बोइङ श्रमविवाद ओबामाका लागि टाउको दुखाइ
असार १५, वाशिङटन (अमेरिका) । हवाईजहाज निर्माता कम्पनी बोइङ र अमेरिकी सरकारबीचको श्रमविवाद राष्ट्रपति ओबामाका लागि टाउको दुखाइको विषय बनेको छ । सरकारी निकाय 'नेशनल लेबर रिलेशन बोर्ड'ले अदालतमा बोइङविरुद्ध मुद्दा दायर गरेको थियो ।
बोइङले वाशिङटन राज्यबाट आफ्नो कारखाना दक्षिण क्यारोलिना राज्यमा सारेको थियो । त्यहाँ ट्रेड युनियन अधिकारहरू त्यति सुरक्षित छैनन् । त्यहाँ बोइङले ७ सय ५० करोड डलरको लागतमा नयाँ कारखाना स्थापना गरेर १ हजार स्थानीय कामदारलाई रोजगारी दिएको थियो । तर, बोर्ड उक्त कारखानालाई वाशिङटनमै फिर्ता गराउन कानूनी उपचारमा लागेको छ । यसले गर्दा व्यापारिक समुदाय र सरकारबीच तनाव सृजना भएको छ । रिपब्लिकनहरू निजीक्षेत्रले नयाँ रोजगारी सृजना गर्ने प्रयत्न गरिरहँदा सरकारी कदमले नकारात्मक परिणाम ल्याउने जिकिर गरिरहेका छन् ।
आगामी वर्षहुने राष्ट्रपति निर्वाचनका सम्भावित रिपब्लिकन उम्मेदवारहरू मिट रोम्नी र न्वेट ग्रिन्ग्रिचले सरकारी नीतिको कडा विरोध गरेका छन् । उनीहरूले ओबामा प्रशासनमा दूरदर्शी सोचको खाँचो रहेको बताएका छन् । यता ह्वाइट हाउसका प्रवक्ता जे कार्नेले राष्ट्रपति ओबामा बोर्डको स्वायत्ततामा हस्तक्षेप गर्ने पक्षमा नभएको बताएका छन् । सरकार र प्रतिपक्षीबीचको यो मुद्दालाई सन् २०१२ को राष्ट्रपतीय निर्वाचनको सन्दर्भमा जोडेर हेरिएको छ । एपी/रासस
जापानको औद्योगिक उत्पादनमा सुधार
असार १५, टोकियो (जापान) । जापानको औद्योगिक उत्पादन मे महीनामा ६ दशकयताकै उच्च देखिएको छ । तर, कारखानाहरूले आफ्ना उत्पादनलाई उकास्न प्रयास गरिरहे तापनि मार्च ११ अघिको अवस्थामा अझै आइपुगेका छैनन् । गत महीनाको तुलनामा मे महीनामा औद्योगिक उत्पादन ५ दशमलव ७ प्रतिशतले बढेको सरकारले बुधवार बताएको छ । मार्च ११ को भूकम्प र सुनामीपछि तीव्र ओरालो लागेको उत्पादन अप्रिलमा १ दशमलव ६ प्रतिशतले बढेको थियो । उत्पादन वृद्धिदरमा आएको हालको सुधारले सुनामी र भूकम्पले क्षतिग्रस्त भएको जापानी अर्थतन्त्र पनि उकालो लाग्न थालेको सङ्केत मिलेको छ । जापान विश्वकै तेस्रो ठूलो अर्थतन्त्र हो ।
बजारले अपेक्षा गरेअनुरूप नै आएको मे महीनाको औद्योगिक उत्पादन वृद्धिदर १९५३ मार्चपछिकै उच्च हो । मार्चमा भने १५ दशमलव ५ प्रतिशतले उत्पादन ओरालो लागेको थियो । सरकारको त्यस्तो विवरणपछि जापानको शेयरबजार टोकियो स्टक एक्सचेञ्जमा सुधार आएको छ । एक्सचेञ्जको परिसूचक निक्केइ २२५ मा १ दशमलव ५ प्रतिशतले सुधार आएर ९ हजार ७ सय ९७ दशमलव २६ पुगेको छ । त्यसैगरी पानीजहाजबाट हुने निकासी अर्थात् सिपमेण्टमा ५ दशमलव ३ प्रतिशत र कच्चा पदार्थको मौज्दातमा ५ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । एपी/रासस
दक्षिण कोरियामा भ्रष्टाचारविरूद्ध छानबिन
असार १५, सियोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको बैङ्किङ क्षेत्रमा रहेको अर्बौं डलरको जालसाजी काण्डका साथै ठूला व्यापारिक समूहका अपारदर्शी क्रियाकलाप उजागर हुँदै गएकाले भ्रष्टाचारविरूद्ध कदम चाल्न दबाब बढेको छ । क्षेत्रीयस्तरका बचत बैङ्कहरूमा बढिरहेको जालसालीका मुद्दामाथि सरकारी अनुसन्धानकर्ताले छानबिन गरिरहेका छन् । त्यसैक्रममा भूमि, यातायात र सामुद्रिक मामिला मन्त्रालय छानबिनको केन्द्रबिन्दुमा परेको छ । उक्त मन्त्रालयका अधिकारीहरू घूसका साथै भोजभतेर र मदिरापानमा व्यापक रूपले संलग्न रहेको आरोप लागेको छ ।
त्यसैगरी, सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका ली कुन हीले समेत आफ्नो कम्पनीमा व्यापक भ्रष्टाचार रहेको बताउँदै त्यसलाई निर्मूल गर्नुपर्ने कुरा सार्वजनिक रूपमा बताउँदै आएका छन् । गतवर्षमात्रै दक्षिण कोरियाले जी-२० आर्थिक सम्मेलनको आयोजना गरेको थियो । त्यतिखेर दक्षिण कोरियाले ६ दशकमा गरीब देशबाट सम्पन्न अवस्थामा पुर्याउन सफल भएकोमा गर्वसाथ आफूलाई जी-२० को आयोजकका रूपमा प्रस्तुत गरेको थियो । एपी/रासस
गुगलले नयाँ इण्टरनेट सामाजिक सञ्जाल ल्याउने
असार १५, न्यूयोर्क (अमेरिका) । विश्वको सबैभन्दा ठूलो सच इञ्जिन गूगलले नयाँ इण्टरनेट सामाजिक सञ्जाल साइट ल्याउने भएको छ । 'गूगल प्लस' नाम दिइएको उक्त सामाजिक सञ्जाल साइटले इण्टरनेट प्रयोगकर्तालाई समूह बनाएर आफ्ना विचार आदानप्रदान गर्न सहयोग पुर्याउने गूगलले बताएको छ । गूगलको इञ्जिनीयरिङ विभागका उपप्रमुख भिक गुण्डोट्राले 'गूगल प्लस'मा प्रयोगकर्ताले धेरै छनोट पाउने र हाल उपलब्ध सामाजिक सञ्जालहरूभन्दा फरक महसूस गर्ने बताएका छन् । 'गूगल प्लस'को हाल परीक्षण भइरहेको र चाँडै बजारमा ल्याइने जानकारी पनि उनले दिएका छन् । यसअघि गूगलको ओर्कुट, बज र गूगल वेभजस्ता सामाजिक सञ्जाल साइट सफल हुन सकेका थिएनन् ।
'फेसबुक' हाल विश्वमा सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल साइट हो । यसका प्रयोगकर्ताको सङ्ख्या ७ सय करोड रहेको बताइन्छ । नयाँ सामाजिक सञ्जालबाट गूगलले फेसबुकसँग प्रतिस्पर्धा गर्न खोजेको विश्लेषकहरूको अनुमान छ । सन् २०१० मा झण्डै ११ अर्ब डलर कमाएको गूगलले सच इञ्जिन बजारमा दुई तिहाइ हिस्सा ओगटेको छ । एपी/रासस
टाइगर उड्स जापानी विज्ञापनमा
असार १५, नागोया (जापान) । विश्वप्रसिद्ध गोल्फ खेलाडी टाइगर उड्सलाई एउटा जापानी कम्पनीले उसको औषधिको विज्ञापनका लागि अनुबन्धित गरेको छ । उक्त कम्पनीबाट निर्मित मांशपेशी र जोर्नी दुखाइ कम गर्ने एक बामको विज्ञापनमा टाइगर उड्स देखिनेछन् ।उक्त टेलिभिजन विज्ञापनलाई मध्य जुलाईदेखि राष्ट्रव्यापी रूपमा प्रसारण गरिनेछ । यसअघि पनि १९९० कै दशकमा उड्सले आइष्ड कफीको टेलिभिजन विज्ञापनमा खेलेका थिए । गत मे १२ देखि भने उड्सले कुनै खेलमा भाग लिएका छैनन् । घुँडा र मांशपेशीमा चोट लागेपछि द प्लेयर्स च्याम्पियनशिप खेलिरहेकै बेला नाइन होलपछि उनले खेल परित्याग गरेका थिए । एपी/रासस
लागार्दसँग एशियाली देशहरूको अपेक्षा
असार १५, सिङ्गापुर । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखमा फ्रान्सकी क्रिष्टिन लागार्द निर्वाचित भएपछि उनले आफूले गरेका वाचा पूरा गर्ने एशियाली देशहरूले अपेक्षा गरेका छन् । लागार्दले आफ्नो उम्मेदवारीप्रति समर्थन जुटाउने क्रममा भर्खरै मात्र एशियाली देशहरूको भ्रमण टुङ्ग्याएकी थिइन् । त्यतिखेर लागार्दले आईएमएफमा उदीयमान देशहरूको भूमिका बढाउनेबारे आश्वासन दिएकी थिइन् । त्यसैले लागार्दले आफ्नो आश्वासन पूरा गर्ने एशियाली देशहरूले अपेक्षा गरेका हुन् ।
एशियाका प्रमुख उदीयमान देशहरूबाट लागार्दले समर्थन पाएकी थिइन् । विकसित र उदीयमान देशहरूबीच लागार्दले पुलका रूपमा काम गरेकी इण्डोनेशियाको केन्द्रीय बैङ्कका सहायक गभर्नर हार्तडी ए सर्वोनोले बताए । समर्थनको खोजीका बेला लागार्दले चीन र भारतको मागलाई समेत समर्थन गरेकी थिइन् । चीन र भारतले आईएमएफमा आफूहरूले भोटिङ पावर पाउनुपर्ने माग गर्दै आएका छन् । 'लागार्द भारतकी मित्र हुन्’ भारतको एक उच्च सरकारी स्रोतले बतायो । भारतले आईएमएफ प्रमुखकै पद पाउने अवस्था नभए तापनि उक्त अन्तरराष्ट्रिय संस्थाको उच्च तहमा भने ठाउँ खोजेको ती भारतीय अधिकारीको भनाइ छ । एजेन्सी
चीन र जर्मनीबीच १५ अर्ब डलरको सम्झौता
असार १५, बर्लिन (जर्मनी) । जर्मनी र चीनबीच १५ अर्ब डलरभन्दा बढीको व्यापार सम्झौता भएको छ । चीनका प्रधानमन्त्री वेन जिआबाओ र जर्मनीकी चान्सलर एञ्जेला मर्केलले दुवै देशका मन्त्रीमण्डलको संयुक्त बैठकपछि हस्ताक्षर गरेका हुन् ।सम्झौताका बेला चिनीयाँ प्रधानमन्त्री वेन जिआबाओले चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न समेत यूरोपलाई चेतावनी दिएका थिए । यूरोपेली विमाननिर्माता कम्पनी एयरबससँग ८८ ओटा ए३२० विमान खरीद गर्ने लगायतका योजना नयाँ सम्झौतामा उल्लेख गरिएको छ ।
चिनियाँ प्रतिनिधिमण्डललाई जर्मनीले ठूलो स्वागत गरेको थियो । तर, एक आपसमा सम्बन्ध र निर्भरता बढदै गए पनि आफूले मानव अधिकारजस्ता विषयमा यूरोपबाट कुनै उपदेश सुन्न नचाहेको वेनले जोड दिए । संवाददाता सम्मेलनका बेला मर्केलले चीन सरकारका आलोचक चिनियाँ नागरिकहरू हु जिआ र आई वेइवेइलाई रिहा गर्ने निर्णयो स्वागत गरेकी थिइन् । जर्मनीले २००७ को सेप्टेम्बरमा दलाइ लामालाई स्वागत गरेपछि चीन र जर्मनीको सम्बन्ध अत्यन्तै न्यून बिन्दुमा पुगेको थियो । एएफपी/रासस
म्याकइल्रोयको समर्थन मुर्रेलाई
असार १५ । यूएस ओपन गल्फ च्याम्पियन रोरी म्याकइल्रोयले आफूले विम्बलडनमा बेलायती टेनिस खेलाडी एण्डी मुर्रेलाई समर्थन गर्ने बताएका छन् । राफेल नाडालसँग आफ्नो राम्रो मित्रता रहे तापनि आफूले एण्डीलाई नै समर्थन गर्ने म्याकइल्रोयको भनाइ छ । म्याकइल्रोय उत्तरी आयरल्याण्डका नागरिक हुन् ।महिलातर्फको क्वार्टर फाइनल्स हेर्न आइपुगेका म्याकइल्रोयले अभ्यास कोर्टमा मुर्रेलाई भेटेका थिए । आफ्नो पहिलो मेजर जितिसकेका २२ वर्षीय म्याकइल्रोयले २४ वर्षको मुर्रेलाई पनि विजयका लागि प्रोत्साहन दिन चाहेको बताए । म्याकइल्रोय प्रख्यात अमेरिकी टेनिश खेलाडी जन म्याकएन्रोसँग प्राक्टिस कोर्टमा आइपुगेका थिए यसैबीच नोभाक जोकोभिक बुधवार भएको क्वार्टर फाइनल खेलमा अष्ट्रेलियाका १८ वर्षीय बर्नाड टोमिकलाई ६-२, ३-६, ६-३, ७-५ को सेटले हराउँदै विम्बल्डन सेमिफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै जो-विल्फ्रिड त्सोङ्गा पनि रोजर फेडररलाई ३-६, ६-७ (३), ६-४, ६-४, ६-४ ले हराएर सेमिफाइनल पुगेका छन् । एजेन्सी
Admin 2011-06-30