भारतमा जग्गा अधिग्रहण रकम वृद्धि
साउन १५ (भारत) । भारतको नयाँ भूमि अधिग्रहण विधेयकअनुसार किसानको जग्गा अधिग्रहण गरेबापत उनीहरूलाई पहिलेको भन्दा ६ गुणासम्म धेरै क्षतिपूर्ति दिइनेछ । एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा औद्योगिक विकासलाई प्रवर्द्धन गर्न त्यस्तो विधेयक ल्याइएको हो । बृहत् परियोजना सञ्चालनका लागि सरकारले भूमि अधिग्रहण गर्दा हाल किसानहरूबाट भइरहेको तीव्र विरोध उक्त मस्यौदा विधेयक लागू भएपछि साम्य हुने अपेक्षा गरिएको छ ।
तीव्र आर्थिक वृद्धिका साथै करोडौं मानिसलाई छिट्टै गरीबीबाट बाहिर निकाल्न औद्योगिकीकरण गरिनुपर्नेमा अर्थशास्त्रीहरूले जोड दिँदै आएका छन् । तर, कारखाना, सडक, घर र अन्य परियोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रियामा भने ठूलो अवरोध आउने गरेको छ । हालै दक्षिण कोरियाली कम्पनीले पूर्वी भारतमा १२ अर्ब डलरको लगानीमा स्टील कम्पनी स्थापनाका लागि जग्गा अधिग्रहण गर्ने विषयमा चर्को विरोध भएको थियो ।वर्तमान विधेयकले पूर्वाधार निर्माण, औद्योगिकीकरण र अन्य विकास कार्यका लागि जग्गा अधिग्रहण प्रक्रियालाई सजिलो पार्ने अपेक्षा गरिएको छ । त्यसैगरी, विधेयकले किसानहरूको चिन्तालाई पनि उचित सम्बोधन गर्ने सरकारी विज्ञप्तिमा भनिएको छ । एएफपी/रासस
कर्नाटकका मुख्यमन्त्रीद्वारा भ्रष्टाचार आरोपमा राजीनामा
साउन १५, नयाँ दिल्ली (भारत) । भारतको दक्षिणी राज्य कर्नाटकका मुख्यमन्त्री बीएस येड्डीउडप्पाले भ्रष्टाचारको आरोप लागेपछि राजीनामा गरेका छन् । उनीमाथि खानी उत्खननको ठेक्का दिँदा अर्बौं डलरको भ्रष्टाचार भएको आरोप भ्रष्टाचारविरोधी एक समितिले लगाएको थियो । त्यसपछि येड्डीउडप्पालाई उनको दल भारतीय जनता पार्टीले राजीनामा गर्न निर्देशन दिएको थियो ।येड्डीउडप्पालगायतका सांसद तथा सयौं अन्य सरकारी अधिकारीलाई घूसखोरीको आरोपमा मुद्दा चलाउन समितिले सिफारिश गरेको थियो । येड्डीउडप्पालगायत थुप्रै मन्त्री र विपक्षी दलका सांसदहरूले समेत वातावरण कानूनको पनि उल्लङ्घन गरेको समितिको आरोप छ । एपी/रासस
भारतमा स्पीक एशियाका अधिकारी पक्राउ
साउन १५, मुम्बई (भारत) । भारतका प्रहरीले सिङ्गापुरस्थित एउटा अनलाइन सर्वे कम्पनी स्पीक एशियाका दुईजना अधिकारीलाई मुम्बईमा पक्राउ गरेको छ । स्पीक एशियाका भारतस्थित प्रमुख कार्यकारी अधिकृत तारक बाजपेयी र वित्त प्रबन्धक रवि खन्ना पक्राउ परेका हुन् । उनीहरूमाथि लगानीकर्ताको झण्डै २९ करोड ४० लाख डलर ठगेको आरोप लागेको छ । ती दुई उच्चअधिकारीसँगै दुईजना वेब प्राविधिकलाई पनि पक्राउ गरिएको छ । उनीहरूलाई वित्तीय ठगीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरी सहआयुक्त हिमांशु रोयले बताए । वार्षिक भारू ११ हजारको लगानी गरेपछि प्रत्येक वर्ष५४ हजार फिर्ता पाइने लोभ देखाएर भारू १३ अर्बसम्मको ठगी गरेको आरोप उनीहरू माथि छ । स्पीक एशियाले ग्राहकहरूलाई सर्वेक्षणमा भाग लिन प्रेरित गराएबापत सदस्यहरूलाई पैसा दिने गरेको छ । भारतबाट मात्रै १० लाखभन्दा बढी मानिसले सर्वेक्षणमा भाग लिइरहेको कम्पनीको दाबी छ । कम्पनीको बैङ्कखाता पनि रोक्का गरिएको छ । एएफपी/रासस
Admin 2011-08-01