बलिउड र क्रिकेटमा यू-टयुबको बजार
फागुन १२, मुम्बई (भारत) । गूगलको भिडियो साइट यू-टयुबले भारतीय बजारमा प्रभाव बढाउन बलिउड र क्रिकेटको सहारा लिने भएको छ । त्यसका लागि उसले आफूसँग भएको फिल्मको सङ्ख्या बढाउन भारतका प्रमुख फिल्म स्टुडियोहरूसँग साझेदारी गर्ने भएको छ । यू-टयुबका अनुसार, भारतका साथै अन्य बजारमा पनि बलिउड र क्रिकेटको राम्रो बजार सम्भावना छ । 'गैरपरम्परागत बजारमा आफ्ना फिल्महरू वितरण गर्न बलिउडका प्रोडयुशरहरूलाई गाह्रो भइरहेको छ । त्यसले गर्दा प्रतिलिपि चोरीको बजार पनि मौलाइरहेको छ’ गूगलसँग सम्बद्ध गौतम आनन्दले भने । यू-टयुबमार्फत प्रतिलिपि चोरी गर्नुपर्ने अवस्था अन्त्य हुनुका साथै आफूहरूले पनि पैसा कमाउने गौतमको दाबी छ । हाल भारतबाट दैनिक १ करोड ७३ लाख नयाँ भिजिटरले यू-टयुब हेर्ने गरेका छन् । अमेरिकापछि यू-टयुबको सबैभन्दा धेरै प्रिमियम प्रदर्शन साझेदार पनि भारतमै रहेका छन् । गत महीना यू-टयुबमा गतवर्षको हिट बलिउड फिल्म 'दबाङ’को निःशुल्क प्रदर्शन गरिएको थियो । त्यतिबेला, एक हप्ताभित्रै १० लाख पटका यू-टयुबमा रहेको सो फिल्म हेरिएको थियो । त्यसैगरी यू-टयुबमार्फत घरेलु क्रिकेट टुर्नामेण्टको प्रत्यक्ष प्रसारण गरेपछि ५ करोड ५० लाख पटक भ्रमण गरिएको थियो । रोयटर्स
फाइजरको औषधि विवाद समाधान
फागुन १२, न्युयोर्क (अमेरिका) । विश्वकै सबैभन्दा ठूलो औषधि कम्पनी फाइजरलाई नाइजेरियामा उसमाथि लागेको आरोपमा समाधान मिलेको छ । फाइजरले नाइजेरियामा मेनिञ्जाइटिसको प्रकोपका बेला ट्रोभान भन्ने एण्टिबायोटिकको परीक्षण गरेको थियो । त्यस परीक्षणमा ११ बालबालिकाको मृत्यु हुनुका साथै धेरै जना गम्भीर बिरामी परेको आरोप फाइजरमाथि लागेको थियो । तर, फाइजर र नाइजेरियाका सम्बन्धित मुद्दाकर्ताहरूले मङ्गलवार जारी गरेको विज्ञप्तिमा विवादको अन्तरराष्ट्रिय समाधान भएको बताएका छन् । सो मुद्दामा सहमतिका लागि फाइजरले तिर्नुपर्ने रकम भने खुलाइएको छैन । १ वर्षअघि पनि नाइजेरियाको कानो भन्ने राज्यले लाखौं डलरका क्षतिपूर्ति लिएर फाइजरसँग ट्रोभान मुद्दामा सहमति गरेको थियो । तर, पीडितको पहिचानका लागि गरिएको डीएनए परीक्षणसम्बन्धी कानूनी विवादले सम्बन्धित व्यक्तिहरूले अझै क्षतिपूर्ति पाउन सकेका छैनन् । फाइजरले भने सरकारी अधिकारीहरूको सहमतिमा ट्रोभान दिइएको र सो औषधिले धेरै बिरामीको जीवन बचाएको दाबी गर्दै आएको छ । एएफपी/रासस
म्यानमारमा अष्ट्रेलियाली सञ्चारप्रमुखमाथि मुद्दा
फागुन १२, याङ्गोन (चीन) । अष्ट्रेलियाली सञ्चारमाध्यमका एक प्रमुख रस डङ्क्लेमाथि म्यानमारको अदालतमा बिहीवार मुद्दा चलाइएको छ । डङ्क्ले म्यानमारको एक मात्र विदेशी लगानी रहेको समाचारपत्र म्यानमार टाइम्सका सहसंस्थापक हुन् । एउटी २९ वर्षीय महिलामाथि हिंसा गरिएको आरोप उनीमाथि लागेको छ । डङ्क्लेलाई याङ्गोन शहरको अदालतमा हतकडी लगाएर उपस्थित गराइएको थियो । खिने सर वीन नाम भएकी उक्त महिलाले मुद्दा फिर्ता लिन आग्रह गरेकी छन् । आफू गर्भवती भएकाले मुद्दाका लागि भ्रमण गर्न नसक्ने ती महिलाले अनुरोध गरेकी थिइन् । तर, अधिकारीहरूले उनको अनुरोध अस्वीकार गरेकाले मार्च ३ मा फेरि सुनुवाइ हुने भएको छ । डङ्क्लेले भने आफू म्यानमारका अधिकारीहरूबाट आजित भएको बताएका छन् । साथै आफूलाई छिट्टै म्यानमारबाट आफ्नो देशतर्फपठाइने अपेक्षा उनले गरेका छन् । म्यानमारको गृह मन्त्रालयका एक अज्ञात अधिकारीले पनि डङ्क्लेलाई छिट्टै नै देशनिकाला गर्ने बताएका छन् । 'हामी प्रायः आफ्नो देशको जेलमा विदेशीहरूलाई राख्दैनौँ ,’ उनले भने । एएफपी/रासस
भियतनाममा तेलको मूल्यमा २४ प्रतिशतले वृद्धि
फागुन १२, हनोई (भियतनाम) । भियतनामले तेलको मूल्यमा २४ प्रतिशतसम्मले वृद्धि गरेको छ । खाद्यवस्तुमा उच्च मूल्यवृद्धिले चर्को मुद्रास्फीति गराइरहेका बेला हालै मात्र विद्युत् महशुल दर पनि बढाइएको थियो । त्यसबाट चर्किंदै गइरहेको महँगी झनै बढ्ने देखिएको छ । नयाँ मूल्य लागू हुनुअघि पुरानै दरमा सक्दो बढी तेल जम्मा गर्न सडकहरूमा गाडीहरूको ताँती लागेको छ । त्यसले राजधानी हनोईका सडकहरूमा ट्राफिक जामसमेत गराएको छ । जनवरीको उपभोक्ता मूल्यसूचीमा गत वर्षभन्दा १२ दशमलव २ प्रतिशत वृद्धि भइसकेको छ । पेट्रोलको मूल्यमा प्रतिलिटर १७ दशमलव ५ प्रतिशतले र डिजेलमा २४ प्रतिशतले वृद्धि गरिएको छ । 'आम्दानी भने उही छ, तर मूल्यहरूमा चर्को वृद्धि भइरहेको छ । यस्तोमा हामीले कसरी जीवन निर्वाह गर्ने होला ?’ दुइ बच्चाकी आमा र एक बेरोजगार पतिको हेरचाह गरिरहेकी एक कर्मचारी न्गुयेन थान्ह होआले भनिन् । एपी/रासस
आईएमएफद्वारा डलर कमजोर बनाउन सुझाव
फागुन १२, वासिङटन (अमेरिका) । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अमेरिकालाई आफ्नो व्यापारघाटा कम गर्न र विश्व अर्थतन्त्रको पुनःसंरचना गर्न डलर अझै कमजोर बनाउन आ⋲वान गरेको छ । गत हप्ता बैठक गरेका जी२० देशका अर्थमन्त्रीहरूका लागि तयार गरिएको प्रतिवेदनमा त्यस्तो भनिएको छ । आईएमएफका अनुसार डलर अझै पनि बलियो नै रहेकाले जी२० ले डलरलाई घट्न दिनुपर्छ । जी२० का अर्थमन्त्री र केन्द्रीय बैङ्कका गभर्नरहरूको बैठक गत हप्ता पेरिसमा सम्पन्न भएको थियो । त्यतिखेर, आर्थिक सङ्कट रोकथामका लागि अपनाइने परिसूचकहरूमा सहमति भएको घोषणा गरिएको थियो । आईएमएफले विकसित अर्थतन्त्रमा अधोगामी जोखिम र केही उदीयमान देशहरूको अर्थतन्त्र अति तातेको (ओभरहिटिङ)तर्फपनि जी२० लाई सचेत गराएको छ । त्यसले विश्वव्यापी आर्थिक पुनर्बहालीको दिगोपनामै असर पुर्याइरहेको आईएमएफको धारणा छ । आईएमएफका १ सय ८७ सदस्य राष्ट्र छन् । एएफपी/रासस
तेलको मूल्य १ सय २० डलर पुग्यो
फागुन १२, लण्डन (ब्रिटेन) । ब्रेण्ट कच्चा तेलको मूल्य गत २९ महीनाकै उच्च भएको छ । कच्चा तेलको मूल्य प्रतिब्यारेल झण्डै १ सय २० डलर पुगेको छ । लिबियामा जारी तनाव अन्य तेल उत्पादक राष्ट्रहरूमा समेत फैलिने आशङ्काले तेलको मूल्यमा त्यस्तो वृद्धि भएको हो । विश्वभरिका शेयरबजार र तामाको मूल्य लगातार चौथो दिन पनि ओर्लेको छ । साथै, सुरक्षित लगानी ठानिने सुन, स्वीस फ्रान्क र अमेरिकी ऋणपत्रको मूल्य भने बढेको छ । गोल्डम्यान साखका अनुसार अन्य क्षेत्रमा पनि अस्थिरता उत्पन्न हुन सक्ने आशङ्काले तेलको मूल्य बढेको हो । 'बजारले अब तेलको आपूर्तिमा थप व्यवधान थेग्न सक्दैन । किनभने लिबियाको तनावले मात्रै ओपेकको थप उत्पादन गर्न सक्ने क्षमतामा आधाजति कमी आइसकेको छ,’ गोल्डम्यान साखका जेफरी क्युरीले एक अनुसन्धानात्मक टिप्पणीमा भनेका छन् । लिबिया विश्वको १२औं ठूलो तेल उत्पादक राष्ट्र हो । रोयटर्स
चीनमा ४५ नयाँ एयरपोर्टको योजना
फागुन १२, बेइजिङ, (चीन) चीनले आगामी ५ वर्षभित्रमा ४५ ओटा नयाँ एयरपोर्ट निर्माण गर्ने बिहीवार बताएको छ । एयरपोर्ट निर्माणका लागि २ खर्ब ३० अर्ब डलर खर्च गरिने चिनियाँ नागरिक उड्डयन प्राधिकरणका प्रशासकीय अधिकृत लि जिआङ्झाङले बताएका छन् । गतवर्ष१ सय ७५ ओटा एयरपोर्टमध्ये १ सय ३० ओटा एयरपोर्ट घाटामा गएका थिए । तर, बेइजिङले ती एयरपोर्टलाई आर्थिक सहयोग दिने लिले जानकारी दिएका छन् ।
लिका अनुसार, नयाँ एयरपोर्टको निर्माणबाट किसानहरूलाई उनीहरूले उब्जाएका तरकारी विक्री गर्न सजिलो हुनेछ । चीनको हवाई बजारमा तीव्र वृद्धि भइरहेकाले आगामी दशकमा उसले उत्तरी अमेरिकालाई पनि उछिन्ने अपेक्षा गरिएको छ । आगामी ५ वर्षभित्र चीनमा एयरपोर्टको सङ्ख्या २ सय २० पुग्ने भएको छ । तर, नयाँ एयरपोर्ट बनाइने स्थान भने खुलाइएको छैन । तुलनात्मक रूपले पछि परेका क्षेत्रका साथै देशको पश्चिमी क्षेत्रलाई पूर्वी क्षेत्रसँग जोड्न चीनले ठूलो लगानी गरिरहेको छ । एपी/रासस
भारतीय प्रमद्वारा खाद्यसुरक्षा विधेयकको आश्वासन
फागुन १२, नयाँ दिल्ली (भारत) । भारतका प्रधानमन्त्री मनमोहन सिंहले बिहीवार छिट्टै नै संसद्मा खाद्यसुरक्षा विधेयक ल्याउने आश्वासन दिएका छन् । साथै, आर्थिक वृद्धिलाई जोगाउँदै महँगी नियन्त्रण गर्न आफू प्रतिबद्ध रहेको पनि उनले बताएका छन् । राम्रो बाली भित्रिँदा पनि भारतमा खाद्यवस्तुमा एशियामै उच्चमध्येको वृद्धिदर भइरहेको छ । गतवर्ष पनि खाद्यवस्तुको महँगी दोहोरो अङ्कले बढेको थियो । त्यसबाट भ्रष्टाचार काण्डहरूको सामना गरिरहेको सिंह सरकारमाथि सडक प्रदर्शनजस्ता दबाब पनि बढेका छन् । सिंहले मार्चमा महँगी दर ७ प्रतिशतमा झर्ने आफ्नो विश्वासलाई फेरि दोहोर्याएका छन् । रोयटर्स
Admin 2011-02-25