मलेसियालीहरू इण्टरनेटमा सर्वाधिक लोकप्रिय
कात्तिक १६, मलेसिया (क्वालालम्पुर) । मलेसियालीहरू इण्टरनेट (नेटिजन कम्युनिटी) मा सर्वाधिक लोकप्रिय भएको एक विश्वव्यापी अध्ययनले बताएको छ । राष्ट्रिय संस्कृति कसरी अनलाइन व्यवहारमा प्रतिविम्बित हुन्छ भन्ने देखाउने उक्त अध्ययनले जापानीहरूलाई सबैभन्दा कम रुचाइएको देखाएको छ ।मलेसियालीहरूले आफ्नो सामाजिक सञ्जालमा औसत रूपमा प्रतिव्यक्ति २ सय ३३ साथी बनाएर 'इण्टरनेट पपुलारिटी अवार्ड' जितेका हुन् । चिनियाँहरूले प्रतिव्यक्ति ६८ जना र जापानीहरूले प्रतिव्यक्ति २९ जनामात्र साथी बनाएको विश्वव्यापी रिर्सच कम्पनी टीएनएसको अध्ययन 'डिजिटल लाइफ स्टडी'ले बताएको छ ।
सामाजिक तथा बहुसांस्कृतिक राष्ट्र मलेसियामा सबैका लागि खुला 'ओपन हाउस पार्टीको परम्परा छ । त्यहाँ उत्साहपूर्वक नयाँ मित्रहरू बनाइन्छन् । त्यस्तो मुलुकका लागि यो नतीजा कुनै आर्श्चर्यको विषय भने होइन ।'आफूले चिनेजानेका सबैलाई घरमा निम्त्याउनु मलेसियालीको बानी नै हो' मलेसियाली लेखक तथा अभिनेता चाक्को भाडाकेथले भने । उनको फेसबुक सञ्जालमा १ हजार १० साथी छन् । चिनेका सबैलाई साथी मान्ने मलेसियाली समाज अरूभन्दा बढी खुला भएको तर्क गर्दै उनी मलेसियाली विवाहको पार्टी १ हजारभन्दा बढी मानिसलाई बोलाउने परम्परा सम्झाउँछन् ।
मुलुकबाहिर बस्ने मलेसियालीको सङ्ख्या पनि निकै ठूलो छ । उनीहरूसँग सम्पर्क स्थापित गर्नका लागि फेसबुकजस्ता सामाजिक सञ्जालहरूको ठूलो महत्व देखिएको छ । भारतीय र सिरियन पुर्खाका सन्तान भाडाकेथले बेलायतमा पढेका हुन् । हाल उनी अमेरिकामा बस्छन् । उनका परिवार र साथीहरू विभिन्न महादेशमा छन् । उनी मलेसियाको उत्साही नयाँ पुस्ताका प्रतिनिधि हुन् ।'केही समय त मैले फेसबुकको प्रतिरोध नै गरेँ तर मसगँ अन्य विकल्प भएनन् । यसले इमेललाई पछि पारिसकेको थियो' उनले भने, 'म साथीहरूले आयोजना गर्ने कार्यक्रम र पार्टीहरुमा भाग लिन चाहन्छु । यी सबको सूचना फेसबुकबाटै आउने गरेको छ ।'
निएल्सनको अनलाइन विभाग डिजिटल इनसाइटका निर्देशक मार्क हिग्गिन्सनका अनुसार हरेक देशले गर्ने सामाजिक मिडियाको प्रयोग त्यस देशको आफ्नै राष्ट्रिय विशेषताहरूबाट निर्देशित हुन्छ । त्यसैले बढी खुला दक्षिणपूर्वी मुलुक मलेसिया, फिलिपिन्स र इण्डोनेसियाले बढी परम्परागत पूर्वी एशियाली मुलुकहरू चीन, जापान र दक्षिण कोरियाले भन्दा फरक प्रवृत्ति देखाएका हुन् ।'जापानीहरू सामाजिक मिडियाका ठूला प्रयोगकर्ता हुन् । तर, उनीहरूले फेसबुकको प्रयोग त्यत्ति गर्दैनन् । त्यहाँ टिव्टरजस्ता सञ्जालले भर्खर मात्र गति लिएका छन्' उनले भने । कोरियनहरू स्वदेशी पोर्टलहरूका छलफल मञ्चहरूको प्रयोग बढी गर्छन् । चीनमा भने सामाजिक 'गेमिङ' तथा गतिविधिमा आधारित अवधारणहरूको प्रचलन बढी भएको हिग्गिन्सनले बताए ।'अध्ययनले हरेक देशको एउटा छुट्टै 'डिजिटल डीएनए' भएको देखाएको छ' टीएनएसका जेम्स फर्ग्युसनले भने, 'मलेसियालीहरू अन्य एशियाली संस्कृतिमा जस्तै अनलाइनमा मित्रताप्रति बढी उदार छन् भने जापानीहरूले किनै छानेर मात्र अनलाइन मित्र बनाउँछन् ।' एफपी
चीनले अमेरिकी मकैको कार्गो रोक्यो
कात्तिक १६, चीन (बेइजिङ) । अमेरिकाबाट ल्याइँदै गरेको मकै वंशाणु परिवर्तित भएको जनाउँदै चीनको क्वारेण्टाइन ब्यूरोले यस्तो मकैको एउटा पूरै खेप चीनमा प्रवेश गर्न रोक लगाएको छ । 'कार्गोमा चीनको कृषि मन्त्रालयले स्वीकृत नगरेका वंशाणु परिवर्तन गरिएका वस्तु फेला परेका छन् । राज्य परिषदको नियमअनुसार यस्तो कार्गो फिर्ता हुन्छ' शेञ्जेन आवागमन निरीक्षण र क्वारेण्टाइन ब्यूरोका एक अधिकारीले बताएका छन् । उनले त्यो कार्गोको खरीदकर्ता को हो भन्नेबारेमा जानकारी दिन चाहेनन् । तर, स्वीकृति प्रदान नगरिएको वस्तु 'एमओएन८९०३४' भएको उनले बताए ।
ग्वाङडोङको एक मिलका व्यापार अधिकृतका अनुसार उक्त कार्गो कफ्को कम्पनी लिमिटेडको हो । त्यो मकै सो प्रान्तका अन्य धेरै मिलका लागि भनेर किनिएको हो । कार्गो सेप्टेम्बरमा चिवान बन्दरगाहमा आइपुगेको थियो । त्यसलाई बन्दरगाहको गोदाममा पठाइएको थियो । 'बन्दरगाहमा सामान ल्याएबापतको रकम हामीले कफ्कोलाई तिरिसकेका छौँ तर हामीलाई सामान लैजाने अनुमति दिइएको छैन' अधिकृतले भने । उनले आफ्नो नाम भने खुलाउन चाहेनन् । सन् २०१० को पहिलो छमहीने अवधिमा मकैको मूल्य अमेरिकामा भन्दा बढी भएपछि चीनले झण्डै एक दशकपछि ठूलो परिमाणमा अमेरिकी मकैको माग गरेको थियो । चीन विश्वकै मकैको दोस्रो ठूलो उपभोक्ता हो ।ती अधिकृतका अनुसार कार्गोलाई अब समुद्रपारका अन्य बजारमा बेचिने सम्भावना रहेको छ । कफ्कोले जापानी विक्री कम्पनी मित्सुबिशी कर्पोरेशनबाट उक्त कार्गो किनेको तीनवटा व्यापारस्रोतले बताएका छन् । रोयटर्स