चीनमा स्थानीय सरकारको ऋण १ खर्ब ६५अर्ब डलर
असार १३, बेइजिङ (चीन) । चीनको सरकारी लेखापरीक्षण कार्यालयले त्यहाँका स्थानीय सरकारहरूको ऋण १० दशमलव ७ खर्ब युआन (१ खर्ब ६५ अर्ब डलर) पुगेको बताएको छ । स्थानीय सरकारी वित्तहरूको सन् २०१० सम्म गरिएको लेखापरीक्षणका क्रममा उक्त विशाल ऋणरकम देखिएको कार्यालयले सोमवार बताएको छ ।कुल ऋण रकममध्ये आधा सवारीसाधनमा लगानी भएको भेटिएको पनि कार्यालयले जानकारी दिएको छ । स्थानीय सरकारहरूले सवारीसाधनमा लगानी गरेको रकम ४ दशमलव ९७ खर्ब युआन -७ सय ६७ अर्ब डलर) भएको चिनियाँ संसद्लाई बुझाइएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । कार्यालयले स्थानीय सरकारहरूको वित्तीय प्रबन्धमा व्यापक सुधार गर्नुपर्ने र खर्च गर्नेहरूले उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिएको छ । प्रतिवेदनमा स्थानीय सरकारहरूलाई नयाँ सवारीसाधनहरू खरीद गर्न बन्देज लगाइनुपर्ने तर उनीहरूले ऋणपत्र भने जारी गर्नसक्ने सुझाव दिइएको छ । सन् २०१० को अन्त्यसम्ममा प्रान्तीय, जिल्ला र नगरपालिकास्तरका सरकारहरूले ६ हजार ५ सय ७६ सवारीसाधनहरूमा रकम खर्च गरेका थिए ।धेरै लगानीकर्ताले लामो समयदेखि थुप्रिँदै आएको स्थानीय सरकारहरूको खराब ऋण चिनियाँ अर्थतन्त्रको प्रमुख चुनौतीको रूपमा रहेको चिन्ता व्यक्त गर्दै आएका थिए । एजेन्सी
विकसित अर्थतन्त्रहरूले ऋण घटाउनुपर्ने बीआईएसको सुझाव
असार १३, जेनेभा (स्वीट्जरल्याण्ड) । चर्को ऋण बोकेका औद्योगिक देशहरूले तिनका सार्वजनिक र निजीक्षेत्रको ऋण कटौती गरेर नयाँ सङ्कट उत्पन्न हुनबाट जोगाउनुपर्ने बैङ्क अफ इण्टरनेशनल सेटलमेण्ट्स (बीआईएस)ले बताएको छ । त्यसैगरी, उदीयमान देशहरूले हालैको जस्तो आर्थिक अस्थिरता ल्याउने तत्त्वप्रति पनि सचेत रहनुपर्ने बैङ्कले सचेत गराएको छ । चीन, ब्राजिल र भारतजस्ता प्रमुख उदीयमान देशका अर्थतन्त्र अति तात्नुका साथै घरजग्गाको मूल्य र निजीक्षेत्रको ऋण पनि चर्किंदै गएकोप्रति पनि बीआईएसले ध्यानाकर्षा गराएको छ । सङ्कट आउनुअघि नै वित्तीय अधिकारीहरूले छिटो र निर्णयत्मक कदम चाल्नुपर्ने पनि बीआईएसले सुझाव दिएको छ ।
सङ्कटको केन्द्रमा रहेका देशहरूका निजीक्षेत्रमा ऋणको समस्या यथावत् नै रहेकोतर्फ पनि बीआईएसको विज्ञप्तिमा भनिएको छ । त्यसका साथै, लिभरेजको रणनीतिको साटो परम्परागत तरीका नै अपनाउनुपर्नेतर्फ पनि बीआईएसले सुझाएको छ । आयरल्याण्ड र स्पेनजस्ता देशका ऋण समस्यालाई नजिकबाट हेर्दा वित्तीय घाटा मूलत: संरचनागत नै रहेको छ । त्यसैले समस्या सुल्झाउन सरकारहरूले थप प्रयास गर्नुपर्ने बीआईएसको प्रतिवेदनले भनेको छ ।
एएफपी/रासस
आईएमएफ प्रमुखमा चीनको समर्थन लागार्दलाई
असार १३, बेइजिङ (चीन) । चीनको केन्द्रीय बैङ्कका गभर्नर झाउ झिओचुआनले सोमवार आईएमएफ प्रमुखको पदमा क्रिष्टिन लागार्दको समर्थन गरेका छन् । यस विषयमा चीनबाट आएको पहिलो सार्वजनिक विज्ञप्ति रहेको दाओ जोन्स न्यूजवायसले बताएको छ । प्रधानमन्त्री वेन जिआबाओको यूरोप भ्रमणक्रममा उनीसँगै लण्डन पुगेका झिओचुआनले लागार्दलाई चीनले पहिल्यै समर्थन गरिसकेको बताएका छन् ।
१ सय ८७ सदस्य देश रहेका कोषको प्रबन्ध निर्देशकको पदबाट डोमिनिक स्ट्रस कानले राजीनामा दिएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो । न्यूयोर्कको एक होटल कर्मचारीमाथि यौन दुराचार गरेको आरोप कानमाथि लागेको छ । कानले भने उक्त आरोपलाई अस्वीकार गर्दै आएका छन् । आफूप्रति समर्थनको खोजीमा यसै महीनाको शुरूतिर लागार्दले चीनको भ्रमण गरेकी थिइन् । एएफपी/रासस
अमेरिका-भारतबीच उच्चस्तरीय आर्थिक वार्ता
असार १३, वाशिङटन (अमेरिका) । अमेरिका र भारतका प्रमुख अधिकारीहरूबीच आर्थिक सहायता र वित्तीय सुधारका विषयमा छलफल भइरहेको छ । त्यसबाट एशियामै तीव्र विकास भइरहेको भारतमा अमेरिकी लगानी बढ्ने अपेक्षा गरिएको छ । यसै सन्दर्भमा, अमेरिकी अर्थमन्त्री टिमोथी गेइथ्नरले अमेरिका-भारत आर्थिक तथा वित्तीय साझेदारीको वार्षिक बैठकमा भारतीय अर्थमन्त्री प्रणव मुखर्जीलाई स्वागत गर्ने भएका छन् ।
त्यसैगरी, दुवै देशका केन्द्रीय बैङ्क प्रमुख र नियामक निकायका अधिकारीले बैठकमा भाग लिइरहेका छन् । सोमवारको बैठकपछि मङ्गलवार अमेरिकी अर्थ मन्त्रालयमा औपचारिक वार्ता हुने भएको छ । भारतको कमजोर पूर्वाधार क्षेत्रमा लगानी र विकास कसरी गर्ने भन्नबारे पनि वार्तामा छलफल भइरहेको छ । अमेरिकाले भने भारतलाई थप आर्थिक सुधारका लागि प्रोत्साहित गरेको छ, तर भारतमा भने त्यस्तो आर्थिक सुधार राजनीतिक रूपले अलोकप्रिय हुन सक्छ । एपी/रासस
गोल्फमा ज्याकब्सन र छेङ विजयी
असार १३, क्रमवेल (कनेक्टिकट) । स्वीडेनका ३६ वर्षीय फ्रेडरिक ज्याकब्सनले पीजीए टुरको पहिलो टाइटल जितेका छन् । टाइटल जितेपछि प्राप्त गरेको ट्रफी उनले आप\mनी ५ वर्षीया छोरीलाई दिएका थिए । ट्राभेलर्स च्याम्पियनशिपमा ज्याकब्सनले ४ अण्डर ६६ को स्कोर बनाउँदै जन रोलिन्स र र्यान मुरलाई एक स्ट्रोकले पराजित गरेका हुन् । यस प्रकार ज्याकब्सन १९९५ मा ग्रेग नोर्मनपछिका पहिला अन्तरराष्ट्रिय विजेता हुन सफल भएका छन् । त्यसैगरी, आइतवार एलपीजीए च्याम्पियनशिपमा ताइवानकी २२ वर्षीया यानी छेङले शानदार विजय हासिल गरेकी छिन् । योसँगै छेङ चारओटै एलपीजीए मेजर्स जित्ने सबैभन्दा कम उमेरकी खेलाडी हुन सफल भएकी छन् । छेङ कुल १९ अण्डर १६९ को स्कोर बनाउँदै १० स्ट्रोक्सले विजयी भएकी हुन् ।
विश्वव्यापीकरणबाट जोखिम : ओईसीडी
असार १३, पेरिस (फ्रान्स) । बढ्दो विश्वव्यापीकरणले वित्तीय दुर्घटनाको जोखिमसमेत बढाउन सक्ने ओईसीडीले मङ्गलवार बताएको छ । अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलमपेण्ट (ओईसीडी) विश्वका अति विकसित देशहरूको समूह हो । बढ्दो अन्तरराष्ट्रिय सञ्जाल र मानिस, सामान र सूचनाको तीव्र प्रवाहले भविष्यमा झनै समस्या निम्त्याउने ओईसीडीले चेतावनी दिएको छ । ओईसीडीको 'फयुचर ग्लोबल शक’ भन्ने प्रतिवेदनमा त्यस्तो चेतावनी दिइएको छ । एएफपी/रासस
फिलिप मोरिसद्वारा सरकारी योजनाविरूद्ध मुद्दा
असार १३, सिड्नी (अष्ट्रेलिया) । अन्तरराष्ट्रिय स्तरको चुरोट कम्पनी फिलिप मोरिसले चुरोटको प्याकेजिङ परिवर्तन गर्ने सरकारी योजनाविरूद्ध मुद्दा हाल्ने भएको छ । त्यस्तो सरकारी योजनाले अर्बौं डलरको नोक्सान हुन सक्ने भन्दै फिलिप मोरिसले मुद्दा हाल्ने भएको हो । धूमपानको दर घटाउने उद्देश्यले सरकारले चुरोटको प्याकेजिङलाई आगामी वर्षदेखि लागू हुनेगरी परिवर्तन गर्ने भएको छ । जसअनुसार, चुरोटको खोल अर्थात् प्याकेजिङबाट सबै लोगो हटाउनुपर्नेछ भने कम्पनीको ब्राण्ड नेम पनि निश्चित आकारको फण्टमा छाप्नुपर्नेछ ।त्यसैगरी, प्याकेटको पृष्ठभूमि हल्का हरियो रङमा हुनुको साथै त्यसमा धूमपानबाट लाग्न सक्ने रोगको स्पष्ट चित्र कोरिएको हुनुपर्नेछ । त्यस्ता चित्रमा रोग लागेका गिजा, आखाँको समस्या र अस्पतालमा रहेका केटाकेटीलगायत छन् । अष्ट्रेलियाका साथै अन्य देशहरूले पनि त्यस्तै योजना लागू गर्नेबारे सोचिरहेका छन् । तर, त्यसबाट नाफा घट्नुका साथै र नक्कली सामान बजारमा आउने भन्दै चुरोटका ठूला उत्पादक कम्पनीहरूले विरोध गर्दै आएका छन् । एएफपी/रासस
सेरेना बाहिर, टोमिक र मुर्रे क्वाटरफाइनलमा
असार १३, विम्बल्डन (इङल्याण्ड) । लण्डनमा जारी विम्बल्डन ग्राण्डस्लामबाट महिलातर्फी डिफेण्डिङ च्याम्पियन सेरेना विलियम्स बाहिरिएकी छन् । सोमवार भएको स्पर्धामा उनलाई फ्रान्सकी म्यारियन बार्टोलीले ६-३ र ७-६ ले हराएकी हुन् । बार्टोली क्वाटरफाइनलमा जर्मनीकी सबिन लिसीच्कीसँग भिड्दै छिन् । त्यसैगरी मारिया सारापोभा र भिक्टोरिया अजारेन्का पनि विजयी भएका छन् । अजारेन्काले रसियाकी नाडिया पेट्रोभालाई ६-२ र ६-२ को सोझो सेटमा पराजित गरेकी थिइन । अजारेन्का क्वाटरफाइनलमा रसियाकी केसेनिया प्रभाक वा अष्ट्रियाकी तामिरा पास्जेकसँग भिड्नेछिन । त्यस्तै सारापोभाले चीनकी पेङ सुहाईलाई ६-४ र ६-२ ले पराजित गरेकी थिइन् । उनले अन्तिम आठमा क्यारोलिन वुज्नियाकी वा डोमिनिका चिवुल्कोभासँग प्रतिस्पर्धा गर्नेछिन् ।
पुरुषतर्फका स्पर्धाहरूमा एण्डी मुर्रे र बर्नाड टोमिक पनि विजयी भएर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्रिटिश खेलाडी मुर्रेले फ्रान्सका रिचार्ड ग्यास्क्वेटलाई ७-६, ६-३, ६-२ ले पराजित गरेका हुन् ।त्यसैगरी अष्ट्रेलियाली १८ वर्षमा किशोर खेलाडी बनार्ड टोमिक क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनले सोमवार भएको स्पर्धामा बेल्जियमका जेभियर मालिस्सेलाई ६-१, ७-५, ६-४ को सेटमा पराजित गरेका थिए । उनले अर्को खेल नोभाक जोकोभिक वा माइकल लोड्रासँग खेल्नेछन् । यो जितसँगै टोमिक पछिल्लो २१ वर्षमा विम्बल्डन ग्राण्डस्लामको क्वाटरफाइनलमा प्रवेश गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । एएफपी/रासस
Admin 2011-06-28