शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अमेरिकी सिनेटद्वारा ऋण विधेयक अस्वीकृत

साउन १४, वाशिङ्टन (अमेरिका) । डेमोक्रयाट्स बाहुल्य रहेको अमेरिकी सिनेटले ऋणको सिलिङ बढाउने विषयमा प्रस्तुत विधेयकलाई अस्वीकार गरिदिएको छ । यसअघि रिपब्लिकन बाहुल्य रहेको तल्लो सदनले भने उक्त विधेयकलाई पारित गरेको थियो । रिपब्लिकन सभामुख जोन बोएन्हरले प्रस्तुत गरेको विधेयकलाई सिनेटले ५९-४१ को मतले  अस्वीकार गरेको हो ।आउँदो मङ्गलवारको समयसीमा सकिएपछि पनि वाशिङ्टनले ऋण तिर्न सकोस् भन्ने उद्देश्यले दुई चरणमा ऋणको सिलिङ बढाउने प्रस्ताव विधेयकमा गरिएको थियो ।  अमेरिकाको ऋण मे १६ सम्ममा १४ दशमलव ३ टि्रलियन डलर पुगिसकेको छ । सरकारले खर्च र लेखाको समायोजनका साथै अपेक्षाभन्दा पनि उच्च करबाट काम चलाइरहेको छ, तर उसले आउँदो मङ्गलवारसम्म मात्र त्यस्ता उपाय अपनाउन सक्नेछ ।

समयमा ऋण भुक्तानी गर्न नसके कमजोर अमेरिकी अर्थतन्त्रमा झनै सङ्कट आउने व्यापारिक र वित्तीय क्षेत्रका नेताहरूले चेतावनी दिएका छन् । २००८ को विश्वव्यापी मन्दीपछि अमेरिकाले अझै पनि उच्च बेरोजगारीको सामना गरिरहेको छ । यसमयमा ऋण भुक्तानी गर्न नसके अमेरिकाको हालको एएए क्रेडिट रेटिङ पनि गुम्नेछ ।लगानीकर्ताहरूमा देखिएको चिन्ताका कारण सुरक्षित मुद्रा स्वीस फ्र्याङ्कको तुलनामा अमेरिकी डलर हालसम्मकै कमजोर हुन पुगी प्रतिडलर बराबर ० दशमलव ७८६४ स्वीस फयाङ्क हुन पुगेको छ । त्यसैगरी, शुक्रवार डाओ जोन्स इण्डष्ट्रियल एभरेज थप ० दशमलव ८ प्रतिशतले ओर्लेर पाँच दिनभित्र कुल ४ दशमलव २ प्रतिशतले ओर्लिसकेको छ । यसैबीच राष्ट्रपति बाराक ओबामाले हालको ऋण समस्यालाई छिट्टै नसुल्झाए अमेरिकी अर्थतन्त्रमा सङ्कट गहिरिने भएकाले छिट्टै सहमतिमा आउनुपर्नेमा जोड दिएका छन् ।        एएफपी/रासस

अतिवादीहरूले ग्यास पाइपलाइन उडाए

साउन १४, एलअरिस (इजिप्ट) । इजिप्टको उत्तरी सिनाई उपमहाद्वीप हुँदै इजरायल लगिएको प्राकृतिक ग्यासको पाइपलाइनलाई त्यहाँको बन्दुकधारीहरूले पड्काइदिएका छन् । यो पाइपलाइनमाथि १ महीनाभित्र भएको तेस्रो र होस्नी मुबारकको सत्ता पल्टिएपछाडि पाँचौं आक्रमण हो । यो पाइपलाइनमार्फत गत जुलाई १२ तारीखमा आक्रमण भएपछि ग्यास आपूर्ति गरिएको छैन । अधिकारीहरूले इजिप्ट सिमानाबाट गाजापट्टीतर्फ१६ किलोमिटरभित्र रहेको अल-सुलाक टर्मिनलमा क्षति पुगेको बताएका छन् । यो टर्मिनल पाइपलाइन समुद्री मार्गमा प्रवेश गर्नुअघिको हो । आक्रमणकारीहरू ट्रकमा आएका थिए र उनीहरूले रकेटका माध्यमबाट विस्फोटक पदार्थलाई पाइपभित्र राखेर पड्काएका थिए । पाइपमार्फत ग्यास आपूर्ति नगरिएका कारण टर्मिनलमा सुरक्षाकर्मीहरू थिएनन् र कोही हताहत भएनन् । यो आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । तापनि, अधिकारीहरूले बेडुइन नामक अतिवादी समूहमाथि आशङ्का गरेका छन् ।

भारतद्वारा इरानी  तेलको भुक्तानी टर्कीमार्फत

साउन १४ । भारतले कच्चा तेलको आयात गरेबापत इरानलाई तिर्न बाँकी रहेको अर्बौं डलर टर्कीमार्फत भुक्तानी गर्ने  भएको छ । भुक्तानी प्रक्रियासम्बन्धी विवादलाई नसुल्झाए भारततर्फको तेल निर्यात नै रोकिदिने गत महीना इरानले चेतावनी दिएको थियो । त्यसैले टर्कीमार्फत भए पनि भुक्तानी प्रक्रिया शुरू गरिन लागेको भारतीय तेल मन्त्री एस जयपाल रेड्डीले बताए । तर, कम्तीमा पनि ५ अर्ब डलरसम्मको पुरानो बिल तिर्न अपनाइन लागिएको उक्त वैकल्पिक उपायबारे पनि कुनै समयसीमा भने तोक्न नसकिने रेड्डीको भनाइ छ । इरानको आणविक कार्यक्रमसम्बन्धी विवादका कारण तेहरानमाथि अन्तरराष्ट्रिय बैङ्किङ कारोबारमा प्रतिबन्ध लागेका छ । त्यसैले भारतीय तेल कम्पनीहरू विगत ६ महीनादेखि नै इरानलाई तेलको भुक्तानी दिने प्रक्रिया सुल्झाउन संघर्षरत छन् । इरानले अगष्टमा पनि तेलको आपूर्तिलाई सुचारु राख्ने अपेक्षा गर्दै वैकल्पिक उपायका लागि अन्य आपूर्तिकर्ता देशहरूसँग पनि कुरा मिलाइसकेको रेड्डीले बताए ।  भारतलाई आवश्यक कुल कच्चा तेलमध्ये १२ प्रतिशत इरानबाट आयात हुन्छ । इरानको कच्चा निर्यातमध्ये २० प्रतिशत भारततर्फजाने भएकाले भारत इरानको दोस्रो ठूलो तेल खरीदकर्ता हो । इरानको सबैभन्दा ठूलो तेल खरीदकर्ता भने चीन रहेको छ । एएफपी/रासस

आइरिश ओपन : क्लार्क दोस्रो चरणमै आउट

साउन १४, काठमाडौं । ब्रिटिश ओपन विजेता डारेन क्लार्क किल्लार्नीमा भइरहेको आइरिश ओपन गोल्फ प्रतियोगिताको 'कट' पार गर्न नसकेर दोस्रो चरणमै बाहिरिएका छन् । शनिवार भइरहेको प्रतियोगिताको तेस्रो चरणको खेलमा नेपाली समय राति ९ : ३० बजे बेलायतका डेभिड होवेल र साइमन डाइसन तथा अष्ट्रेलियाका रिचर्ड ग्रीन ११ अण्डरको स्कोरसहित संयुक्त रूपमा प्रथम स्थानमा थिए । शुक्रवार १० अण्डरसहित लिडरबोर्डको उच्चस्थानमा जर्मनीका मार्सल सीएम शनिवार राति ९ :३० बजे १५ होल खेलेर अण्डर ९ मा थिए । उनी सँगै स्कटल्याण्डका स्टेफेन कालाहारको टाई परेको थियो ।उता कार्नुस्तीमा भइरहेको महिला ब्रिटिश ओपनको तेस्रो दिन शनिवार नेपाली समय राति ९ : ३० बजे जर्मनीकी क्यारोलिन मासोन १३ होल खेलेर १४ अण्डरको स्कोरसहित अग्रस्थानमा थिइन् र उनलाई १५ होल खेलिसकेकी ताइवानकी यानी त्सेङले १२ अण्डरको स्कोरसहित पछयाउँदै थिइन् ।

ओडीआई सूचीमा  चीन पाँचौं स्थानमा

साउन १४, बेइजिङ (चीन) । चीन गतवर्षविश्वकै पाँच प्रमुख प्रत्यक्ष वैदेशिक लगानीकर्ताको सूचीमा उक्लिन सफल भएको छ । उक्त सूचीमा चीन अझै माथि उक्लिन सक्ने संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास सम्मेलन (अङ्कटयाड) का अर्थशास्त्रीहरूले सम्भावना व्यक्त गरेेका छन् । त्यसैगरी, आगामी २ वर्षसम्म चीन प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने देशमध्ये विश्वमै पहिलो स्थानमा रहने पछिल्लो विश्व लगानी प्रतिवेदन अर्थात् वर्ल्ड इन्भेष्टमेण्ट रिपोटले देखाएको छ ।समुद्रपार प्रत्यक्ष लगानी अर्थात् ओभरसिज डिरेक्ट इण्भेष्टमेण्ट (ओडीआई) को सूचीमा एक स्थानले उक्लेर चीन पाँचौं स्थानमा रहन पुगेको हो । जापान र बेलायतलाई उछिनेर चीन उक्त स्थानमा पुग्न सफल भएको हो । प्रमुख चार लगानीकर्ता देशको सूचीमा क्रमश: अमेरिका, जर्मनी, फ्रान्स र हङकङ रहेका छन् । एजेन्सी

चिनियाँ बैङ्कहरूको  स्ट्रेस टेष्ट प्रतिवेदन

साउन १४, बेइजिङ (चीन) । चिनियाँ बैङ्कहरूले मूल्यमा ५० प्रतिशतसम्मको गिरावटलाई सहन सक्ने हालै सञ्चालित स्ट्रेस टेष्टबाट देखिएको सरकारी सञ्चारमाध्यमले दाबी गरेको छ । घरजग्गाक्षेत्रको गतिविधिले चीनको बैङ्किङ उद्योगमा समस्या पार्ने चिन्ता आधारहीन र असम्भव भएको चाइना बैङ्किङ रेगुलेटरी कमिशनका प्रमुख लिउ मिङकाङले बताए । घरजग्गाको मूल्य घटेमा त्यसको सामाना बैङ्कहरूले कसरी गर्नेछन् भन्ने मूल्याङ्कन गर्न २०१० को अगष्टमा उक्त नियामक निकाय स्थापना गरिएको थियो । चिनियाँ बैङकहरूले घरजग्गाको मूल्यमा ३० देखि ५० प्रतिशतको गिरावटलाई धान्न सक्ने लिउको दाबी छ ।चीनमा अपाटमेण्टको मूल्य बढेर सामान्य जनताको पहुँचबाहिर पुगेकाले सरकारी अधिकारी र उपभोक्त दुवैतर्फबाट चिन्ता व्यक्त गरिएको छ । बढ्दो मूल्य नियन्त्रणका लागि २००९ को अन्त्यतिरबाट चीनले थुप्रै उपाय लागू गरिसकेको छ, जसअन्तर्गत कतिपय शहरमा दोस्रो घर किन्ने कार्यमा प्रतिबन्धका साथै न्यूनतम डाउनपेमेण्ट बढाउने र घरजग्गा करजस्ता उपाय चालिएका छन् ।                  एएफपी/रासस

केण्ड्रिकमाथि प्रतिबन्ध

साउन १४ । अमेरिकी टेनिस खेलाडी रोबट केण्ड्रिकले यसै वर्षको शुरूमा भएको फ्रेञ्च ओपनमा प्रतिबन्धित पदार्थ प्रयोग गरेको पाइएकाले उनलाई १२ महीनासम्मका लागि खेल्न प्रतिबन्ध लगाइएको छ । विश्ववरीयता १ सय पाँचौं स्थानमा रहेका केण्ड्रिकले प्रतिबन्धित औषधि मिथाइलहेक्जानेमाइन प्रयोग गरेको गत मेमा उनीमाथि गरिएको परीक्षणबाट पत्ता लागेको थियो । तर, ३१ वर्षीय केण्ड्रिकले भने विमान यात्रा अर्थात् जेट ल्यागको असर कम गर्ने क्याप्सुल जिजा एक्स एम थ्री खाँदा उक्त प्रतिबन्ध्िात वस्तु पनि आफूभित्र प्रवेश भएको बताउँदै आएका छन् ।  अन्तरराष्ट्रिय टेनिस फेडरेशनले उनको भनाइलाई स्वीकार गरेको छ । तर, कुनै पनि प्रतिबन्धित वस्तु शरीरभित्र प्रवेश हुन नदिनु खेलाडीको आफ्नै दायित्व हुने टेनिस एण्टी डोपिङ प्रोग्रामको प्रावधान छ । गत मे २२ देखि नै लागू हुने गरी उनीमाथि एकवर्षको प्रतिबन्ध लगाइएको हुनाले २०१२ को मे २२ मा भने उनले एटीपी टूरमा भाग लिन पाउनेछन् ।  एएफपी/रासस

Admin 2011-07-31