अम्बानी दाजुभाइलाई थप चुनौती
असार १२, मुम्बई (भारत) । भारतका अर्बपति अम्बानी दाजुभाइ आफूहरूमाथि गत १ वर्षदेखि भइरहेको छानबिन र आलोचनापछि गुमेको साख पुन:स्थापित गर्न संघर्षरत देखिन्छन् । पिता धीरूभाइ अम्बानीको २००२ मा मृत्यु भएपछि उनका पुत्रहरू मुकेश र अनिल अम्बानीले विरासत हात पारेका थिए । तर, दाजुभाइबीच सम्पत्तिमाथि ५ वर्षलामो विवादपछि आमाले हस्तक्षेप गरी दुवैलाई सम्पत्ति छुटयाइदिएकी थिइन् ।
दाजु मुकेश प्रमुख रहेको रिलाएन्स इण्डष्ट्रिजले खासगरी ऊर्जा र पेट्रोकेमिकल क्षेत्रमा हात हालेको छ । उता, भाइ अनिलको दूरसञ्चार, वित्त र सेवाप्रदायक क्षेत्र रहेको अनिल धीरूभाइ अम्बानी ग्रूप छ । गत हप्ता मुकेशको कम्पनीको शेयर २ वर्षयताकै न्यून बिन्दुमा पुगेको थियो । त्यसैगरी अनिलको रिलाएन्स कम्युनिकेशनको शेयर गत १२ महीनामा आधाले झरेको छ । भारतको पूर्वी तटस्थित खानीस्रोतको ग्यास उत्पादनमा कमी आएपछि मुकेशको फर्च्युन ग्लोबल ५०० कम्पनीले पनि समस्या भोगिरहेको छ । त्यसैगरी, तेल मन्त्रालय र नियामक निकायले रिलाएन्सलाई प्रश्रय दिएको आरोप देशको महालेखापरीक्षकले लगाएपछि झनै अप्ठेरो आएको छ । उता, प्रतिस्पर्धी घराना टाटा समूहले बजारको आधारमा सबैभन्दा ठूलो कम्पनी भएपछि यी दाजुभाइले झनै चुनौती सामना गर्नुपर्नेछ । एएफपी/रासस
एफएओमा नयाँ प्रमुखको निर्वाचन
असार १२, रोम (इटाली) । संयुक्त राष्ट्र सङ्घअन्तर्गतको सबैभन्दा ठूलो निकाय खाद्य तथा कृषि सङ्गठन(एफएओ)को प्रमुख पदका लागि २ दशक यताकै पहिलो पटक निर्वाचन भइरहेको छ । विश्वभरि नै खाद्यवस्तुको उच्च मूल्यवृद्धि र कुपोषण बढिरहेको बेला हुन लागेको उक्त निर्वाचनलाई चासोका साथ हेरिएको छ ।प्रमुख पदका लागि छ जनाबीच प्रतिस्पर्धा रहेपनि आइतवार भने दुई जनाबीच स्पष्ट प्रतिस्पर्धा हुने देखिएको छ । तीमध्ये ब्राजिल र स्पेनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । हाल उक्त पदमा सेनेगलका ज्याक डिओउफ रहेका छन्, जो १९९३ मै निर्वाचित भएका थिए । नयाँ प्रमुखले खाद्य महँगी चर्किंदै गएको हालको अवस्थामा विश्वमा रहेको भोक घटाउने चुनौतीको सामना गर्नुपर्नेछ । किनभने बढ्दो खाद्य महँगीले लाखौं जनतालाई थप गरीबीमा धकेलेको छ भने सामाजिक अस्थिरताको जोखिम पनि बढेको छ । एफएओको खाद्य मूल्य परिसूचक फेब्रुअरीमा हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।पछिल्ला दिनमा महँगी केही घटेतापनि अझै गरीब समुदायको क्षमताभन्दा निकै चर्को छ । त्यसैगरी संयुक्त राष्ट्रसङ्घको सबैभन्दा ठूलो दाता अमेरिकाले पनि एफएओको केन्द्रीकृत कर्मचारीतन्त्रमा सुधार गर्न दबाब दिएको छ । एपी/रासस
केन्द्रीय बैङ्क गभर्नरहरूबीच नयाँ उपायमा सहमति
असार १२, जेनेभा (स्वीट्जरल्याण्ड)। विश्वका प्रमुख बैङ्कहरूका 'नैतिक जोखिम’ घटाउनेतर्फ केन्द्रीय बैङ्कका गभर्नरहरू छलफल गर्न सहमत भएका छन् । ती प्रमुख बैङ्कहरूको असफलताले विश्वकै वित्तीय बजारमा जोखिम ल्याउनसक्ने भएकोले त्यस्तो निर्णयगरिएको हो । त्यसबाट अन्तरराष्ट्रिय वित्त प्रणालीमै महत्वपूर्ण मानिने ती बैंङ्कहरूको जोखिम वहन क्षमता पनि बढने अपेक्षा गरिएको छ ।बैङ्क फर इण्टरनेशल सेटलमेण्ट्स (बीआईएस) ले जारी गरेको विज्ञप्ति अनुसार प्रणालीगत् प्रक्रियालाई समयक्रम अनुसार सुधार गर्दै लाने दिशामा निर्णये महत्वपूर्ण दिशानिर्देश गर्नेछ ।
बेसल कमिटी अन बैङ्किङ सुपरभिजन
(बीसीबीएस) को निरीक्षण संस्था ग्रुप अफ गभर्नस एण्ड हेड्स अफ सुपरभिजन (जीएचओस)ले ती उपायका संरचना विकास गरेका हुन् । त्यसका लागि प्रणालीगत् महत्वका प्रक्रियाको निर्धारणका साथै थप आवश्यक पूँजीसम्बन्धी व्यवस्थाको आधारमा मापदण्ड तय गरिने विज्ञप्तिमा भनिएको छ । एएफपी/रासस
बदनाम हयाकरहरूको समूह विघटन हुने
असार १२, न्यूयोर्क (अमेरिका) । विगत २ महीनादेखि वेबसाइटहरूलाई निशाना बनाउँदै इन्टरनेटमा आतङ्क फैलाइरहेको बदनाम हयाकरहरूको समूह 'लल्जसेक' विघटन हुने भएको छ । व्यापक रूपमा वेबसाइटहरू ध्वस्त गर्ने, सुरक्षा निकाय र व्यक्तिगत जानकारीहरू सार्वजनिक गर्ने कार्य गरेको उक्त समूहले आफ्नो 'ट्वीटर' एकाउन्टमार्फत आफूहरू विघटन हुन लागेको जानकारी दिएको हो । तर उक्त समूह किन विघटन हुन लागेको हो भन्नेबारे केही जानकारी खुलाइएको छैन । विश्लेषकहरू भने ६ जनाको उक्त समूह सरकारी एजेन्सी र सुरक्षा निकायले उनीहरूको बारेमा अनुसन्धान तीव्र बनाएपछि कानूनी कारबाहीको दायरामा पर्नसक्ने डरले विघटन हुनथालेको अनुमान गर्छन् । हयाकरहरूको उक्त समूहबारे अनुसन्धान र खोजबिन गर्न सरकारी निकायहरूलाई अन्य प्रतिस्पर्धी हयाकर समूहले पनि साथ दिइरहेका छन् । 'लल्जसेक' समूहले प्रमुख मनोरञ्जन कम्पनीहरू, एएफबीआई, सिआईए, अमेरिकी सिनेट, सोनी कम्पनीलगायतका नेटवर्कभित्रबाट सूचना चोरेकोको र वेबसाइटहरू बिगारी दिएको दाबी गर्दै आएको थियो । एपी/रासस
गल्फमा यानी छेङ र ज्याकबसनको अग्रता
असार १२, क्रमवेल (अमेरिका)। ताइवानकी २२ वर्षीया यानी छेङले एलपीजीए च्याम्पियनशिपको तेस्रो राउण्डमा शनिवार पाँच शटको अग्रता लिएकी छिन् । छेङले चारओटै मेजर गल्फ टुर्नामेण्ट जित्ने सबैभन्दा कम उमेरकी खेलाडीको कीर्तिमान बनाउन एक राउण्ड जित्न मात्र बाँकी छ । उता ट्राभेलर्समा फ्रेडरिक ज्याकब्सनले उनका प्रतिद्वन्द्वी प्याट्रीक काण्टलेले भन्दा पाँच शटले अग्रता लिएका छन् । एकदिन अघिमात्रै काण्टलेले ६० स्कोर बनाएर पीजीए टूरमा एमेच्योर खेलाडीमध्ये हालसम्मकै सबैभन्दा न्यून स्कोर बनाउन सफल भएका थिए । एपी/रासस
ग्रीसको समस्याप्रति अमेरिकी चिन्ता
असार १२, वाशिङटन (अमेरिका) । ग्रीसको ऋण सङ्कट समाधान गर्ने भरपर्दो योजना ल्याउन भइरहेको ढिलाइप्रति अमेरिकाभित्र चिन्ता बढ्दै गएको छ । अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भका अध्यक्ष बेन बर्नान्कीले एक पत्रकार सम्मेलनमा ग्रीस सङ्कट समाधानको विफलताले समग्र विश्वको वित्तीय व्यवस्था र यूरोपेली राजनीतिक एकतामा गम्भीर चुनौती पैदा गर्ने चेतावनी दिएका छन् । उनले फेडरल रिजर्भ सङ्कट समाधानका लागि भएका वार्तामा सहभागी नभएको तर अवस्थालाई गहिरोसँग नियालिरहेको बताएका छन् । यूरो जोनको मौद्रिक व्यवस्थामा देखिएका समस्याहरूबीच ११० अर्ब यूरोको राहत प्याकेज हासिल गर्न ग्रीस प्रयत्नशील रहेको छ । यूरोपियन यूनियन राहत प्याकेज प्रदान गर्न ग्रीसले सार्वजनिक खर्च कटौती अझ कडाइका साथ लागू गराउन चाहन्छ । अमेरिकाले भने सबै यूरोपेली राष्ट्र साझा अवधारणामा सहमत भएको हेर्न चाहेको छ । अमेरिकी र समग्र विश्व अर्थतन्त्रमै नकारात्मक असर गर्नसक्ने ठानिएको ग्रीसको ऋण सङ्कट समाधान गर्न जर्मनी, फ्रान्स र अरू यूरोपीय राष्ट्रहरूले विगत १ वर्षदेखि गरेको प्रयासलाई अमेरिकाले नजिकबाट नियालिरहेको छ । एएफपी/रासस
Admin 2011-06-27