजनिक गरिएको थिएन ।
साढे आठ करोड डलरको कार्बन भण्डारण परियोजना
साउन ११, मोण्टाना (अमेरिका) । अमेरिकाको मोण्टाना राज्य सरकारले ८ करोड ५० लाख डलरबराबरको कार्बन भण्डारण परियोजनाको प्रस्ताव स्वीकृत गरेको छ । ८ वर्षको उक्त 'पाइलट प्रोजेक्ट'अन्तर्गत १० लाख टन कार्बनडाइअक्साइड ग्यास मोण्टानाको पहाडी शृङ्खलामुनि पठाइनेछ ।मोण्टाना विश्वविद्यालयले शुरू गर्न लागेको उक्त परियोजनाले कोइला र सिमेण्ट उद्योगलगायत अन्य स्रोतहरूबाट उत्सर्जन हुने कार्बनडाइअक्साइड ग्यासलाई वायुमण्डलमा त्यसै छाडिनुभन्दा भण्डारण गर्नाले हुने आर्थिक र वातावरणीय सुरक्षाको निर्धारण गर्नेछ । 'द बिग स्काई सेक्वेष्ट्रेशन प्रोजेक्ट’ नाम दिइएको उक्त परियोजना अमेरिकी ऊर्जा विभागले ग्रीनहाउस ग्यास घटाउन गरिरहेका विभिन्न अध्ययन र अनुसन्धानबीच आएको हो ।
उक्त परियोजनामा 'केभिन डोम’ नामक मोण्टाना राज्यमा ७ सय वर्ग माइलमा फैलिएको भूमिगत चट्टानी सतह प्रयोग गरिनेछ । परियोजनाका निर्देशक लि स्पाङलरका अनुसार उक्त स्थानमा प्राकृतिक रूपमा नै लाखौं वर्षअघिदेखि कार्बनडाइअक्साइड जम्मा हुँदै आएको छ । ग्यास भण्डार गर्न उक्त स्थानमा 'ड्रिलिङ’को कार्य यसै हप्ताबाट शुरू हुनेछ । ग्यास भण्डारणको काम भने २ वर्षपछि मात्र शुरू गरिने बताइएको छ । उक्त स्थानमा १ अर्ब टन कार्बन ग्यास भण्डारण गर्न सकिने विश्वास भू-गर्भशास्त्रीहरूले गरेका छन् । परियोजनाको कुल खर्चमध्ये ६ करोड ७० लाख डलर सङ्घीय कोषबाट र बाँकी १ करोड ८० लाख डलरचाहिँ निजीक्षेत्रबाट जम्मा गरिने अधिकारीहरूले जानकारी दिएका छन् ।अमेरिका विश्वमा सर्वाधिक कार्बनडाइअक्साइड ग्यास उत्सर्जन गर्ने राष्ट्र हो । अमेरिकाले वार्षिक ७ अर्ब टन हरितगृह ग्यास उर्त्सजन गर्ने गर्छ । एजेन्सी
एलजीको नाफा ८७ प्रतिशतले घटयो
साउन १०, सिउल (दक्षिण कोरिया) । दक्षिण कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्सको दोस्रो त्रैमासिक नाफामा ठूलो कमी आएको छ । कम्पनीले बुधवार प्रकाशित गरेको दोस्रो त्रैमासिक प्रतिवेदनमा खुद नाफा ८७ दशमलव ३ प्रतिशतले घटेको बताइएको छ ।प्रतिवेदनमा कम्पनीको दोस्रो त्रैमासिक आम्दानी १ सय ३ अर्ब ४ करोड डलर भएको उल्लेख छ । सन् २०१० को यही अवधिमा कम्पनीले ८ अर्ब १७ करोड डलर आम्दानी गरेको थियो । 'एलजी'को नाफामा आएको ह्रासको प्रमुख कारण विक्री घट्नु र उत्पादन खर्च बढ्नु भएको बताइएको छ । कम्पनीका उत्पादनहरूको विक्री अघिल्लो वर्षभन्दा शून्य दशमलव २ प्रतिशतले कम भएको छ भने उत्पादन खर्च २५ दशमलव ३ प्रतिशतले बढेर १ सय ५० अर्ब ९२ करोड अमेरिकी डलर पुगेको प्रतिवेदनले देखाएको छ ।
मोबाइल स्माटफोनको विक्रीमा एलजीभन्दा एप्पल र सामसुङअघि देखिएका छन् । तर, विश्लेषकहरूले एलजीले हालै बजारमा ल्याएका नयाँ मोबाइल स्माटफोन र थ्रीडी टेलिभिजनहरूको विक्री बढिरहँदा आगामी त्रैमासहरूमा नाफा बढ्न सक्ने बताएका छन् । बुधवारै कम्पनीले जारी गरेको वक्तव्यमा लगातार दुई त्रैमासमा घाटापछि भने नाफामा केही वृद्धि भएको बताएको छ । एजेन्सी
भारतमा फोर्डको दोस्रो कारखाना
साउन ११ । अमेरिकी गाडी निर्माता फोर्डले भारतमा दोस्रो कारखाना स्थापना गर्ने भएको छ । पश्चिमी राज्य गुजरातमा स्थापना गर्न लागिएको उक्त कारखानाका लागि फोर्डले ९० करोड डलरभन्दा पनि बढी लगानी गर्नेछ । गुजरात सरकारले कारखाना स्थापनाका लागि अहमदाबादभन्दा ४० किमि टाढा रहेको सन्नडमा ४ सय हेक्टर जग्गा उपलब्ध गराउने भएको छ । आगामी २०१४ देखि सञ्चालनमा आउने उक्त कारखानाले झण्डै ५ हजार जनालाई रोजगारी दिनेछ । कारखाना स्थापना गर्ने सम्बन्धमा फोर्डले गुजरात सरकारसँग बिहीवार सम्झौता गर्ने भएको छ । दक्षिणी राज्य तमिलनाडुको राजधानी चेन्नाईमा फोर्डको भारतस्थित पहिलो कारखाना सञ्चालनरत छ । चेन्नाईस्थित कारखानाले वार्षिक २ लाखओटा कार जडान गर्दछ ।आफ्नो विश्वव्यापी उत्पादनलाई सन् २०१५ सम्ममा ५० प्रतिशतले बढाएर वार्षिक ८० लाखओटा गाडी उत्पादन गर्ने लक्ष्य रहेको फोर्डले बताएको छ । ती उत्पादनमध्येको एक तिहाइ भारत र चीनलगायतका एशियाली बजारमा खपत हुने कम्पनीको अपेक्षा छ । एएफपी/रासस
अमेरिकामा ऋणसीमासम्बन्धी सहमति अझै टाढा
साउन १०, वाशिङटन (अमेरिका) । ऋणसीमासम्बन्धी विवाद नटुङ्गिए अगष्ट २ पछि अमेरिकी सरकार टाट पल्टन सक्ने चेतावनी आर्थिक सल्लाहकारले दिए पनि सहमतिको सम्भावना टाढै देखिन्छ । बुधवार पनि अघिल्ला दिनहरूजस्तै बहस र विवादहरूका बीच अमेरिकी सरकार द्विविधाग्रस्त नै देखियो । मङ्गलवार ⋲वाइटहाउस र प्रतिपक्षी रिपब्लिकनहरूबीच भएका चर्काचर्कीबाट पनि गतिरोध तोडिने कुनै संभावना देखिएको छैन ।
संसारको सबैभन्दा धनी मुलुक टाट पल्टिए त्यसका प्रत्युत्पादक परिणमहरू संसारभर फैलने आशङ्का व्यक्त गरिएका छन् । यिनै आशङ्कामाझ डलरको मूल्य कमजोर भएको छ भने विश्वका प्रमुख शेयर सूचकाङ्कहरू मानिसका यिनै चिन्तालाई प्रतिविम्बित गर्दै ओरालो लागिरहेका छन् । यसैबीच अमेरिकाका प्रमुख क्रेडिट रेटिङ एजेन्सीहरू बुधवार अमेरिकी कङ्ग्रेसको एक सुनुवाइमा विश्व अर्थतन्त्रमाथि नै देखापरेको अनिश्चितता र सङ्कट हटाउने उपायहरू प्रस्तुत गर्दै छन् । क्रेडिट रेटिङ एजेन्सीका अधिकारीहरूलाई उनीहरूले अमेरिकाको रेटिङ घटाएमा विश्व अर्थतन्त्रमा पर्नसक्ने असरहरूबारे प्रश्न सोधिने निश्चितै छ । तर, विश्लेषकहरूले अमेरिकाको क्रेडिट रेटिङ घट्न सक्ने सम्भावना प्रबल रहेको बताइरहेका छन् ।
प्रमुख तीन क्रेडिट रेटिङ एजेन्सी 'स्टयार्ण्र्डड एण्ड पोर' (एसएण्डपी), 'मूडिज' र 'फिच'ले त्यससम्बन्धी गृहकार्य गरिरहेको बताइएको छ । केही विश्लेषकहरू भने अमेरिकाको कर सङ्कलन दर राम्रो रहेकाले अगष्ट २ पछि पनि आगामी ३ हप्ताको समय रहेको बताइरहेका छन् । तर, अमेरिकी सरकार टाट पल्टिनबाट जोगियो भने पनि क्रेडिट रेटिङ घट्ने हुनाले त्यसको परिणम प्रत्युत्पादक हुने आशङ्का लगानीकर्ताहरूले गरिरहेका छन् । सत्तारुढ डेमोक्रयाट र प्रतिपक्षी रिपब्लिकनहरूले सतर्कतापूर्वक सहमतिको आह्वान गरे पनि यो जटिल विषयमा सहमतिको सम्भावनाबारे स्पष्ट रूपमा केही भन्न कोही पनि सकिरहेको छैन । अमेरिकी प्रतिनिधिसभा 'हाउस अफ रिप्रिजेण्टेटिभ्स'का सभामुख जोन बोहनरले आइतवार राष्ट्रपति बाराक ओबामासँगको संवाद त्यागेको घोषणा गरेका थिए । स्थितिमा आएका यिनै जटिलतामाझ राष्ट्रपति ओबामाले सदनमा गतिरोध जारी रहिरहे र रिपब्लिकनहरूले आफ्ना अडान नत्यागे आफूले विशेषाधिकार 'भिटो' प्रयोग गर्ने चेतावनी यसअघि नै दिइसकेका छन् ।
रिपब्लिकनहरू १४ दशमलव ३ खर्ब डलरको ऋणसीमा बढाउने र करका दरहरू बढाउने पक्षमा छैनन् । राष्ट्रपति ओबामाले आफूले चुनावताका घोषणा गरेका केही लोकप्रिय कार्यक्रम त्याग्ने घोषणा गरिसकेका थिए । तर, रिपब्लिकनहरू धनी अमेरिकी बहुराष्ट्रिय कर्पोरेशनहरूलाई लक्षित गरेर ल्याइएका कर वृद्धिका योजनाप्रति बिल्कुलै सहमत छैनन् ।अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रमुख क्रिष्टिन लागार्दले अमेरिकी सरकार टाट पल्टिएमा विश्व अर्थतन्त्र दुश्चक्रमा फस्ने बताएकी छन् । साथै, उनले घडीको सियो छिटोछिटो घुमिरहेकाले अमेरिकीहरूले जसरी भए पनि समाधान निकाल्नैपर्ने आग्रह गरेकी छन् । एएफपी/रासस
भारतमा खानी उत्खनन भ्रष्टाचार काण्डको पर्दाफाश
साउन ११ । भारतको कर्नाटक राज्यमा सञ्चालित खानी उत्खननमा भ्रष्टाचारबाट सरकारलाई ३ अर्ब ६० करोड डलरको घाटा लागेको त्यसबारे छानबिन गरिरहेका एक पूर्वन्यायाधीश सन्तोष हेगडेले बताएका छन् । कर्नाटकका मुख्यमन्त्री बीएस येड्डीउरप्पालगायतका राजनीतिकर्मीले २००६ देखि २०१० सम्ममा उक्त नोक्सान गराएको न्यायाधीशको आरोप छ । उक्त अवधिमा उत्खननका लागि दिइएको अनुमतिपत्र र फलामको धाउको निर्यातमा गरिएको अवैध र अनियमित क्रियाकलापले सरकारी कोषमा भारू. १ खर्ब ६० अर्ब ८५ करोडको घाटा पुगेको
उनले बताए ।
मुख्यमन्त्री र अन्य शक्तिशाली राजनीतिकर्मीलगायत झण्डै १ सयओटा कम्पनी र ६ सयजना अधिकारी अवैध उत्खनन र अनियमितामा संलग्न रहेको उनको आरोप छ । अब, दूरसञ्चार अनुमतिपत्रलगायतका थुप्रै भ्रष्टाचार काण्डका शृङ्खलामा हालको खानी उत्खनन काण्ड पनि थपिएको छ । पछिल्लो प्रतिवेदनले प्रमुख विपक्षी दल भाजपाको नेतृत्वमा रहेको कर्नाटक सरकारलाई नै सङ्कट परेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एपी/रासस
एमेजोनको आम्दानी बढयो, नाफा घटयो
साउन ११, सानफ्रान्सिस्को (अमेरिका) । अमेरिकी अनलाइन रिटेलर र ई-कमर्श कम्पनी 'एमेजोन'ले दोस्रो त्रैमासमा आम्दानी बढेको बताएको छ । कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनमा कुल आम्दानीमा ५१ प्रतिशतले वृद्धि भएको जानकारी दिइएको छ । दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको आम्दानी बढेर ९ अर्ब ९१ करोड डलर पुगेको बताइएको छ । साथै, एमेजोनले तेस्रो त्रैमासिकमा ११ अर्ब १ करोड डलर आम्दानी गर्ने पूर्वानुमान गरेको छ । तर, कम्पनीले दोस्रो त्रैमासमा नाफा भने केही घटेको उल्लेख गरेको छ ।
दोस्रो त्रैमासमा उसले १९ करोड १० लाख डलर खुद नाफा गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २० करोड ७० लाख डलर आम्दानी गरेको थियो । आम्दानी बढे पनि सञ्चालन खर्चमा भएको वृद्धिको नाफा घटेको कम्पनीले बताएको छ । एमेजोनले ई-रिडर, कम्प्युटर, क्यामेरालगायतका विद्युतीय सामग्रीको विक्री ६९ प्रतिशतले बढेर ५ दशमलव ३ अर्ब डलर पुगेको जानकारी पनि दिएको छ । दोस्रो चौमासिक प्रतिवेदन सार्वजनिक भएपछि एमेजोनको प्रतिशेयर मूल्यमा ६ दशमलव ३ प्रतिशतले वृद्धि भई २ सय २७ दशमलव २८ डलर पुगेको बताइएको छ । एएफपी/रासस
नाइजेरियामा एक अवधिका लागि मात्र राष्ट्रपति
साउन ११, लागोस (नाइजेरिया) । नाइजेरियाका राष्ट्रपति गुडलक जोनाथनले राष्ट्रपति र प्रान्तीय गभर्नर पदमा एक अवधिका लागि मात्र बहाल हुन पाउने प्रावधान प्रस्ताव गरेका छन् । तर, एक अवधिमा हाल ४ वर्षमात्र रहेकोमा त्यसलाई पनि बढाइने राष्ट्रपतिका एक प्रवक्ताले बताएका छन् । प्रत्येक ४ वर्षमा निर्वाचन गरिँदा तिक्तता उत्पन्न हुनुको साथै निर्वाचन पनि अति खर्चिलो हुँदै गएको प्रवक्ताले बताए । त्यसका साथै, संसद्को अवधि बढाउनुका साथै संसद्ले बहुअवधिसम्म काम गर्नसक्ने प्रस्ताव गरिएको छ । आगामी सन् २०१५ बाट लागू हुने भनिएको उक्त प्रस्तावमाथि नाइजेरियाको संसद्मा मतदान हुने भएको छ । एपी/रासस
'सिटीभिले’को चिनियाँ संस्करण 'जिङ्गासिटी’
साउन ११ । इण्टरनेट सामाजिक खेल अर्थात् खेलक्षेत्रमा अग्रणी रहेको अमेरिकी कम्पनी 'जिङ्गा'ले चिनियाँ इण्टरनेट सेवाप्रदायक टेन्सेण्टसँगको साझेदारीमा चीनमा पनि प्रवेश गरेको छ । 'जिङ्गा सिटी’ नाम राखिएको उक्त अनलाइन गेम हाललाई नि:शुल्क उपलब्ध हुनेछ । जिङ्गाको लोकप्रिय खेल 'सिटीभिले’मा आधारित उक्त खेल फ्रेञ्च, जर्मन, इटालियन, स्पेनिश र अङ्ग्रेजी भाषामा खेल्न सकिन्छ ।
खेल खेल्नेहरूले इण्टरनेण्टमार्फत नै आफ्नो सपनाको शहर निर्माण गर्न सक्नेछन् । त्यस्ता शहरमा चाहेजस्तै व्यापारिक संस्थान, घर, पार्क र अन्य महत्त्वपूर्ण स्थान निर्माण गर्न सकिन्छ । त्यस्ता अवास्तविक यथार्थ अर्थात् भर्चुअल रियालिटीका शहरमा आफ्ना मित्रलाई एनिमेनेटेड पात्रका रूपमा आमन्त्रण गर्न सकिन्छ । ती एनिमेटेड पात्र शहरमा बसोबास गर्ने, कानून पालना गराउने, पसल सञ्चालन गर्नेलगायत विविध गतिविधिमा सहभागी हुन सक्छन् । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा खेलिनेमध्ये 'सिटीभिले’ सबैभन्दा लोकप्रिय खेल रहेको जिङ्गाले दाबी गरेको छ । एएफपी/रासस
यस वर्षको म्यागासेसे 'हरित ऊर्जा प्रविधि अभियन्ता’लाई
साउन ११ । एक भारतीय इञ्जिनीयर, एक फिलिपिनी चन्दा समूह र अर्का एक इण्डोनेशियाली सामाजिक अभियन्ताले संयुक्त रूपमा यस वर्षको म्यागासेसे पुरस्कार पाउन सफल भएका छन् । एशियाको नोबल पुरस्कार भनिने उक्त पुरस्कार विपन्न वर्गलाई हरित प्रविधि उपलब्ध गराउन सफल भएकोमा उनीहरूलाई दिइएको हो । आफ्ना देशका गरीब जनतालाई सशक्तीकरण गर्न र एशियाभरि नै प्रगतिकामी परिवर्तन ल्याउन सफल भएकाले उनीहरू पुरस्कारका हकदार भएका पुरस्कार समितिका अध्यक्ष कार्मेन्सिटा अबेलाले बताइन् ।
'महत्त्वपूर्ण मुद्दाहरूमा काम गरेर प्रतिबद्धता, योग्यता, र समन्वयकारी नेतृत्वले कसरी व्यक्तिगत जीवनहरूका साथै समुदायिक कार्यलाई समेत उत्पे्ररित गर्नसक्छ भन्ने उनीहरूले देखाएका छन्,’ अबेलाले भने । विजेतामध्ये ४४ वर्षीय भारतीय इञ्जिनीयर हरिश हाडेले ग्रामीण क्षेत्रमा सौर्य ऊर्जा विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । त्यसैगरी, ४६ वर्षीय इण्डोनेशियाली सामाजिक अभियन्ता त्रि मुम्पुनी पानी जम्मा गरेको ड्यामबाट साना विद्युत् उत्पादन केन्द्र स्थापना गर्ने प्रविधिलाई विस्तार गर्न सफल भएका हुन् । एएफपी/रासस
Admin 2011-07-28