भारतमा भ्रष्टाचारविरूद्ध वेबसाइट अभियान
वैशाख १४,मुम्बई (भारत) । विगत १२ वर्षदेखि कानपुरका एक व्यापारीले आफ्नो आयकरको धरौटी फिर्ता पाउन प्रत्येक वर्षसरकारी अधिकारीहरूलाई भारू. ५ हजार घूस खुवाउँदै आएका थिए । तर, पहिले र अहिलेमा एउटा फरक भने आएको छ । अब, उनले आफूले दिँदै आएको घूसका बारे आइपेडब्राइब डटकममार्फत सार्वजनिक गरेका छन् । उक्त वेबसाइटमा अरू मानिसहरूले पनि आफूले दिएको घूसबारे जानकारी दिइरहेका छन् । भारतको प्रभावशाली सञ्चारमाध्यम र बलियो हुँदै गइरहेको मध्यमवर्गीयले भ्रष्टाचारविरुद्ध चर्को दबाब सृजना गर्न थालेका छन् । भ्रष्टाचारविरूद्ध हजारौं मानिसहरू सडकमा ओर्लिन थालेका छन् भने अदालतहरूले पनि उच्च तहको भ्रष्टाचारबारे पनि सुनुवाइ गर्न थालेका छन् । त्यसका साथै, सरकारले पनि भ्रष्टाचारविरूद्ध कडा कानून ल्याउने भएको छ ।
उदारीकरणले अल्पकालीन रूपमा भ्रष्टाचार निम्त्याउने वेबसाइटका सञ्चालक रघुनन्दन थोनिपाराम्बिलको दाबी छ । 'मानिसहरूले के बुझेका छैनन् भने उदारीकरण र खुला बजारका लागि नियमनहरूको पनि त्यत्तिकै आवश्यकता हुन्छ’ । निजीकरणले पूवाधारको क्षेत्रमा ठेक्का पाउनका लागि भ्रष्टाचारको बाटो खोलेको रघुको तर्क छ । त्यसका साथै जुनसुकै मूल्यमा पनि जित्न चाहने राजनीतिक दलहरूको दाउले झनै भ्रष्टाचार बढेको उनले दाबी गरे । रघुको वेबसाइटमा आठ महीनाभित्रै ३६ करोड भारू. बराबरको सानासाना घूसका घटना दर्ता भएका छन् । त्यसमध्ये धेरैजसो घूस खुवाइएका घटना पुलिससँग सम्बन्धित छन् । रघुको कामबाट प्रभावित भएर गत नोभेम्बरमा आफ्नो भारत भ्रमणको बेला बाराक ओबामाले समेत रघुसँग भेटघाट गरेका थिए । रघुसँग भारतको प्रतिष्ठित इण्डियन एडमिनिष्ट्रेटिभ सर्भिसमा २६ वर्षकाम गरेको अनुभव छ । जागीर शुरू गरेदेखि नै फाट्टफुट्ट भ्रष्टाचार देखेका रघुले हालका वर्षमा हरेक विभाग भ्रष्टाचारले आक्रान्त भएको बताउँछन् । 'समाजले भ्रष्टाचारको ठूलो मूल्य चुकाउनुपर्छ । भ्रष्टाचारमार्फत ठूलो रकम अयोग्य व्यक्तिहरूतर्फप्रवाह हुन्छ्,’ रघुले भने ।
नोकियाद्वारा ७ हजार कर्मचारी कटौती
वैशाख १४, हेल्सिङ्की (फिनल्याण्ड) । विश्वकै सबैभन्दा ठूलो मोबाइल फोन निर्माता नोकियाले ४ हजारलाई कामबाट हटाउनुका साथै अन्य ३ हजारलाई व्यवस्थापन कम्पनी एक्सेञ्चरमा स्थानान्तरण गर्ने भएको छ । वार्षिक खर्च १ अर्ब ४६ करोड डलरले घटाउने लक्ष्य पूरा गर्न नोकियाले कर्मचारी कटौती गर्ने भएको हो । त्यसअनुसार नोकियाको सिम्बियान सफ्टवेयरसम्बन्धी कार्य एक्सेञ्चरलाई हस्तान्तरण गरिनेछ । एक्सेञ्चरले नोकियाको भावी स्मार्टफोनका लागि सफ्टवेयर सेवा उपलब्ध गराउनेछ ।गत केही वर्षमा नोकियाको स्मार्टफोन बजारमा तीव्र ओरालो लागेको छ । उच्च आय वर्गका ग्राहकप्रति लक्षित स्मार्टफोनको बजार हाल एप्पल र अन्य उत्पादकले ओगटेका छन् । त्यसैले स्मार्टफोन क्षेत्रमा आफ्नो पकड बढाउने उद्देश्यले नोकियाले फेब्रुअरीमा माइक्रोसफ्टसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार, नोकियाले हालको सिम्बियन प्रणालीको साटो माइक्रोसफ्टको सफ्टवेयर प्रयोग गर्नेछ । रोयटर्स
चीनको आर्थिक वृद्धि उत्साहजनक, मूल्यवृद्धि चिन्ताजनक
वैशाख १४, साङ्र्घाई/बेइजिङ (चीन) । चीनको अर्थतन्त्र २०११ को दोस्रो त्रैमासमा ९ दशमलव ६ प्रतिशतले बढ्ने सम्भावना देखिएको छ । यसरी चिनियाँ अर्थतन्त्रले दोस्रो त्रैमासमा पनि पहिलो त्रैमासकैजस्तो उत्साह कायम राख्ने एक सरकारी विज्ञ परिषद्को प्रतिवेदनले देखाएको छ । त्यसबाट आफ्नो विशाल अर्थतन्त्र मौद्रिक नीतिको कडाइका असरलाई धान्न सक्षम रहेको चिनियाँहरूको आत्मविश्वास पनि प्रतिविम्बित भएको छ । पहिलो त्रैमासमा २ प्रतिशतले ब्याजदर वृद्धि हुँदा पनि ९ दशमलव ७ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो । तर, त्यस्तो उत्साहजनक आर्थिक वृद्धिले गराइरहेको वस्तुको मूल्यवृद्धि भने चिनियाँ नेताहरूका लागि टाउको दुखाइ बनेको छ ।
स्टेट इन्फर्मेशन सेण्टरले दोस्रो त्रैमासमा उपभोक्ता मूल्य परिसूचक ५ प्रतिशतले उक्लिने अनुमान गरेको छ । त्यसैगरी, चीनको प्रमुख आर्थिक निकाय राष्ट्रिय विकास तथा सुधार आयोगका वरिष्ठ अनुसन्धानकर्ता चेन डोङ्कीले ४ दशमलव ५ प्रतिशतको दरले मूल्यवृद्धि हुने बताएका छन् । यसरी, मूल्यवृद्धिले ४ प्रतिशतको सरकारी लक्ष्यलाई नाघ्ने भएको छ । उपभोक्ता मूल्यलाई धेरै बढ्न नदिन चीनले यस वर्ष एकपटक फेरि २५ आधार अङ्कले ब्याजदर बढाउने अपेक्षा धेरै विश्लेषकहरूले राखेका छन् । रोयटर्स
कम ग्यास उत्पादन गरेकोमा रिलायन्सलाई दण्ड
वैशाख १४, नयाँ दिल्ली (भारत) । भारत सरकारले ग्यासको लक्षित उत्पादन पूरा गर्न नसकेकोमा रिलाएन्स इण्डष्ट्रिजलाई दण्डित गर्ने भएको छ । मुम्बई हाइफिल्डपछि देशकै दोस्रो ठूलो डी सिक्स ब्लकबाट लक्षित उत्पादन नगरेकोमा रिलायन्सलाई दण्ड दिइने तेल मन्त्रालयको एक स्रोतले बुधवार बताएको छ । उक्त क्षेत्रबाट उत्पादित ग्यास आपसी सहमतिमा तय गरिएको मूल्यमा सरकारद्वारा प्राथमिकताप्राप्त क्रेतालाई विक्री गरिन्छ । त्यस क्षेत्रबाट रिलायन्सले आफूले प्रतिबद्धता गरेको भन्दा २८ प्रतिशत कम ग्यास उत्पादन गरिरहेको माथिल्लो नियामकले यस महीनाको शुरूतिर बताएको थियो । हालसालै रिलायन्सले बहुराष्ट्रिय तेल कम्पनी बीपीसँग ग्यास क्षेत्रको विकासका लागि सहमति गरेको थियो ।
'यसबारे अहिले अध्ययन भइरहेको छ । माथिल्लो नियामक निकायले यसमा छानबिन गरिरहेको छ,’ स्रोतले बतायो । रिलायन्सले आफूले प्रतिबद्धता गरेको कार्य योजना पूरा नगरेकोमा दण्डित गरिन्छ कि भन्ने प्रश्नको उत्तरमा स्रोतले उक्त जानकारी दिएको हो । त्यस्तो दण्ड वा जरीवाना के हुनेछ भन्ने बारे भने केही खुलाइएको छैन । उता, रिलायन्सले पनि त्यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । रोयटर्स
दीर्घरोगबाट राष्ट्रिय अर्थतन्त्रमै चुनौती आउने डब्लूएचओको चेतावनी
वैशाख १४, लण्डन (ब्रिटेन) । क्यान्सर, मुटुरोग र डाइबिटिजजस्ता दीर्घ रोग अन्तरराष्ट्रिय रूपमै महामारीको स्तरमा पुगिसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले चेतावनी दिएको छ । बाँकी सबै रोगबाट हुने कुल मृत्युलाई समेत यी तीन दीर्घ रोगबाट हुने मृत्युको सङ्ख्याले नाघिसकेको डब्लूएचओको प्रतिवेदनले भनेको छ । २००८ मा भएको कुल मृत्युका आधाभन्दा बढी असङ्क्रामक अथवा नन कम्युनिकेबल डिजिजेज (एनसीडी)बाट भएका थिए ।त्यसैले त्यस्ता दीर्घ रोग मलेरिया, एचआईभी र टीबीजस्ता सरुवा रोगभन्दा पनि चुनौतीपूर्ण हुन पुगेका छन् । दीर्घ रोगको महामारीले सबै देशको अर्थतन्त्रमा पनि ठूलो असर पर्ने डब्लूएचओको चेतावनी छ । कतिपय देशका लागि दीर्घ रोग प्रकोपकै रूपमा देखिइसकेको छ । यसबाट स्वास्थ्य र समाजका साथै राष्ट्रिय अर्थतन्त्रमै सङ्कट आउन सक्छ,’ प्रतिवेदनले भनेको छ । रोयटर्स
चीनमा २६ टन प्रदूषित दूध जफत
वैशाख १४, बेइजिङ (चीन) । चिनियाँ प्रहरीले २६ टनभन्दा बढी मेलामाइन प्रदूषित दूध जफत गरेको छ । दक्षिणपश्चिमी शहर चोङकिङस्थित एक आइसक्रिम कारखानाबाट उक्त दूध जफत गरिएको सञ्चारमाध्यमले बताएका छन् । दूधमा औद्योगिक रसायन मेलामाइनको प्रदूषणबाट ३ वर्षअघि ६ जनाको मृत्यु हुनुका साथै हजारौं बिरामी परेका थिए ।उक्त आइसक्रिम निर्माता कम्पनीले अर्को एक शहर ग्वाङ्जीबाट बजार मूल्यभन्दा कम दाममा प्रदूषित दूध किनेको थाहा भएको छ । भित्री मङ्गोलियादेखि सुदूर उत्तर क्षेत्रमा उत्पादन भएको प्रदूषित पाउडर दूध पहिलोपटक २००९ मा ग्वाङ्जीस्थित कम्पनीलाई बेचिएको थियो । तीन कम्पनीका कम्पनी म्यानेजरहरूलाई पक्राउ गरिएको सिन्ह्वाले बताएको छ । रोयटर्स
द. कोरियाको अर्थतन्त्र नौ त्रैमाससम्म लगातार वृद्धि
वैशाख १४, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाले यस वर्षको पहिलो त्रैमासमा निर्यात र म्यानुफ्याक्चरिङ क्षेत्रमार्फत उच्च आर्थिक वृद्धि हासिल गरेको छ । मार्च ३१ मा सकिएको ३ महीनामा कुल गार्हस्थ्य उत्पादनमा १ दशमलव ४ प्रतिशतले विस्तार भएको बैङ्क अफ कोरियाले बताएको छ । यसप्रकार दक्षिण कोरियाले लगातार नौओटा त्रैमाससम्म आर्थिक वृद्धि हासिल गरेको छ ।तर, त्यसका साथै छिमेकी चीन र अन्य देशमा जस्तै खाद्यवस्तु र पेट्रोलको मूल्यवृद्धिले दक्षिण कोरियाली उपभोक्ता खर्च पनि बढेको छ । दक्षिण कोरियाको मार्चको मूल्यवृद्धि दर साढे दुइ वर्षयताकै उच्च रहन पुगेको छ । त्यहाँको केन्द्रीय बैङ्कले गत जुलाईदेखि चारपटक ब्याजदर बढाइसकेको छ । दक्षिण कोरिया एशियाकै चौथो ठूलो अर्थतन्त्र हो । एपी/रासस
अमेरिकी महिलाले शिक्षामा पुरूषलाई उछिने
वैशाख १४, वाशिङटन (अमेरिका) । अमेरिकामा पहिलो पटक उच्च शिक्षाको क्षेत्रमा महिलाले पुरूषलाई उछिनेका छन् । स्नातक तथा त्यसभन्दा पनि उच्च कलेज डिग्रीमा समेत महिलाहरूले पुरुषलाई उछिनेका हुन् । २५ वर्ष वा त्यसभन्दा बढी उमेरका १ करोड ६ लाख अमेरिकी महिलाहरूसँग माष्टस डिग्री वा त्यो भन्दा पनि उच्च शिक्षा छ । जबकि त्यस्ता पुरुषहरूको सङ्ख्या १ करोड ५ लाख मात्र छ । अब कसले काम गर्ने र कसले घर बसेर केटाकेटी हेर्ने भन्ने विषयमा बहस चल्ने देखिन्छ ।अमेरिकामा १९८० को दशकदेखि नै पुरुषभन्दा बढी महिला कलेजमा भर्ना हुन थालेका थिए । मङ्गलवार प्रकाशित तथ्याङ्कले उच्च ड्रि्री प्राप्त गर्नेमा पनि महिलाहरू अघि देखिएका छन् । त्यससँगै रोजगार क्षेत्रमा पनि उल्लेखनीय रूपले महिलाहरूको उपस्थिति बढ्नुका साथै घरै बस्ने आमाहरूको सङख्यामा तीव्र कमी आएको छ ।
महिलाहरूको उच्च शिक्षाले रोजगारका साथै घर र कार्यक्षेत्रमा परम्परागत लैङ्गिक मान्यता समेत परिवर्तन भइरहेको छ । एउटा तथ्याङ्क अनुसार, घरै बसेर केटाकेटीको हेरचाह गर्ने पुरुषको सङ्ख्या गतवर्ष झण्डै २० लाख पुगिसकेको छ । अर्थात्, १५ अमेरिकी बुबामध्ये एक जना बुबाले घरै बसेर केटाकेटी हेर्छन् ।स्नातक तथा त्यो भन्दा पनि उच्च ड्रि्रीमा महिलाको सङ्ख्या बढ्नुले आगामी मन्दीका बेला महिलाहरू बढी सुरक्षित रहने प्रोफेशर मार्क पेरीको धारणा छ । 'अब अझ बढी पुरुषले घरै बसेर केटाकेटी हुर्काउने काम गर्नेछन्,’ पेरीले भने । एपी/रासस
Admin 2011-04-28