ताइवानका पूर्वराष्ट्रपतिमाथि भ्रष्टाचार मुद्दा
असार १६ । ताइवानका पूर्वराष्ट्रपति ली तेङ हुइमाथि भ्रष्टाचारको आरोपमा मुद्दा चलाइएको छ । ताइवानका पहिलो निर्वाचित राष्ट्रपति लीमाथि सरकारी कोषबाट ७८ लाख डलर हिनामिना गरेको आरोप लागेको हो । उनीमाथिको उक्त आरोप प्रमाणित भएमा लीले जन्मकैदको समेत सजाय भोग्नुपर्ने हुन सक्छ । लीसँगै उनका आर्थिक सल्लाहकार लिउ ताइ यिङमाथि पनि मुद्दा चलाइनेछ । साथै, ताइवानको एक व्यापारिक समूह रूण्टेक्स ग्रूपमाथि पनि ली र लिउलाई भ्रष्टाचारमा प्रोत्साहित गरेको आरोपमा मुद्दा चलाइने भएको छ ।
ताइवानको आधुनिक इतिहासमा ली अत्यन्तै महत्त्वपूर्ण पात्रमध्येका एक हुन् । उनले ताइवानमा महत्त्वपूर्ण लोकतान्त्रिक सुधार कार्यक्रम लागू गरेका थिए । साथै, राष्ट्रिय कोमिन्ताङ पार्टीको प्रमुख हुने उनी पहिलो स्थानीय ताइवानी नागरिक हुन् ।लोकतान्त्रिक सुधार कार्यक्रम लागू गरेकाले ८८ वर्षीय लीलाई मुख्यभूमि चीनका नेताहरू बारम्बार आलोचना गर्दै आएका छन् । चीनले ताइवानलाई आफ्नै देशको एक हिस्साका रूपमा दाबी गर्दै आएको छ । त्यसैले छुट्टै ताइवानी पहिचान बनाउन लीले खेलेको भूमिकाप्रति पनि चिनियाँ नेताहरू असन्तुष्ट छन् । एजेन्सी
Admin 2011-07-01