शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सीबीआईद्वारा कनिमोझीमाथि भ्रष्टाचार मुद्दा

वैशाख १३, नयाँ दिल्ली (भारत) । भारतको केन्द्रीय अनुसन्धान ब्युरो(सीबीआई) ले सोमवार चर्चित राजनीतिज्ञ एम करुणानिधिकी छोरी तथा संसद् सदस्य कनिमोझीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । कनिमोझीसँगै व्यापारिक क्षेत्रका थुप्रै कार्यकारीमाथि पनि भ्रष्टाचारको मुद्दा चलाइनेछ । अर्बौं डलरको दूरसञ्चार अनुमतिपत्र काण्डमा उनीहरू संलग्न रहेको आशङ्का छ । सीबीआईले कनिमोझी लगायतमाथि घूस लिएको आरोप लगाएको छ ।यसअघि नै सीबीआईले तीन दूरसञ्चार कम्पनी, एक पूव दूरसञ्चार मन्त्री, र ६ कर्पोरेट कार्यकारीमाथि मुद्दा हालिसकेको छ । दूरसञ्चार अनुमतिपत्रसम्बन्धी उक्त काण्डबाट भारतले ३९ अर्ब डलरसम्मको सम्भाव्य आम्दानी गुमाएको आरोप छ । भारत विश्वमै सबैभन्दा तीव्र विस्तार भइरहेको मोबाइल फोनको बजार हो । तर, उक्त काण्डपछि भारतको आर्थिक सुधारलगायत नियमनसम्बन्धी प्रक्रियामा पनि प्रश्नचिन्ह उत्पन्न भएको छ ।

यसैबीच पाँच व्यापारिक कम्पनीका कार्यकारीहरूको जमानत निवेदनबारे अप्रिल २९ मा सुनुवाइ गर्ने दिल्ली उच्च अदालतले बताएको छ । सीबीआईले मुद्दा हालेको ती पाँचमध्ये अनिल धीरुभाइ अम्बानी ग्रूप, युनिटेक लिमिटेड तथा डीबी रिअल्टीका कार्यकारीहरू समेत छन् । गत हप्ता एक तल्लो अदालतले ती कार्यकारीहरूको जमानत निवेदनलाई अस्वीकार गरिदिएको थियो ।त्यसैगरी कमनवेल्थ गेम्स आयोजना समितिका पूव अध्यक्ष सुरेश काल्मडीलाई आठ दिनसम्म प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सोमवार काल्मडीलाई फौज्दारी धोखाधडीको आरोपमा पुलिसले पक्राउ गरेको थियो । ६ अर्ब डलरको कमनवेल्थ खेलको तयारीमा काल्मडीले ठेक्कामा मिलोमतो गरी भ्रष्टाचार गरेको आरोप छ । रोयटर्स

भारतबाट पाकिस्तानतर्फ तेल निर्यात

वैशाख १३, नयाँ दिल्ली (भारत) । भारतले पाकिस्तानतर्फ तेल निर्यात गर्ने विचार गरिरहेको एक सरकारी अधिकारीले सोमवार जानकारी दिएका छन् । त्यसबाट पाकिस्तानमा भइरहेको तेलको कमी पूरा हुनुका साथै भारतीय तेल कम्पनी रिलाएन्स इण्डष्ट्रीज र एस्सार आयलले बजार पाउने भारतको भनाइ छ । तर,त्यसका लागि पाकिस्तानले अनुमति दिनुपर्ने ती अधिकारीले बताए ।   अन्य क्षेत्रको व्यापारजस्तै आणविक शस्त्र सम्पन्न भारत र पाकिस्तानबीचको शत्रुताले तेलको व्यापार पनि प्रभावित हुने गरेको छ । सम्बन्धमा सुधार आएको बेला भने पाकिस्तानले भारतीय पेट्रोलियम पदार्थको आयात प्रतिबन्ध फुकुवा गर्ने गरेको छ ।दुई देशबीच २००८ मा शुरू भएको तेल व्यापारको सम्भावना त्यसै वर्षको मुम्बई आक्रमणपछि अवरुद्ध भएको थियो । हालका दिनमा भने दुवै पक्षबाट सम्बन्ध सुधारको प्रयास गरिँदै छ । छिमेकी देशबाटै तेल आयात गर्दा पाकिस्तानलाई ढुवानी खर्च कम पर्ने भारतीय पक्षको भनाइ छ । रोयटर्स

मारूति सुजुकीको विक्री बढयो

वैशाख १३, मुम्बई/नयाँ दिल्ली (भारत) । भारतको अग्रणी कार निर्माता मारुति सुजुकीले उसको चौथो त्रैमासको आम्दानी पूवानुमानभन्दा पनि राम्रो भएको बताएको छ । बढ्दो लागत खर्चलाई मागमा भइरहेको सुदृढ वृद्धिले थेग्न मद्दत गरेको मारुतिको भनाइ छ । तर, ब्याजदरमा वृद्धिका साथै वस्तुको मूल्यवृद्धिका कारण मागमा कमी आउन सक्ने भएकाले आगामी अल्पकालीन परिदृश्य अझै अनिश्चित रहेको कम्पनीको चेतावनी छ । यस वर्षको विक्रीमा गतवर्षको उच्च बिन्दुभन्दा आधादेखि १२/१५ प्रतिशतसम्मले खस्किने भारतीय गाडी निर्माताहरूको सङ्गठन सिआमको पूवानुमान छ । रोयटर्स

चीनका पाँच प्रमुख बैङ्कको  पूँजी पर्याप्तता वृद्धि

वैशाख १३, बेइजिङ (चीन) । चीनले देशका पाँच सबैभन्दा ठुला बैङ्कहरूको पूँजीगत पर्याप्तता अनुपात न्यूनतम ११ दशमलव ५ प्रतिशतमा राख्नुपर्ने निर्देशन दिएको छ । बैङ्किङ क्षेत्रको जोखिमबाट सुरक्षित रहनका लागि पूँजी पर्याप्तता अनुपातको न्यूनतम सीमालाई बढाइएको व्यापारिक र वित्तीय समाचार दिने वेबसाइट ब्लूमबर्गले बताएको छ ।  ती बैङ्कहरूमा शेयर बजार मूल्यको आधारमा विश्वकै सबैभन्दा ठूलो बैङक इण्डष्ट्रियल एण्ड कमर्शियल बैङ्क अफ चाइनासमेत रहेको छ । त्यसैगरी अन्य बैङ्कमा एग्रिकल्चरल बैङ्क अफ चाइना, चाइना कन्ष्ट्रक्सन बैङ्क तथा बैङ्क अफ कम्युनिकेशन्स कम्पनी लिमिटेड रहेका छन् । फेब्रुअरीमा प्राप्त एक प्रतिवेदनमा चिनियाँ बैङ्किङ नियामक निकायले बैङ्कहरूको पूँजी अनुपातलाई बढाएर १४ प्रतिशतसम्म पुर्‍याउन सक्ने भनिएको थियो । रोयटर्स

खाद्य महँगीले चरम गरीबी बढाउने एडीबीको चेतावनी

वैशाख १३, मनिला (फिलिपिन्स) । खाद्यवस्तुको बढ्दो महँगीले एशियाली क्षेत्रका लाखौं मानिसलाई चरम गरीबीमा धकेल्न सक्ने एशियाली विकास बैङ्क(एडीबी)ले  चेतावनी दिएको छ । त्यसबाट विश्वमा नै आर्थिक पर्ुनर्बहालीको नेतृत्व गरिरहेको एशियाली क्षेत्रको स्थायित्वमै चुनौती आउन सक्नेबारे एडीबीले सचेत गराएको हो ।विकासशिल एशियाली क्षेत्रमा घरेलु खाद्य महँगीदर २०११ को २ महीनामा औसत १० प्रतिशत रहेको छ । सोही अवधिमा अन्तरराष्ट्रिय बजारका मूल्यमा भने वार्षिक ३० प्रतिशतले बढेको एडीबीको रिपोर्टले भनेको छ । लामो समयसम्म खाद्यवस्तुको घरेलु महँगीदर बढिराखे थप ६ करोड ४० लाख मानिसलाई गरीबीको रेखामुनि धकेल्नेछ । त्यसको अर्थ एशियाको कुल ३ अर्ब ३० करोड जनसङ्ख्यामध्ये झण्डै २ प्रतिशतले दैनिक १ दशमलव २५ डलरमा जीवन गुजारा गर्नुपर्नेछ ।

'एशियाका धेरैजसो प्रमुख खाद्यवस्तुमा गतवर्षको मध्यदेखि तीव्ररूपमा लगातार वृद्धि भइरहेको छ । त्यसका साथै मार्चमा कच्चा तेलको मूल्य ३१ महीनायताकै उच्च रहन पुगेको छ । यो विश्वव्यापी आर्थिक सङ्कटबाट चाडै पुनर्बहाली भएको क्षेत्रका लागि गम्भीर अवस्था हो,’ एडीबीको रिपोर्टले भनेको छ ।खाद्यवस्तु र तेलको बढ्दो मूल्यले एशियाली अर्थतन्त्रमा महँगी बढाउनुका साथै कतिपय उदीयमान अर्थतन्त्रमा ओभरहिटिङ (अति तात्ने) को जोखिम देखिएको छ । रोयटर्स

भारतको खाद्य मन्त्रालयद्वारा गहुँ निर्यातको विरोध

वैशाख १३, नयाँ दिल्ली (भारत) । भारतको खाद्य मन्त्रालयले गहुँको निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने कृषि मन्त्रालयले राखेको प्रस्तावको  विरोध गरेको छ । कृषि मन्त्रालयको प्रस्तावपछि स्थानीय बजारमा गहुँको मूल्य बढ्ने सम्भावना देखिएकाले खाद्य मन्त्रालयको विरोध आएको प्रेस ट्रष्ट अफ इण्डियाको प्रतिवेदनले भनेको छ । 'हामी गहुँ निर्यात गर्ने कुराको विरोध गर्छौं । निर्यात खुला गरिएमा त्यसले घरेलु बजारको मूल्यलाई प्रभावित गर्नेछ,’ खाद्यमन्त्री केभी टमसको भनाइ प्रतिवेदनमा उल्लेख छ । गत हप्ता कृषिमन्त्री शरद पवारले देशमा गहुँको ठूलो भण्डारण रहेकाले निर्यात फुकुवा गर्नुपर्ने तर्क राखेका थिए । भारत विश्वकै दोस्रो ठूलो गहुँ उत्पादक हो । रोयटर्स

Admin 2011-04-27