शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

आईएमएफ प्रमुखमा लागार्दको विजय निश्चित

असार १४ । अन्तरराष्ट्रिय मुद्रा कोष प्रमुखमा फ्रान्सकी अर्थमन्त्री क्रिष्टिन लागार्द निर्वाचित हुने लगभग निश्चित भइसकेको छ । यद्यपि उदीयमान देशहरूले कोषमा यूरोपको ६५ वर्षदेखिको पकड्बारे गुनासो गर्दै आएका छन् । तैपनि आईएमएफको एक प्रमुख शक्ति अमेरिकाले लागार्दलाई नै समर्थन गर्नेमा शुरूदेखि नै कमै आशङ्का रहेको थियो । यसैकारण मेक्सिकोका अगष्टिन कासटेन्सले लागार्दलाई चुनौती दिने सम्भावना शुरूदेखि नै असम्भवजस्तै रहेको थियो ।

त्यसमाथि आईएमएफका पूर्वप्रमुख कानको राजीनामापछि ग्रीस, पोर्चुगल र आयरल्याण्डका ऋणमोचन कार्यक्रम सङ्कटमा पर्छ कि भन्ने चिन्तालाई पनि लागार्दको निर्वाचनले सम्बोधन गर्ने ठानिएको छ । पूर्वप्रमुख डोमिनिक स्ट्राउस कान यौन दुराचारको आरोपमा गत मे महीनामा पदबाट राजीनामा दिएका थिए । सोमवारमात्रै पनि लागार्दलाई चीनको समर्थन प्राप्त भएको थियो । त्यसपछि आईएमएफमा रहेको यूरोपेली एकाधिकार तोड्ने उदीयमान देशहरूको प्रयासमा पनि धक्का लागेको थियो । एएफपी/रासस

पूर्वी अफ्रिकामा खडेरी र भोकमरी

असार १४ । अफ्रिकाको सिङ अर्थात् हर्न अफ अफ्रिकामा बसोबास गर्ने  १ करोड जनता ६० वर्षयताकै खराब खडेरीबाट पीडित भएका छन् । कतिपय क्षेत्रमा त अवस्था अनिकालकै बिन्दुमा पुगिसकेको संयुक्त राष्ट्रसङ्घले मङ्गलवार बताएको छ ।'खडेरीले १ करोडभन्दा बढी मानिस कुनै न कुनै किसिमबाट प्रभावित भएका छन्,’ संयुक्त राष्ट्रसङ्घको मानवतावादी मामिलाका संयोजक कार्यालयकी प्रवक्ता एलिसाबेथ बायसले भनिन् । बायसका अनुसार कतिपय क्षेत्रमा ६० वर्षयताकै ठूलो खडेरी पर्नुका साथै थुप्रै क्षेत्रमा भोकमरीसमेत परेको छ । उक्त क्षेत्रमा जिबोउटी, इथियोपिया, केन्या, सोमालिया, युगाण्डालगायतका देश रहेका छन् ।      एएफपी/रासस

अफगान केन्द्रीय बैङ्क गभर्नर अमेरिका भागे

असार १४, काबुल (अफगानिस्तान) । अफगानिस्तानका केन्द्रीय बैङ्क गभर्नर अब्दुल कादिर फितरतले सुरक्षाको जोखिम देखाउँदै पदबाट राजीनामा दिएर अमेरिका भागेका छन् । सरकारसँग सम्बन्धित व्यक्तिहरूमाथि थालिएको भ्रष्टाचार अनुसन्धानका कारण आफूलाई ज्यानको जोखिम आइपरेको उनले बताएका छन् । दा अफगानिस्तान बैङ्कका अध्यक्ष फितरतले अमेरिका भ्रमणका क्रममा त्यस्तो घोषणा गरेका हुन् । अमेरिकामा उनको स्थायी बसोबास पनि रहेको थुप्रै समाचार प्रतिवेदनले देखाएका छन् गतवर्षझण्डै धराशयी भइसकेको काबुल बैङ्कमा आफ्नोसंलग्नताबारेको छानबिनमा राजनीतिक हस्तक्षेपले खतरा आइपुगेको फितरतको भनाइ छ । काबुल बैङ्क अफगानिस्तानकै सबैभन्दा ठूलो निजीस्तरको ऋणदाता हो । काबुल बैङ्कको सङ्कटका लागि केही जिम्मेवार व्यक्तिहरूको नाम संसद्समक्ष बताएपछि आफ्नो ज्यानकै खतरा बढेको फितरतको जिकिर छ ।
एएफपी/रासस

बङ्गलादेशमा दुलभ कछुवा तस्करी समातियो

असार १४ । बङ्गलादेशको सीमा प्रहरीले मङ्गलवार मृत अवस्थामा रहेको १ सय २० किलोग्राम कछुवा फेला पारेको छ । एशियाली क्षेत्रमा कछुवाका विभिन्न भाग औषधिका रूपमा प्रयोग गरिन्छ । प्रहरीले हालसम्मकै ठूलो परिमाणमा उक्त वन्यजन्तु फेला पारेको हो ।भारतसँगको उत्तरपश्चिमी सीमानामा सीमा सुरक्षा गार्डसँगको मुठभेडपछि तस्करहरूले ती प्रतिबन्धित कछुवाको मासु अर्थात् ड्राई मिट र खपडा छाडेर भागेका थिए । हालसम्मकै ठूलो परिमाणमा भेटिएका ती दुलभ जन्तु भारततर्फतस्करी गर्न लागेको अवस्थामा पक्राउ गरिएको बोर्ड गार्ड अफ बङ्गलादेशका अमिरूल इस्लामले बताए ।बङ्गलादेशको वन विभागका चिफ कञ्जरभेटर तपनकुमार देयका अनुसार कतिपय तस्करले वन्यजन्तुको अवैध तस्करीका लागि बङ्गलादेशलाई ट्राञ्जिट प्वाइण्ट बनाएका छन् । एएफपी/रासस

टाटाद्वारा सरकारविरूद्ध मुद्दा

असार १४ । भारतको टाटा मोटसले बङ्गाल सरकारले उसलाई जग्गा फिर्ता दिन गरेको आदेशविरूद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको छ । विश्वकै सस्तो कार भनिएको टाटा नानोको कारखाना निर्माणका लागि बङ्गालको सिङ्गुरमा जग्गा उपलब्ध गराइएको थियो । तर, स्थानीयवासीले कारखाना निर्माणविरूद्ध प्रदर्शन गरेपछि टाटाले पनि उक्त परियोजना त्यसै छाडेको थियो । बङ्गाल सरकारले भने उक्त जग्गा फेरि स्थानीय किसानहरूलाई नै फिर्ता गर्न टाटालाई आदेश दिएको थियो ।

तर, टाटाले भने बङ्गाल सरकारको त्यस्तो आदेशको अवज्ञा गर्दै आएको छ । राज्य सरकारले यसै महीनाको शुरूतिर क्षतिपूर्ति नपाएका किसानलाई जग्गा फिर्ता दिनुपर्नेबारे कानून बनाएको थियो । टाटाले भने बङ्गालको परियोजना २००८ मा छाडेर २००९ मा गुजरातको पश्चिमी भागमा नयाँ कारखाना खोलेको थियो । एएफपी/रासस

बालबालिकालाई हिंसात्मक भिडियो गेम विक्री गर्न पाइने

असार १४, वाशिङटन (अमेरिका) । अमेरिकी सर्वोच्च अदालतले बालबालिकालाई हिंसात्मक भिडियो गेमहरू विक्री गर्न रोक लगाउन गरिएको आग्रहलाई अस्वीकार गरेको छ । फैसलामा १८ वर्षमुनिका बालबालिकालाई हिंसात्मक भिडियो गेमहरू विक्रीमा रोक लगाउने क्यालिफोर्निया राज्यले सन् २००५ मा लागू गरेको कानूनलाई खारेज गरेको छ । कुनै प्रकारका भिडियो गेम खरीदविक्री गर्न कसैलाई पनि रोक लगाउनु असंवैधानिक र अमेरिकी संविधानमा उल्लेखित अभिव्यक्ति स्वतन्त्रताको विपरीत हुने सो फैसलामा उल्लेख छ । नौ जना न्यायाधीशको इजलासमा सात जनाले यस निर्णयो पक्षमा र दुई जनाले विपक्षमा मत जाहेर गरेका थिए । अमेरिकाको क्यालिफोर्निया राज्यमा सन् २००५ मा लागू गरिएको कानूनमा १८ वर्षमुनिका बालबालिकालाई हिंसात्मक भिडियो गेम बेच्न रोक लगाइएको थियो । कसैले विक्री गरेमा प्रत्येक भिडियो गेमको १ हजार डलरका दरले जरीवाना गराउने प्रावधान लागू गरेको थियो । संयुक्त राज्य अमेरिका विश्वमा सबैभन्दा धेरै भिडियो गेमको उत्पादन गर्ने राष्ट्रमध्येमा पर्छ, जहाँ भिडियो गेमहरूको मात्र वार्षिक कारोबार १८ अर्ब डलरबराबर हुने गरेको छ । एपी/रासस

विश्व गोल्फ वरीयतामा बेलायती खेलाडीको वर्चस्व

असार १४, लण्डन (बेलायत) । गोल्फ खेलाडीहरूको वरीयताक्रमको २५ वर्षको इतिहासमा पहिलोपटक तीन बेलायती खेलाडीहरू क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा पर्न सफल भएका छन् । गोल्फ खेलाडीहरूको वरीयताक्रम निर्धारण गर्ने संस्था अफिसियल वर्ल्ड गोल्फ रेटिङद्वारा सोमवार सार्वजनिक विश्व वरीयताक्रममा उत्तरी आयरल्याण्डका खेलाडी रोरी म्याकइल्रोय तेस्रो स्थानमा पुगेपछि विश्व गोल्फका तीनओटै शीर्ष स्थान बेलायती खेलाडीहरूले लिएका हुन् । ल्युक डोनाल्ड र लि वेष्टवुड क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् । तेस्रो वरीयतामा उक्लन सफल भएपछि म्याकइल्रोयले खुशी व्यक्त गर्दै आफूहरूले एकअर्कालाई हराउन धेरै मेहनत गरिरहेको प्रतिक्रिया दिएका छन् । यसअघिका तेस्रो वरीयताका जर्मन खेलाडी माटिन केमर बीएमडब्ल्यू इण्टरनेशनल ओपनमा पराजित भएपछि म्याकइल्रोयलाई तेस्रो स्थानमा आउन बाटो खुलेको हो । यस वर्षको शुरुआतमा दशौं स्थानमा रहेका उनी जुन १९ मा यूएस ओपनमा विजयी भएर तेस्रो स्थानमा उक्लन सफल भएका हुन् ।            एपी/रासस

नाडालको खुट्टामा चोट,  एमआरआई गरियो

असार १४, लण्डन (बेलायत) । लण्डनमा जारी विम्बल्डन ग्राण्डस्लाम प्रतियोगिताअन्तर्गत सोमवार भएको चौथो चरणको पहिला सेटको स्पर्धामा डिफेण्डिङ च्याम्पियन राफेल नाडाल घाइते भएका छन् । स्पर्धामा उनले अर्जेण्टिनका हुवाँ माटिन डेल पोर्टोलाई ७-६, ३-६, ७-६ र ६-४ को सेटमा पराजित गरेका थिए । उनले खेल अवधिभर आफूलाई अत्यन्त पीडा भएको र आफ्नो बायाँ खुट्टा भाँचिएको हुन सक्ने बताएका छन् । यसले गर्दा आफू चिन्तित भएको उनले जानकारी दिए । सो ग्राण्डस्लामका अन्य स्पर्धाहरूमा भाग लिने/नलिनेबारे अहिल्यै केही भन्न नसक्ने उनको भनाइ थियो । उनले बुधवार अमेरिकी खेलाडी मार्डी फिशविरुद्ध खेल्ने तालिका छ ।नाडालसँगै विश्व वरीयताका खेलाडीहरू क्रमश: २ नम्बरका नोभाक जोकोभिक,  ३ का रोजर फेडेरर र ४ का एण्डी मुर्रेका स्पर्धाहरू हुने भएकाले क्वाटरफाइनलका खेल रोमाञ्चक हुने विश्वास गरिएको छ ।यसैबीच, एमआरआईको रिपोटअनुसार खुट्टामा कुनै गम्भीर चोट लागेको नदेखिएपछि  आफूले खेल जारी नै राख्ने नाडालले बताएका छन् ।                एपी/रासस

Admin 2011-06-29