भारतमा आंशिक निजीकरणबाट ९ अर्ब डलर
फागुन १६, नयाँ दिल्ली (भारत) । भारत सरकारले आगामी आर्थिक वर्षमा राज्यको स्वामित्वमा भएका कम्पनीहरूलाई आंशिक निजीकरण गरेर ४ खर्ब भारू (९ अर्ब डलर) उठाउने भएको छ । संसद्मा सोमवार बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले त्यस्तो योजना सार्वजनिक गरेका हुन् । मुखर्जीले ४ खर्बबराबरको शेयर विक्री गरिने जानकारी दिएका छन् । यस अर्थिक वर्षमा पनि त्यति नै रकमबराबरको शेयर विक्री गर्ने लक्ष्य रहेको छ । त्यसैगरी सबै र्सार्वजनिक कम्पनीहरूको ५१ प्रतिशत हिस्सा भने सरकारले नै राख्नेछ । गत वर्षप्रमुख राज्यनियन्त्रित औद्योगिक समूहका शेयरको मागमा ठूलो वृद्धि देखिएको थियो । विश्वकै सबैभन्दा ठूलो कोइलाखानी सञ्चालक कोल इण्डियामा रहेको १० प्रतिशत हिस्सा बेचेर सरकारले ३ अर्ब ४० करोड डलर उठाएको थियो । त्यतिबेला, कोल इण्डियाको शेयर अङ्कित मूल्यभन्दा १५ गुणा बढीले खरीद गरिएको थियो । त्यसैगरी म्यागनिज ओर लिमिटेड र पावर ग्रीडको आंशिक निजीकरण पनि सफल भएको थियो । तर, राज्यनियन्त्रित एनएमडीसी र एनटीपीसीको शेयरलाई भने अतिमूल्याङ्कन गरिएको देखिएको छ । केही महीनायता उच्च मूल्यस्फीति र श्रृङ्खलाबद्ध भ्रष्टाचार काण्डहरूले प्रधानमन्त्री मनमोहन सिंहको सरकार अप्ठेरोमा परेको छ । त्यसबाट राज्यहरूमा हुने निर्वाचनका बेला एकातिर जनप्रदर्शन बढेको छ भने अर्कोतिर विदेशी लगानीकर्ताहरू सशङ्कित भएका छन् । एएफपी/रासस
चीनद्वारा ऊर्जा खपत घटेको दाबी
फागुन १६, साङ्र्घाई (चीन) । आर्थिक उत्पादनको प्रतिएकाइमा खपत हुने ऊर्जाको मात्रा घटाउने चिनियाँ प्रयास २०१० मा खासै सफल नभएको देखिएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार, कुल गार्हस्थ उत्पादन (जीडीपी)को प्रतिएकाइ ऊर्जा खपतमा २००९ को भन्दा ४ प्रतिशतले मात्र कमी आएको छ । जीडीपीको प्रति १० हजार युआनमा खपत भएको ऊर्जालाई आधार मानेर त्यस्तो प्रतिशत निकालिएको ब्युरोले बताएको छ ।त्यसैगरी सबैकिसिमका ऊर्जा स्रोतको प्रयोगमा तीव्र वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये कोइलाबाट प्राप्त गरिने ऊर्जामा ५ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । चीनको विद्युत् उत्पादनमध्ये तीन चौथाइ हिस्सा कोइलाबाट हुने गरेको छ । चीनले यसअघि २० प्रतिशतको दरले ऊर्जा कार्यक्षमता बढाउने एउटा पञ्चवर्षीय लक्षमा सफलता प्राप्त भएको दाबी गरेको थियो । तर, त्यस्तो उद्योगहरूलाई दिइने ऊर्जामा कटौती र लोडशेडिङ बढाएर त्यस्तो लक्ष प्राप्त गरिएको थियो । एपी/रासस
इरानका तेलमन्त्री द्वारा उत्पादन नबढाउन आह्वान
फागुन १६, तेहरान (इरान) । इरानले तेलको उत्पादन एकतर्फी रूपमा नबढाउन ओपेक र खासगरी सउदी अरेबियालाई आह्वान गरेको छ । लिबियाको अस्थिरताबाट उत्पन्न कमीलाई हालकै उत्पादनले धान्ने भएकोले थप उत्पादन बढाउनुनपर्ने इरानको तर्क छ । 'ओपेक सदस्य राष्ट्रहरूले एकतर्फी रूपमा निर्णय लिन हतारिन हुँदैन,’ इरानी तेलमन्त्री मसोउद मिर्काजेमीले भने । मिर्काजेमी ओपेकका वर्तमान सभापति हुन् । हालै सउदी तेलमन्त्रीले लिबियाका कारण हुने कमीको भरथेग गर्न उनको देशले तेलको उत्पादन बढाउने बताएका थिए । सउदी तेलमन्त्रीको त्यस्तो धारणाको प्रतिक्रियास्वरूप इरानको यस्तो प्रतिक्रिया आएको छ । सउदी अरेबिया विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक हो भने इरान दोस्रो ठूलो तेल निर्यातक देश हो ।
इटलीका प्रधानमन्त्रीमाथि कर छलीको मुद्दा
फागुन १६, मिलान (इटली) । इटलीका प्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनी कर छलीको मुद्दामा सोमवार फेरि मुद्दा चल्ने भएको छ । त्यहाँको संवैधानिक अदालतले उनी प्रधानमन्त्री भएकाले उन्मुक्ति पाउनुपर्ने कुरालाई अस्वीकार गरिदिएपछि बर्लुस्कोनीमाथि मुद्दा चल्ने भएको हो । बर्लुस्कोनीको सञ्चार कम्पनीले अमेरिकी फिल्मको टीभी प्रसारण अधिकार खरीद गर्ने क्रममा कर छली गरेको आरोप छ । तर, बर्लुस्कोनीले भने त्यस्तो आरोप अस्वीकार गरेका छन् ।गतवर्ष संसद्ले प्रधानमन्त्री र सरकारका अन्य अधिकारीलाई जारी मुद्दा १८ महीनासम्म तारीखमा राख्न पाउने अनुमति दिएको थियो । त्यसपछि बर्लुस्कोनीमाथिको सो मुद्दा खारेज गरिएको थियो । इटलीको सञ्चारक्षेत्रका हस्ती ७४ वर्षीय बर्लुस्कोनीपछि राजनीतिमा लागेका हुन् । आफूमाथि लागेको आरोपलाई उनले वामपन्थी वकिलहरूको षड्यन्त्र भन्दै आएका छन् । एपी/रासस
जनवरीमा हवाई यात्रुसङ्ख्या वृद्धि
फागुन १६, ज्युरिच (स्वीट्जरल्याण्ड) । जनवरीमा अन्तरराष्ट्रिय हवाई ढुवानी र यात्रुसङ्ख्यामा वृद्धि भएको विमानसेवा सङ्गठन आईएटीएले सोमवार बताएको छ । तर, मध्यपूर्वको राजनीतिक अस्थिरताले बढेको तेलको मूल्यका कारण २०११ मा चुनौती आउनसक्नेतर्फपनि सचेत गराएको छ । 'मध्यपूर्वका घटनालाई हामी चलाखीपूर्वक हेरिरहेका छौं । त्यस क्षेत्रको अस्थिरताले तेलको मूल्य चर्किएको छ,’ आईएटीएका महानिर्देशक तथा प्रमुख कार्यकारी जीओभान्नी बिसिग्नानीले भने । लिबियाको हिंसात्मक संघर्षले उत्तर अफ्रिमबाट हुने तेलको आयात घट्न पुगेको छ । आपूर्ति थप खलबलिने आशङ्काले संसारभरि नै तेलको मूल्यमा तीव्र वृद्धि भइरहेको छ । रोयटर्स
लाइट क्रुडको मूल्य ९९ डलर नाघ्यो
फागुन १६, सिङ्गापुर (सिङ्गापुर) । लिबियाको हिंसात्मक संघर्ष जारी रहँदा एशियामा तेलको मूल्य बढेर प्रतिब्यारेल ९९ डलर नाघेको छ ।ओमानमा पनि हिंसात्मक प्रदर्शन देखिएपछि प्रमुख तेल उत्पादक राष्ट्रहरूमा पनि त्यस्तो प्रदर्शनको आशङ्काले तेलको मूल्य झनै बढेको हो । यसैबीच, लिबियाको निर्यातमा भएको कटौतीलाई भरथेगका लागि आफूहरू तेलको उत्पादन बढाउन तयार रहेको साउदी अरेबियालगायत अन्य ओपेक राष्ट्रले भनेका छन् ।साउदी अराम्कोका प्रमुख कार्यकारी खालिद अल फलिहले लिबियाका कारण भएको कमी पूरा गर्न उक्त कम्पनीले थप उत्पादन गरिरहेको बताएका छन् । तर, आपत्कालीन बैठक नै बोलाउनुपर्ने अवस्था भने नरहेको ओपेकका सदस्यहरूले दाबी गरेका छन् । न्युयोर्कमा कच्चा फ्युचर्सको मूल्य सोमवार झण्डै १ सय डलर र लण्डनमा १ सय १३ डलर प्रतिब्यारेलभन्दा पनि माथि पुगेको छ । एफपी/रासस
साङ्र्घाई जीएमबाट २ लाख ३३ हजार गाडी फिर्ता
फागुन १६, साङ्र्घाई (चीन) । साङ्र्घाई जनरल मोटर्स कम्पनीले चीनमा भएका २ लाख ३३ हजार गाडीहरू फिर्ता मगाउने भएको छ । ती गाडीमा रहको तेलका पाइपमा खराबी देखिएपछि सम्भावित आगलागी वा इञ्जिन फेलियरबाट जोगाउन कम्पनीले त्यस्तो निर्णय गरेको हो ।उक्त कम्पनी अमेरिकाको जनरल मोटर्स कम्पनी र साङ्र्घाई अटोमोटिभ इण्डष्ट्रियल कर्पोरेशनको संयुक्त लगानी कम्पनी हो । तेलको पाइपमा रहेको खराबीले पाइप फुटेर इञ्जिनमा खराबी आउनुका साथै आगलागीसमेत हुन सक्ने चेतावनी त्यहाँको गुणस्तर निकायले दिएको थियो । एपी/रासस
विवाहित युवा दम्पती सबैभन्दा खुशी
फागुन १६, लण्डन (ब्रिटेन) । ब्रिटेनमा बिहे गरिसकेका तर अझै सन्तान नजन्माइसकेका जोडीहरू सबैभन्दा खुशी पाइएका छन् । सरकारको सहयोगमा सञ्चालित त्यहाँको इकोनोमिक एण्ड सोसल रिर्सच काउन्सिलको अध्ययनले त्यस्तो निष्कर्ष निकालेको छ । अध्ययनका अनुसार, युवा जोडीका तुलनामा पाका जोडीहरू कमै सन्तुष्ट रहन्छन् । त्यसैगरी उमेरसँगै पुरूषभन्दा महिलाहरूमा खुशीको मात्रा धेरै घट्ने गरेको छ । अध्ययनका अनुसार, लामो समयसँगै रहेका जोडीभन्दा ५ वर्षभन्दा कम समय बिताएका जोडीहरू बढी खुशी रहन्छन् । त्यसैगरी विवाह नगरीकनै सँगै बसेका जोडीभन्दा विवाह गरेका जोडी बढी खुशी रहने अध्ययनले देखाएको छ । स्कूल जाने उमेरभन्दा साना केटाकेटी भएका आमाबाबु भने सबैभन्दा बेखुशी पाइएका छन् । तर, बच्चा हुर्किंदै गएपछि भने आमाबाबुहरूको खुशी पनि बढ्दै गएको देखिएको छ । पुरुषको दाम्पत्य सुख अनुभवमा बेरोजगारीले पनि नकारात्मक प्रभाव पर्ने देखिएको छ । तर, महिलाको लागि भने आम्दानी पनि दाम्पत्य सुख अनुभवका लागि महत्त्वपूर्ण रहने अनुसन्धानले देखाएको छ । रोयटर्स
Admin 2011-03-01