शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

महँगीबाट पूर्वी एशियाली वृद्धिमा चुनौती : एडीबी


साउन १२, हङकङ (चीन) । चर्को महँगी, जापानमा सुनामीपछिको कमजोर पुनर्बहाली तथा अमेरिका र यूरोपको ऋण समस्याले पूर्वी एशियाको आर्थिक परिदृश्य समस्याग्रस्त देखिएको एशियाली विकास बैङ्क (एडीबी)को पछिल्लो प्रतिवेदनले भनेको छ । एडीबीले १४ ओटा उदीयमान र औद्योगीकरण भइरहेका पूर्वी एशियाली अर्थतन्त्रहरूको आर्थिक वृद्धिबारे अप्रिलको पूर्वानुमानलाई कायमै राखेको छ । तर, उक्त क्षेत्रमा अस्थिर वित्तीय बजार र अल्पकालीन पूँजीको अस्थिर आप्रवाहलगायतका जोखिमसमेत देखिएको एडीबीको भनाइ छ । पूर्वानुमानका अनुसार पूर्वी एशियाली क्षेत्रले २०११ र २०१२ मा झण्डै ८ प्रतिशतको आर्थिक वृद्धि कायमै राख्नेछ ।

तर, चीन, मलेसिया, थाइल्याण्ड र भियतनामका लागि गरिएको आर्थिक वृद्धि पूर्वानुमानलाई केही घटाउनुपर्ने अवस्था आउन सक्ने एडीबीले सङ्केत गरेको छ । चर्को महँगीका कारण पूर्वी एशियाको दरिलो आर्थिक वृद्धि २०११ को पूर्वाद्धमा केही खुकुलो हुन पुगेको छ । त्यस क्षेत्रका धेरै देशमा महँगीले १० वर्षको औसतलाई समेत नाघिसकेको एडीबीको प्रतिवेदनले भनेको छ । यस वर्षको चर्को महँगी एशियाभरि नै चिन्ताको विषय भएको छ । चर्को महँगीका कारण एशियाका थप ६ करोड ४० लाख मानिस गरीबीतर्फधकेलिने एडीबीको चेतावनी छ । एपी/रासस

'एचएसबीसी’को कर्मचारी घटाउने योजना

साउन १२, लण्डन (बेलायत) । बेलायती बैङ्किङ समूह एचएसबीसी होल्डिङ्स पीएलसीले आफ्ना १० हजार कर्मचारी हटाउन लागेको समाचार छ । 'स्काई न्यूज'ले बिहीवार दिएको  समाचारअनुसार एचएसबीसीले कर्मचारी कटौती गरेर १ वर्षमा ३ दशमलव ५ अर्ब अमेरिकी डलर सञ्चिति गर्ने योजना बनाइरहेको छ । बैङ्कका नवनियुक्त कार्यकारी प्रमुख स्टुआट गुलिभरले गत मे महीनामा नाफा वृद्धिका लागि खर्च कटौतीको योजना ल्याउने जानकारी दिएका थिए । तर, बैङ्कले 'स्काई न्यूज'ले दिएको उक्त समाचारबारे आधिकारिक रूपमा टिप्पणी गर्न अस्वीकार गरेको छ । 'एचएसबीसी'को ८७ देशमा साढे ७ हजार कार्यालय रहेका छन् । बैङ्कका संसारभर रहेको कर्मचारीको कुल सङ्ख्या ३ लाख रहेको बताइन्छ ।                           एजेन्सी