शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अमेरिकामा पाँच वर्षकै उच्च आर्थिक वृद्धि

माघ १५, वाशिङटन् (अमेरिका) । अमेरिकी अर्थतन्त्रमा २०१० मा गएको पाँच वर्षभित्रकै सबैभन्दा तीव्र वृद्धि भएको त्यहाँको वाणिज्य विभागले शुक्रवार बताएको छ । अमेरिकाले मन्दीबाट पार पाउनुका साथै दोहोरो मन्दीबारेको त्रास पनि घट्दै गइरहेका बेला यस्तो समाचार आएको छ । सन् २००९ मा २ दशमलव ६ प्रतिशतले खुम्चेको अर्थतन्त्र २०१० मा २ दशमलव ९ प्रतिशतले बढेको छ ।अमेरिकाका लागि अस्थिर वर्षरहेको २०१० को समीक्षाले पछिल्ला समयमा उपभोक्ता खर्चमा वृद्धि भएको देखाएको छ । साथै व्यापार सन्तुलनमा समेत सुधार भएर पछिल्लो त्रैमासमा ३ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो त्रैमासमा उपभोक्ता खर्च ४ दशमलव ४ प्रतिशतले तथा निर्यात ८ दशमलव ५ प्रतिशतले बढेको छ । ह्वाइट हाउसले 'छैटौँ'  त्रैमाससम्मको लगातार वृद्धि’प्रति प्रसन्नता व्यक्त गरेको छ । १९३० दशकको महामन्दीपछिकै खराब मन्दीबाट अर्थतन्त्रले निकास लिन थालेको  राष्ट्रपति बाराक ओबामाका प्रमुख अर्थ सल्लाहकार अष्टन गुल्सबीले बताए । 'हामी सही दिशातर्फउन्मुख छौं । तर, हामीलाई आवश्यक रोजगार सृजनाका लागि चाहिने वृद्धि पाउन हामीले अझै धेरै काम गर्न बाँकी छ’ गुल्सबीले भने  ।पछिल्लो त्रैमासमा ३ दशमलव २ प्रतिशतको वृद्धि हुँदापनि अपेक्षा गरिएको मात्रामा रोजगार सृजना हुनसकेको छैन । तर, अमेरिकीहरूको खर्च, आम्दानी तथा निर्यातमा  वृद्धि भइरहेको छ । त्यसैले बेरोजगारीको अन्त्य हुने सम्भावना नजिकिएको अपेक्षा अर्थशास्त्रीहरूले
गरेका छन् ।       एएफपी/रासस


पाकिस्तानको विद्युत्मा एडीबीको ऋणसहयोग

माघ १६, इस्लामाबाद (पाकिस्तान) । एशियाली विकास बैङ्क (एडीबी)ले पाकिस्तानलाई २४ करोड २० लाख डलर ऋणसहयोग दिने शुक्रवार बताएको छ । पाकिस्तानको विद्युत् प्रसारण प्रणालीमा आधुनिकीकरण गर्न त्यस्तो सहयोग दिन लागिएको हो । त्यसपछि विद्युत् चुहावट घट्न गई विद्युत्को कमी हुने अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।पाकिस्तानमा २०१० को ग्रीष्मयाममा ४ देखि ५ हजार मेगावाट विद्युत् कमी भएपछि त्यहाँका जनताले सडक प्रदर्शन गरेका थिए ।  त्यसपछि मुस्लिम उग्रवादिताको सामना गरिरहेको सरकारले थप समस्याको सामना गर्नुपरेको थियो ।बैङ्कले पाकिस्तानलाई विद्युत् वितरण सुधार लगानी कार्यक्रम (पावर डिष्ट्रिब्युशन एन्हान्समेण्ट प्रोग्राम, पीडीइपी) अन्तर्गत ८१ करोड डलरको ऋणसहयोग २००८ मा अनुमोदन गरेको थियो । सोही कार्यक्रमअर्न्तर्गत हालको ऋण दिन लागिएको बैङ्कले एक विज्ञप्तिमा भनेको छ ।'यो परियोजनाले विद्युत् चुहावट रोक्नुका साथै विद्युत् वितरण सेवाको गुणस्तरमा पनि सुधार ल्याउनेछ’ पाकिस्तानका लागि एडीबीका निर्देशक रुन स्ट्रोमले भने । ऋणसम्बन्धी सम्झौतामा स्ट्रोम तथा पाकिस्तानी अधिकारीहरूले शुक्रवार हस्ताक्षर गरेका थिए । ऊर्जा विशेषज्ञका अनुसार पुराना प्रसारण ग्रीड तथा विद्युत्को व्यापक चोरीका कारण पाकिस्तानमा ३० देखि ४० प्रतिशतसम्म विद्युत् चुहावट हुने गरेको छ । रोयटर्स

इरानद्वारा भारततर्फको तेल आपूर्ति निरन्तर गर्ने निर्णय

माघ १५, नयाँ दिल्ली/दाभोस (भारत/स्वीट्जरल्याण्ड) । इरानले उसको भारततर्फो तेल आपूर्ति हालका लागि जारी नै राख्ने निर्णय गरेको छ । दुइ देशबीचको भुक्तानी विवाद सुल्झाउने प्रयास भइरहँदा त्यस्तो निर्णय गरिएको इरानी स्रोत तथा भारतीय कम्पनीका अधिकृतहरूले शुक्रवार बताएका छन् ।क्षेत्रीय बैङ्कहरूमार्फत लामो समयदेखि प्रचलनमा रहेको क्लियरिङ प्रणालीबाट आइन्दा भुक्तानी नगरिने रिजर्भ बैङ्क अफ इण्डियाले गत महीना बताएको थियो । त्यसपछि लगभग १२ अर्बको वार्षिक व्यापारलाई अवरुद्ध हुन नदिने उपायको खोजीमा दुवै  लागेका छन् । 'भारततर्फको आपूर्ति तत्कालै रोक्ने योजना छैन,’ नेशनल इरानियन आयल कम्पनीस्थित एक स्रोतले शुक्रवार भने ।भारत सरकारसम्बद्ध एक स्रोतका अनुसार वैकल्पिक उपायबारे नयाँ दिल्लीको चिन्तालाई इरानले सम्बोधन गरेमा आगामी केही हप्ताभित्र विवाद समाधान हुनेछ । इरानले वैकल्पिक व्यवस्थाका रूपमा यूरोमा भुक्तानी गर्ने प्रस्ताव राखेको थियो । त्यस्तो व्यवस्था इरानमाथि अमेरिकालगायतका राष्ट्रका प्रतिबन्धसँग बाझिन नहुने भारतले जिकीर गर्दै आएको छ ।रोयटर्स

अमेरिकामा थप बैङ्कहरू बन्द

माघ १६, वाशिङ्टन (अमेरिका) । अमेरिकी नियामकहरूले कोलोराडो, न्युमेक्सिको, ओक्लोहामा तथा विस्कन्सिन राज्यमा सञ्चालित केही बैङ्कलाई बन्द गरेका छन् । त्यसपछि २०११ मा असफल घोषित भएका बैङ्कहरूको सङ्ख्या ११ पुगेको छ ।फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेशन (एफडीआईसी)ले बन्द गरेका ती बैङ्कहरूमा फष्ट कम्युनिटी बैङ्क न्युमेक्सिको, र्फसटायर बैङ्क कोलोराडो, फष्र्ट स्टेट बैङ्क अफ कामार्गो ओक्लाहामा तथा एभरग्रीन स्टेट बैङ्क विस्कन्सिनलगायत छन् ।कमजोर अर्थतन्त्र तथा खराब ऋण थुप्रिनाले २००९ मा १४० ओटा तथा २०१० मा  १५७ ओटा बैङ्क बन्द गरिएका थिए । दुइ दशकअघिको बचत तथा ऋण सङ्कटपछि  २०१० मा सबैभन्दा धेरै बैङ्क बन्द भएका छन् । त्यो नै धेरै बैङ्क असफल भएको वर्ष रहने एफडीआईसीले बताएको छ । किनभने बैङ्कहरूको बन्द हुने गति २०११ मा कमी आइसकेको छ ।
एपी/रासस

स्पेनमा बेरोजगारी दर उच्च

माघ १६, माड्रिड (स्पेन) । स्पेनको बेरोजगारी दर २०१० को अन्त्यमा १३ वर्षकै उच्च २० प्रतिशतभन्दा माथि पुगेको छ । यसप्रकार त्यहाँको बेरोजगारी दरले प्रधानमन्त्री जोसे लुइ रोडि्रगेज जापास्तेरोले राखेको १९ दशमलव ४ प्रतिशतको लक्ष्यलाई नाघेको छ ।  बेरोजगारीको त्यस्तो दर औद्योगिक विश्वमै सबैभन्दा उच्च हो । वित्तीय बजारहरूको विश्वास फेरि जित्न संघर्षरत स्पेनका लागि यो थप खराब समाचार हो । ग्रीस र आयरल्याण्डलाई सङ्कटग्रस्त बनाएको तथा हाल पोर्चुगललाई समेत समस्यामा पारेको जस्तो ऋण सङ्कट रोक्ने प्रयास स्पेनले गरिरहेको छ ।वर्षको अन्तिम त्रैमासमा  थप १ लाख २१ हजार ९ सय मानिस बेरोजगार भएका छन् । त्यसपछि स्पेनमा बेरोजगार व्यक्तिको सङ्ख्या कुल ४६ लाख ९० हजार ७ सय पुगेको त्यहाँको राष्ट्रिय तथ्याङ्क संस्था आईएनईले बताएको छ । श्रममन्त्री भ्यालेरिआनो गोमेजले भने ती तथ्याङ्क खास अवधिका लागि मात्र भएको बताएका छन् । साथै आर्थिक सङ्कटका बीच पनि भइरहेको 'अग्रगामी सुधारको बाटो’ हालको तथ्याङ्कले नछेकेको दाबी पनि गोमरेजले गरेका छन् ।       एएफपी/रासस


दाभोसमा खर्च कटौतीबारे मतभिन्नता

माघ १५, दाभोस (स्वीट्जरल्याण्ड) । यूरोपेली तथा अमेरिकी नेताले अर्थतन्त्रको पुनर्बहालीबारे आ-आफ्नै भिन्न रणनीति शुक्रवार दाभोसमा प्रस्तुत गरेका छन् । एउटा पक्षले ठूलो खर्च कटौतीको प्रस्ताव गरेको छ भने अर्को पक्षले त्यस्तो कडा नीति लिन नहुने जिकीर गरेको छ । वर्ल्ड इकोनोमिक फोरममा व्यापार तथा राजनीतिक जगत्का प्रतिष्ठित व्यक्तिहरू भेला भएका छन् । त्यस भेलालाई बेलायती प्रधानमन्त्री डेभिड क्यामरोन, अमेरिकी अर्थमन्त्री टिमोथी गेइथनर तथा जर्मन चान्सलर एञ्जेला मर्केलले सम्बोधन गरेका छन् ।विश्वले सामना अनिश्चित आर्थिक पुनर्बहालीलाई कसरी बचाउने तथा हुर्काउने भन्ने विषयमा सहभागीहरूले बहस गरेका थिए । तर, त्यस बहसमा सहभागी भएका तीनओटा सबैभन्दा धनी पश्चिमेली अर्थतन्त्रका प्रमुखहरूले भने एकआपसमा एकदमै नमिल्ने विचार राखेका छन् ।  क्यामरोनले बेलायतको बजेट घाटा कम गर्न खर्चमा ठूलो कटौती गरिने बताएका छन् । त्यसैगरी जर्मनीको खर्च कटौतीबाट वृद्धि पुनर्बहालीमा योगदान पुगेको मर्केलको विचार छ । उता गेइथनरले भने राम्रो आर्थिक पुनर्बहाली सुनिश्चित नहुञ्जेलसम्म अमेरिकाले ठूलो खर्च कटौतीको कार्यक्रम नल्याउने तर्क राखेका छन् । एएफपी/रासस


इजिप्टको प्रदर्शनले  विश्व बजार प्रभावित

माघ १५, न्युयोर्क (अमेरिका) । इजिप्टमा जारी प्रदर्शनबाट विश्वभरिका वित्तीय बजारहरू प्रभावित भएका छन् । शेयरको मूल्य घटेको छ भने डलर, ऋणपत्र तथा सुनको मूल्य बढेका छन् ।'सुरक्षित बजारमा लगानी गर्ने प्रवृत्ति फेरि देखिएको छ । सुन, तेल आदिको मूल्य बढेको छ । समुद्रपारसँग सम्बन्धित सबै कुरालाई असर गरेको छ,’ ब्रोकर स्टुआर्ट फ्रान्केल एण्ड कम्पनीका जेफरी फ्रान्केलले भने । विश्वको शेयरबजारको मापन दिने सबैभन्दा फराकिलो एकाइ एमएससीआई वर्ल्ड मार्केट इण्डेक्स १ दशमलव ४ प्रतिशतले ओरालो लागेको छ । त्यसैगरी अरब क्षेत्रको सबैभन्दा ठूलो शेयर बजार साउदी अरेबियाको शेयर सूचकाङ्क शनिवार ६ दशमलव ४३ प्रतिशतले तल झरेको छ  । एएफपी/रासस

मारुतिको नाफा १८ प्रतिशत कम

माघ १५, नयाँ दिल्ली (भारत) । विक्री सङ्ख्याका आधारमा भारतको सबभन्दा ठूलो कार निर्माता मारुति सुजुकीले आफ्नो त्रैमासिक नाफामा १८ प्रतिशतले कमी आएको शनिवार बताएको छ । कच्चा पदार्थको बढ्दो मूल्यका कारण यसरी नाफा घटेको भएको हो ।जापानको सुजुकी मोटर कर्पोरेशनको मुख्य स्वामित्व भएको मारुति कम्पनीले डिसेम्बरको अन्त्यमा आफ्नो नाफा ५ अर्ब ६५ करोड भारूमा झरेको बताएको छ । गतवर्ष डिसेम्बरमा अन्त्य भएको त्रैमासमा यो नाफा ६ अर्ब ८० करोड भारू थियो ।दिल्लीस्थित यो कम्पनीको नाफा विश्लेषकहरूले पूर्वानुमान गरेको ६ अर्ब भारूभन्दा अलिकति मात्रै कम छ । पछिल्ला दिनमा कम्पनीले दक्षिण कोरियाली कम्पनी हयुण्डाइसँग पहिलो स्थानमा रहन तीव्र प्रतिस्पर्धा गरिरहेको छ ।नाफा घटे पनि कम्पनीको विक्रीबाट प्राप्त कुल रकममा भने २७ प्रतिशतले वृद्धि भएर ९२ अर्ब ७६ करोड भारू पुगेको छ । आर्थिक वर्षको यो तेस्रो त्रैमासमा यसरी नाफा घट्नुमा स्टील र अरू कच्चा पदार्थको मूल्य बढ्नु र जापानको मुख्य कम्पनीलाई उच्च रोयल्टी तिर्नुपरेकोलगायतका कारण छन् । कम्पनीले एक विज्ञप्तिमार्फत यो त्रैमासमा वस्तुबजारमा भएको मूल्यवृद्धिका कारण नाफाको अंश प्रभावित भएको बताएको छ ।

जनवरीको शुरूमा मारुतिले आफ्ना उत्पादनहरूको मूल्य बढाएको छ । स्टील, रबर र अरू कच्चापदार्थको मूल्य बढेका कारण कारहरूको मूल्य पनि बढाइएको उसले बताएको छ । तथापि भारतीय कारबजारमा विद्यमान तीव्र प्रतिस्पर्धाका कारण कम्पनीले आफ्ना उत्पादनहरूको मूल्य धेरै बढाउन भने आनाकानी गरिरहेको छ ।यसबीचमा रबरको मूल्य दोब्बर भएको छ भने तामा र स्टीलको मूल्यमा १५ प्रतिशतसम्मको वृद्धि भएको छ । जापानी मुद्रा येनको अधिमूल्यनका कारणले पनि जापानबाट आपूर्ति हुने सामानको मूल्य धेरै तिर्नुपरेको छ र यसले मारुति कम्पनीलाई थप आर्थिक घाटा सृजना गरेको छ ।भारतमा चल्ने हरेक दोस्रो कारको विक्री मारुतिको हुने गरेको छ र बढ्दो मागलाई पूरा गर्न उसले आफ्नो अधिकतम क्षमतामा कारहरूको उत्पादन गरिरहेको छ । एएफपी/रासस

विकिलीक्सको सहयोगी वेबसाइट

माघ १५, दाभोस (स्वीट्जरल्याण्ड) । विकिलीक्सका संस्थापक जुलियन असाञ्जका पूर्वसहायक डेनियल डम्सिट बर्गले नेतृत्व गरेको एउटा समूहले नयाँ वेबसाइट स्थापना गरेको छ । व्यापारजगत्का प्रतिष्ठित व्यक्तिहरूको दाभोस बैठकका बेला शुरू गरिएको उक्त वेबसाइटले विकिलीक्सलाई सघाउनेछ ।ओपेनलिक्स डट ओआरजी भनिने उक्त नयाँ साइटमा सामान्य जनताले अज्ञात रहेर सूचना चुहाउने व्यवस्था गरिने बर्गले बताएका छन् । सञ्चारजगत्का केही साझेदारहरूसँग मिलेर काम गर्ने समूहले अपेक्षा गरेको छ । तर, उनीहरूको प्रणालीले कसरी काम गर्नेछ तथा कुन वेबसाइट वा संस्थासँग मिलेर काम गर्दै छन् भन्नेबारे विस्तृत जानकरी दिइएको छैन ।'जहाँ पारदर्शिता अस्वीकार गरिन्छ त्यहाँ हामीले पारदर्शिताको सृजना गर्नुपर्छ,’ जर्मनीका बर्गले भने । रोयटर्स