आयरल्याण्डको ऋण सङ्कट समाधानमार् इयूको समर्थन
मङ्सिर १२, ब्रसेल्स (बेल्जियम) । यूरोपेली राष्ट्रहरूको सङ्गठन ईयूले आयरल्याण्डका लागि आइतवार ८५ अर्ब यूरो (११५ अर्ब डलर)को राहत प्याकेज स्वीकृत गरेको छ । साथै उसले यूरोपको ऋण सङ्कटको समाधान गर्न स्थायी प्रणालीको खाका तयार गरेको छ, जसअनुसार भविष्यमा कुनै पनि ऋण सङ्कट आइपरे त्यसको लागत लगानीकर्ताहरूले मिलिजुली व्यहोर्न सक्नेछन् । पोर्चुगल र स्पेनलाई गाँजिसकेको सङ्कट अन्य बजारमा नफैलियोस् भन्ने उदेश्यले यूरोजोनका १६ वित्तमन्त्रीहरूले एउटा आपतकालीन ऋण कार्यक्रमलाई एकमतले स्वीकृत गरेका छन् । उक्त कार्यक्रममार्फत डब्लिनलाई बैङ्कको खराब ऋण तथा विशाल बजेट घाटा थेग्नबाट पार पाउन सहयोग हुने अपेक्षा गरिएको छ । 'हाम्रो देशका र जनताका लागि यो सम्झौता आवश्यक छ । आयरल्याण्डका लागि उपलब्ध कार्यक्रममध्ये अन्तिममा सहमति भएको कार्यक्रम सबैभन्दा उत्तम छ,’ आईरिश प्रधानमन्त्री ब्रायन कोबेनले बताए ।
आयरल्याण्डका समस्याग्रस्त बैङ्कहरूको पुनःसंरचनाका लागि लगभग ३५ अर्ब यूरो छुट्याइएको थियो, जसमध्ये १० अर्ब यूरो पूँजीगत राहतका रूपमा तत्काल उपयोग गरिनेछ भने बाँकी रकम आपत्कालीन राहत कोषका रूपमा रहनेछ । आफ्ना बैङ्कहरूको उद्धारका लागि आयरल्याण्डले आफूसँग रहेको रकम तथा निवृत्तिभरण कोषहरूबाट १७ अर्ब ५० करोड यूरो लगानी गर्नेछ । आपत्कालीन ऋणको बाँकी सहायता रकम वाषिर्क ५ दशमलव ८ प्रतिशतको ब्याजदरमा डब्लिनलाई प्राप्त हुनेछ । यसले बैङ्कहरूमार्फ् र्सार्वजनिक वित्तमा पुगेको क्षतिलाई पूर्ति गर्न सहयोग गर्नेछ । अन्तरराष्ट्रिय मुद्रा कोष -आईएमएफ)ले २२ अर्ब ५० करोड यूरो सहायता गर्नेछ । इयूका वित्तिय मामिलासम्बन्धी आयुक्त ओली रेनका अनुसार अन्तिम ब्याजदरको निर्धारण अर्को हप्ता गरिनेछ तर त्यो लगभग ६ प्रतिशतको औसतमा रहनेछ । रोयर्टस
ह्यारी पोटरको बक्स अफिस चमत्कार कायमै
मङ्सिर १२, लस एञ्जलस (अमेरिका) । 'ह्यारी पोटर एण्ड डेथ्ली ह्यालोज भाग-१’ ले उत्तर अमेरिकी बक्स अफिसमा गत सप्ताहान्तभरि नै यसअघि भन्दा बढी जादू देखायो । आइतवार रिलिज भएका चलचित्र उद्योगसँग सम्बन्धित तथ्याङ्कले देखाएअनुसार उक्त चलचित्र एउटा नयाँ प्रतिस्पर्धी चलचित्रलाई पछि पार्दै पहिलो स्थानमा रहेको थियो ।पोटरको उक्त पछिल्लो चलचित्रले गत शुक्रवारदेखि आइतवारसम्ममा ५ करोड ३ लाख डलर कमाएको थियो । त्यससँगै अहिलेसम्म उक्त चलचित्रले अमेरिकी बजारमा मात्र २२ करोड डलर कमाइसकेको छ भने संसारभरि नै नयाँ कीर्तिमान राख्दैछ ।
तर, पोटरले उक्त सप्ताहान्तमा भर्खरै रिलिज भएको डिज्नीको नयाँ एनिमेशन चलचित्र 'ट्यान्गल्ड’भन्दा थोरै मात्र बढी कमायो । लामा रौ भएकी राजकुमारी रापुञ्जेलको कथा भएको 'ट्यान्गल्ड’ले सोही अवधिमा ४ करोड ९१ लाख डलर कमाएको थियो भने अमेरिकीहरूले 'थ्याङ्कस् गिभिङ' बिदाको सप्ताहान्त मनाइरहँदा ५ दिनमा ६ करोड ९० लाख डलर कमाएको थियो ।यसका साथै, विली फेरेलको तगडा खलनायक भएको हास्य चलचित्र 'मेगामाइण्ड’ सप्ताहान्तका तीन दिनहरूमा १ करोड २८ लाख डलर कमाउँदै तेस्रो स्थानमा रहेको थियो । चेर तथा क्रिष्टिना अगुइलेरा अभिनीत साङ्गितिक चलचित्र 'बर्लेस्क’ले आफ्नो पहिलो सप्ताहान्तमै १ करोड १८ लाख डलर कमाएर चौथो स्थानमा रहेको थियो ।
सङ्कटजनक पदार्थ बोकेको एउटा रेललाई दुर्घटनाबाट बचाउने दुइजना श्रमजीवी नायकका रूपमा डेञ्जल वासिङ्टन तथा क्रिस पाइनले खेलेको चलचित्र 'अनस्टपेबल’ १ करोड १७ लाख कमाउँदै पाँचौ स्थानमा रहेको थियो । ९८ लाख डलर कमाउँदै 'लभ एण्ड अदर ड्रग् ’ छैठौँ स्थानमा र ८७ लाख डलर कमाउँदै 'फाष्टर’ सातौँ स्थानमा रहेको थियो । त्यसैगरी आठौँ , नवौँ तथा दशौँ स्थानमा क्रमशः डुयू डेट , द नेक्स्ट ड्रामा, तथा मर्निङ ग्लोरी रहेका थिए । एएफपी/रासस
लण्डनको रेलसेवा हडताल प्रभावित
मङ्सिर १२, लण्डन (ब्रिटेन) । लण्डनको भूमिगत रेल प्रणालीसँग आबद्ध कामदारहरूले कर्मचारी कटौती गरिएको विरोधमा हडताल शुरु गरेका छन् । २४ घण्टाभित्र गरिएका हडतालहरूको पछिल्लो श्रृङ्खलाअन्तर्गत रेलका यात्रुहरूले सोमवार बिहानको व्यस्त समयमा यात्रासम्बन्धी अस्तव्यस्तता सामना गरिरहेका छन् ।सेप्टेम्बर, अक्टोबर, तथा नोभेम्बरको शुरूमा गरिएको हडतालपछि आइतवार साँझ साढे छ बजेदेखि हजारौ कर्मचारीहरूले काम छाड्न शुरू गरेका थिए । टिकट कार्यालयका ८ सय पद कटौती गर्ने योजनाको विरोधमा उक्त हडताल शुरु गरिएको थियो । ट्रान्सपोर्ट अफ लन्डन (टीएफएल)ले सकेसम्म बढी रले हरूको सञ्चालन गर्ने तर सेवाहरू मङ्गलवारसम्म सामान्य अवस्थामा नफर्किने जनाएको छ । 'पहिलेका हडतालहरूभन्दा अहिले शुरू गरिएको हडतालले चाँडै असर पार्न थालेको छ किनभने अहिले रेल, सामुन्द्रिक, तथा यातायात सङ्गठनका सदस्यहरू आफ्नो अडानमा निकै दृढ देखिन्छन्’, सङ्गठनका एक प्रवक्ताले बताए । हडतालले व्यापक अवरोध सिर्जना गरिसकेको भन्ने सङ्गठनको दाबी असत्य भएको टीएफएलका एक प्रवक्ताले बताए । 'हाम्रा सामान्य रेल सेवाहरू शतप्रतिशत नै सञ्चालनमा रहेका छन् र केही स्टेशनहरू मात्र समयभन्दा अगावै बन्द भएका छन्’ उनले बताए । पदहरूमा गरिने उक्त कटौतीको योजना गत महिना बेलायतको मिलिजुली सरकारले खर्च कटौतीसम्बन्धि एउटा अनुशासन अभियान चलाउने भनेपछि आएको छ । उक्त अभियानअर्न्तर्गत सबै विभागहरूमा हुने खर्चलाई औसत १९ प्रतिशतले घटाउने भनिएको छ । एएफपी/रासस
बङ्लादेशी कपडा उद्योग संकटमा
मङ्सिर १२, ढाका (बंगलादेश) । सस्तो पोशाक उद्योग भएको मुलुक बङ्गलादेशमा कपासको मूल्यमा भएको अहिलेसम्मकै चर्को मूल्य वृद्धिको दुष्परिणाम उत्पादकहरूले बेहोर्नुपरेको छ । विश्लेषकहरूका अनुसार, उक्त दुष्परिणामको पीडा अन्ततः विकसित देशका कपडा खरीदकर्ताहरूले पनि बेहोर्नुपर्नेछ ।विश्वकै तेस्रो ठूलो पोशाक उत्पादक बङ्गलादेश सबैभन्दा सस्तो ठाउँमध्ये एक हो । त्यहाँका कारखानाले वाल-मार्टदेखि एच एण्ड एम तथा ग्याप जस्ता विश्वका अग्रणी ब्राण्डहरूको लागि कपडा उत्पादन गर्दछन् । सरकारको दबाव तथा श्रमिकहरूको हिंसात्मक प्रदर्शनपछि बङ्गलादेशको कपडा उद्योग न्यूनतम ज्यालामा ठूलो वृद्धि गर्न सहमत भएको थियो । हाल आएर उक्त उद्योगले कच्चा कपासको बढ्दो मूल्य तथा आपूर्तिसगँ सम्बन्धित अप्ठेराहरूको समेत सामना गर्नुपरेको छ ।
विश्व बजारमा कपासको मूल्य नोभेम्बर महीनामा प्रति पाउण्ड साढे १ डलरसम्म पुग्यो । उक्त मूल्य एक वर्षअघिको भन्दा दोब्बर हो । 'विश्वका प्रमुख खुद्रा विक्रेताहरूले तिनका शेयरहोल्डरहरूलाई बढी मुनाफा दिन कपडाको खरीद मूल्यमा कटौती गरेका छन् । तर उनीहरूले अब सस्तो सामग्रीको फेशन अब अन्त्य भएको बुझ्नुपर्छ’, वाल-मार्टको बङ्गलादेश स्थित कार्यालयका पूर्वप्रमुखले गत हप्ता एएफपीलाई बताए । 'कपासको उच्च मूल्यबाट उत्पन्न पीडाको केही मात्रा विश्वव्यापी मन्दीले कठिन अवस्थाको सामना गरिरहेका पश्चिमी उपभोक्ताहरुले समेत बेहोर्नुपर्नेछ ’, सियर्स तथा जेसीपेन्नी जस्ता अमेरीकी खुद्रा विक्रेताहरुको लागि कपडा खरीद गर्ने खालेद नामका एक व्यवसायीले बताए । कपासको कुनै घरेलु श्रोत नभए तापनि कुल निर्यातको ८० प्रतिशत ओगट्ने गार्मेण्ट उद्योग बङ्गलादेशको अर्थतन्त्रमा मेरुदण्डको रूपमा रहेको छ । बङ्गलादेशको वाणिज्य मन्त्रालयका अनुसार, प्रत्येक वर्षदश लाख टन कपास खरीद गर्ने बङ्गलादेश चीनपछिको विश्वकै दोस्रो ठूलो कपास आयातकर्ता हो । एएफपी/रासस