शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

जापानको निर्यात वृद्धि

माघ १३, टोकियो (जापान) । जापानको वार्षिक निर्यात डिसेम्बरमा अपेक्षा गरिएको भन्दा राम्रो वृद्धि भएको छ । चीनतर्फको निकासी हालसम्मकै उच्च हुनुका साथै अमेरिकामा जापानी गाडीको माग फेरि बढेपछि त्यस्तो सुधार भएको हो । त्यसबाट जापानी अर्थतन्त्रले सुस्तीबाट छिट्टै पार पाउने धारणा बलियो भएको छ । समुद्रपारका देशहरूमा आर्थिक वृद्धिदर घटेको तथा आर्थिक उत्प्रेरणासम्बन्धी कार्यक्रमको म्याद नाघेकाले जापानको अर्थतन्त्रमा केही सुस्ती आएको थियो । तर, हालको तथ्याङ्कबाट २०११ को शुरूबाटै अर्थतन्त्रमा पुनर्बहाली हुने बैङ्क अफ जापानको पूर्वानुमान पुष्टि भएको छ । जापानको अर्थतन्त्र निर्यातमा निर्भर रहेको छ । डिसेम्बरको निर्यातमा गतवर्षभन्दा १३ प्रतिशत वृद्धि हासिल भएको बताइएको छ । अर्थशास्त्रीहरूले भने ९ दशमलव २ प्रतिशतको वाषिर्क वृद्धि हुने पूर्वानुमान गरेका थिए ।'चीनबाट आएको सुदृढ माग तथा अमेरिकामा भएको ठूलो उपभोगका कारण डिसेम्बर महीनामा राम्रो निर्यात भएको छ,’ टोकियोस्थित एक अर्थशास्त्री टाकेशी मिनामीले भने । जनवरीदेखि मार्चसम्मको निर्यात अझ सुदृढ हुने मिनामीको विचार छ । तर, उदीयमान अर्थतन्त्रको मुद्रास्फीति तथा जापानी मुद्रा येन लगातार बलियो भइरहेकाले अधोगामी जोखिमको सम्भावना कायमै रहने पनि उनले बताएका छन् । अर्थतन्त्रबारे आशावादी हुँदै केन्द्रीय बैङ्कले हाललाई ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । त्यसबाट बैङ्कको मौद्रिक नीतिमा तत्काल परिवर्तन आउने सम्भावना टरेको छ ।रोयटर्स


जुवासम्राटद्वारा श्रीमतीमाथि मुद्दा

माघ १२, हङकङ (चीन) । क्यासिनोसम्राट स्टान्ली हो आफ्ना केही श्रीमती तथा छोराछोरीलाई अदालतमा मुद्दा दिने तयारीमा रहेको एक कानून व्यवसायी संस्थाले भनेको छ । उनीहरूले अनुचित तरीकाले आफ्नो सम्पत्तिमा कब्जा गरेको आरोप होले लगाएको आफूलाई होको प्रतिनिधि दाबी गर्ने उक्त संस्थाले भनेको छ । मकाउका जुवासम्राट होको जुवा साम्राज्यमा रहेको लगानीको स्वामित्वबारे पारिवारिक विवाद हुँदै आएको छ ।मकाउको जुवा साम्राज्यलाई भण्डै आधा दशक नेतृत्व दिएका होको अर्बौं डलरको सम्पत्तिबारे अब कानूनी लडाइँ हुने देखिएको छ । एसजेएम भनिने सो समूहले संसारकै ठूलोमध्ये एक मकाउको जुवा साम्राज्य सञ्चालन गर्छ ।एसजेएममा रहेको होको शेयर अनुचित रूपले उनकी तेस्रो श्रीमती तथा उनको परिवारको हकमा जारी गरिएको आरोप छ । होका चार श्रीमती तथा १६ सन्तान छन् । आफ्नो सम्पत्ति परिवारका सबै सदस्यबीच बराबरी बाँड्ने इच्छा ८९ वर्षीय होले राखेका बताइएको छ ।        एपी/रासस


चीनको विवादास्पद प्रविधि विकास योजना

माघ १३, बेइजिङ (चीन) । चीनले स्वच्छ ऊर्जा तथा अन्य उच्चप्रविधियुक्त उद्योगको विकास गर्ने प्रयासलाई यस वर्ष गति दिने बताएको छ । यिनै विषयहरूका कारण चीनको वासिङटन तथा अन्य देशका सरकारहरूसँगको व्यापार सम्बन्धमा तनाव आउने गरेको छ ।  ऊर्जा बचतकारी प्रविधि, नयाँ ऊर्जा कार तथा भावी पुस्ताको मोबाइल फोनलगायतका क्षेत्रमा यस वर्षकाम गरिने अधिकारीहरूले बिहीवार बताएका छन् । चीनको कम्युनिष्ट सरकारले अनुदान तथा अन्य सहयोगमार्फत चिनियाँ प्रविधि उद्योगहरूलाई टेवा दिन चाहेको छ । तर, यस्तो रणनीतिका कारण खुला बजारप्रतिको आफ्नो प्रतिबद्धता चीनले उल्लङ्घन गरेको भन्ने गुनासा आएका छन् । अमेरिकाले डिसेम्बरमा चीनविरूद्ध विश्व व्यापार सङ्घमा उजुरी दर्ता  गराएको छ । चीन सरकारले वायु तथा सौर्यऊर्जा सामग्रीका चिनियाँ उत्पादकहरूलाई अनुदान दिएको उजुरीमा उल्लेख छ । एपी/रासस


फेसबूकमा नयाँ सुरक्षा व्यवस्था

माघ १३, सानफ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबूकका प्रयोगकर्ताहरूले अब आफ्नाबारेको सूचनालाई अझै नियन्त्रण गर्न सक्नेछन् । फेसबूकले सदस्यहरूका लागि गोपनीयता नियन्त्रण (प्राइभेसी कण्ट्रोल)को व्यवस्थालाई अझ सुदृढ बनाउने भएको छ । हालै एक जना हयाकरले फेसबूककै संस्थापक मार्क जुकरवर्गको सार्वजनिक फ्यान पेजमा फटाहा सन्देश लेखेका थिए । त्यसमा उनले फेसबूकले व्यापारिक नाफाको साटो सामाजिक भलोतर्फलाग्नुपर्ने भनेका थिए ।  सुधारिएको नयाँ व्यवस्था प्रयोगकर्ताको प्रोफाइलसँग सम्बन्धित छ । यसैहप्ता पर्ने अन्तरराष्ट्रिय डाटा गोपनीयता दिवसको सन्दर्भमा गोपनीयता सुरक्षाबारे नयाँ व्यवस्था आएको फेसबूकले बताएको छ । प्रयोगकर्ताबारेको सूचना नियन्त्रण गर्नुको एउटा  महत्त्वपूर्ण पाटोमा त्यस्तो सूचनालाई भाइरस, मालवेयर र हयाकरजस्ता सुरक्षा खतराबाट जोगाउनु रहिआएको छ फेसबूकका जेक ब्रिलले एउटा ब्लग पोष्टमा भनेका छन् । एएफपी/रासस


बैङ्कलाई राष्ट्रियकरण गर्ने चाभेजको चेतावनी

माघ १३, काराकास (भेनेजुएला) । भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजले स्पेन र भेनेजुएलाको संयुक्त लगानी बैङ्क बीबीभीए प्रोभिन्सियल बैङ्कलाई राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् । घर कर्जा दिन अस्वीकार गरेर बैङ्कले संविधानको उल्लङ्घन गरेको आरोपमा चाभेजले त्यस्तो चेतावनी दिएका हुन् ।प्रोभिन्सियलले संविधान र राष्ट्रपतिको आदेशलाई सम्मान गर्न नमानेमा म त्यो बैङ्कलाई नै राष्ट्रियकरण गरिदिन्छु, आवासको व्यवस्था खोजिरहेका नागरिकलाई सम्बोधन गर्दै चाभेजले भने । 'त्यसो गर्न मलाई कुनै समस्या छैन् । राष्ट्रियकरण गर्दा तिर्नुपर्ने खर्च म बेहोरूँला,’ चाभेजले चेतावनी दिए । भेनेजुएलाको एउटा प्रमुख बैङ्क बाङ्को डे भेनेजुएला तथा अन्य केही कम्पनीलाई २००९ मा चाभेजकै नेतृत्वमा राष्ट्रियकरण गरिएको थियो । एएफपी/रासस