शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

भारत-इण्डोनेशियाबीच १५ अर्ब डलरको व्यापार सम्झौता

माघ १२, नयाँ दिल्ली (भारत) । इण्डोनेशिया र भारतले मङ्गलवार १५ अर्ब १० करोड डलरबराबरको सम्झौता गरेका छन् । त्यसका साथै आगामी ५ वर्षभित्र आपसी व्यापारलाई दोब्बर बनाउने महत्त्वाकाङ्क्षी लक्ष्य पनि दुइ देशले निर्धारण गरेका छन् । लोकतान्त्रिक पद्धति भएका एशियाका दुइ देश भारत र इण्डोनेशियाले आपसी सम्बन्ध सुदृढ बनाउन चाहेका छन् ।जम्मा १८ क्षेत्रमा भएका ती सम्झौतामा ऊर्जा, पूर्वाधार, उत्पादन, सेवालगायत छन् । भारत भ्रमणमा रहेका इण्डोनेशियाली राष्ट्रपति सुसिलो बाम्बाङ योधोयोनोको उपस्थितिमा नयाँ दिल्लीमा ती सम्झौतामा हस्ताक्षर भएको हो । बुधवार आयोजित भारतको गणतन्त्र दिवस समारोहमा इण्डोनेशियाली राष्ट्रपति प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए । त्यसबाट नयाँ दिल्लीको एशियाली छिमेकीहरूसँग सम्बन्ध सुधारका लागि 'पूर्वतिर हेर्ने नीति’ झल्किएको छ । दुइ  पक्षबीच आतङ्कवाद, कालोबजारीलगायत अन्य आपराधिक क्रियाकलापविरुद्ध आपसी सहयोगबारेको सहमतिमा पनि हस्ताक्षर भएको छ । आपसी व्यापारलाई प्रवर्द्धन गर्न करको दर घटाउने विषयमा पनि दुइ देशबीच वार्ता शुरू भएको बताइएको छ ।

दुइ देशबीचको व्यापार २००५ को ४ अर्बबाट तीन गुणाले बढेर २०१० मा १२ अर्ब डलर पुगेको छ । टाटा ग्रूप तथा जीभीकेजस्ता पूर्वाधार क्षेत्रमा भारतका प्रमुख कम्पनीहरूले पनि सम्झौतामा हस्ताक्षर गरेका थिए । जीभीकेले इण्डोनेशियाको रेसोर्ट टापु बाली तथा मध्यजाभाको एक शहर योगीआकार्तामा अन्तरराष्ट्रियस्तरको विमानस्थल बनाउने भएको छ । उक्त सम्झौताको मूल्य ३ अर्ब डलरदेखि ५ अर्ब डलरसम्म हुने जीभीकेका अध्यक्ष कृष्ण रेड्डीले बताएका छन् ।
एएफपी/रासस


टोयोटाले गाडी फिर्ता मगायो

माघ १२, टोकियो (जापान) । टोयोटा मोटर कर्पोरेशनले आफूले आपूर्ति गरेका १७ लाखभन्दा बढी नयाँ गाडी फिर्ता मगाउने बुधवार घोषणा गरेको छ । यससँगै २००९ पछि उसले फिर्ता मगाएका गाडीको कुल सङ्ख्या अब झन्डै १ करोड ६० लाख पुगेको छ । यसबाट उक्त गाडी उत्पादकको गुणस्तरप्रतिको विश्वसनीयता खस्किनेछ । पछिल्लो घोषणापछि टोयोटाको शेयरमूल्य ओर्लेर बजार बन्द हुँदासम्म झन्डै २ प्रतिशतले तल झरेको थियो । हाल फिर्ता मगाइएका धेरैजसो गाडीका फयुलपम्प तथा कनेक्टिङ पाइपमा त्रुटि देखिएको थियो । गत ६ वर्षभित्र टोयोटाले फिर्ता मगाएको गाडीहरूमध्ये हालको सङ्ख्या सबैभन्दा ठूलो हो । यसपछि आफ्ना लगानीकर्तालाई आश्वस्त पार्नु टोयोटाका लागि कठिन हुनेछ । १ वर्षअघि मात्रै उसले आपूर्ति गरेका गाडीहरूको ब्रेकमा त्रुटि देखिएको थियो । त्यसपछि विश्वभरिबाट ठूलो सङ्ख्यामा आफ्ना गाडी फिर्ता मगाउनुपर्दा टोयोटा कम्पनी सङ्कटमा परेको थियो । टोयोटा अहिले पनि विश्वको नम्बर १ गाडी उत्पादक कम्पनी हो । तर, अहिले उसले कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । 'टोयोटाले होण्डाबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । होण्डाको अमेरिकी बजारमा अहिले राम्रो अवस्थामा छ । यो उसको शेयर मूल्यमा प्रतिविम्बित भएको छ, जुन धेरै वर्षपछिकै उच्च हो ।’ इचियोसी इन्भेष्टमेण्ट म्यानेजमेण्टस्थित टोयोटाका प्रमुख अर्थ प्रबन्धक मित्सुशिगे अकिनोले बताए । त्यसैले पछिल्लो नराम्रो समाचार सुन्नासाथ चिन्तित भएका लगानीकर्ताले टोयोटाको शेयर बेचेका मित्सुशिगेको विचार छ । बजार बन्द हुँदा टोयोटाको शेयर मूल्य १ दशमलव ९ प्रतिशतले ओर्लेको थियो । जापानको दोस्रो ठुलो गाडी उत्पादक कम्पनी होण्डाको शेयरमा भने शून्य दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।  रोयटर्स


दक्षिण कोरियाको आर्थिक वृद्धि ८ वर्षकै उच्च

माघ १२, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको अर्थतन्त्र २०१० मा ६ दशमलव १ प्रतिशतले बढेको छ । त्यस्तो वृद्धि विगत ८ वर्षकै उच्च रहेको त्यहाँको केन्द्रीय बैङ्क, बैङ्क अफ कोरिया (बीओके)ले बुधवार बताएको छ । तर, विक्री, म्यानुफयाक्चरिङ तथा निर्माणक्षेत्र ओरालो लागेको चौथो त्रैमासमा भने आर्थिक वृद्धिदर सुस्तिएको पनि बैङ्कले बताएको छ । तर, उक्त त्रैमासको सुस्त गतिलाई उपेक्षा गर्दै २०११ मा पनि सुदृढ आर्थिक वृद्धि हुने पूर्वानुमान बैङ्कले गरेको छ । 'निजीक्षेत्रले २०१० मा राम्रो आर्थिक वृद्धि गरेको छ । घरेलु मागका कारण आर्थिक वृद्धिमा ठूलो योगदान पुगेको छ’ बैङ्कले एक विज्ञप्तिमा भनेको छ । चौथो त्रैमासमा कुल घरेलु उत्पादन शून्य दशमलव ५ प्रतिशतले बढेको छ । तेस्रो त्रैमासमा भने शून्य दशमलव ७ प्रतिशतले त्यस्तो वृद्धि भएको बीओकेले बताएको छ । एएफपी/रासस                          


चामलको आयात बढयो

माघ १२, बैङ्कक/हनोई (थाइल्याण्ड/भियतनाम) । इण्डोनेशियाले ८ लाख २० हजार टन थाइ चामल खरीद गरेको छ । सो परिमाण उसले पहिले खरीद गर्ने भनेको भन्दा चार गुणाले बढी हो । यसबाट बुधवार चामलको भाउ बढेको थियो । तर, भियतनामले आपूर्ति बढाइरहेको तथा फिलिपिन्सले आयात घटाइरहेकाले भाउ उच्च नै रहनेमा व्यापारीहरू त्यति ढुक्क छैनन् । इण्डोनेशियाको राज्यनियन्त्रित आपूर्ति निकाय बुलोगले थाइ निर्यातकर्ताहरूबाट १ लाख ७० हजारदेखि २ लाख टनसम्म मात्र चामल खरीद गर्ने भनेको थियो । त्यसैले अपेक्षाभन्दा धेरै ठूलो मात्रामा चामल खरीद गर्ने समाचारबाट व्यापारीहरू आश्चर्यमा परेका थिए । त्यसका साथै स्थानीय बजारमा मिलमा कुटेको चामलको भाउ आफै बढ्न पुगेको एक निर्यातकर्ताले बताए । एशियाको मुख्य खाद्यपदार्थ चामलको भाउ बढ्दा नीतिनिर्माताहरूलाई चिन्तित बनाउने गर्दछ । २००८ मा चामलको भाउमा तीव्र वृद्धि हुँदा धेरै ठाउँमा दङ्गासमेत भएको थियो । रोयटर्स


फ्रान्सेलीहरू चिनियाँभन्दा पनि पूँजीवादविरोधी

माघ १२, पेरिस (फ्रान्स) । फ्रान्सेलीहरू अन्य विकसित देशका साथै कम्युनिष्ट चीनका बासिन्दाभन्दा पनि खुलाबजार र पूँजीवादविरोधी देखिएका छन् । बुधवार प्रकाशित एक मत सर्वेक्षणले त्यस्तो परिणाम देखाएको हो । मत सर्वेक्षण गर्ने संस्था आईएफओपीले गरेको सर्वेक्षणअनुसार ३३ प्रतिशत फ्रान्सेली जनता पूँजीवाद त्याग्नुपर्ने समय आइसकेको विश्वास गर्छन् । सर्वेक्षण गरिएका १० देशमध्ये सबैभन्दा बढी फ्रान्सेली जनताले पूँजीवाद त्याग्नुपर्ने विचार राखेका हुन् । कम्युनिष्ट पार्टीको शासन रहेको चीनले समेत आफ्नै किसिमको पूँजीवाद अँगालेको छ । त्यहाँ सर्वेक्षण गरिएकामध्ये ३ प्रतिशतले मात्र बजार व्यवस्था खराब रहेको बताए । सर्वेक्षण गरिएकामध्ये लगभग ६५ प्रतिशत चिनियाँ जनताले हालको व्यवस्थाले राम्रोसँग काम गरिरहेकाले त्यसमा परिवर्तन गर्न नहुने बताएका छन् । सर्वेक्षण गरिएका १० देशमध्ये चीनको त्यस्तो प्रतिशत सबैभन्दा उच्च हो । चीनपछि अष्ट्रेलियाका ६३ प्रतिशत, ब्राजिलका ५७ प्रतिशत तथा अमेरिकाका ५५ प्रतिशतले हालकै प्रणाली यथावत् रहनुपर्ने विचार राखेका छन् ।
रोयटर्स


भियतनामका पूर्वगभर्नरमाथि घूस खाएको आरोप

माघ १२, सिड्नी (अष्ट्रेलिया) । भियतनामको केन्द्रीय बैङ्कका एक पूर्वप्रमुख डुक थुय अष्ट्रेलियाली बैङ्क नोटसम्बन्धी एक काण्डमा मुछिएका छन् । उनीमाथि आफ्नो छोरालाई ब्रिटिश विश्वविद्यालयको शिक्षा दिलाउन घूस खाएको आरोप सञ्चारमाध्यमले लगाएका छन् । थुय १९९९ देखि २००७ सम्म भियतनामको केन्द्रीय बैङ्कको प्रमुख अर्थात् गभर्नर थिए । हाल उनी भियतनामको राष्ट्रिय वित्तीय सुपरिवेक्षण परिषद्को अध्यक्ष हुन् ।  पोलिमर नोट बनाउने अष्ट्रेलियाली कम्पनी सेक्युरेन्सीले थुयको छोरालाई डरहाम विश्वविद्यालयमा भर्ना हुने खर्च दिएको मेलबर्नस्थित समाचारपत्र दि एजले बताएको छ । त्यतिखेर रिजर्भ बैङ्क अफ अष्ट्रेलियाको आंशिक स्वामित्वसमेत रहेको सेक्युरेन्सीले एउटा अवैध कोषमार्फत गोप्य रूपमा थुयका छोरालाई खर्च दिएको बताइएको छ । सेक्युरेन्सीले आफ्ना प्रतिनिधिमार्फत इण्डोनेशिया, भियतनाम, मलेशिया र नाइजेरियालगायतका अधिकारीहरूलाई घूस खुवाएको आरोपमा छानबिन भइरहेको छ । प्रहरीले गत अक्टोबरमा भएको छानबिनको आधारमा ब्रिटेन, स्पेन, अष्ट्रेलिया तथा मलेशियाका थुप्रै नागरिकलाई पक्राउ गरेको थियो । एएफपी/रासस


चीनमा स्रोत कर लागू

माघ १२, बेइजिङ (चीन) । चीनले आगामी ५ वर्षमा देशभरि नै प्राकृतिक स्रोतसम्बन्धी कर लगाउने भएको छ । स्थानीय सरकारको आम्दानी बढाउने र जग्गा विक्रीमा रहेको निर्भरता घटाउने उद्देश्यका साथ बेइजिङले यस्तो योजना ल्याएको सरकारी सञ्चारमाध्यमले बुधवार बताएका छन् । चीन सरकारले उच्च आम्दानीकर्तामाथि लाग्ने करमा पनि परिवर्तन गर्ने भएको छ । त्यसैगरी उसले घरजग्गामा लाग्ने करमा पनि सुधार गर्ने चाइना डेलीले अर्थमन्त्रीलाई उद्धरण गर्दै लेखेको छ । चीनको सुदूरपश्चिमी जिञ्जिआङ क्षेत्रमा २०१० को जुनमा स्रोत कर लागू गरिएको थियो । त्यहाँका तेल उत्पादक कम्पनीहरूलाई कच्चा तेल तथा प्राकृतिक ग्यासको विक्री मूल्यको ५ प्रतिशत कर तिर्न भनिएको थियो । ऊर्जा बचाउन तथा धूवाँ उत्सर्जन घटाउन लगाइएको त्यस्तो कर २०१५ सम्ममा देशभरि लगाइने भएको छ । एएफपी/रासस


जुवा सम्राट्द्वारा परिवारसँगको विवाद अन्त्य

माघ १२, हङकङ (चीन) । मकाउका क्यासिनो सम्राट् स्टान्ली होले आफ्नो परिवारसँगको विवाद बुधवार अन्त्य गरेका छन् । होले आफ्नो १० अर्ब मूल्यको जुवा कम्पनी स्वेच्छाले परिवारलाई हस्तान्तरण गरेको हुनाले कानूनी कारबाहीतर्फनलाग्ने बताएका छन् ।आफ्नो सम्पत्तिको हस्तान्तरण विवादबारे होको यो पहिलो सार्वजनिक टिप्पणी हो । उनको यस्तो वक्तव्यपछि जुवा कम्पनी एसजेएम होल्डिङ लिमिटेडको उत्तराधिकारसम्बन्धी सबै अनुमानहरू अन्त्य हुने भएका छन् ।एसजेएमका अध्यक्ष हो तथा उनका १७ जना सन्तानहरूबीचको पारिवारिक विवादका कारण उक्त कम्पनीको शेयर मूल्य बुधवार ४ दशमलव ९ प्रतिशतले तल झरेको छ । होले आफू परिवारलाई धेरै माया गर्ने भएकोले विवादले आफू र परिवारलाई दुःखी तुल्याएको बताएका छन् । मकाउको क्यासिनो उद्योगलाई झन्नै आधा शताब्दी नेतृत्व गरेका ८९ वर्षमा होको २००९ मा मस्तिष्कको शल्यचिकित्सा (ब्रेन र्सजरी) गरिएको थियो । रोयटर्स


चीनमा न्यूनतम ज्याला वृद्धि

माघ १२, साङ्र्घाई (चीन) ।  धेरै चिनियाँ शहरले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने भएका छन् । बढ्दो महँगीप्रतिको असन्तोष साम्य पार्ने उद्देश्यले गरिएको त्यस्तो वृद्धिले मुद्रास्फीतिजन्य दबाब पनि बढेको छ । गुआङदोङजस्ता प्रमुख म्यानुफयाक्चरिङ केन्द्र तथा साङ्र्घाई, तिआञ्जिन, र बेइजिङले पनि श्रमिकको न्यूनतम ज्यालामा दोहोरो अङ्कले वृद्धि गरेका छन् । त्यसपछि सस्ता मूल्यका सामान उत्पादनकर्ताहरू भियतनाम र इण्डोनेशियाजस्ता न्यून श्रमलागत भएका देशतर्फस्थानान्तरण हुने क्रम बढेको छ । कतिपय क्षेत्रमा श्रमिकको अभाव हुनुका साथै कतिपय असन्तुष्ट युवा श्रमिकहरूले हडताल गरेकाले पनि ज्याला बढाइएको हो । अन्य थुप्रै क्षेत्रहरूमा पनि न्यूनतम ज्याला बढाइने अपेक्षा गरिएको छ । हालै सर्वेक्षण गरिएका ८५ प्रतिशत कम्पनीहरूले बढ्दो लागत खर्चका कारण अन्य विकासशील देशको दाँजोमा चीनको प्रतिस्पर्धात्मक क्षमतामा असर पुगेको बताएका छन् । साङ्र्घाईस्थित अमेरिकन चेम्बर अफ कमर्शले गत हप्ता प्रकाशित गरेको आफ्नो प्रतिवेदनमा सो कुरा उल्लेख छ । सुदृढ पूर्वाधार तथा विशाल घरेलु बजारका कारण चीन विदेशी म्यानुफयाक्चरिङ कम्पनीका लागि एक प्रमुख गन्तव्य रहिआएको छ । एपी/रासस