मध्यपूर्वको अस्थिरताले एशियाभरि सङ्कटको सम्भावना
फागुन १५, बैङ्कक (थाइल्याण्ड) । मध्यपूर्वको राजनीतिक हलचलको प्रभाव तेलको ठूलो माग रहेको एशियाली क्षेत्रमा समेत परेको छ । मध्यपूर्वबाट प्रत्येक दिन लाखौं ब्यारेल तेल विश्वकै व्यस्तमध्येको एक भारतीय महासागरको बाटो हुँदै एशियातर्फ जान्छ । तेलको यस्तो यात्राले विश्व अर्थतन्त्रहरूबीच झन्झन् बढ्दै गएको निर्भरता प्रस्टिएको छ । जापानले खरीद गर्ने कच्चा तेलको ९० प्रतिशत, सिङ्गापुरको ८५ प्रतिशत, र दक्षिण कोरियाको ८२ प्रतिशत तेल मध्यपूर्वबाट आउँछ । त्यसैले नै मध्यपूर्वमा भइरहेका घटनाको हजारौं किलोमिटर परसम्म पनि प्रभाव देखिएको हो । इजिप्ट र लिबियाको जनप्रदर्शन साउदी अरेबिया र अल्जेरियालगायतका प्रमुख तेल उत्पादकसम्म फैलिने आशङ्काले तेल भाउ आकाशिएको छ । विकासशील देशहरूले त मूल्यवृद्धिबाट झनै बढी मार खेप्नुपर्ने हुन्छ ।
'तेलको मूल्य हालकै जस्तो चर्को रहेमा सबैभन्दा बढी असर भारत र थाइल्याण्डमा पर्नेछ,’ लण्डनस्थित क्यापिटल इकोनमिक्सका वरिष्ठ अर्थशास्त्री मार्क विलियम्सले भने । 'यसक्षेत्रमा सबैभन्दा खराब असर भारतलाई पर्नेछ, किनभने उसको चल्ती खाताको घाटा अहिले नै उच्च छ । साथै भारतको अर्थतन्त्र तेल निर्भर हुनुका साथै तेलमा दिइने अनुदानबाट सरकारी स्रोतको ठूलो हिस्सा खर्चिने गरिन्छ,’ विलियम्सको मूल्याङ्कन छ । नेपाल जस्तै भारत, थाइल्याण्ड, भियतनाम, मलेसिया र इण्डोनेशियाजस्ता एशियाली देशहरूले पनि तेलमा अनुदान दिने गर्छन् । त्यसैले तेलको मूल्य हालकै जस्तो उच्च रहेमा ती देशका सरकारहरूले सङ्कटको सामना गर्नुपर्ने हुन्छ । तर, चीन भने तुलनात्मक रूपमा सुरक्षित नै देखिन्छ, किनभने चीनमा खपत हुने ऊर्जामध्येको ठूलो हिस्सा कोइलाबाट आउँछ । तैपनि चीनमा खपत हुने कच्चा तेलको मागमा पनि तीव्र वृद्धि भइरहेको छ । एएफपी/रासस
चीनका प्रमद्वारा सामाजिक स्थिरतालाई प्राथमिकता
फागुन १५, बेइजिङ (चीन) । चीन सरकारका लागि मूल्यस्फीति नियन्त्रण गर्नु अति महत्त्वपूर्ण प्राथमिकता भएको प्रधानमन्त्री वेन जिआबाओले आइतवार बताएका छन् । त्यसैले तीव्र मूल्यवृद्धि र युआनलाई बलियो बनाउन परिरहेको दबाबको सरकारले सामना गर्ने वेनले प्रतिबद्धता व्यक्त गरेका छन् ।आगामी मार्च ५ देखि शुरू हुने भएको चिनियाँ संसद्को वार्षिक बैठकअघि वेनको यस्तो धारणा आएको छ । यसबाट घरजग्गा र खाद्यवस्तुको मूल्यवृद्धिका सम्बन्धमा जनमानसको गुनासोबारे कम्युनिष्ट पार्टीका नेताहरू संवेदनशील रहेको देखिन्छ । मध्यपूर्वको प्रदर्शनबाट चीनमा पनि प्रभाव पर्न सक्ने चर्चाले त्यहाँका नेताहरू झनै चिन्तित देखिएका छन् । तर, एक अनलाइन सम्मेलनमा बोल्दै वेनले मध्यपूर्वका घटनाले खासै समस्या नल्याउने दाबी गरेका छन् । बरु, देशभित्रैको मूल्यवृद्धि, रोजगार र भ्रष्टाचारजस्ता दबाबहरूबाट आफू चिन्तित भएको वेनले बताएका छन् । 'मूल्यमा भइरहेको तीव्र वृद्धिले सार्वजनिक र सामाजिक स्थिरतालाई नै असर गरेको छ,’ वेनले भने । त्यसैले मूल्य स्थिर राख्ने कार्य पार्टी र सरकारको प्राथमिकतामा सधैं नै रहेको वेनको दाबी छ । मूल्यस्फीतिलाई नियन्त्रणमा राख्न आगामी ५ वर्षसम्म आर्थिक वृद्धिको लक्ष्यलाई पहिलेको भन्दा तल झारेर ७ प्रतिशतमा पुर्याउने वेनले बताएका छन् । रोयटर्स
ताइवानमा चिनियाँ लगानी खुकुलो
फागुन १५, ताइपेइ (ताइवान) । ताइवानले मुख्यभूमि चीनबाट उच्च प्रविधिका कम्पनीहरूमाथि गरिने लगानी नियन्त्रणलाई खुकुलो पार्ने भएको छ । सो कुरा ताइवानका एक वरिष्ठ आर्थिक अधिकारीले आइतवार बताएका हुन् । त्यसबाट ताइवान र बेइजिङबीचको सम्बन्ध सुधारिँदै गएको थप सङ्केत मिलेको छ । चिनियाँ कम्पनीहरूले उच्च प्रविधिक्षेत्रका कम्पनीहरूमा ४९ प्रतिशतसम्म स्वामित्व ग्रहण गर्न सक्नेछन् ।चिनियाँ कम्पनीको लगानीमा नियन्त्रण फुकुवा गर्ने निर्णयलाई कार्यकारी मन्त्रीमण्डलले अनुमोदन गरेको छ,’ त्यहाँका सहायक अर्थमन्त्री लिन शेङ चुङले भने । त्यस्तो निर्णयबाट ताइवानी फ्ल्याट स्क्रीनका निर्माताले चीनको ठूलो बजारमा प्रवेश पाउने विश्लेषकहरूले बताएका छन् । ताइवानले २००९ को जुनमा चिनियाँ लगानीमाथिको एक दशक लामो प्रतिबन्ध फुकुवा गरेको थियो । ताइवानको राष्ट्रपतिमा २००८ मा यिन जेओउ निर्वाचित भएपछि चीनसँगको औपचारिक सम्बन्धमा सुधार आएको हो । जेओउको बेइजिङसँग राम्रो सम्बन्ध रहेको छ । चीनले अझै पनि ताइवानलाई आफ्नै देशको एक क्षेत्रका रूपमा हेर्ने गरेको छ । सन् १९४९ को गृहयुद्धपछि ताइवान मुख्य भूमि चीनबाट छुट्टिएर आफ्नै स्वतन्त्र सरकारबाट सञ्चालित हुँदै आएको छ । एएफपी/रासस
चीनका कम्पनीले अनुचित फाइदा लिएको गुनासो
फागुन १५, बेइजिङ (चीन) । चीनको रेल्वे क्षेत्रका निर्माण कम्पनीहरू अब अन्तरराष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्न थालेका छन् । चीनभित्रैका परियोजनाहरूमा संलग्न पश्चिमा कम्पनीहरूको प्रविधिबाट अनुभव हासिल गरेपछि चिनियाँ कम्पनीहरूको पनि उत्साह बढेको हो । तर, अन्तरराष्ट्रिय प्रवृत्तिको अझै राम्रो अनुभव नभएकाले उनीहरूको महत्त्वाकाङ्क्षा पूरा हुन अझै गाह्रो रहेको विश्लेषकहरूले बताएका छन् । अहिले नै चीनमा ८ हजार ३ सय किलोमिटर लामो उच्च गतिको रेल्वे छ । त्यसैगरी आगामी वर्षदेखि विश्वकै आधाभन्दा बढी फाष्ट ट्रयाक चीनमा हुनेछ । त्यसका साथै, चीनले उसको शहरी क्षेत्रमा भूमिगत सञ्जाल निर्माणमा पनि ठुलो लगानी गरिरहेको छ । आगामी २०१६ सम्ममा चीनका २ दर्जन प्रमुख शहरमा ८९ ओटा मेट्रो लाइनको निर्माण हुने भएको छ ।चिनियाँ कम्पनीहरूले आफ्नो देशमा आएका पश्चिमा कम्पनीहरूबाट धेरै प्रविधि सिकेका छन् । त्यसैगरी पश्चिमा कम्पनीबाट उपकरण खरीद गर्दा उनीहरू कतिपय प्रविधिलाई प्रयोग गर्ने अधिकार पनि पाएका थिए । कतिपय त्यस्ता प्रविधिलाई चिनियाँ कम्पनीहरूले आफ्नै शैलीमा परिमार्जन पनि गरेका छन् । त्यस्ता परिमार्जित प्रविधिलाई चीनले आफ्नै देशमा गरिएको नवप्रवर्तन भन्ने गरेको छ । तर, विगतमा आन्तरिक प्रयोजनमा लागि दिइएको प्रविधिलाई अनुचित रूपले निर्यात गर्नका निम्ति प्रयोग गरेको भन्ने कतिपय विदेशी कम्पनीले गुनासो गरेका छन् । एएफपी/रासस
रूसको १० अर्ब डलर गुम्ने सम्भावना
फागुन १५, मस्को (रूस) । लिबियाको सङ्कटबाट रूसले पनि लगभग ४ अर्ब डलरबराबरको हतियार विक्री अवसर गुमाउन सक्छ । कद्दाफीको सत्तालाई हतियार विक्रीमा प्रतिबन्ध लगाउने प्रस्तावमा अन्य शक्तिराष्ट्रसँगै रूसले पनि समर्थन गरेकोले त्यस्तो सम्भावना देखिएको हो । मध्यपूर्व र उत्तर अफ्रिकी देशहरूमा रूसी हतियारको प्रमुख खरीदकर्तामध्ये लिबिया पनि रहेको एक रूसी सैनिक सूत्रले बताएको छ । हवाई उपकरण र हवाई सुरक्षासँग सम्बन्धित खरीद सम्झौता अन्तिम चरणमा पुगिसकेको पनि उक्त सूत्रले जानकारी दिएको छ ।कद्दाफी सरकारको दमनविरुद्ध पश्चिमा आलोचनामा सहभागी हुन रूसले शुरूमा आनाकानी गरेको थियो । तर, शनिवार भने संयुक्त राष्ट्रसङ्घीय सुरक्षापरिषद्का अन्य सदस्य राष्ट्रसँगै रूसले पनि लिबियामाथिको प्रतिबन्धलाई समर्थन गरेको छ । गत हप्ता प्रकाशित एक अर्को प्रतिवेदन अनुसार, उत्तर अफ्रिका र मध्यपूर्वमा भइरहेको हालको अस्थिरताबाट रूसले १० अर्बबराबरको हतियार विक्री अवसर गुमाउन सक्नेछ । एएफपी/रासस
८० वर्षीय अर्बपतिको योजना
अमेरिकी अर्बपति तथा प्रमुख कार्यकारी वारेन बफेटले आफू अझै थप कम्पनी खरीद गर्न लालायित रहेको बताएका छन् । आफ्नो कम्पनी बर्कसापर हाथावेका शेयर होल्डरलाई सम्बोधन गरेको उनको वार्षिक पत्रमा उनले यस्तो जनाएका हुन् । ८० वर्षीय बफेट संसारकै तेस्रो सबैभन्दा धनी व्यक्ति हुन् । केही समयअघि उनको कम्पनीले २६ अर्ब ५० करोड डलरमा बर्लिङ्टन सान्ता फे रेल्वे कम्पनी खरीद गरेका थिए ।बफेटलाई अमेरिकाको सबैभन्दा सचेत लगानीकर्तामध्ये एक मानिन्छ । अमेरिकी अर्थतन्त्रको भविष्यबारे उत्साहित भएर आफूले थप लगानी गर्न चाहेको बफेटको धारणा छ । पैसा सधैं अवसरतर्फ बहने भएको र अमेरिकामा यथेष्ट अवसर रहेको पनि उनले दाबी गरेका छन् ।त्यसैगरी २०१० मा भएको नाफामध्ये धेरैजसो बर्लिङ्टन सान्ता फे रेल्वेबाट भएको उनले जानकारी दिएका छन् । साथै, तत्कालै रिटायर्ड हुने वा आफ्नो उत्तराधिकारी तोक्नेबारे कुनै योजना नरहेको उनले बताएका छन् । एएफपी/रासस
Admin 2011-02-28