शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

जापानद्वारा रेयर अर्थ्सका लागि अनुदान 

फागुन १४, टोकियो (जापान) । जापानले रेयर अर्थ्स उत्पादनका लागि (४२ अर्ब येन) ५१ करोड ३० लाख डलर अनुदान दिने शुक्रवार बताएको छ । चीनबाट आउने रेअर अर्थ्समा रहेको निर्भरता एक तिहाइले घट्ने अपेक्षाका साथ त्यस्तो अनुदान दिन लागिएको हो । जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयका अधिकारीका अनुसार रेयर अर्थ्स उत्पादनका लागि १ सय ६० ओटा निजीक्षेत्रका कम्पनीलाई ३३ अर्ब १० करोड येन दिइनेछ । बाँकी ८ अर्ब करोड येन भने यस वर्षको अन्त्यमा अन्य परियोजनामा खर्च गरिनेछ ।  

रेअर अर्थ्स प्रविधिको विकास, पुनर्प्रयोग, तथा वैकल्पिक स्रोतको विकासका लागि कम्पनीहरूले अनुदान खर्च गर्नेछन् । 'भविष्यमा रेअर अर्थ्सको खपतमा वार्षिक १० हजार टनले कमी आउने आशा राखेका छौं' मन्त्रालयको एक वक्तव्यमा भनिएको छ । अहिले जापानमा वार्षिक ३० हजार टन रेयर अर्थ्सको माग छ । अनुदानबाट निजीक्षेत्रका अन्य कम्पनीलाई समेत प्रोत्साहन हुने  मन्त्रालयको भनाइ छ । रेयर अर्थ्सको उत्पादन क्षमता विकासमा १ खर्ब १० अर्ब येनसम्म लगानी गर्न सकिने मन्त्रालयले बताएको छ ।  विश्वमा चीनले सबैभन्दा धेरै रेयर अर्थ्स उत्पादन गर्छ । यसमा चीनको हिस्सा करीब ९० प्रतिशतभन्दा बढी छ । कार, मिसाइल, विण्ड टर्बाइनलगायतका थुप्रै उत्पादनमा रेयर अर्थ्सको प्रयोग गरिन्छ । बेइजिङले भने रेअर अर्थ्स उद्योगमाथि नियन्त्रण बढाएको छ । धेरै प्रदूषण गर्ने  उत्पादकमाथि कारबाही, वैदेशिक निर्यात कोटामा कटौती र उच्च निर्यात करजस्ता उपायमार्फत बेइजिङले नियन्त्रण बढाएको हो ।गत वर्ष चीनले जापानतर्फो रेअरअर्थ्स आपूर्तिलाई अस्थायी रूपमा बन्द गरिदिएको जापानी उद्योग सूत्रले बताएका छन्  । तर, चीनले भने निर्यातमा बाधा पुर्‍याएको कुरालाई अस्वीकार गरेको छ ।              एएफपी/रासस

भारतमा घूस आरोपमा नाल्को अध्यक्ष पक्राउ

फागुन १४, नयाँ दिल्ली (भारत) । भारतको केन्द्रीय अनुसन्धान आयोग (सीबीआई)ले राज्यनियन्त्रित नेशनल आलुमिनियम कम्पनी लिमिटेड (नाल्को)का अध्यक्षलाई पक्राउ गरेको छ । नाल्कोका अध्यक्ष एके श्रीवास्तवलाई घूस खाएको आरोपमा पक्राउ गरिएको हो । भ्रष्टाचार काण्डहरूले समस्याग्रस्त सरकारलाई उनको पक्राउले झनै समस्या पार्ने देखिएको छ । नाल्को भारतको तेस्रो ठूलो आलुमिनियम उत्पादक हो । श्रीवास्तवलाई आफ्नी श्रीमतीमार्फत ३ किलो सुन घूस लिएको आरोप छ । श्रीवास्तवकी श्रीमतीलाई पनि पक्राउ गरिएको छ । दुवै जनाबाट थप सात किलो सुन र लगभग ३० लाख भारू. फेला परेको सीबीआईले बताएको छ । रोयटर्स

रूसमा सङ्कटपछिकै पहिलो ब्याजदर वृद्धि

फागुन १४, मस्को (रूस) । रूसको केन्द्रीय बैङ्कले ब्याजदरमा शून्य दशमलव २५ प्रतिशतले बढाएर ८ प्रतिशतमा पुर्‍याउने घोषणा शुक्रवार गरेको छ । रूसमा गर्न लागिएको त्यस्तो वृद्धि २ वर्षअघिको आर्थिक सङ्कटपछिकै पहिलो हो । बैङ्क अफ रशियाका अनुसार ब्याजदरमा गरिएको हालको वृद्धि  सोमवारदेखि लागू हुनेछ । मूल्यस्फीति उच्च हुनुका साथै विश्वव्यापी रूपमा तेलको मूल्य बढेकाले ब्याजदर बढाउन आवश्यक भएको बैङ्कले दाबी गरेको छ ।यसअघि आर्थिक सङ्कट शुरू हुनै लाग्दा २००८ डिसेम्बरमा ब्याजदर बढाइएको थियो । त्यसपछि सुस्त अर्थतन्त्रलाई गति दिन बैङ्कले १४ पटक ब्याजदर घटाइसकेको छ । सोभियत सङ्घको विघटनपछि नै रूसमा ठूलो मूल्यस्फीति देखिएको थियो । त्यस्तो मूल्यस्फीतिलाई नियन्त्रण गर्न गतवर्षेखि प्रधानमन्त्री भ्लादिमिर पुटिनको सरकारले सक्दो प्रयास गरिरहेको छ । तर, गर्मीयामको तातो हावा र आगलागीले एक चौथाइभन्दा बढी बाली नष्ट भएपछि मूल्यस्फीतिको चिन्ता फेरि बढेको छ । फेब्रुअरी २१ सम्मको १ वर्षको मूल्यस्फीति अघिल्लो वर्षो भन्दा ९ दशमलव ७ प्रतिशतमा रहेको बैङ्कले बताएको छ ।     एफपी/रासस

खाद्यवस्तुको मूल्यवृद्धि हुनुमा आपूर्ति समस्याः आरबीआई

फागुन १४, भुवनेश्वर (भारत) । भारतमा खाद्यवस्तुको मूल्यमा भइरहेको चर्को वृद्धिको पछाडि आपूर्तिसँग सम्बन्धित दबाब रहेको त्यहाँको केन्द्रीय बैङ्कले दाबी गरेको छ । मूल्य वृद्धिका लागि आफू जिम्मेवार नरहेको भन्ने पनि रिजर्भ बैङ्क अफ इण्डिया (आरबीआई)का गभर्नरले बताएका छन् । भारतमा भइरहेको खाद्यवस्तुको मूल्यवृद्धि एशियाकै उच्चमध्ये हो ।राम्रो बाली भए तापनि गत वर्ष खाद्यवस्तुमा दोहोरो अङ्कले मूल्यवृद्धि भएको थियो । फेब्रुअरी १२ सम्मको १ वर्षमा खाद्यवस्तु मूल्य परिसूचक १२ दशमलव १४ प्रतिशतले उक्लिएको बिहीवार प्रकाशित सरकारी तथ्याङ्कले देखाएको छ । तर, त्यस्तो मूल्यवृद्धिका लागि आरबीआई जिम्मेवार नभएकाले आपूर्तिका क्षेत्रमा सुधार गर्नुपर्ने गभर्नर डुभ्भुरी सुब्बाराओले सुझाव दिएका छन् । भारतमा थोकवस्तु मूल्य परिसूचकलाई चासोका साथ हेरिन्छ । यो परिसूचक पनि जनवरीमा गतवर्षको सोही महीनामा भन्दा ८ दशमलव २३ प्रतिशतले बढेको थियो ।चर्को महँगी नियन्त्रण गर्न आरबीआईले १ वर्षभित्र सातपटक ब्याजदर बढाइसकेको छ । साथै आगामी मार्चमा पनि फेरी ब्याजदर बढाइने सम्भावना छ । महँगीको प्रतिरोधमा सबैभन्दा पहिले मौद्रिक नीतिमाथि ध्यान केन्द्रित हुन्छ । 'मानिसहरूले मूल्यस्फीतिको अपेक्षा गर्छन्, जसका कारण साच्चै नै मूल्यस्फीति हुने गर्छ । त्यस्तो मूल्यस्फीतिको मनोविज्ञानलाई नियन्त्रण गर्न आरबीआईले कदम चाल्नुपर्ने हुन्छ । त्यसैले नै गत १ वर्षदेखि हामी सक्रिय छौं’ सुब्बाराओले भने ।        रोयर्टस  

स्पेनमा गतिसीमा घटाएर पेट्रोल बचत

फागुन १४, म्याडि्रड (स्पेन) । लिबियाको अस्थिरताले तेलको मूल्य चर्किंदै गएपछि स्पेनले तेलको खपत घटाउन नयाँ उपाय चाल्ने भएको छ । आपत्कालीन ऊर्जा बचतअन्तर्गत त्यस्तो कार्यक्रम ल्याइने भएको छ । जसअन्तर्गत, राजमार्गको उच्च गतिसीमालाई घटाउने, ट्रेनको भाडा घटाउने र जैविकइन्धनको प्रयोग गर्नेजस्ता कार्यक्रम छन् । स्पेनमा खपत हुने तेलको झण्डै १३ प्रतिशत लिबियाबाट आउने गर्छ । तत्कालै इन्धनको समस्या नभए तापनि पेट्रोलियम पदार्थमा भइरहेको उच्च मूल्यवृद्धिले राष्ट्रिय ऊर्जा खर्च बढ्ने त्यहाँका उपप्रधानमन्त्रीले बताएका छन् ।  

आपत्कालीन नयाँ उपायअन्तर्गत राजमार्गको हालको उच्च गतिसीमा १ सय २० किमि प्रतिघण्टालाई घटाएर १ सय १० किलोमिटर प्रतिघण्टामा झारिनेछ । गति कम भएपछि तेलको खपत पनि कम हुने उपप्रधानमन्त्री अल्फ्रेडो पेरेज रिबाल्काबाले बताएका छन् । नयाँ गतिसीमाबाट पेट्रोलबाट चल्ने कारको इन्धन खपतमा पहिलेको भन्दा १५ प्रतिशत कमी आउने रिबाल्काबाको दाबी छ । तर, म्याडि्रडका एक टयाक्सी चालक बेनितोले भने त्यसलाई हास्यास्पद बताएका छन् । 'गतिसीमालाई १० किलोमिटर प्रतिघण्टाले घटाउँदैमा इन्धन बचत हुने कुरा तर्कसङ्गत छैन,’ बेनितोले भने । इन्धन बचतका अन्य योजनामा ट्रेनको भाडादर घटाउने र  जैविक इन्धनको मात्रा बढाउने आदि छन् । पेट्रोल र डिजेलमा मिसाइने जैविक इन्धनको अनिवार्य मात्रालाई हालको ५ दशमलव ८ बाट बढाएर ७ प्रतिशतसम्म पुर्‍याइने भएको छ ।            एपी/रासस

असाञ्ज सहभागी हुने सम्मेलन बुशद्वारा अस्वीकार

फागुन १४, वाशिङटन (अमेरिका) । पूर्वअमेरिकी राष्ट्रपति जर्ज बुशले व्यापारिक नेताहरूको एउटा सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम शुक्रवार रद्द गरेका छन् ।  ब्रिटेनको डेन्भरमा हुन लागेको उक्त सम्मेलनमा विकिलीक्सका संस्थापक जुलियन असाञ्जलाई पनि आमन्त्रण गरिएको भन्दै बुशले आफ्नो सम्बोधन रद्द गरेका हुन् । असाञ्ज अहिले ब्रिटेनमा घरेलु नजरबन्दमा राखिएका छन् ।यौन दुर्व्यवहारको मुद्दा चलाउन असाञ्जलाई सुपुर्दगी गर्नुपर्ने माग स्वीडेनले गरेको छ । असाञ्ज भने आफूलाई सुपुर्दगी नगरियोस् भन्दै ब्रिटेनमा मुद्दा लडिरहेका छन्  । असाञ्जलाई पनि सम्मेलनमा बोलाइएको थाहा पाएपछि बुशले आफ्नो सम्बोधन रद्द गरेको उनका प्रवक्ताले बताएका छन् । तर, असाञ्जलाई उनको मुद्दामा सहयोग गरिरहेका एक ब्रिटिश वकिलले असाञ्ज पनि उक्त कार्यक्रमा सहभागी नहुने बताएका छन् । रोयटर्स

जापानको उपभोक्ता मूल्यसूची तल झर्‍यो

फागुन १४, टोकियो (जापान) । जापानको उपभोक्ता मूल्य जनवरीमा २३औं महीनासम्म लगातार तल झरेको छ । यसबाट हाल विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानमा विस्फीति जारी नै रहेको देखिन्छ । तर, विश्वव्यापी रूपमा तेल खाद्यवस्तुको भाउ चर्किएकाले जापानको उपभोक्त मूल्य घट्ने दरमा पनि कमी आएको छ ।ताजा खाद्यवस्तुबाहेकको उपभोक्ता मूल्यसूची शून्य दशमलव २ प्रतिशतले तल झरेको जापान सरकारले बताएको छ । क्योदो समाचार समितिले भने औसत शून्य दशमलव ३ ले घट्ने अनुमान गरेको थियो । त्यसैले घट्ने दरमा भने केही सुधार देखिएको सङ्केत मिलेको छ । पुनर्बहालीका लागि संघर्षरत जापानी अर्थतन्त्रका लागि विस्फीति प्रमुख समस्यामध्ये हो । मूल्य घट्दा व्यक्तिको खरीदक्षमता बढ्ने भए पनि त्यसले समग्र अथतन्त्रलाई भने नोक्सान गर्छ ।
एपी/रासस

गूगलको सर्च इञ्जिन परिमार्जन

फागुन १४, न्यूयोर्क (अमेरिका) । गूगलले उसको सर्च इञ्जिनलाई थप परिमार्जन गर्ने भएको  छ । गुणस्तरहीन सामग्रीलाई आफ्नो सर्च इञ्जिनबाट हटाउन गुगलले नयाँ विधि ल्याउने भएको हो । यसबाट कम गुणस्तरका वेबसाइटहरूको र्‍याङ्किङ घट्ने गूगलले बताएको छ । अब आलोचकहरूले 'कण्टेण्ट फार्म’ भन्ने इहाउ डट कमजस्ता साइटको र्‍याङ्क घट्नेछ । त्यस्ता साइटले अनावश्यक र नक्कल सामग्री राखेर गुगल सर्चमा माथिल्लो स्थान पाउँदै आएका आलोचकहरूको आरोप छ । नयाँ प्रणालीबाट मौलिक र महत्त्वपूर्ण सूचना भएका साइटले प्रमुखता पाउने गूगलले दाबी गरेको छ । एपी/रासस

Admin2011-02-27