शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चीनको पानी र ऊर्जा बचतको नयाँ लक्ष्य

चैत १४, बेइजिङ (चीन) । चीनले कार्बन उर्त्सजन नियन्त्रण गर्न र कार्यकुशलतामा सुधार ल्याउन ऊर्जा र पानीको उपयोगमा नयाँ लक्ष्य निर्धारण गरेको छ । त्यसअन्तर्गत यस वर्षप्रतिएकाइ आर्थिक उत्पादनमा लाग्ने ऊर्जा र कार्बन उर्त्सजन ४ प्रतिशत घटाउने लक्ष्य चीन सरकारले राखेको छ । त्यसैगरी प्रतिएकाइ आर्थिक उत्पादनमा लाग्ने पानी यसै वर्षभित्र ७ प्रतिशत कम गर्ने लक्ष्य रहेको उद्योग तथा सूचनाप्रविधि मन्त्रालयका एक अधिकारीले बताए ।चीन सरकारले प्रतिआर्थिक एकाइमा लाग्ने ऊर्जा ५ वर्षभित्र २० प्रतिशतले घटाउने लक्ष्य गतवर्ष सफलतापूर्वक पूरा भएको बताएको छ । विश्वव्यापी तापक्रमवृद्धिको सामना गर्न ऊर्जाको कार्यक्षमता बढाउने चीनको प्रतिबद्धतालाई महत्त्वपूर्ण मानिएको थियो । चीनले विश्वकै सबैभन्दा ठूलो हरितगृह ग्यास उर्त्सजक देशका रूपमा अमेरिकालाई पनि उछिनिसकेको छ । विगतका तीन दशक चीनको आर्थिक विकास श्रम र ऊर्जामा निर्भर रहेकाले उसको हरितगृह ग्यास उत्पादन पनि बढेको हो । आगामी ५ वर्षमा चीनले कुल गार्हस्थ्य उत्पान प्रतिएकाइमा लाग्ने ऊर्जा खपत र कार्बन उर्त्सजनलाई १८ प्रतिशतले घटाउने लक्ष्य राखेको छ । एपी/रासस

जापानी र कोरियाली कम्पनीको संयुक्त लगानी

चैत १४, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली सामसुङ र्एलईडी र जापानको सुमितोमो केमिकलले संयुक्त लगानी गर्ने सोमवार बताएका छन् । चेप्टो आकारको फ्ल्याट स्क्रीन निर्माणमा महत्त्वपूर्ण रहने सफायर वेफरको उत्पादनका लागि ती दुई कम्पनीले संयुक्त लगानी गर्ने भएका हुन् । ५०/५० प्रतिशत हिस्स रहने उक्त संयुक्त लगानीको लागत ७ करोड २० लाख डलर हुनेछ । आगामी वर्षको शुरूबाटै उत्पादन थालिने सामसुङ एलईडीले एक विज्ञप्तिमा भनेको छ ।सामसुङ इलेक्ट्रोनिक्ससँग सम्बद्ध सामसुङ र्एलईडीले लाइट इमिटिङ डायोडको बढ्दो मागलाई पूरा हुने अपेक्षा गरेको छ । जापानमा मार्च ११ मा आएको भूकम्प र सुनामीपछि विश्वव्यापी रूपमा वेफरको कमी भएको छ । उक्त विपत्तिबाट सिलिकन वेफरको विश्वव्यापी उत्पादनमा एक चौथाइले कमी आएको छ । तर, हालको संयुक्त लगानी जापानको भूकम्प र सुनामीसँग सम्बन्धित नरहेको सुमितोमो केमिकलका प्रवक्ताले बताएका छन् । एएफपी/रासस

भारतमा भूकम्पको जोखिम : भ्रष्टाचार जिम्मेवार

जापानको जस्तै भूकम्प आयो भने नेपालका घर तथा भवनहरू कत्तिको सुरक्षित होलान् ? भारतमा भने दिल्ली सरकारले भूकम्पबाट भवनहरूमा हुनसक्ने क्षतिबारेको जोखिम सार्वजनिक गरेको छ । रोयर्टसले दिएको समाचारअनुसार, जापानको जस्तै भूकम्प दिल्लीमा आयो भने त्यसको क्षति अकल्पनीय हुने विशेषज्ञहरू बताउँछन्  । दिल्लीका ६ दशमलव ५ प्रतिशत घर उच्च जोखिममा छन् भने ८५ दशमलव ५ प्रतिशत घर मध्यम जोखिममा छन् । उक्त तथ्याङ्क ८ रेक्टर स्केलको भूकम्प र १९९७ को जोखिम नक्सालाई आधार मानेर अनुमान गरिएको हो ।   भारतको भवन निर्माण आचारसंहिता अनुसार, भूकम्पीय जोखिमअनुसार भारतलाई पाँच भूकम्पीय क्षेत्रमा बाँडिएको छ । सबैभन्दा जोखिमपूर्ण पाँचौं क्षेत्रमा गुवाहाटी, श्रीनगर, कोहिमाजस्ता क्षेत्र छन् । दिल्ली, चण्डीगढ, अमृतसरजस्ता क्षेत्र चौथो जोखिमयुक्त क्षेत्र हुन् । मुम्बई, कोलकाता, आगराजस्ता क्षेत्र तेस्रो स्थानमा पर्छन् । बैङ्गलोर र हैदराबाद भने सबैभन्दा कम जोखिमयुक्त पहिलो स्थानमा रहेका छन् । भारतमा पनि आचारसंहिताअनुसार भवन निर्माण नहुनुको पछाडि चरम भ्रष्टाचार नै जिम्मेवार रहेको मानिन्छ ।

चिनियाँ बैङ्कको नाफामा २६ प्रतिशतले वृद्धि

चैत १४, बेइजिङ (चीन) । चीनको दोस्रो ठूलो ऋणदाता चाइना कन्ष्ट्रक्शन बैङ्क कर्पोरेशनले उसको गतवर्षको कुल नाफा २६ प्रतिशत बढेको बताएको छ । ब्याजदरको वृद्धि र कमिशनबाट भएको आम्दानीले नाफा बढेको बैङ्कले बताएको छ । ब्याजदरबाट हुने आम्दानीमा १९ प्रतिशतले र कमिशनबाट हुने आम्दानीमा ३८ प्रतिशतले वृद्धि भएको छ ।२००९ मा उक्त सरकारी बैङ्कले १५ प्रतिशतले नाफा गरेको थियो । यसप्रकार उसको १ वर्षपछिको नाफा झण्डै दोब्बरले बढेको देखिएको छ । तर, यो वर्षभने बैङ्कले ऋण दिन केही कम गर्ने बताएको छ । बेइजिङले मूल्यवृद्धिको सामना गर्ने तथा अर्थतन्त्रलाई चिस्याउने प्रयास गरिरहेको छ । चीन सरकारले उसको आर्थिक ढाँचालाई लगानी र निर्यातको साटो खपत अभिवृद्धिमा आधारित बनाउँदै जाने योजना लिएको छ । त्यसबाट आगामी दिनमा अवसर र चुनौती दुवै रहने बैङ्कको मूल्याङ्कन छ । एएफपी/रासस

गूगलद्वारा मोबाइल भुक्तानी प्रणालीको विकास

गूगलले सिटीग्रूप र माष्टरकार्डसँगको सहकार्यमा मोबाइलबाट भुक्तानी गर्ने प्रणाली ल्याउने भएको छ । त्यसपछि एण्ड्रोइड प्रणालीका मोबाइलबाटै कुनै पनि वस्तु र सेवाको पैसा तिर्न सकिने वाल स्ट्रीट जर्नलले जानकारी दिएको छ । प्राथमिक चरणमै रहेको नयाँ प्रविधिबाट उपभोक्ताले आफ्नो एण्ड्रोइड फोनलाई एउटा रिडर अगाडि हल्लाएपछि काउण्टरमा पैसा तिर्न सक्नेछन् ।त्यस्तो भुक्तानी प्रणालीबाट गूगलले खुद्रा विक्रेताहरूलाई तिनका ग्राहकबारे थप जानकारी दिन सक्नेछ । त्यसबाट ती विक्रेताले विज्ञापन र छूटसम्बन्धी सूचना आफ्नो पसलनजिक रहेका मोबाइल प्रयोगकर्तालाई पठाउन सक्नेछन् । प्रारम्भिक चरणमा सिटीग्रूपले जारी गरेको डेबिट र क्रेडिट कार्ड होल्डरले मोबाइल भुक्तानी सेवामार्फत वस्तु र सेवा खरीद गर्न सक्नेछन् । रोयटर्स

Admin 2011-03-29