शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

एप्पल र नोकियाको प्याटेण्ट युद्ध


चैत १२, वाशिङटन् (अमेरिका) । एप्पल इङ्कले नोकियासँगको प्याटेण्ट लडाइँ शुक्रवार जितेको छ । एप्पलले नोकियाका पाँचमध्ये कुनै पनि प्याटेण्ट अधिकार हनन नगरेको व्यापार क्षेत्र हेर्ने एक अमेरिकी न्यायाधीशको फैसला छ । प्याटेण्ट मामिलाका अन्तरराष्ट्रिय व्यापार आयोग (इण्टरनेशनल ट्रेड कमिशन)का न्यायाधीश जेम्स गिल्डीआले आफ्नो प्रारम्भिक निर्णया त्यस्तो फैसला सुनाएका हुन् । नोकियाले आफ्नो प्याटेण्टको हनन गर्ने एप्पलका उपकरणको आयातमा प्रतिबन्ध लगाउन अनुरोध गरेको थियो । खासगरी आईफोन ३ जीएस मोबाइल फोन र आइपड नानो म्युजिक प्लेयरले आफ्नो प्याटेण्ट हनन गरेको नोकियाको गुनासो थियो । उक्त उजुरी सन् २००९ डिसेम्बरमा दाखिला गरिएको थियो ।  मुद्दाको अर्को चरणमा सम्पूर्ण आयोगले नै गिल्डीआको निर्णयकायम राख्ने वा उल्टयाउने बारे फैसला दिनेछ । आगामी अगस्त १ मा सोबारे आयोगले फैसला दिने भएको छ । नोकियाले भने 'पर्ख र हेर'को नीति लिने बताएको छ । आजको प्रारम्भिक निर्णयँग नोकिया सहमत छैन । तर, आगामी पाइला चाल्नुभन्दा पहिले नोकियाले फैसलाको पूर्ण विवरणसम्म पर्खिनेछ,’ नोकियाका प्रवक्ता मार्क डयुराण्टले भने  ।                रोयटर्स

भारतमा दास्सो प्रतिनिधिमाथि घूस आरोप

चैत १२, नयाँ दिल्ली (भारत) । फ्रान्सको विमानसेवा कम्पनी दास्सो एभिएशनमाथि भारतीय वायुसेनाका एक अधिकारीलाई घूस खुवाएको आरोप लगाइएको छ । गत महीना बैङ्गलोरमा भएको हवाई प्रदर्शनका बेला ती भारतीय अधिकारीलाई ४ सय ४५ डलर घूस खुवाएको आरोप छ । भारतलाई १ सय २६ ओटा युद्धविमान १२ अर्ब डलरमा आपूर्ति गर्ने विषयमा वार्ता हुने क्रममा सो तथ्य खुल्न आएको हो । सो सम्झौताका लागि प्रतिस्पर्धा गरिरहेका ६ कम्पनीमध्ये दास्सो पनि एक हो ।भारतीय सेनाले दास्सोका भारतीय व्यवस्थापक पीभी रावमाथिको उक्त आरोपबारे छानबिन गरिरहेको प्रतिरक्षा मन्त्रालयका प्रवक्ता सितान्शु कारले जानकारी दिएका छन् । बैङ्गलोर हवाई प्रदर्शनका बेला भारतीय सेनाका एक अधिकारीले रावसँग २० हजार रूपैयाँ घूस मागेको भनिएको छ । रावले ती अधिकारीलाई घूस दिइरहेको फोटो खिचेको थियो । ती अधिकारीले दास्सोलाई प्रदर्शनी स्थलमा राम्रो स्थान उपलब्ध गराउने भन्दै घूस मागेका थिए । बैङ्गलोर हवाई प्रदर्शनीमा दास्सोसमेत ६ सय ७५ ओटा कम्पनीले भाग लिएका थिए । एएफपी/रासस

भारतीय प्रधानमन्त्रीद्वारा सुधारको प्रतिबद्धता

चैत १२, नयाँ दिल्ली (भारत) । भारतका प्रधानमन्त्री मनमोहन सिंहले आफ्नो सरकारले आर्थिक सुधारका कार्यलाई जारी नै राख्ने प्रतिबद्धता गरेका छन् । सिंह सरकारले भ्रष्टाचारसम्बन्धी थुप्रै मुद्दाहरूको सामना गरिरहेको छ । त्यसैले सरकारले भ्रष्टाचार मुद्दामाथिको जनचासोलाई कार्यकारी मुद्दाहरूतर्फध्यान मोड्न खोजेको कतिपय विश्लेषकले अनुमान गरेका छन् । 'आर्थिक सुधारका नयाँ कार्यक्रमतर्फो हाम्रो प्रतिबद्धता दोहोर्‍याउन चाहन्छु,’ शुक्रवारको भाषणमा सिंहले भने । सिंहलाई १९९१ मा अर्थमन्त्री छँदा भारतको अर्थतन्त्रमा खुलापन ल्याएको श्रेय दिइन्छ । उनले भ्रष्टाचारमाथिको राष्ट्रव्यापी चासोलाई आफूले स्वागत गरेको बताएका छन् । त्यस्तो जनचासोले थप सुधारका लागि जनदबाब सृजना हुने सिंहको धारणा छ ।निर्वाचनमा भोट किन्न पैसा बाँडेको, दूरसञ्चारको अनुमतिपत्र अनियमितता, गतवर्षको राष्ट्रमण्डल खेलमा भ्रष्टाचार लगायत थुप्रै भ्रष्टाचार काण्डको आरोप सरकारमाथि लागेको छ । एएफपी/रासस

तेलको मूल्य मन्दीपछिकै सर्वाधिक

चैत १२, न्यूयोर्क (अमेरिका) । तेलको मूल्य आर्थिक मन्दीपछिकै उच्च बिन्दुमा पुगेको छ । साथै, पेट्रोलियम पदार्थको विश्वव्यापी खपत झनै बढ्ने अर्थशास्त्रीहरूको अनुमान छ । अमेरिकामा मेमा डेलिभरी हुने वेष्ट टेक्सस इण्टरमिडिएट क्रुडको मूल्य न्युयोर्क मर्कण्टाइल एक्सचेञ्ज शुक्रवार बन्द हुने बेला प्रतिब्यारेल १ सय ५ दशमलव ४० डलरमा रहन पुगेको छ । वुधवार भने त्यस्तो मूल्य २००८ को मन्दीपछिकै सर्वाधिक १ सय ५ दशमलव ७५ डलर प्रतिब्यारेल पुगेको थियो । लण्डनमा भने ब्रेण्ट क्रुडको मूल्य बजार बन्द हुने बेला १ सय १५ दशमलव ४२ डलरमा
रहेको छ ।विश्वभरि नै तेलको माग बढदै जाँदा आपूर्ति भने खुम्चिने चिन्ताले तेलको मूल्य बढेको हो । बारक्लेज क्यापिटलका अनुसार यस वर्षात्रै चीनबाट हुने तेलको माग १५ प्रतिशतले बढेको छ । विश्वभरि उत्पादन हुने तेलको दैनिक २२ प्रतिशत अमेरिकाले मात्रै खपत गर्दछ । उता, लिबियाबाट तेलको आपूर्तिमा भएको कटौतीलाई भरथेग गर्न सउदी अरेबियालगायत प्रमुख तेल उत्पादकले आफ्ना उत्पादन बढाइसकेका छन् । यसले तेलको आपूर्तिलाई तत्कालका लागि बढाए पनि वर्षको अन्त्यतिरका लागि थप उत्पादनमामा भने कटौती हुनेछ ।एपी/रासस

चीनमा लेड पोइजनिङ

चैत १२, बेइजिङ (चीन) । पूर्वी चीनका सयभन्दा बढी गाउँले लेड पोइजनिङबाट ग्रसित भएका सरकारी समाचार संस्था सिन्हवाले बताएको छ । एउटा ब्याट्री कारखानाबाट निस्केको लेडको प्रदूषण नजिकको बस्तीमा फैलिएर गाउँलेहरू प्रभावित भएका हुन् ।झेजियाङ प्रान्तका तीन गाउँका १ सय ३९ जनामा लेड पोइजनिङ देखिएको स्वास्थ्य र वातावरण अधिकारीहरूले बताएका छन् । बिरामी पर्नेहरूमा ३५ जना केटाकेटी रहेका छन् ।प्रतिवेदनका अनुसार, तीन जनामा सुरक्षितभन्दा तीन गुणा बढी लेड पाइएको छ । तर, परीक्षण गरिएका ५ सय १ गाउँलेमध्ये कसैलाई पनि अस्पताल भर्ना गरिएको छैन ।चीन विश्वकै सबैभन्दा ठूलो लेडको उत्पादक र प्रयोगकर्ता हो । खासगरी गाडीहरूमा प्रयोग गरिने लेड एसिड ब्याट्रीको निर्माणमा लेडको प्रयोग गरिन्छ । चीनबाट लेड पोइजनिङका नयाँ समाचारहरू बेलाबेलामा आइरहन्छन् । एएफपी/रासस

चीन र भारतको प्रतिस्पर्धा र दुई बन्दरगाहको कथा

चैत १२, सिङ्गापुर । भारत र चीनको 'स्रोत खोजी अभियान' विश्वभरि नै फैलिएको छ । तर, स्रोतमाथिको कब्जाका लागि दुईबीचको प्रतिस्पर्धा कसरी अघि बढ्नेछ, वा कसले जित्नेछ भन्ने दुई बन्दरगाहको कथाबाट सङ्केत मिल्छ ।चाबहार बन्दरगाह इरानको दक्षिणपश्चिम कुनामा पर्छ, जहाँबाट केन्द्रीय एशिया र अफ्गानिस्तानसम्मको पहुँच पाइने भारतको अपेक्षा छ । सो बन्दरगाह पाकिस्तानको गहिरो पानीको ग्वादर बन्दरगाहभन्दा ७२ किमि मात्र टाढा छ । चीनले आफ्नो ऊर्जा स्रोतको सुनिश्चितताका लागि ग्वादर पोर्टको निर्माण गरेको हो ।

खाडी क्षेत्रको ढोकामै रहेका चाबहार र ग्वादरले भारत र चीनको प्रतिस्पर्धा प्रतिबिम्बित गरेका छन् । ती दुवै देश विश्वकै सर्वाधिक जनसङ्ख्या भएका देश हुन् । तीव्र वृद्धि भइरहेको आफ्नो अर्थतन्त्रलाई चाहिने ऊर्जाको खोजीमा ती दुई देश अफ्रिका, ल्याटिन अमेरिकालगायत अफ्गानिस्तानमा समेत प्रतिस्पर्धा गरिरहेका छन् ।'यी दुई नागरिक बन्दरगाह चीन र भारतको आफ्नो हितको रक्षा गर्ने र व्यापार बढाउने नीतिसँग सम्बद्ध छन् । तर, यी दुई बन्दरगाह चीन र भारतको बृहत् प्रतिस्पर्धात्मक राजनीतिको अङ्ग पनि बन्न सक्छन्,’ अष्ट्रेलियाको लोबी इन्षिटच्युटका अन्तरराष्ट्रिय सुरक्षा विशेषज्ञ रोरी मेडकाल्फले भने ।

यी दुई रणनीतिक बन्दरगाहको विकासका लागि भारत र चीनले इरान र पाकिस्तानका क्षेत्रीय द्वन्द्वको विपक्षमा देखिएका छन् । भारतले चाबहारको विकासका लागि इरानलाई आग्रह गर्दै आएको छ । तर, इरानले भने त्यसमा चासो दिइराखेको छैन । त्यसको कारणमा सिस्तान बालुचिस्तान क्षेत्रको द्वन्द्वप्रति इरानको चिन्ता हुन सक्ने भारतीय पक्षको अनुमान छ । सिया बाहुल्य इरानले त्यस क्षेत्रमा रहेका सुन्नी मुश्लिमको विद्रोह दबाउन चाहेको छ । उता भारतले इरान र अफ्गानिस्तानसँग त्रिपक्षीय व्यवस्था गरेको छ ।चाबहार बन्दरगाहदेखि अफ्गानिस्तानको निम्रोज प्रान्तसम्मको २ सय किमि लामो बाटो भारतीय इञ्जिनीयरहरूले निर्माण गरेका छन् । त्यसबाट अफ्गानिस्तानको आफ्नो आयातका लागि पाकिस्तानमाथिको निर्भरता घट्नेछ । भूपरिवेष्ठित राष्ट्र अफ्गानिस्तान हाल पाकिस्तानको कराँची बन्दरगाहमा निर्भर रहेको छ । रोयटर्स

लगानी गुरु बफेटले सुनाए लगानी मन्त्र

चैत १२, नयाँ दिल्ली (भारत) । अमेरिकी लगानी गुरु वारेन बफेटले पहिलोपटक भारत भ्रमण गरेका छन् । त्यस अवसरमा उनले आफ्नो बुद्धिमत्तापूर्ण लगानी ज्ञान र बजार संवेदनशीलताबारेको अनुभव भारतका लगानीकर्तासमक्ष बाँडेका छन् । ८० वर्षीय बफेटले आफ्नो लगानी कम्पनी वर्कशायर हाथावेमार्फत ५० अर्ब डलरबराबरको लगानी गरेका छन् । बफेट र माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स गतवर्षदेखि धनीहरूलाई कल्याणकारी कार्यमा खर्च गर्न प्रोत्साहित गर्ने अभियानमा लागेका छन् । सोही अभियान अन्तर्गत बफेट र गेट्स हाल भारत भ्रमणमा छन् ।

व्यवसायीहरूले कल्याणकारी कार्यमा खर्च गर्दा उनीहरूको पैसा कमाउने कार्यमा कुनै बाधा नपुग्ने बफेटको अनुभव छ । 'एकातिर तपाईं रोजगार दिनुहुन्छ भने अर्कोतिर सान्ता क्लसजस्तै उदारमना पनि बन्न सक्नुहुन्छ,’ उनले ठट्टा गर्दै भने । बफेटले आफ्नो सम्पत्तिको ९९ प्रतिशत दान गर्ने प्रतिज्ञा गरेका छन् । 'मैले आफ्नो कम्पनीको सम्पत्ति अरूलाई दिँदा उनीहरूको कल्याण हुन्छ, जबकि त्यसको मलाई कुनै काम हुँदैन,’ बफेटले भने ।   बफेटले आफ्नो लगानीमन्त्र पनि सुनाए । 'आफूलाई जानकारी भएको क्षेत्रमा लगानी गर्नुस् । साथै तपाईंले तिर्ने मूल्य उचित छैन भने त्यो नकिन्नुस्’ बफेटको सुझाव छ ।विश्वव्यापी अर्थतन्त्रको पुनर्बहाली तथा जापानी भूकम्प र सुनामी दुर्घटनाबारे पनि उनी आशावादी नै देखिए । १ अर्ब २० करोड जनसङ्ख्या भएको भारतलाई उनले 'सपनाको बजार’ को संज्ञा दिएका छन् । एएफपी/रासस

Admin 2011-03-27