शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

इयूद्वारा वित्तीय कारोबार कर प्रस्ताव, बेलायतको विरोध
असोज १२, स्ट्रासबोर्ग (फ्रान्स) ।  यूरोजोनको ऋणसङ्कट समाधान गर्न यूरोपियन युनियन (ईयू)ले वित्तीय कारोबार करको प्रस्ताव गरेको छ र्।ईयूका कर कमिश्नर अल्ग्रिडास सेमेटाले बुधवार जारी गरेको एक विज्ञप्तिमा यूरोपियन कमिशनले यो प्रस्ताव आधिकारिक रूपमा स्वीकृत गरेको बताइएको छ । विज्ञप्तिमा यो प्रस्तावले ईयू विश्वव्यापी कारोबार कर लागू गर्न अग्रणी बन्ने बताइएको छ । सेमेटाको विज्ञप्तिमा यो कर प्रस्ताव कार्यान्वयन भएपछि यूरोपका नागरिकहरूलाई वित्तीय क्षेत्रबाट न्यायपूर्ण योगदान हुने आशा व्यक्त गरिएको छ ।

साथै, जी२० राष्ट्रहरूले पनि आफूहरूको बाटो अनुसरण गर्ने अपेक्षा पनि विज्ञप्तिमा गरिएको छ । प्रस्तावअनुसार शेयर तथा ऋणपत्र कारोबारमा शून्य दशमलव १ प्रतिशत कर लगाइने छ । त्यसैगरी, वित्तीय उपकरणका डेरिभेटिभ्स कारोबारमा शून्य दशमलव शून्य १ का दरले कर लगाइने प्रस्तावमा उल्लेख छ । यो करईयूका सबै वित्तीय संस्थाहरूबीच हुने कारोबारको वित्तीय उपकरणमा लागू हुने प्रस्ताव गरिएको छ । त्यसैगरी, वित्तीय करबाट भएको आम्दानी ईयूको आफ्नै बजेटमा खर्च गरिने पनि प्रस्ताव गरिएको छ । यसबाट सदस्यहरूले ईयूको बजेटमा गर्ने योगदान घट्ने र सबै सदस्य राष्ट्रबीच आम्दानी बराबर बाँड्न सजिलो हुने बताइएको छ । वित्तीय कर लागू भएपछिईयूलाई वार्षिक ५७ अर्ब यूरो आम्दानी हुने कमिश्नर सेमेटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो कर सन् २०१४ बाट लागू गर्नईयूले प्रस्ताव गरेको छ ।

तर, यूरोपको सबैभन्दा ठूलो वित्तीय केन्द्र बेलायत तथा यूरोपेली बैङ्कहरूले भने यो प्रस्तावको विरोध गरेका छन् । बेलायतले बुधवार नै विश्वव्यापी रूपमा मान्यता पाएका कर प्रणलीमा मात्र आफ्नो समर्थन रहने दोहोर्याएको छ । बेलायती अर्थ मन्त्रालयका प्रवक्ताले सैद्धान्तिक रूपमा आफूहरूको कर प्रस्तावप्रति कुनै विमति नभएको बताए । तर, यसलाई विश्वव्यापी रूपमा लागू गनुपूर्व विभिन्न राजनीतिक समस्या समाधान गर्नुपर्नेमा आफूहरूको सधैं जोड रहने प्रवक्ताले उल्लेख गरे । त्यसैगरी, यूरोपेली बैङ्कहरूको सङ्गठन 'द यूरोपियन बैङ्किङ फेडरेशन'ले वित्तीय कारोबार कर प्रस्ताव 'वाहियात' भन्दै विरोध गरेको छ । फेडेरेशनले जारी गरेको एक विज्ञप्तिमा यस्तो कदमले यूरोपेली वित्तीय कारोबार अन्यत्र स्थानान्तरण हुने खतरा रहेको बताइएको छ । त्यस्तै, एशोसिएशन अफ फाइनान्सियल मार्केट्स इन यूरोप (एएफएमई)ले पनि यसबाट यूरोपेली व्यापारिक क्षेत्रमाथि अधिक भार पर्ने बताएको छ । सन् १९७० को दशकमा अमेरिकी अर्थशास्त्री जेम्स टोबिनको अवधारणामा आधारित 'टोबिन कर' नाम दिइएको यो प्रस्ताव लागू गर्न गत हप्ता मात्रै विश्वका सर्वाधिक धनाढय बिल गेट्सले ईयूलाई सुझाव दिएका थिए । एजेन्सी

माइक्रोसफ्ट र सामसुङबीच 'पेटेण्ट लाइसेन्सिङ’ सम्झौता
असोज  १२, वाशिङटन (अमेरिका) ।  एकअर्काविरुद्ध पेटेण्ट उल्लङ्घनको आरोप/प्रत्यारोप लगाउँदै कानूनी लडाइँमा अल्झिएका माइक्रोसफ्ट र सामसुङबीच सम्झौता भएको छ । बुधवार ती दुई कम्पनीबीच भएको सम्झौताअनुसार दुवै कम्पनीले एकअर्काका उत्पादनहरूको 'पेटेण्ट पोर्टफोलियो' प्रयोग गर्न पाउनेछन् ।

त्यसैगरी सम्झौताअनुसार गूगलको एण्ड्रोइड अपरेटिङ सिष्टम भएका मोबाइल फोनमा पेटेण्ट प्रयोग गरेबापत सामसुङले माइक्रोसफ्टलाई रोयल्टी तिर्नेछ । साथै ती दुई कम्पनीबीच 'विण्डोज स्मार्टफोन' र 'माइक्रोसफ्ट मोबाइल अपरेटिङ सिष्टम' विकासका लागि सहकार्य गरिने पनि सम्झौतामा उल्लेख छ ।

तर, माइक्रोसफ्टबीच भएको सम्झौताप्रति गूगल इङ्कले भने आपत्ति प्रकट गरेको छ । बुधवारै एक विज्ञप्ति प्रकाशित गर्दै गूगल इङ्कले माइक्रोसफ्टको यस्तो रणनीति आफूहरूले यसअघि पनि समयसमयमा देख्दै आएको बताइएको छ । विज्ञप्तिमा गूगल इङ्क नयाँ प्रविधि विकास गर्न अग्रसर रहेको र आफ्ना एण्ड्रोइड अपरेटिङ सिष्टम प्रयोग गर्ने साझेदारहरूलाई सधैं समर्थन गरिरहने उल्लेख छ । माइक्रोसफ्टले एण्ड्रोइड अपरेटिङ सिष्टम स्मार्टफोन तथा टयाब्लेट कम्प्युटर निर्माताहरूलाई सित्तैमा प्रयोग गर्न अमेरिकी पेटेण्ट कानूनको उल्लङ्घन गरेको आरोप लगाउँदै आएको छ । एएफपी/रासस

दक्षिण कोरियाको बचतमा कमी
असोज १२, सोल (दक्षिण कोरीया) । सन् २०११ अगष्टमा दक्षिण कोरियाको चालू खाता बचतमा निकै ठूलो कमी आएको छ । दक्षिण कोरियाको केन्द्रीय बैङ्क 'बैङ्क अफ कोरिया'ले बिहीवार एक विज्ञप्ति जारी गर्दै अगष्टमा ४ सय १ दशमलव ३ करोड अमेरिकी डलरमा झरेको बताएको छ । सन् २०११ जुलाईमा त्यहाँको चालू खाता बचत ३ अर्ब ७७ करोड अमेरिकी डलर रहेको थियो । बैङ्कले जारी गरेको विज्ञप्तिअनुसार त्यहाँ बिदाको मौसम भएकाले उत्पादन घटेर निर्यात कमजोर भएकाले चालू खातामा कमी आएको हो । सन् २०११ जनवरीपछि चालू खातामा देखिएको यो सबैभन्दा ठूलो कमी भएको बताइएको छ । जनवरीमा दक्षिण कोरीयाको चालू खाता बचत १ सय ५४ दशमलव ७ करोड डलर रहेको थियो । विगत १८ महीनायता दक्षिण कोरियाको चालू खाता बचत लगातर घटिरहेको छ । एएफपी/रासस

Admin 2011-09-30