शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सेप्टेम्बरमा यूरोजोनको मुद्रास्फीति ३ प्रतिशत
असोज १४, फ्र्याङ्कफर्ट (जर्मनी) । सन् २०११ सेप्टेम्बरमा यूरोजोनको मुद्रास्फीति ३ प्रतिशत रहेको छ । यूरोपियन युनियनको तथ्याङ्क एजेन्सीले शुक्रबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार यूरोजोनमा देखिएको यो मुद्रास्फीति सन् २००८ अक्टोबरपछिकै सबैभन्दा बढी भएको बताइएको छ । सन् २०११ अगष्टमा २ दशमलव ५ प्रतिशत रहेको मुद्रास्फीतिमा अनपेक्षित वृद्धि हुनुले यूरोपकै आर्थिक वृद्धि सुस्त रहने सङ्केत गरेको एजेन्सीले बताएको छ ।

त्यसका साथै एजेन्सीले शुक्रवारै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०११ अगष्टमा यूरोजोनमा बेरोजगारी दर १० प्रतिशत पुगेको बताइएको छ । तर, एजेन्सीले सार्वजनिक गरेको प्रतिवेदनमा मुद्रास्फीति र बेरोजगारी दर बढाउने कारणहरूबारे भने केही खुलाइएको छैन । एजेन्सीले सन् २०११ अक्टोबरमा सार्वजनिक गर्ने यूरोजोनको आर्थिक अवस्थाबारेको पूर्ण विवरणमा मुद्रास्फीति र बेरोजगारी दर बढ्ने कारणहरू उल्लेख गर्ने बताइएको छ ।

एजेन्सीले मुद्रास्फीति र बेरोजगारी दर बढेको तथ्याङ्क सार्वजनिक गरेपछि यूरोपियन सेण्ट्रल बैङ्क (ईसीबी)ले ब्याजदर घटाउनसक्ने अनुमानहरू गरिएका छन् । आगामी हप्ता बस्ने 'ईसीबी'को बोर्ड बैठकबाट यूरोजोन अर्थतन्त्रमा परिरहेको दबाब कम गर्ने उपायस्वरूप बैङ्कले यस्तो कदम उठाउनसक्ने अनुमान गरीएको हो ।     एपी/रासस

ओबामाद्वारा रोजगार  विधेयकमा समर्थन आह्वान
असोज १४, नयाँ दिल्ली (भारत) । राष्ट्रपति बाराक ओबामा र उनका रिपब्लिकन प्रतिपक्षीबीच कमजोर अमेरिकी अर्थतन्त्रमा कसरी रोजगार सृजना गर्ने भन्ने विषयमा तीव्र मतभेद देखिएको छ । ओबामाले आफ्नो ४ खर्ब ४७ अर्ब डलरको विधेयक पारित गर्न कङ्ग्रेससँग माग गरेका छन् । उता, रिपब्लिकन पार्टीले भने सरकारी लालफिताशाहीलाई अझ घटाउन आह्वान गरेको छ । सदन विभाजित रहेकाले दुवै पक्षका प्रस्ताव जस्ताको तस्तै पारित हुने कमै सम्भावना देखिन्छ ।

ओबामाले आफ्नो विधेयकको पक्षमा जनदबाब सिर्जना गरिरहेका छन्, जसमा उनले कङ्ग्रेस र खासगरी रिपब्लिकनहरूले बाधा सृजना गरेको जिकिर गरेका छन् । कङ्ग्रेसलाई मनाउन ओबामाले देशभरि नै प्रचारात्मक अभियान थालेका छन्, तर त्यसमा उनी  हालसम्म सफल हुन सकेका छैनन् । ओबामाले शनिवार जारी आफ्नो साप्ताहिक रेडियो तथा इण्टरनेट सम्बोधनमा पनि रोजगार विधेयकलाई पारित गर्न कङ्ग्रेसलाई आह्वान गरे । ओबामाको जनसमर्थन रेटिङ अर्थात् पब्लिक अप्रूभल रेटिङ ४० प्रतिशतमै रहेको छ । तर, ओबामाको अर्थतन्त्र सञ्चालन शैलीप्रति भने निकै कम जनसमर्थन छ ।

ओबामाको प्रस्तावमा कामदार तथा व्यवसायका लागि कर कटौती, रोजगारविहीनलाई दिँदै आएको सुविधा लम्ब्याइने, सार्वजनिक कार्य परियोजनाहरूमा खर्च गर्ने र स्थानीय तथा राज्य सरकारहरूलाई शिक्षक, प्रहरी र अग्निशामकलाई कायमै राख्न रकम दिइनेजस्ता योजना छ ।      एपी/रासस

कोडाकको शेयर मूल्य धेरै घटयो
असोज १४, न्यूयोर्क (अमेरिका) । अमेरिकाको 'आइकन' मानिएको इष्टम्यान कोडाक कम्पनी टाट पल्टिन लागेको व्यापक आशङ्काबीच कम्पनीको शेयर मूल्य धेरै घटेको छ । फोटोग्राफी र इमेजिङ उपकरण निर्माण गर्ने कोडाक इष्टम्यानको शेयर शुक्रबार ६० प्रतिशतले घटेको थियो । वालस्ट्रिटमा बिहानीको कारोबार शुरू हुनासाथै कम्पनीले अदालती संरक्षणका लागि निवेदन दिन तयार भएको हल्लाका कारण शेयर मूल्य यति धेरै घटेको बताइएको छ । शेयर बजारमा हल्लाका कारण कम्पनीको शेयर मूल्य लगातार घट्दै गएपछि  शुक्रवार धेरै पटक कम्पनीको कारोबार स्थगन गर्नुपरेको थियो । शुक्रबार अमेरिकी पत्रिका 'द वालस्ट्रिट जर्नल'ले समाचार प्रकाशित गर्दै कम्पनीले आन्तरिक पुन:संरचना र अदालती संरक्षणका लागि एक कानूनी परामर्शदाता नियुक्त गरेको बताएको थियो । तर, कम्पनीले शुक्रवारै एक विज्ञप्ति प्रकाशित गर्दै टाट पल्टिन लागेको हल्लाको खण्डन गरेको छ । विज्ञप्तिमा कम्पनीले सुधार प्रक्रियाका लागि कानूनी परामर्शदाता भने नियुक्त गरेको बताइएको छ ।  

सन् २०११ मा मात्रै कोडाकको शेयर मूल्यमा ८६ प्रतिशतले कमी आइसकेको बताइन्छ । सन् २०११ मा पूर्णरूपले डिजिटल फोटोग्राफी अँगाल्ने निर्णयका कारण कोडाकले ४० करोड अमेरिकी डलरबराबर घाटा बेहोरिसकेको बताइन्छ । गत मङ्गलबार क्रेडिट रेटिङ एजेन्सी 'मुडिज'ले कोडाकको विशाल ऋणका कारण कम्पनीको रेटिङ घटाएको थियो । त्यसैगरी अर्को क्रेडिट रेटिङ एजेन्सी 'फिच'ले पनि 'मुडिज'कै अनुशरण गर्दै कोडाकको क्रेडिट रेटिङ बुधवार घटाएको थियो । सन् २०१० मा कम्पनीको आम्दानी ७ अर्ब डलर रहेको थियो । एजेन्सी

बेलायतको 'हयाकिङ प्रकरण' 'वाटरगेट' काण्डजस्तै
असोज १४, लण्डन (बेलायत) । पुलिट्जर पुरस्कार विजेता वरिष्ठ अमेरिकी पत्रकार कार्ल बर्नस्टिनले बेलायतको फोन हयाकिङ प्रकरण वाटरगेट काण्डजस्तै भएको बताएका छन् । सन् १९७० दशकको  पूर्वार्द्धमा अमेरिकामा भएको कुख्यात 'वाटरगेट' प्रकरण भण्डाफोर गर्ने दुई पत्रकारहरूमध्येका एक बर्नस्टिनले बिहीवार यी दुई प्रकरणमा असाधारण समानता रहेको उल्लेख गरेका छन् । लण्डनबाट प्रकाशित ँगार्जियन' पत्रिकालाई दिएको एक अन्तरवार्तामा 'वाटरगेट' र बेलायतको प्रकरणमा उच्च तहको भ्रष्टाचार देखिएको र त्यसबाट विशेषगरी सरकारी निकायहरूप्रति आममानिसको विश्वास कमजोर भएको आफूले पाएको उनको भनाइ थियो । वर्तमान परिदृश्यमा मध्य पूर्वदेखि न्यूयोर्क हुँदै ग्रीस, बेलायत र विश्वभर स्थापित संस्थाहरूमा आममानिसको विश्वास कमजोर भएको पाइएको उनले बताए । बर्नस्टिनले बेलायतको फोन हयाकिङ प्रकरणले रुपर्ट मुडकको मिडिया साम्राज्य ध्वस्त बन्नसक्ने चेतावनी पनि दिए । यिनै समानताका कारणले निकै पछिसम्म असर गरिरहने उनले बताए । पत्रिकासँग बोल्दै बर्नस्टिनले आफूले जहिले पनि यस्ता घटनाको 'वाटरगेट' काण्डसँग तुलना गर्ने गरेको उल्लेख गरे । यस्ता प्रकरणले सञ्चारमाध्यमजस्तो  स्वतन्त्र संस्था कसरी भ्रष्ट हुन्छ र त्यसको दूरगामी प्रभाव कस्तो हुन्छ भन्ने एक खालको संवेदनशीलता उत्पन्न गर्ने बर्नस्टिनको कथन थियो । अन्तरवार्तामा बर्नस्टिनले फोन हयाकिङ प्रकरणले बेलायतका राजनीतिज्ञ, नियामक तथा सञ्चारमाध्यमको छविमा नराम्रो क्षति पुर्‍याएको उल्लेख गरे । विश्वका विभिन्न देशमा यस्ता प्रकरणका स्वरूप प्राय: एकै भए पनि कारण भने फरक हुने उनले बताए ।

अमेरिकी पत्रिकाका  पूर्वपत्रकार कार्ल बर्नस्टिनले आफ्ना सहकर्मी बब उडवार्डसँग मिलेर 'वाटरगेट' काण्डको भण्डाफोर गरेका थिए । सन् १९७२ को अमेरिकी राष्ट्रपतीय चुनावताका डेमोक्रयाटिक पार्टीको वाशिङटनस्थित मुख्यालयमा भएको जासुसी र चोरीको उनीहरूले 'द वाशिङटन पोष्ट'मा रिपोर्टिङ गरेपछि तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले राजीनामा दिन बाध्य हुनुपरेको थियो ।        एजेन्सी

जापानी र भियतनामी बैङ्कबीच सम्झौता
असोज १४, जापान । जापानको मिजुहो कर्पोरेट बैङ्कले भियतनामको सबैभन्दा ठूलो बैङ्कको १५ प्रतिशत हिस्सा खरीद गर्ने भएको छ । मिजुहो कर्पोरेट (एमएचसीबी)ले ज्वाइण्ट कमर्सियल बैङ्क फर ट्रेड अफ भियतनाम (भियतकमबैङ्क)सँग ५६ करोड ७० लाख डलरबराबर सम्झौता गरेको छ । परिणामस्वरूप एमएचसीबी भियतकमबैङ्कको सबैभन्दा ठूलो प्राइभेट शेयरहोल्डर हुने छ, जुन भियतनाम सरकारपछिकै ठूलो हुने एमएचसीबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भियतनाम र उसका छिमेकी देशहरूमा वृद्धिको उच्च सम्भावना रहेको एमएचसीबीले बताएको छ । अन्य थुप्रै विदेशी वित्तीय संस्थाहरूले पनि भियतनामको बैङ्कहरूमा रणनीतिक हिस्सा लिएका छन् । अन्य थुप्रै एशियाली देशका दाँजोमा भियतनामका बैङ्कहरूलाई थप पूँजी आवश्यक देखिएको मूडीज इण्भेष्टर सर्भिसले यसै महीना जारी गरेको प्रतिवेदनमा भनेको छ ।

भियतनामी बैङ्कहरूको खराब ऋण आधिकारिक प्रतिवेदनमा उल्लेख खरिएभन्दा निकै बढी रहेको विश्लेषकहरूले बताएका छन् । साथै, देशमा रहेका संघर्षरत् साना वित्तीय संस्थाहरूलाई सुदृढ गरिनुपर्ने उनीहरूको सुझाव छ ।  एएफपी/रासस

मारुति-सुजुकीको श्रम-विवाद समाधान
असोज १४, नयाँ दिल्ली (भारत) । भारतको प्रमुख कारनिर्माता मारुति-सुजुकीस्थित १ महीने लामो श्रम विवाद शनिवार टुङ्गिएको छ । कम्पनीले उत्तरी भारतको मानेसरस्थित कारखानामा कामदारको प्रवेशलाई नै रोक लगाएको थियो ।

विवाद समाधान भएकाले सोमवारदेखि कारखाना पूर्ण रूपले सञ्चालन हुने मारुतिका अध्यक्ष आरसी भार्गवले बताए । कम्पनीले माग गरेजस्तो 'उचित आचरणपत्र’मा हस्ताक्षर गर्न सबै कामदार सहमत भएपछि विवाद सुल्झिएको हो ।  भारतभरिमा विक्री हुनेमध्ये झण्डै आधाजति कार मारुतिले विक्री गर्छ । काम रोकिएको अवधिमा २२ हजारओटा कारबराबर कुल १४ करोड ७० लाख डलर नोक्सान भएको कम्पनीका प्रवक्ताले बताएका छन् । जुन महिनामा पनि श्रम विवादपछि झण्डै दुई हप्ता रोकिँदा ९ करोड ३० लाख डलरबराबरको नोक्सान भएको थियो । श्रम विवादका कारण अगस्त महीनाको विक्री १३ प्रतिशतले खस्केको मारुतिले बताएको छ । एएफपी/रासस

आर्थिक सङ्कटबाट पार पाउने बेलायती उपाय
असोज १४, लण्डन (बेलायत) । बेलायती सरकारले आर्थिक मन्दीबाट पार पाउन नयाँ उपाय फेला पारेको छ- सवारी चालकहरूले राजमार्गहरूमा छिटो गाडी चलाउने । यसबारे बौल्दै बेलायती यातायात मन्त्रालयका सचिव फिलीप हामण्डले बेलायतले अब विश्वव्यापी आर्थिक परिदृश्यमा नयाँ ढङ्गले हेर्दै आफ्ना ५० वर्षपुरानो राजमार्गका गति सीमा परिवर्तन गर्नु आवश्यक भएको उल्लेख गरे । गति सीमा ८० माइल प्रतिघण्टाका दरले बढाउने हो भने त्यसबाट यात्रा अवधि  छोट्टिने र करोडौं पाउण्ड बचत हुने उनले बताए । यसबारे प्रारम्भिक अध्ययन भइसकेको र यो वर्षको अन्त्यतिर यसलाई लागू गर्न सरकारले निर्णयगर्ने हामण्डले बताए । यस्तो कदम सुस्त आर्थिक वृद्धि रहेको बेलायतलाई नै अघि बढाउन सहयोगी हुने उनको भनाइ थियो ।

बेलायतका ठूला राजमार्गमा अहिले अधिकतम गति सीमा ७० माइल प्रतिघण्टा मात्र रहेको छ । यो बेलायतको स्तरमा रहेका अरू थुप्रै देशभन्दा कम हो तर, राजमार्गमा छिटो सवारी साधन दौडाउने सरकारी प्रस्तावको भने वातावरणवादीहरूले विरोध गरेका छन् । वातावरणवादीहरूले यसबाट तेल खपत बढी हुने र कार्बन उर्त्सजन अधिक हुने हुँदा पर्यावरणलाई नोक्सानी हुनसक्ने बताएका छन् । यातायात सचिव हामण्डले प्रत्युत्तरमा गति सीमा बढाउँदा नगण्य असर मात्र हुने दाबी गरे । बेलायतको सत्तारूढ कञ्जरभेटिभ सरकारले यसअघि घोषणा गरिएका सार्वजनिक खर्च कटौतीका योजनालाई असर नपर्ने गरी आर्थिक वृद्धिका उपाय अघि सारिरहेको छ । एएफपी/रासस

Admin 2011-10-02