कम्बोडियाको आर्थिक वृद्धि ५ प्रतिशत
पुस १३, नोमपेन्ह (कम्बोडिया) । क्म्बोडियाको अर्थतन्त्र यस वर्ष५ प्रतिशतले वृद्धि भएको छ । खासगरी तयारी पोशाकको निर्यातमा सुधार भएकाले उक्त वृद्धि हासिल भएको कम्बोडियाका उपप्रधानमन्त्री यिम छाय लीले मङ्गलवार बताएका छन् । पोशाक उद्योगसँग सम्बन्धित एक जना अधिकारीका अनुसार २०११ मा तयारी पोशाक निर्यात अझै बढ्नेछ । अर्थतन्त्रमा वृद्धि हुनुको अर्को कारणमा पर्यटकको आगमन बढ्नु पनि भएको लीले बताए । कम्बोडियाको कुल गार्हस्थ्य उत्पादन २००९ मा शून्य दशमलव १ प्रतिशतले मात्र बढेको थियो । निर्माण क्षेत्र भने अझै पनि डामाडोल अवस्थामै रहेको छ । २००९ मा निर्माण क्षेत्र ४२ प्रतिशतले खुम्चेको थियो भने त्यसमा अझै पनि सुधार भएको छैन । कम्बोडियाका तयारी पोशाक उत्पादक सङ्घका महासचिव केन लूले यस वर्ष पोशाक निर्यात २० प्रतिशतले बढेको बताए । लूका अनुसार अमेरिका तथा यूरोपको अर्थतन्त्रमा सुधार भएकाले कम्बोडियाली तयारी पोशाकको निर्यात बढेको हो ।
यूरोपियन युनियनले केही अति विपन्न राष्ट्रहरूबाट हतियारबाहेक अन्य वस्तुको आयात गर्दा कर छूट दिने तथा कोटाको सीमा नतोक्ने (एभ्रिथिङ बट आर्म्स) नीति लिएको छ । त्यस्तो नीतिबाट कम्बोडियाले फाइदा उठाउँदै आगामी वर्ष पनि पोशाकको निर्यात बढ्ने लूको विचार छ । सङ्घका अनुसार कम्बोडियाले २००९ मा २ अर्ब ३० करोड डलरबराबरको पोशाक, कपडा तथा जुत्ता निर्यात गरेको थियो । त्यस्तो निर्यात २००८ मा भने २ अर्ब ९० करोड डलरबराबर मात्र थियो । कुल निर्यातमध्ये आधाभन्दा बढीजसो अमेरिकातर्फ जाने गर्दछ । यस वर्षको पर्यटक आगमन २००९ को भन्दा १६ प्रतिशतले बढेर २५ लाख पुगेको छ । पर्यटकहरूले लगभग १ अर्ब ७० करोड डलर खाना, बास, स्थानीय यातायात तथा उपहार सामग्रीमा खर्च गरेका थिए । आर्थिक वृद्धिका कारण गरीबीदर २००९ को २७ दशमलव ४ बाट घटेर यस वर्ष२६ प्रतिशतमा झरेको लूले बताए । रोयटर्स
दिल्लीको सडकमा आर्थिक समृद्धिसँगै बढेको तनाव
पुस १३, नयाँदिल्ली (भारत) । भारतमा अर्थतन्त्रसँगै सडकमा हुने विवाद पनि बढ्दै गएको छ । ट्राफिक जाम बढ्दो छ तथा साँघुरिएका सडकहरू अस्तव्यस्त छन् । सानातिना विवादले पनि उग्र रूप लिन थालेका छन् । सानो समस्या देखिँदा पनि मानिसहरूले कानून आफ्नो हातमा लिन थालेको दिल्लीका एक प्रहरी अधिकृत ओपी मण्डलले बताए । सानो विवाद चर्केर एकअर्कामाथि आक्रमण गर्दा मृत्युसमेत हुने गरेको छ । प्रहरी अधिकृतका अनुसार सडकमा विवाद बढ्नुमा अर्थतन्त्रमा भइरहेको वृद्धि पनि जिम्मेवार छ । भारतमा भएको ठूलो आर्थिक वृद्धिका कारण धेरै मानिसहरूले गाडी किनिरहेका छन् । त्यसले पहिलेदेखि नै भीडभाडग्रस्त रहने सडकमा झनै समस्या थपेको छ ।
नयाँदिल्लीको सडकमा दैनिक लगभग १ करोड कार, बस, ट्रक, स्कुटर तथा मोटरबाइक कुद्छन् । लामो समयसम्मको ट्राफिक जाम, चर्को हर्न तथा एक अर्कालाई उछिन्ने होडबाजीले मानिसहरूको तनाव बढाइदिन्छ । 'मानिसहरूको सडकमा बिताउने समय बढ्दै गएको छ । सबैजना तनावग्रस्त हुन्छन् । मौखिक रूपमा शुरू भएको सानो विवाद पनि भौतिक आक्रमणमा टुङ्गिने गर्छ’, नयाँ दिल्लीका ट्राफिक इञ्चार्ज सत्येन्द्र गर्गले बताए । समाजशास्त्री अभिलाषा कुमारीले आर्थिक समृद्धिसँगै समाज भौतिकवादी हुनुका साथै सहिष्णुता पनि घटेको बताइन् । पैसा, कारजस्ता सम्पत्तिको प्रदर्शन गर्ने तथा सडकमा रवाफ देखाउने चलन पनि बढेको उनले बताइन् । 'कतिखेर को सन्किने हो र कसलाई आक्रमण गर्ने हो भन्नै गाह्रो छ । शान्तभन्दा शान्त मानिसहरू पनि संयम गुमाउन थालेका छन्’ अर्का एक प्रहरी अधिकृतले भने । एपी/रासस
एशियाली मागले जापानको उत्पादन वृद्धि
पुस १३, टोकियो (जापान) । जापानी कारखानाहरूको उत्पादन विगत ६ महीनामा पहिलोपटक नोभेम्बरमा वृद्धि भएको छ । निर्माताहरूले आउँदा महीनामा उत्पादन अझै बढ्ने अपेक्षा राखेका छन् । त्यसबाट एशियाको बजारमा माग दरिलो नै रहेमा जापानी अर्थतन्त्रमा आगामी वर्षको शुरूदेखि नै सुधार आउने देखिन्छ । तर, जापानीमुद्रा येनमा भइरहेको वृद्धिले नीतिनिर्मातालाई निर्यात निर्भर अर्थतन्त्रको जोखिमबारे सचेत गराएको छ । वृद्धिलाई असर पार्ने गरी येनको मूल्य बढेमा सरकारले निर्णायक कदम चाल्ने अर्थमन्त्रीले भन्दै आएका छन् । नोभेम्बरमा औद्योगिक उत्पादकत्व बजारको पूर्वानुमान अनुसार नै एक प्रतिशतले बढेको थियो । सो वृद्धि विगत ६ महीनायताकै पहिलो भएको अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालय (मेती)ले जनाएको छ । मन्त्रालयले सर्वेक्षण गरेका उत्पादकहरूले डिसेम्बरमा ३ दशमलव ४ प्रतिशतले तथा जनवरीमा ३ दशमलव ७ प्रतिशतले उत्पादकत्व बढ्ने अपेक्षा गरेका छन् ।
कमजोर हुँदै गइरहेको जापानी अर्थतन्त्रका लागि यी तथ्याङ्कले शुभसङ्केत गरेका छन् । त्यसबाट आगामी वर्षको शुरूदेखि अर्थतन्त्रमा विस्तारै वृद्धि हुने बैङ्क अफ जापानको अनुमानलाई थप पुष्टि प्राप्त भएको छ । बैङ्कले बढिरहेको एशियाली बजारमा गरिने निर्यातबाट अर्थतन्त्रमा वृद्धि हुने र केन्द्रीय बैङ्कले तत्काल हस्तक्षेपकारी नीति ल्याउनुपर्ने अवस्था नरहने भन्दै आएको थियो । त्यस्तो तथ्याङ्कले अर्थतन्त्रमा गिरावट आउने जोखिम घटेको देखिएको अर्थशास्त्री योशिकी शिन्केले बताए । शिन्केका अनुसार अब वैदेशिक कारणहरूबाट बजारमा ठूलो हलचल नआउँदासम्म बैङ्क अफ जापानले हस्तक्षेपकारी नीति सम्भवतः ल्याउनुपर्ने छैन । गाडी, मेशिन तथा इलेक्ट्रोनिक सामानहरूको एशिया तथा मध्यपूर्व तर्फनिर्यात बढेको तथ्याङ्कले देखाएको छ । रोयटर्स