शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

भारतमा हवाई अधिकारी पक्राउ

चैत १३, नयाँ दिल्ली (भारत) । एक सरकारी हवाई अधिकारीलगायत तीन अन्य लाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ । एउटा उडान प्रशिक्षण स्कूलले नक्कली प्रमाणपत्र दिएको सम्बन्धमा उनीहरूको संलग्नताबारे छानविन भइरहेको छ । राजस्थानस्थित उक्त उडान प्रशिक्षण स्कूलले आफ्ना विद्यार्थीले उडाएको तालीम उडानको नक्कली प्रमाणपत्र दिएको पाइएको प्रहरी प्रवक्ताले बताएका छन् । पक्राउ पर्नेमा एक विमान चालक र एक सरकारी अधिकारीलगायत छन् । गत महीना एक विमान चालकले एयरबस ३२० अवतरण गर्ने क्रममा उक्त विमान दुर्घटनाग्रस्त भएको थियो । त्यसपछि उनको प्रमाणपत्र जाँच गर्दा नक्कली उडान प्रमाणपत्र प्रयोग गरेर उडान अनुमतिपत्र लिएको खुल्न आएको थियो ।त्यसपछिको छानविनका क्रममा एउटा उडान स्कूलले दर्ता र अनुमति नै नलिई सञ्चालनमा रहेको भेटिएको थियो । त्यसैगरी, योग्यता नपुगेका प्रशिक्षार्थीलाई अनुमतिपत्र र यात्रुबाहक विमान चालकको रोजगार दिलाउने दलालहरू पनि समातिएका छन् । पक्राउ पर्नेमा नागरिक उड्डयन नियायक निकायका सहनिर्देशक प्रदीपकुमारलगायत छन् । एपी/रासस

रुसको 'शताब्दीकै सम्झौता’ सङ्कटमा

चैत १३, मस्को (रुस) । रुसको सोभियत सङ्घको विघटन पछिकै सवाधिक ठूलो ऊर्जा सम्झौता भङ्ग हुने अवस्थामा पुगेको छ । ब्रिटिश तेल कम्पनी बीपीको विश्वसनीयतामाथिको प्रश्नचिन्ह तथा रुसमा व्यापार गर्दाको जोखिमबारेको आशङ्काले त्यस्तो अवस्था आएको हो । बीपी र रुसको सरकारी कम्पनी रोस्नेफ्टबीच आर्क्रिटक क्षेत्रको अन्वेषणका लागि १६ अर्ब डलरको संयुक्त लगानी गर्ने सम्झौता भएको थियो । जनवरीमा गरिएको उक्त 'शताब्दीकै महत्त्वपूर्ण सम्झौता’बाट रुसको व्यापारिक छवि अन्तरराष्ट्रिय रूपमै सुध्रने अपेक्षा गरिएको थियो । तर, सम्झौताको १० महीनापछि नै एक मध्यस्थकर्ता निकायले हस्तक्षेप गरेको छ । रुसमा बीपीको संयुक्त लगानी टीएनकेबीपीका रुसी हिस्सेदारले रोस्नेफ्टसँग गरिएको सम्झौताबारे उजुरी दिएका थिए । बीपीले रोस्नेफ्टसँग सोझै गरेको सम्झौताबाट स्थानीय टीएनकेबीपीको भूमिका खुम्चिने उनीहरूको गुनासो थियो । एएआर भनिने ती रुसी अर्बपतिहरूकै पक्षमा स्टकहोमस्थित मध्यस्तकर्ता निकायले फैसला दिएको छ ।            एएफपी/रासस

चीनमा व्यापारी पक्राउ

चैत १३, बेइजिङ (चीन) । चीनका भन्सार अधिकारीहरूले ग्लेन्कोरको बेइजिङस्थित प्रतिनिधि व्यापारीमाथि कर छलीको छानविन शुरू गरेका छन् । इन्धन आयातका बेला कर छलेको आरोपमा चिनियाँ व्यापारी ली बुहुआलाई पक्राउ गरिएको थियो । पछि उनलाई धरौटीमा रिहा गरिएको छ ।केही समय अघिदेखि चिनियाँ भन्सार अधिकारीहरूले 'पावर केरोसिन’ भनिने इन्धनको आयातमा निगरानी गरिरहेका थिए । पावर केरोसिनको गुणस्तर डिजेल र मट्टीतेलको बीचमा हुन्छ । त्यसैले त्यसलाई सजिलै डिजेल बनाउन सकिन्छ । तर, चीनमा डिजेल वा मट्टीतेलमा जस्तो ठूलो उपभोग कर पावर केरोसिनमा लाग्दैन । त्यसैले पावर केरोसिनको आयातमार्फत ठूलो मात्रामा कर छली गरिएको बारे अनुसन्धान गरिँदैछ ।गत वर्ष नै बहुराष्ट्रिय कम्पनी रिओ टिण्टोका चीनस्थित पूर्व प्रमुख विक्रेता स्र्टन हुलाई १० वर्षको जेल सजाय सुनाइएको थियो । घूस खाएको र गोप्य सरकारी सूचना चोरेको आरोपमा हु र उनका तीनजना चिनियाँ सहकर्मीलाई जेल पठाइएको थियो । रोयटर्स

महालेखापरीक्षकबाट ओएनजीसीको आलोचना

चैत  १३, नयाँ दिल्ली (भारत) । भारतका महालेखापरीक्षकले राज्यनियन्त्रित ऊर्जा कम्पनी ओयल एण्ड नेचुरल ग्यास कर्पोरेशन (ओएनजीसी)को इम्पेरियल इनर्जी खरीद प्रक्रियामाथि प्रश्नचिन्ह उठाएका छन् । ओएनजीसीले २००९ मा २ अर्ब १२ करोड डलरको लागतमा  इम्पेरियल इनर्जी खरीद गरेको थियो । उक्त खरीदलाई ओएनजीसीको हालसम्मकै ठूलो मानिएको छ । तर, इम्पेरियलबाट प्राप्त हुने उत्पादनलाई बढाइचढाई प्रस्तुत गरिएको महालेखापरीक्षकको आरोप छ ।ओएनजीसीले लगभग २ अर्ब ७० करोड डलरबराबरको शेयर विक्री गर्ने योजना सार्वजनिक गरेको थियो । तर, शेयर विक्रीको केही महीनाअघि मात्रै महालेखापरीक्षकको यस्तो कडा आलोचना आएको छ । लण्डनमा सूचीकृत इम्पेरियलले पूर्वी रुसको तोम्स्ख क्षेत्रमा तेल उत्खनन गर्छ । तर, इम्पेरियलको उत्पादन खरीदका बेला भनिएको जस्तो ३५ हजार ब्यारेल प्रतिदिन नभई १५ हजार ८ सय ३ ब्यारेल प्रतिदिन मात्र रहेको महालेखपरीक्षकको प्रतिवेदनमा भनिएको छ ।   एएफपी/रासस

चीनको हावामा विकिरण, सतर्कता बढयो

चैत १३, बेइजिङ (चीन) । उत्तरपूर्वी चीनको हेइलोङग्जीआङ प्रान्तको हावामा विकिरणयुक्त आयोडिन पाइएको छ । सो विकिरण जापानको क्षत्रि्रस्त फुकुशिमा आणविक केन्द्रबाट हावामा बहँदै आएको अधिकारीहरूले बताएका छन् । तर, उक्त विकिरणयुक्त आयोडिनको मात्रा अतिकम रहेकाले जनताले कुनै सुरक्षात्मक उपाय अवलम्बन गर्नु नपर्ने भनिएको छ ।  शुक्रवार नै चीनले जापानतर्फबाट आउने थुप्रै खाद्यवस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । साथै, अन्य वस्तुहरूमा पनि विकिरण प्रदूषणबारे निगरानी बढाएको छ । चीनको आणविक सुरक्षा निकायले टोकियोबाट आएका दुईजना यात्रुमा विकिरणको उच्च मात्रा पाइएको जानकारी दिएपछि सतर्कता बढेको हो ।त्यसैगरी, गुणस्तर निरीक्षण निकायले पनि जापानी मालवाहक पानीजहाजमा विकिरण पाइएको बताएको थियो । भूकम्प र सुनामीपछिको आणविक क्षतिले जापानभित्र र बाहिर चिन्ता बढेको छ । चीनमा थुप्रै त्रसित उपभोक्ताले पसलबाट नून किनेका थिए । नूनमा भएको आयोडिनले विकिरणको प्रभाव विरूद्ध सुरक्षा दिने भ्रममा उपभोक्ताले नून किनेका हुन् । एएफपी/रासस

चीनमा ब्याट्री कारखाना प्रमुख पक्राउ

चैत १३, बेइजिङ (चीन) । चीनमा लेड पोइजनिङ गराउने ब्याट्री कारखानाका प्रमुखलाई पक्राउ गरिएको छ । पूर्वी चीनस्थित उक्त कारखानाबाट फैलिएको लेड प्रदूषणले १ सय ६८ जना गाउँले प्रभावित भएका थिए । झेजियाङ प्रान्तमा रहेको उक्त ब्याट्री कारखानाका प्रमुख व्यवस्थापक पक्राउ परेका हुन् ।त्यसका साथै, उक्त क्षेत्रमा उचित सुपरिवेक्षण गर्न असक्षम रहेकोमा तीन सरकारी अधिकारीलाई पनि बर्खास्त गरिएको छ । तीमध्ये एक जना जिल्ला वातावरण सुरक्षा कार्यालयका उपप्रमुख पनि छन् ।प्रभावित १ सय ६८ गाउँलेमध्ये ५३ जना केटाकेटी रहेका छन् । उनीहरूको स्वास्थ्यपरीक्षण गर्दा लेडको उच्च मात्रा भेटिएको थियो । खासगरी गाडीआदिको ब्याट्री बनाउन प्रयोग हुने लेडले स्नायु, मांशपेशी र प्रजनन प्रणालीमा क्षति पुर्याउँछ । खासगरी केटाकेटीहरूमा त्यसको जोखिम बढी हुन्छ । एपी/रासस

अमेरिकामा आप्रवासी प्रतिभाको दुरूपयोग

चैत १३, न्यूयोर्क (अमेरिका) । अमेरिकामा थुप्रै देशका दक्ष जनशक्ति आफ्नो योग्यताभन्दा निकै तल्लो तहको काम गरिरहेका छन् । त्यस्तै एउटी कोलम्बियाकी मारिया एञ्जेलिना मोण्टेनिग्रो पनि हुन् । ३४ वर्षीया मारिया पेशाले चिकित्सक हुन्, उनीसँग प्रसूति, इमर्जेन्सी, सजरीलगायत हजारौं बिरामीलाई निको पारेको अनुभव छ । तर, त्यो अनुभव उनले आफ्नै देशमा हासिल गरेकी हुन् । अमेरिका आएपछि उनले डाक्टर नभएर सेल्स र्क्लर्क, केटाकेटी हेर्ने बेबीसिटरलगायत काम गरिन् । बल्लबल्ल मेडिकल असिष्टेण्टको काम पाएकी मारियाले त्यो पनि आफ्नो योग्यताभन्दा निकै तलको काम रहेको बताउँछिन् ।

मारियाजस्ता अमेरिकामा थुप्रै आप्रवासी छन् । हालका दिनमा अमेरिकामा पनि बेरोजगारी बढेको छ । त्यसैले, उनीजस्ता दक्ष आप्रवासीका लागि उपयुक्त काम पाउन झनै मुश्किल भएको छ । अनुसन्धानकर्ताहरूले यस्तो अवस्थालाई 'ब्रेन वेष्ट’ अर्थात् प्रतिभाको खेर गएको ठान्दछन् ।अमेरिका आउने आप्रवासीमध्ये धेरैजसो भाषा, रोजगार सञ्चालमा पहुँचको कमी, र आवश्यक प्रमाणपत्र र अनुभवको अभावले भौंतारिन बाध्य हुन्छन् । अमेरिकामा रोजगारदाताले खोज्ने अनुभव र प्रमाणपत्रको आवश्यकता अरू देशको भन्दा भिन्न हुन्छ । उनीहरू प्राय: अमेरिकाकै डिग्री र अमेरिकामै काम गरेको अनुभव खोज्छन् । त्यसमाथि कतिपय त अवैध रूपमा अमेरिका आएका हुन्छन् ।

आप्रवासीसम्बन्धी अनुसन्धान गर्ने संस्था माइग्रेशन पोलिसी इन्षिटीच्युटका अनुसार अमेरिकामा कलेज स्नातक गरेका आप्रवासीमध्ये करीब १२ लाख अर्धबेरोजगार छन् । त्यसैगरी, ३ लाख ५० हजार जना पूर्ण बेरोजगार छन् । २००९ को तथ्याङ्कमा आधारिक उक्त विश्लेषणले वैध र अवैध दुवैथरिका आप्रवासीलाई समेटेको छ ।यसरी योग्य र दक्ष जनशक्तिको ब्रेन वेष्ट हुँदा सम्बन्धित व्यक्तिलगायत उसको देश र अमेरिका स्वयम्लाई पनि नोक्सान भइरहेको विश्लेषकहरू बताउँछन् । 'यसलाई मानवीय प्रतिभा खेर गएको मान्नुपर्छ । किनभने, मानवीय प्रतिभा र सक्षमताको पूर्ण सदुपयोग हुन सकिरहेको छैन,’ एक नीतिविश्लेषक जिनी बातालोभाले भनिन् । एपी/रासस

Admin 2011-03-28