दोस्रो त्रैमासमा भारतको आर्थिक वृद्धि घटयो
भदौ १३, नयाँ दिल्ली (भारत) । सन् २०११ को दोस्रो त्रैमासमा भारतको आर्थिक वृद्धिदर घटेको छ । भारत सरकारद्वारा मङ्गलवार जारी दोस्रो त्रैमासिक अवधिको प्रतिवेदनमा कुल गार्हस्थ्य उत्पादन ७ दशमलव ७ प्रतिशत रहेको उल्लेख छ ।
सन् २०११ को अप्रिल-जुन अवधिमा उत्पादनमूलक क्षेत्रमा आएको कमी गार्हस्थ्य उत्पादन घट्नुको प्रमुख कारण रहेको बताइएको छ । सन् २०११ को पहिलो त्रैमासमा भारतको आर्थिक वृद्धिदर ७ दशमलव ८ प्रतिशत रहेको थियो । दोस्रो त्रैमासमा निर्माण उद्योगमा १ दशमलव २ प्रतिशतले मात्र वृद्धि भएको छ । त्यसैगरी कृषिजन्य वस्तुको उत्पादन ३ दशमलव ९ प्रतिशत भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी औद्योगिक उत्पादनमा पनि ७ दशमलव २ प्रतिशतको वृद्धि देखिएको छ । सार्वजनिक भएका यी तथ्याङ्क पहिले गरिएका अनुमानभन्दा कम हुन् । विश्लेषकहरूले भने भारतको केन्द्रीय बैङ्कले मौद्रिक नीतिमा गरेको कडाइका कारण वृद्धि घटेको बताएका छन् ।
सन् २०११ को अर्धवार्षिक अवधिमा केन्द्रीय बैङ्कले मौद्रिक नीतिमा विगत एक दशकको अवधिमै सबैभन्दा बढी कडाइ गरेको छ । बैङ्कले दोहोरो अङ्कले वृद्धि भइरहेको महँगी नियन्त्रण गर्न विगत १८ महीनामा ११ पटक ब्याजदर बढाइसकेको छ ।
ब्याजदरको वृद्धिका कारण सवारीसाधन र कञ्जुमर उपकरण, औद्योगिक उपकरण र लगानी गर्न बैङ्कहरूसँग लिइने कर्जा महँगो भइरहँदा उपभोक्ताको क्रयशक्तिमा पनि ह्रास आएको बताइएको छ । एएफपी/रासस
बीओए चिनियाँ बैङ्कको शेयर विक्रेता
भदौ १३, हङ्कङ (चीन) । 'बैङ्क अफ अमेरिका' (बीओए)ले आफ्नो स्वामित्वमा रहेको 'चाइना कन्ष्ट्रक्शन बैङ्क' (सीसीबी)को आधा शेयर विक्री गर्ने भएको छ । रोयटर्स समाचार संस्थाले 'बीओए'को एक स्रोतलाई उद्धृत गर्दै दिइएको समाचारअनुसार 'सीसीबी'का शेयर बेच्न लगानीकर्ताहरूको एक समूहसँग वार्ता भइरहेको छ । 'बीओए'ले ती लगानीकर्ताहरूलाई १३ दशमलव १ अर्ब अमेरिकी डलरबराबरको शेयर विक्री गर्न लागेको समाचारमा उल्लेख छ । समाचारअनुसार चाइना कन्ष्ट्रक्शन बैङ्कको शेयर विक्री सन् २०११ को तेस्रो त्रैमाससम्म सम्पन्न भइसक्ने बताइएको छ । बैङ्कले हालसम्म ती लगानीकर्ताहरूका बारेमा आधिकारिक रूपमा केही नबताए पनि स्रोतका अनुसार सिङ्गापुर सरकारले सञ्चालन गरिरहेको 'तेमाशेक' कोश 'चाइना कन्ष्ट्रक्शन बैङ्क'को सम्भाव्य खरीदकर्ताहरूमध्ये एक रहेको छ । अमेरिकाको आर्थिक वृद्धिदर न्यून रहँदा बैङ्किङ क्षेत्रमाथि परिरहेको तीव्र दबाबका कारण 'बैङ्क अफ अमेरिका'ले उक्त शेयर विक्री गर्न लागेको हो । शेयर विक्रीबाट बैङ्कले आफूमाथि परिरहेको अतिरिक्त भार कम हुने र लगानीका लागि पूँजी जुटाउने अपेक्षा गरेको बताइएको छ । विश्लेषकहरूका अनुसार आगामी केही वर्षभित्र आफ्नो पूँजी बढाउन 'बैङ्क अफ अमेरिका' लाई ५० अर्ब अमेरिकी डलरको आवश्यकता छ ।
विगत केही समययता बैङ्क अफ अमेरिकाको वित्तीय अवस्थाप्रति गम्भीर चासो पैदा भइरहेको छ । बैङ्कमा तरलताको अभाव रहेको आशङ्काहरूबीच गत महीना 'बैङ्क अफ अमेरिका'को शेयरमूल्य विगत २ वर्षकै सबैभन्दा न्यून बिन्दुमा झरेको थियो । त्यसैगरी बैङ्कले सन् २००८ मा गरेका घरजग्गा कारोबारमा परेका मुद्दाहरूमा ठूलो रकम क्षतिपूर्ति तिर्नुपरेको थियो । 'चाइना कन्ष्ट्रक्शन बैङ्क'का शेयर विक्री गर्न लागेको खबरसँगै सोमवारको कारोबारमा 'बैङ्क अफ अमेरिका'को प्रतिशेयर मूल्यमा ८ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो । रोयटर्स
चिनियाँ ऋणको रेटिङ झर्ने सम्भावना : फिच
भदौ १३, चीन । चीनमा उच्च महँगी र ऋणको भुक्तानी म्याद नाघ्ने प्रवृत्ति बढ्दै गएकाले उसको स्थानीय मुद्रा अङ्कित ऋण रेटिङ फेरि झर्ने सम्भावना बढेको रेटिङ एजेन्सी फिच रेटिङ्ग्सले बताएको छ । त्यसैगरी, बढ्दो उपभोक्त मूल्य र खराब ऋणका कारण अर्को विश्वव्यापी अधोगतिको कसरी सामना गर्ने भन्नेबारे चिनियाँ नीतिनिर्माताहरूले दुविधाको सामना गर्नुपर्ने फिचको चेतावनी छ । अप्रिलमा फिचले चीनको स्थानीय मुद्रा रेटिङलाई 'स्थिर’बाट 'नकारात्मक’मा झारेको थियो । चीनमा २००८ को अन्त्यदेखि नै विशाल मात्रामा सम्भावित अस्थिरताजनक ऋण बढ्दै गएको भन्दै फिचले रेटिङ झारेको थियो ।
फिचले हाल चीनको युआन अङ्कित ऋणलाई 'एए माइनस’ मा राखेको छ, जुन उसको सबैभन्दा माथिल्लो रेटिङभन्दा चार स्थानमुनि हो । चीनको बैङ्कका सम्पत्तिको गुणस्तर मध्यमकालमा निकै खराब हुने फिच रेटिङ्सका एण्ड्रिउ कोल्कुहोउनले बताए । समयमा ऋण नतिर्ने स्थानीय सरकार र कम्पनीहरूको सङ्ख्या बढ्दै गएकाले बेइजिङले उसका बैङ्कहरूको ऋणमोचन गर्नुपर्ने अवस्था आउन सक्ने कोल्कुहोउनको चेतावनी छ ।
चीनले विश्वव्यापी सङ्कटको सामना गर्न २००८ को अन्त्यमा ५ खर्ब ८६ अर्ब डलरको उत्प्रेरणा कार्यक्रम ल्याउनुका साथै बैङ्कहरूलाई ऋण दिने कार्य खुकुलो बनाउन आदेश दिएको थियो । अर्थतन्त्र गतिशील रहोस् र मन्दीतर्फ नलागोस् भन्ने उद्देश्यले त्यस्तो आदेश दिइएको थियो । त्यसपछि, नयाँ ऋणको मात्रा व्यापक रूपले बढेर महँगीका साथै घरजग्गाको मूल्य पनि आकाशिएको छ । एएफपी/रासस
विश्वका सबैभन्दा सुरक्षित १० विमानसेवा
भदौ १३ । विश्वको हवाईसेवा रेटिङ गर्ने अन्तरराष्ट्रिय संस्था 'एयर ट्रान्सपोर्ट रेटिङ एजेन्सी' (एटिआरए)ले विश्वका सबैभन्दा १० सुरक्षित विमानसेवाहरूको सूची प्रकाशित गरेको छ ।
एटीआरएले सोमवार गरेको घोषणाअनुसार बेलायतको 'ब्रिटिश एयरवेज' र जर्मन विमानसेवा 'लुफ्थान्सा' यूरोपका सबैभन्दा सुरक्षित वायुसेवा रहेका छन् । त्यसैगरी अमेरिकी विमानसेवाहरूमा 'एएमआर कर्पोरेशन', 'कण्टिनेण्टल एयरलाइन्स', 'डेल्टा एयरलाइन्स', 'साउथवेष्ट एयरलाइन्स', 'युनाइटेड एयरलाइन्स' र 'यूएस एयरवेज' रहेका छन् । एशियाली विमानसेवाहरूमा 'जापान एयरलाइन्स' सबैभन्दा सुरक्षित घोषित भए तापनि उत्कृष्ट दशमा भने समावेश गरिएको छैन ।
उक्त रेटिङका लागि एटीआरएले १५ ओटा मापदण्ड निर्धारण गर्दै वायुसेवाहरूका सार्वजनिक रूपले उपलब्ध जानकारीहरू, जहाजको औसत आयु, जहाजी बेडाको समरूपता, प्राविधकि, मानविय र विमानसेवाका सङ्गठनात्मक संरचनालगायतका विविध पक्षहरूको विस्तृत अध्ययन गरेको बताएको छ । एएफपी/रासस
राष्ट्रसङ्घमा तलब वृद्धि नगर्न अमेरिकी प्रस्ताव
भदौ १३, न्यूयोर्क (अमेरिका) । संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घका कर्मचारीको तलबमा गरिएको वृद्धि खारेज गर्नुपर्ने माग गरेको छ । सन् २०११ अगष्ट १ देखि लागू गरिएको तलब वृद्धिका कारण न्यूयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयका ५ हजार कर्मचारीको तलब ३ प्रतिशतले बढेको छ । तर, अमेरिकाले भने संसारभर सार्वजनिक खर्चमा भारी कटौती भइरहेको यो समयमा उक्त वृद्धि अनुचित भएको बताएको छ । वरिष्ठ अमेरिकी कूटनीतिज्ञ जोसेफ टोर्सेलाले राष्ट्रसङ्घमा तलब वृद्धि गर्न प्रस्ताव गर्ने अन्तरराष्ट्रिय सार्वजनिक सेवा आयोगलाई लेखेको चिठीमा उक्त वृद्धिप्रति अमेरिकी सरकारको गम्भीर आपत्ति रहेको बताइएको छ । चिठीमा आर्थिक अभाव बढ्दै गर्दा राष्ट्रसङ्घका कतिपय कर्मचारीहरूको तलब रोक्का भइरहेको समयमा उक्त तथाकथित 'समायोजन'का नाममा गरिएको वृद्धिबाट आर्थिक दायित्व झनै थपिने उल्लेख छ । उनले केही समयसम्म तलब वृद्धिबारे सबैले बिसनुपर्ने र त्यसो नभए भविष्यमा बजेट सन्तुलनका लागि थप कठोर र पीडादायी कदमहरू चाल्नुपर्ने अवस्था आउने बताएका छन् । संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी मिशनका प्रतिनिधिसमेत रहेका टोर्सेलाले उक्त निर्णयप्रति पुनर्विचार गर्नसमेत आयोगलाई आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको सम्पूर्ण बजेटमध्ये अमेरिकाले सबैभन्दा धेरै २२ प्रतिशत खर्च बेहोर्ने गरेको छ । राष्ट्रसङ्घको खर्च वृद्धिसँगै अन्य कार्यहरूमा पनि बजेट बढाउनुपर्ने हुँदा तलब वृद्धिप्रति अमेरिकी सरकारको आपत्ति रहेको विश्लेषकहरूले बताएका छन् । त्यसैगरी राष्ट्रसङ्घको तलब स्केल नै आफ्ना कर्मचारीहरूको आदर्श मापदण्ड रहिआएकाले तलब बढाउनुपर्ने अवस्था आउन सक्ने हुनाले पनि अमेरिकी सरकारले यस्तो विरोध गरेको बताइन्छ । एजेन्सी
ग्रीसको सम्पत्ति लक्जेम्बर्ग सार्ने प्रस्ताव
भदौ १३, ब्रसेल्स (बेल्जियम) । फिनल्याण्डले ऋणसङ्कटले ग्रस्त ग्रीस सरकारको सम्पत्तिहरू लक्जेर्क्बर्गमा स्थानान्तरण गर्न प्रस्ताव गरेको छ । समाचार संस्था रोयटर्सले प्राप्त गरेको एक दस्तावेजअनुसार फिनल्याण्ड सरकारले आफ्नो देशमा रहेका ग्रीसका ऋणपत्र, शेयरलगायत सम्पत्तिहरू लक्जेम्बर्गस्थित एक होल्डिङ्स कम्पनीमा स्थानान्तरण गर्ने योजना कार्यान्वयन प्रक्रिया शुरू गर्न लागेको उल्लेख छ । उक्त स्थानान्तरणको प्रमुख उद्देश्य ग्रीसलाई प्रदान गरिने अर्थिक सहायताको सुरक्षण स्वरूप प्रयोग गर्नका लागि हुने बताइएको छ ।
सन् २०११ को जुनमा ड्राफ्ट गरिएको उक्त प्रस्ताव असफल भएमा फिनल्याण्डले ग्रीसलाई प्रदान गर्ने आर्थिक सहायताबाट पछि हट्ने मनस्थितिमा रहेको पनि समाचारमा बताइएको छ । ग्रीसलाई हालसम्म प्रदान गरिएको आर्थिक सहायतामा फिनल्याण्डको भाग १ दशमलव ४ अर्ब यूरो रहेको छ । तर, ऋण बढ्दै जाँदा आफनो 'ट्रिपल ए' क्रेडिट रेटिङ घट्न सक्ने चिन्ताहरूका कारण फिनल्याण्ड सरकारले यस्तो निर्णय गरेको हो । फिनल्याण्डको यो निर्णयसँगै अष्ट्रिया, नेदरल्याण्ड, स्लोभेनिया र स्लोभाकियालगायत राष्ट्रले पनि ग्रीसलाई प्रदान गर्ने आर्थिक सहायतामा सुरक्षण राख्नुपर्ने माग गर्न थालेको बुझिएको छ । विश्लेषकहरूले भने यूरोजोनका कतिपय राष्ट्रबाट आइरहेका यस्ता मागका कारण ग्रीसको अर्थतन्त्रमा सुधार र पुनरुत्थान प्रक्रिया धरापमा पर्न सक्ने बताएका छन् । रोयटर्स
पाकिस्तानका टेक्सटाइल बङ्गलादेशतर्फ स्थानान्तरण हुँदै
भदौ १३, फैसलाबाद (पाकिस्तान) । कुनै समय उन्नतिको शिखरमा रहेका पाकिस्तानी कपडा उद्योग ऊर्जा सङ्कट, राजनीतिक अस्थिरता र सुरक्षा चिन्ताका कारण सङ्कटमा परेको छ । फलस्वरूप पाकिस्तानी कपडा उद्योगले अब छिमेकी बङ्गलादेशबाट प्रतिस्पर्धाको सामना गर्नुपरिरहेको छ । बङ्गलादेशमा पनि ऊर्जा समस्या भए तापनि उनीहरूले आफूहरूले भन्दा राम्रोसँग व्यवस्थापन गरिरहेका पाकिस्तानस्थित तौसिफ इण्टरप्राइजेजका उद्यमी सलामतले बताए ।
कुनै समय पाकिस्तानबाटै छुट्टिएको बङ्गलादेश अब पाकिस्तानका कपडा उद्योगीहरूको लागि आकर्षक गन्तव्यको रूपमा देखा परिरहेको छ । समान संस्कृतिका साथै लगानीमैत्री नीति, सस्तो र दक्ष श्रम, ३७ देशसम्म कर मुक्त पहुँचजस्ता सुविधाले बङ्गलादेश आकर्षक गन्तव्य बन्न पुगेको हो । पाकिस्तानबाट बङ्गलादेशतर्फ कपडा उद्योगहरू स्थानान्तरण हुनुलाई कतिपयले विश्वव्यापीकरण हुँदै गइरहेको विश्वमा श्रम र पूँजीको गतिशीलताको नयाँ प्रवृत्तिको प्रमाण भनेका छन् । शुरूमा पश्चिमबाट उदीयमान अर्थतन्त्रतर्फ भएको पूँजीको स्थानान्तरण अब सीमान्त बजारतर्फ अग्रसर हुन थालेको उनीहरूको मूल्याङ्कन छ । 'यो सीमान्त बजारहरूतर्फको तेस्रो चरणको विश्वव्यापीकरण हो,’ एचएसबीसीका हङकङस्थित प्रमुख अर्थशास्त्री फ्रेडरिक न्यूम्यानले भने । एजेन्सी
मारुति सुजुकीद्वारा कामदारसँग 'असल व्यवहार’को माग
भदौ १३ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुति सुजुकीले उत्तरी हरियाणास्थित मानेसर कारखानालाई आंशिक रूपले सञ्चालनमा ल्याउने योजना बनाइरहेको छ । मारुतिले उक्त कारखानालाई कामदारहरूले अनावश्यक बाधा पुर्याएको भन्दै बन्द गरेको थियो । कामदारहरूले 'असल व्यवहार’को प्रतिज्ञापत्रमा हस्ताक्षर गरेपछि मात्र उनीहरूलाई कारखानामा प्रवेश गर्न दिइने मारुतिले बताएको छ । कामदारहरूले उत्पादनमा बाधा पुर्याएको र जानाजान गुणस्तरसम्बन्धी समस्या उत्पन्न गराएको भन्दै मारुतिले उक्त कारखानालाई सोमवार बन्द गरेको थियो ।
उत्पादनमा बाधा पुर्याएको भन्दै हालसम्म कम्पनीले २६ जना कामदारलाई निलम्बन गरेको छ भने १७ जनालाई बर्खास्त गरेको छ । पछिल्लो ३ महीनाभित्र उत्पादनलाई समेत असर पार्ने गरी भएको यो तेस्रो विवाद हो । कम्पनीले ल्याएको 'असल व्यवहार’को प्रतिज्ञापत्रमा उसले कामदारहरूले उत्पादनलाई कुनै पनि किसिमले बाधा पुर्याउने वा सुस्त बनाउने कार्यमा लाग्ने छैनन् भन्ने प्रत्याभूति खोजेको छ । हालसम्म कारखानाका झण्डै २ हजार कामदारमध्ये २९ जनाले प्रतिज्ञापत्रमा हस्ताक्षर गरिसकेका कम्पनीका प्रवक्ताले बताए । एएफपी/रासस
च्यारिटीलाई ठूलो धनराशी सहयोग गर्दै ह्युण्डाई अध्यक्ष
भदौ १३, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको सबैभन्दा ठूलो सवारीसाधन निर्माता ह्युण्डाईका अध्यक्षले च्यारिटीलाई ठूलो धनराशी दिने भएका छन् । कम्पनीले आइतवार जारी गरेको विज्ञप्तिमा सामाजिक कार्य गर्ने च्यारिटीहरूलाई ४६ करोड २० लाख अमेरिकी डलर सहयोग गर्ने बताइएको छ । उक्त सहयोग गरीब परिवारबाट आएका बालबालिकाहरूको शिक्षालगायतमा खर्च गरिने कम्पनीले जानकारी दिएको छ । ह्युण्डाई मोटर्सको सहायक कम्पनी ह्युण्डाई ग्लोभिसमा रहेको शेयर दिएर उक्त सहयोग गर्ने बताइएको छ ।
उक्त सहयोग हालसम्म दक्षिण कोरियामा गरिएको सबैभन्दा ठूलो भएको बताइन्छ । चुङले गर्न लागेको उक्त सहयोग सन् २००६ मा कम्पनीमाथि भ्रष्टाचार र अनियमितताका अभियोगहरूका आंशिक क्षतिपूर्ति हुन् । चुङले कम्पनीको व्यापार बढाउन रानीतिज्ञहरूलाई घूस दिएको प्रमाणित भएपछि सोको क्षतिपूर्तिस्वरूप ९२ करोड ४० लाख अमेरिकी डलर सहयोग गर्ने वाचा गरेका थिए । एएफपी/रासस
बेलायतमा हाउजिङ 'सङ्कट’को चेतावनी
भदौ १३ । ब्रिटेनको घरजग्गा बजार 'सङ्कट’मा रहेकाले सरकारले घरहरूको आपूर्ति सङ्ख्या बढाउन तुरुन्त कदम चाल्नुपर्ने नेशनल हाउजिङ फेडरेशन (एनएचएफ)को अध्ययन प्रतिवेदनमा भनिएको छ । घरजग्गा बजारबाट बाहिरै रहने मानिसहरूको सङ्ख्या बढ्दै गएकाले आगामी दशकभित्र इङल्याण्डका ६३ दशमलव ८ प्रतिशत घरमात्र तिनका बासिन्दाको स्वामित्वमा रहने भनिएको छ । त्यस्तो तथ्याङ्क १९८० को दशकको मध्यदेखिकै न्यून हो ।
चर्को धरौटी, घरको उच्च मूल्य र कडा ऋण प्रावधानहरूले लाखौं मानिस घरजग्गा किन्नबाट वञ्चित रहेका उक्त निकायले भनेको छ । त्यसैगरी आवश्यक घरहरूको सङ्ख्यामा दीर्घकालीन रूपले नै कमी देखिएकोले घर भाडा र घरको मूल्यमा चर्को वृद्धि हुने एनएचएफको पूर्वानुमान छ । त्यसैगरी, घरको स्वामित्वमा धनीहरूको मात्र पहुँच रहेको र लण्डनजस्ता शहरमा त अत्यन्त धनीहरूको मात्र घरमा स्वामित्व रहेको उसको टिप्पणी छ । एनएचएफ इङल्याण्डको हाउजिङ सङ्गठनहरूको प्रतिनिधि निकाय हो । एएफपी/रासस
ग्याजप्रोमको विशाल नाफा
भदौ १३, मस्को (रसिया) । रसियाली ऊर्जा कम्पनी ग्याजप्रोमले सन् २०११ पहिलो त्रैमासमा विशाल नाफा आर्जन गरेको छ । कम्पनीले मङ्गलवार दिएको जानकारीअनुसार जनवरी-मार्च अवधिमा ग्याजप्रोमको नाफा १६ दशमलव २४ अर्ब अमेरिकी डलर पुगेको बताएको छ । कम्पनीले आर्जन गरेको उक्त नाफा सन् २०१० को भन्दा ४४ प्रतिशतले बढी भएको कम्पनीले बताएको छ । रसियाको राज्य नियन्त्रित कम्पनी ग्याजप्रोमको यूरोपमा वितरण गरिने ग्यास र तेलको विक्री उच्चदरमा बढेकाले नाफामा वृद्धि भएको हो । कम्पनीका अनुसार सो अवधिमा ग्यासको विक्री ४२ प्रतिशतले बढेर ३० दशमलव २ अर्ब डलर आम्दानी भएको थियो । त्यसैगरी कम्पनीको कुल विक्री ३८ प्रतिशतले वृद्धि भई ४५ दशमलव ५ अर्ब अमेरिकी डलर पुगेको जानकारी पनि
ग्याजप्रोमले दिएको छ । एएफपी/रासस
Admin 2011-08-31