भारतद्वारा आईएमएफ प्रमुखमा साझा उम्मेदवारको प्रयास
जेठ १२, नयाँ दिल्ली (भारत) । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखको पदमा साझा उम्मेदवारलाई समर्थन गर्ने विषयमा भारतले अन्य उदीयमान देशसँग समन्वय गरिरहेको अर्थमन्त्री प्रणव मुखर्जीले बताएका छन् ।'म केही विकासशील देश र उदीयमान अर्थतन्त्रका अर्थमन्त्रीहरूको सम्पर्कमा छु’ मुखर्जीले संवादाताहरूलाई बताए । प्रधानमन्त्री मनमोहन सिंहले पनि बुधवार आईएमएफमा सुधारका लागि दबाब दिन विकासशील देशहरू एक हुनुपर्ने धारणा राखेका छन् । अन्तरराष्ट्रिय वित्तीय संस्था आईएमएफमा हालसम्म यूरोपेली प्रमुख रहने परम्परा रहिआएको छ ।
उदीयमान देशहरूको समूह ब्रिक्समा रहेका आईएमएफ निर्देशकहरूले पनि नेतृत्वमा जहिले पनि यूरोपको पकड रहनु कोषकै वैधानिकतामा चुनौती भएको बताएका छन् । ब्रिक्स समूहमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाजस्ता उदीयमान देशहरू रहेका छन् ।कोष प्रमुखको दौडमा हालसम्म फ्रान्सेली अर्थमन्त्री क्रिष्टिन लागार्दे अगाडि देखिएकी छन् । उनलाई धेरै यूरोपेली देशहरूको समर्थन रहेको छ । भारतले हालसम्म कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन । तर, गैरयूरोपेलीले आईएमएफ प्रमुखको पद पाउने सम्भावना एकदमै गाह्रो रहेको कोषस्थित भारतीय प्रतिनिधि अरबिन्द विर्मानीले बताएका छन् । विर्मानीका अनुसार, भारतको तर्फबाट कोष प्रमुखका उम्मेदवार मोण्टेक सिंह आहलुवालिया उमेरका कारण निर्वाचनबाट बाहिरिसकेका छन् ।हाल कोषको प्रमुख छनोट कार्यमा यूरोपेली देशले झण्डै एक तिहाइ भोटिङ पावर अर्थात् मतदान शक्ति ओगटेका छन् । त्यसैगरी, अमेरिकाले १७ प्रतिशत, एशियाली देशहरूले २० प्रतिशत र बाँकी रहेको भोटिङ पावरमा अन्य देश रहेका छन् । एएफपी/रासस
ठूला बैङ्कहरूमा लिबियाली धन रहेको खुलासा
जेठ १२, लण्डन (बेलायत) । विश्वका प्रमुख ठूला बैङ्कहरूले लिबियाली राज्य कोषको अर्बौं डलर राखेका एक बेलायती पहलकर्ता समूहले प्राप्त गरेको सूचनाबाट देखिएको छ । तिनमा एचएसबीसी, गोल्डम्यान साख, सोसाइटे जेनरल र नोमुराजस्ता ठूला बहुराष्ट्रिय बैङ्कहरू छन् ।लण्डनस्थित ग्लोबल विटनेसलाई लिबियन इन्भेष्टमेण्ट अथोरिटीको उक्त आन्तरिक प्रतिवेदन उपलब्ध गराइएको थियो । लिबियाली नेता मोआम्मर गद्दाफी सरकारको लगानी कोषको ५ अर्ब डलर विश्वका ठूला बैङ्कका खातामा जम्मा रहेको पाइएको छ । उक्त प्रतिवेदन २०१० को जुन ३० मा पेश गरिएको देखिन्छ । लिबियन इन्भेष्टमेण्ट अथरिटीका थुप्रै ठाउँमा रहेका सम्पत्ति अन्तरराष्ट्रिय प्रतिबन्धअन्तर्गत फ्रेब्रुअरीदेखि नै रोक्का गरिएको छ । गद्दाफीले व्यक्तिगत फाइदाका लागि राज्यकोषको प्रयोग गरेका थिए कि भन्नेबारे बैङ्किङ नियामकहरूले छानबिन गर्नुपर्ने ग्लोबल विटनेसको सुझाव छ । एपी/रासस
जी-८ समूहको सम्मेलन प्रारम्भ
जेठ १२, डिउभिल्ले (फ्रान्स) । विश्वका शक्तिशाली देशहरूको समूह ग्रूप अफ एट अर्थात् जी ८ को सम्मेलन उत्तरी फ्रान्सस्थित डिउभिल्ले रेसर्टमा बिहीवार शुरू भएको छ । जी ८ समूहमा ब्रिटेन, क्यानाडा, फ्रान्स, जर्मनी, इटली, जापान, रूस र अमेरिकाजस्ता विश्वका धनी र शक्तिशाली देश सदस्य छन् ।सम्मेलनमा उपस्थित नेताहरूलाई हेर्न शहरका सम्पन्न तथा प्राय: प्रौढ मानिसहरू पानीमा रुझेरै पनि उपस्थित भएका थिए । ज्याकेट लगाएका र क्यामेरा बोकेका मानिसहरूको भीडलाई फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीले अभिवान गरेका थिए । त्यसपछि सार्कोजीले सम्मेलनमा उपस्थित विश्व नेताहरूलाई स्वागत गरे । पृष्ठभूमिमा फ्रान्सको रिपब्लिकन ब्याण्डले बाजा बजाइरहेको थियो ।
रूसका राष्ट्रपति दिम्रि्री मेद्भेदेभ र अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्ना होटेलबाट हिडेरै सम्मेलनस्थलसम्म आइपुगेका थिए । उनीहरूले भीडमा रहेका केही मानिसहरूसँग हात मिलाए, त्यसपछि सार्कोजीसँगै सम्मेलन स्थल प्रवेश गरेका थिए ।फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र अमेरिकालगायत ६ ओटा देशहरूको जी-६ सम्मेलन १९७५ देखि फ्रान्सबाटै शुरू गरिएको थियो । पछि त्यसमा क्यानाडा थपिएर जी-७ र रूस थपिएर जी-८ बनेको छ । हाल, यूरोपियन युनियनलाई पनि जी-८ मा समावेश गरिएको छ, तर उसले जी-८ को अध्यक्षता भने गर्न पाउँदैन् । ब्राजिल, चीन, भारत, मेक्सिको र दक्षिण अफ्रिका गरी पाँचओटा विकासशील देशलाई पनि उक्त समूहमा आबद्ध गर्न फ्रान्स र बेलायतले प्रस्ताव गरेका छन् । एएफपी/रासस
एशियाली र पश्चिमाबीच सेवानिवृत्तिबारे भिन्न धारणा
जेठ १२, लण्डन (ब्रिटेन) । एशियाली देश र पश्चिमा देशबीच निवृत्तिभरण अर्थात् पेन्सनसम्बन्धी व्यवहारमा पनि ठूलो भिन्नता देखिएको छ । यूरोपेली र अमेरिकी कामदारहरूले एशियाली कामदारको तुलनामा सेवानिवृत्तिपछिको समयका लागि निकै कम मात्र पैसा जोगाउने गरेका छन् । अन्तरराष्ट्रिय बैङ्क एचएसबीसीद्वारा बिहीवार प्रकाशित प्रतिवेदनले एशियाली र पश्चिमाहरूबीचको आर्थिक व्यवहारमा त्यस्तो भिन्नता देखाएको छ । । सेवानिवृत्तिको भविष्य अर्थात् 'द फ्युचर अफ रिटायरमेण्ट’ प्रतिवेदन १७ देशका १७ हजार व्यक्तिमाथिको सर्वेक्षणमा आधारित छ ।
प्रतिवेदनबाट एशियाली र पश्चिमाबीच सेवानिवृत्तिबारे ठूलो मतभिन्नता देखिएको एचएसबीसीले बताएको छ । अर्थिक मन्दीपछि उत्तर अमेरिका र यूरोपका धेरै मानिसले सेवानिवृत्तिका बेला आफ्नो अवस्था एक पुस्ता अघिकाहरूको भन्दा खराब रहने अनुमान गरेका छन् । तर, भारत र चीनजस्ता उदीयमान अर्थतन्त्रमा भने मन्दीको खासै प्रभाव नपरेकाले त्यहाँका मानिसहरूमा सेवानिवृत्तिबारे खासै चिन्ता नदेखिएको बैङ्कले बताएको छ ।पश्चिमाहरूले पनि एशियालीहरूले जस्तै सेवानिवृत्तिपछिको जीवनका लागि बचत गर्नुपर्ने बैङ्कका लगानी, पेन्सन, र बचत विभाग प्रमुख डेभिड वेल्सको सुझाव छ । एएफपी/रासस
भारतमा स्त्रीभ्रूण हत्याको बढ्दो प्रवृत्ति
जेठ १२, हङकङ (चीन) । गत तीन दशकमा भारतका शिक्षित र धनी भनाउँदा परिवारले पनि झण्डै १ करोड २० लाख स्त्रीभ्रूण हत्या गराएको छन् । जन्मदर घटिरहँदा आगामी दिनमा त्यस्तो भ्रूणहत्या प्रवृत्ति झनै बढ्ने अनुसन्धानकर्ताहरूको चेतावनी छ ।खासगरी, पहिलो सन्तान छोरी भएका परिवारले गर्भमा अर्को छोरी रहेको थाहा पाउनासाथ गर्भपतन गराउने गरेको पाइएको छ । यद्यपि भारतीय समाजमा परम्परागत रूपमै छोराको महत्त्व रहँदै आएको छ । तर, हाल गर्भपतन गर्नेहरूमा शिक्षित परिवार नै अघि देखिएका छन् । शिक्षित परिवारले नै अल्ट्रासाउण्ड प्रविधिद्वारा गर्भमा रहेको शिशुको लिङ्ग पत्ता लगाउने र गर्भपतनको खर्चसमेत बेहोर्ने अध्ययनले देखाएको छ ।
साथै, छोरी भ्रूण तुहाउने भारतको प्रचलन चीनको भन्दा फरक रहेको अध्ययनका प्रमुख लेखक प्राध्यापक प्रभात झाले बताए । चीनमा भने एक मात्र सन्तान जन्माउन पाउने कानून रहेकाले दोस्रो सन्तानमा छोरा वा छोरी जोसुकै भए पनि तुहाउनैपर्ने हुन्छ । भारतमा भने अझै पनि एक मात्र सन्तान जन्माउन पाइने कानूनी बाध्यता भने छैन । तर, शहरी क्षेत्रका महिलाहरूले एक मात्र सन्तान जन्माउन चाहे भने अहिलेको जस्तो दोस्रो वा तेस्रो भ्रूणको ठाउँमा पहिलो छोरी भ्रूण नै तुहाउने प्रवृत्ति आउनसक्नेतर्फझाले सचेत गराएका छन् ।भारतले १९९६ मै गर्भमा रहेको शिशुको लिङ्ग परीक्षण गर्ने र छोरी भ्रूण तुहाउने कार्यमाथि प्रतिबन्ध लगाएको छ । तर, निजीक्षेत्रमा ठूलो सङ्ख्यामा नियमनबाहिर चिकित्सा केन्द्र रहेकाले त्यस्तो प्रतिबन्ध पालना गराउन निकै कठिनाइ छ । सरकारले स्वास्थ्य क्षेत्रमा सुधार गर्नुका साथै डाक्टरहरूलाई सार्वजनिक लगानीको दायित्व प्रणालीभित्र नल्याउन्जेल प्रतिबन्धले काम नगर्ने झाले स्पष्ट गरे । एजेन्सी
भारतमा तेल र ग्यासको मूल्य बढ्ने सम्भावना
जेठ १२, नयाँ दिल्ली (भारत) । भारतमा डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढ्न सक्ने तेल मन्त्रालय स्रोतले बिहीवार बताएको छ । स्रोतका अनुसार त्यसबारे आगामी जुन ९ मा मन्त्रीहरूको बैठकले निर्णयगर्नेछ । 'मेरो अनुमानमा डिजेल, एलपीजी ग्यास र मट्टीतेलको मूल्य बढ्नेछ,’ स्रोतले भन्यो । मन्त्रीहरूको शक्तिशाली समूह इम्पावर्ड ग्रूप अफ मिनिष्र्टसको बैठकले मूल्यवृद्धिबारेको निर्णयगर्नेछ । एजेन्सी
Admin 2011-05-27