आरबीआईद्वारा बचत निक्षेपको ब्याजदरबारे स्पष्टोक्ति
वैशाख १५, मुम्बई (भारत) । भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इण्डियाले बचत निक्षेपको ब्याजदर खुला छाडयो भने त्यसले मौद्रिक नीतिको प्रभावकारितामा सुधार आउने बताएको छ । तर, त्यस्तो गर्दा बैङ्कहरूबीच नै अस्वस्थ प्रतिस्पर्धासमेत बढ्न सक्ने हुनाले तिनका मुनाफामा पनि समस्या आउन सक्ने आरबीआईको चेतावनी छ ।
आरबीआईले हाल ३ दशमलव ५ प्रतिशतमा रहेको बचत निक्षेपको ब्याजदरमाथिको आफ्नो नियन्त्रण हटाउनेबारेको बहस पत्र प्रकाशित गर्दै त्यस्तो धारणा व्यक्त गरेको हो । 'मौद्रिक नीतिको प्रभावकारिताका लागि सबैदरहरू नीतिगत दरसँग सापेक्ष रहनु आवश्यक रहन्छ,’ आरबीआईले भनेको छ । बचत निक्षेपको ब्याजदर २००३ देखि नै ३ दशमलव ५ प्रतिशतमा रहिआएको छ । जबकि, नीतिगत दर तथा बैङ्कहरूबीचको दैनिक ब्याजदर (कल रेट) मा भने उतारचढाव भइरहेको छ ।
बैङ्कहरूको लागि बचत निक्षेप कम खर्चिलो वित्तीय स्रोत भएकाले त्यसलाई खुला छाड्दा अस्वस्थ प्रतिस्पर्धा भई बैङ्किङ क्षेत्रको वित्तीय लागत बढ्न सक्ने आरबीआईले चेतावनी दिएको हो । तर, अन्य सबै ब्याजदरलाई खुला वा डिरेगुलेट गरिसकिएको हुनाले बचत निक्षेपको ब्याजदरलाई यथावत् नै राख्दा प्रणालीमै असन्तुलन आउने केन्द्रीय बैङ्कले स्पष्ट गरेको छ । रोयटर्स
रूसद्वारा पेट्रोल निर्यात प्रतिबन्ध
वैशाख १५, मस्को (रूस) । रूसले पेट्रोलको निर्यात स्थगित गर्ने बिहीवार निर्णयगरेको छ । घरेलु बजारमा तेलको कमी हुनुका साथै मूल्यवृद्धिसमेत भएकाले मे महीनाबाट निर्यात बन्द गरिने भएको हो । रूस विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक देश हो । आगामी चुनावलाई ध्यानमा राखेर प्रधानमन्त्री भ्लादिमिर पुटिनले आफ्नो सरकारलाई उक्त समस्या सुल्झाउन आदेश दिएपछि त्यस्तो निर्णय आएको छ । दुई दर्जन रूसी प्रान्तहरूले गएको हप्तापछि पेट्रोलको मूल्य ३० प्रतिशतले बढिसकेको जानकारी दिएपछि अचानक त्यस्तो कदम चालिएको हो ।
तर, ऊर्जा सहायक मन्त्री सेर्गेइ कुद्रीआशोभले त्यस्तो निर्यात प्रतिबन्ध मे महीनाका लागि मात्र लागू रहने बताएका छन् । त्यसपछिको समयका लागि भने पेट्रोलको निर्यात कर बढाएर धेरैजसो उत्पादनलाई देशभित्रै खपत गर्न प्रोत्साहन गरिने मन्त्रीले बताए । रूसको सबैभन्दा ठूलो तेल उत्पादक रोस्नेफ्टका प्रवक्ताका अनुसार, उक्त प्रावधान रूसमा अभाव देखिएको उच्च अक्टेनको पेट्रोलका लागि मात्र लागू हुनेछ । एएफपी/रासस
चीनका गभर्नरद्वारा मौद्रिक नीतिबारे पुन: प्रतिबद्धता
वैशाख १५, बेइजिङ (चीन) । चीनको केन्द्रीय बैङ्कका गभर्नर झोउ जिआओचुआनले चीनले आफ्नो मौद्रिक नीति थप लचिलो बनाउने प्रतिबद्धता दोहोर्याएका छन् । बैङ्कले यस हप्ताभित्रै फेरि ब्याजदर बढाउने अनुमानबीच झोउले प्रतिबद्धता दोहोर्याएका हुन् ।
केन्द्रीय बैङ्कको आन्तरिक बैठकमा आगामी ५ वर्षका लागि चीनको विकास लक्ष्यबारे बोल्दै झोउले त्यस्तो धारणा राखेका हुन् । केन्द्रीय बैङ्कको वेबसाइटमा बिहीवार झोउको टिप्पणी प्रकाशित गरिएको छ ।
अर्थतन्त्रको वृद्धि र पुन:संरचनाबीचको सन्तुलन मिलाउनुका साथै मूल्यवृद्धिको व्यवस्थापनका लागि पनि केन्द्रीय बैङ्कले प्रयास जारी राख्ने झोउले प्रतिबद्धता व्यक्त गरेका छन् । रोयटर्स
आईएमएफद्वारा एशियाली अर्थतन्त्रमा ७ प्रतिशत वृद्धिको पूर्वानुमान
वैशाख १५, हङकङ (चीन) । एशियाका उदीमयान अर्थतन्त्रहरूतर्फविशाल मात्रामा भइरहेको पूँजीप्रवाहप्रति अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बिहीवार चिन्ता व्यक्त गरेको छ । बढ्दो मूल्यवृद्धिको सामना गरिरहेको क्षेत्रमा पूँजीको विशाल आप्रवाहले नीतिनिर्माताहरूलाई अप्ठयारोमा पार्ने आईएमएफले चेतावनी दिएको हो । चीन, इण्डोनेशिया र फिलिपिन्सलगायतका कतिपय देशतर्फ अत्यन्तै ठूलो मात्रामा पूँजी प्रवाह भइरहेको पनि कोषले बताएको छ । एशिया तथा प्रशान्त क्षेत्रका लागि पछिल्लो आर्थिक परिदृश्य सार्वजनिक गर्दै आईएमएफले त्यस्तो धारणा व्यक्त गरेको हो ।
कोषका अनुसार २०११ र २०१२ मा एशिया तथा प्रशान्त क्षेत्रको अर्थतन्त्र झण्डै ७ प्रतिशतले विस्तार हुने सम्भावना छ । एशिया प्रशान्त क्षेत्रले विश्वव्यापी आर्थिक पुनर्बहालीकै नेतृत्व गरिरहेको पनि कोषले बताएको छ । दक्षिण कोरिया, इण्डोनेशिया, भारतलगायत थुप्रै देशले ठूलो मात्रामा भइरहेको विदेशी पूँजीको आप्रवाह रोक्न नीतिगत कडाइ गरिरहेका छन् । पश्चिमा देशहरूको अर्थतन्त्र अझै सुस्त नै रहेकाले लगानीकर्ताहरू तीव्र वृद्धि गरिरहेका उदीयमान देशतर्फ आकर्षित भएका हुन् । तर, गत अक्टोबरदेखि भने पँजीको त्यस्तो प्रवाह पहिलेको भन्दा केही घटेको पनि कोषले जानकारी दिएको छ । एएफपी/रासस
गङ्गाको सफाइका लागि १ अर्ब डलर ऋण स्वीकृत
वैशाख १४, नयाँ दिल्ली (भारत) । भारत सरकारले गङ्गा नदीको सफाइका लागि विश्व बैङ्कले दिने १ अर्ब डलरको ऋण कार्यक्रमलाई स्वीकार गरेको छ । औद्योगिक र घरेलु फोहोरले प्रदूषित गङ्गाको सफाइसम्बन्धी उक्त परियोजना ८ वर्षसम्म लागू हुनेछ ।
पश्चिमी हिमालयको हिमतालदेखि बङ्गलादेशस्थित बङ्गालको खाडीसम्म गङ्गानदीको लम्बाइ २ हजार ५ सय १० किलोमिटर छ । भारतका मात्रै ४० करोड जनता गङ्गानदीको पानीमा निर्भर छन् । २०२० सम्ममा गङ्गामा अप्रशोधित फोहोर मिसाउने कार्य बन्द गर्ने लक्ष्य राखिएको छ ।
रोयटर्स
केटाकेटीप्रति लक्षित विज्ञापनमाथि कडाइ
वैशाख १४, वाशिङटन (अमेरिका) । अमेरिकी प्रशासनले केटाकेटीलाई लक्षित गरेर बनाइएका चिनीयुक्त खाद्यवस्तुको विज्ञापनमा संयम अपनाउन कम्पनीहरूलाई निर्देशन दिएको छ । त्यसपछि त्यस्ता खाद्यपदार्थको विज्ञापन बनाउँदा ती कम्पनीले सरकारी निर्देशनलाई कडाइका साथ पालना गर्नुपर्नेछ ।
निर्देशन अनुसार, दुईदेखि १७ वर्षसम्मका बालबालिकाप्रति लक्षित खाद्यपदार्थमा चिल्लो, चिनी, सोडियमको मात्रा कम हुनुपर्नेछ भने आवश्यक पोषकतत्त्व भने पुगेको हुनुपर्नेछ । हाल जारी गर्न लागिएको निर्देशिका, खाद्य कम्पनीहरूको हालको मापदण्डभन्दा कडा हुनेछ । त्यसपछि त्यस्ता खाद्यपदार्थबारे टेलिभिजन, पत्रिका, पसल र इण्टरनेटमा गरिने धेरैजसो विज्ञापन हटाइनुपर्नेछ ।
अमेरिकी खाद्य उद्योगले हालका वर्षरूमा केटाकेटीप्रति लक्षित विज्ञापनलाई धेरै कम गरिसकेको छ । खासगरी, पहिले टेलिभिजनमा गरिने त्यस्ता विज्ञापन हाल पत्रिका, इण्टरनेट र सामाजिक सञ्जालमा मात्र गरिन्छन् । बिहीवार प्रकाशित विज्ञप्तिअनुसार, नयाँ निर्देशिकाले विज्ञापन मार्केटिङलाई केटाकेटीको खाने बानी नबिगार्न थप अभिप्रेरित गर्नेछ । एपी/रासस
Admin 2011-04-29