महँगी र तेलको मूल्यले एशियाली शेयर बजार प्रभावित
वैशाख १२, बैङ्कक (थाइल्याण्ड) । तेलको बढदो मूल्य र चीनद्वारा मौद्रिक नीतिमा कडाइ गरिने सम्भावनाका कारण सोमवार खुलेका एशियाली शेयर बजारमा खासै उत्साह देखिएन ।आफ्नो नियन्त्रणमा रहेको क्षतिग्रस्त संरचना मर्मतका लागि कम्तीमा एक महीनासम्म तेल उत्पादन बन्द गरिने लिबियाली विद्रोहीहरूले बताएका छन् । त्यसपछि तेलको मूल्य पनि झण्डै १ सय १३ डलर प्रतिब्यारेल पुग्नेछ । मुद्राहरूमा डलर येनभन्दा बलियो तर यूरोभन्दा कमजोर भएको छ ।
वाल स्ट्रीटमा भने सोमवार बजार खुल्दा सुधार देखिएको छ । दाओ जोन्स औद्योगिक फ्युचर्स २७ अङ्कले बढेर १२ हजार ४ सय ६१ पुगेको छ । त्यसैगरी, एस एण्ड पी ५०० फ्युचर्स ३ दशमलव ९ प्रतिशतले बढेर १ हजार ३ सय ३४ दशमलव ९० पुगेको छ । इष्टर बिदाका कारण यूरोपेली बजारहरू भने बन्द रहेका छन् ।त्यसैगरी, जापानको निक्की२२५ परिसूचकमा दिनभरि उतारचढाव भएर बन्द हुने बेलामा ० दशमलव १ प्रतिशतले घटेर ९ हजार ६ सय ७१ दशमलव ९६ मा रहेको छ । विश्वकै नम्बर १ गाडी निर्माता टोयोटाको शेयर पनि ० दशमलव ६ प्रतिशतले ओर्लेको छ ।दक्षिण कोरियाको कोस्पी भने ० दशमलव ८ प्रतिशतले उक्लेर २ हजार २ सय १६ पुगेको छ । उता मुख्यभूमि चीनको शेयर बजार तीन हप्ताकै न्यून बिन्दुमा ओर्लेको छ । मूल्यवृद्धिबारेको चिन्ता जारिरहँदा चीनको शेयर बजार ओर्लेको हो । अष्ट्रेलिया, न्यूजिल्याण्ड र हङ्कङका बजार भने सोमवार बन्द रहेका थिए । एपी/रासस
चीनद्वारा बाइडुलगायत कम्पनीमाथि जरीवाना
वैशाख १२, साङ्र्घाई (चीन) । चीनको संस्कृति मन्त्रालयले अवैध तरीकाले सङ्गीत डाउनलोड गर्न दिएकोमा बाइडु इङ्कलाई जरीवाना गर्ने भएको छ । बाइडु डट कम चीनको सबैभन्दा ठूलो सच इञ्जिन हो । बाइडुसँगै १४ ओटा अन्य वेबसाइटलाई पनि जरीवाना गरिने सिन्हवाले बताएको छ । अनधिकृत रूपमा सङ्गीत डाउनलोडमा नराख्न बारम्बारको चेतावनी नटेरेकोले उनीहरूलाई जरीवाना गर्न लागिएको हो ।गत केही महीनादेखि बाइडु र केही लेखकहरूबीच बाइडुको लाइब्रेरीबारे विवाद हुँदै आएको छ । आफ्ना रचनालाई स्वीकृति विना अनलाइनमा राखेर प्रतिलिपि अधिकार हनन गरेको आरोप लेखकहरूले बाइडुमाथि लगाएका थिए । पछि बाइडु त्यसका लागि क्षमा माग्दै अनधिकृत भनिएका रचना हटाएको थियो । अमेरिकाले पनि बाइडुको एमपीथ्री म्युजिक सच प्रतिलिपि चोरीको बजार रहेको आरोप लगाउँदै आएको छ । रोयटर्स
ग्रामीण बैङ्कलाई सफाइ, युनुसको बर्खास्ती यथावत्
वैशाख १२, ढाका (बङ्गलादेश) । बङ्गलादेश सरकारद्वारा गरिएको छानबिनबाट ग्रामीण बैङ्कलाई वित्तीय अनियमितताबाट सफाइ दिइएको त्यहाँका अर्थमन्त्रीले सोमवार बताएका छन् । तर, उक्त सफाइबाट नोबेल विजेता मुहम्मद युनुसलाई बैङ्क प्रमुखबाट बर्खास्त गर्ने निर्णया परिवर्तन नआउने पनि मन्त्रीले जानकारी दिएका छन् । युनुसलाई बर्खास्त गर्ने केन्द्रीय बैङ्कको आदेशलाई उच्च अदालत तथा सर्वोच्च अदालतले पनि सदर गरेको थियो । ७० वर्षीय युनुसलाई उमेरको हद नाघेर पनि पदमा बसिराखेको र अटेर गरेको आरोपमा बर्खास्त गरिएको थियो । सन् २००० मा लघुकर्जा दिने उद्देश्यले आफैले ग्रामीण बैङ्कको स्थापना गरेपछि बैङ्कको प्रबन्ध निर्देशकमा युनुस आफै रहेका थिए । युनुस देशभित्र र बाहिर 'गरीबहरूको बैङ्कर’का रूपमा प्रसिद्ध छन् । तर, गत वर्षदेखि एउटा नर्वेली डकुमेण्ट्रीले बैङ्कले कर छलेको आरोप लगाएपछि युनुस सरकारी आक्रमण बढेको थियो ।युनुसले भने कुनै अनिमतिता गरेको अस्वीकार गर्दै आएका छन् भने पछि नर्वेली सरकारको छानबिनले पनि उनलाई सफाइ दिएको थियो । युनुसले कुनै समय प्रधानमन्त्री शेख हसिनालाई राजनीतिक चुनौती दिन चाहेकोले उनीमाथि राजनीतिक प्रतिशोध लिइएको उनका समर्थकहरूको दाबी छ । रोयटर्स
Admin 2011-04-26