अमेरिका-दक्षिण कोरिया व्यापार सन्धि विवाद
माघ १६, वासिङ्टन (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा उनका रिपब्लिकन प्रतिद्वन्द्वीहरू दक्षिण कोरियासँगको व्यापार सहमतिको पक्षमा छन् । तर, सो सहमतिका विपक्षीहरू भने प्रतिवादका लागि शक्ति सञ्चय गर्न लागिपरेका छन् । ओबामाले आफ्नो वार्षिक 'स्टेट अफ द युनियन एड्रेस' भाषणमा सन्धिलाई सकेसम्म छिटो अनुमोदन गर्न सांसद्हरूलाई आग्रह गरेका छन् । अनुमोदनपछि दुइ देशबीचका ९५ प्रतिशत करहरू हटाइनेछन् । अमेरिकाका लागि दक्षिण कोरियाली राजदूत हान डक सूले महिनौंदेखि उनको देश र अमेरिकाबीचको सन्धिलाई समर्थन गर्न अमेरिकी सांसद् तथा व्यापारिक नेताहरूबीच पहल गर्दै आएका छन् ।
दक्षिण कोरियासँगको उक्त सन्धिको मस्यौदा पहिलोपटक पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशकै पालामा गरिएको थियो । त्यतिखेर सिनेटर रहेका ओबामाले सन्धिको विरोध गरेका थिए तर हालको संशोधित सन्धिबाट अमेरिकामा ७० हजार थप रोजगार सृजना हुने ओबामाले दाबी गरेका छन् । त्यसका साथै अमेरिकी निर्यातमा वृद्धि भई अमेरिकी अर्थतन्त्रले पुनर्जीवन पाउने ओबामाको अपेक्षा छ ।अमेरिकाको सबैभन्दा ठूलो श्रम सङ्गठन एएफएल-सीआईओ तथा त्यहाँको उपभोक्ता पैरवी समूह पब्लिक सिटिजनले सन्धिको विरोध गर्ने बताएका छन् । त्यसैगरी दक्षिण कोरियाका वामपन्थी सांसद्लगायत श्रम तथा कृषि अभियन्ताले पनि सन्धिको कडा विरोध गरेका छन् । त्यसका साथै उनीहरूले सन्धिका अमेरिकी विरोधीहरूसँग ऐक्यबद्धता गर्ने पनि बताएका छन् । सन्धिले ठूला व्यापारिक समूहलाई प्रमुख लाभ हुने विरोधीहरूको दाबी छ ।
एएफपी/रासस
भारतमा विदेशी लगानीमा कमी
माघ १६, नयाँ दिल्ली -भारत) । दाभोसमा भइरहेको वर्ल्ड इकोनोमिक फोरममा भारतले आफूलाई राम्रो लगानी गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । यसैबीच भारतमा भइरहेको विदेशी लगानी एक तिहाइले घटेको तथ्याङ्कले देखाएको छ । लगभग ९ प्रतिशतको उच्च दरले वृद्धि भइरहेको भारतीय अर्थतन्त्रका बारेमा यसलाई एउटा आश्चर्यजनक तथ्याङ्क मान्नुपर्छ । तर, वातावरणसम्बन्धी स्वीकृति र भूमि प्राप्तिसम्बन्धी स्वीकृति पाउन हुने ढिलाइ तथा कमजोर पूर्वाधारले गर्दा लगानी घटेको भारतको केन्द्रीय बैङ्कले गत हप्ता बताएको छ ।सन् २०१० मा भारतमा भएको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) २००९ को २४ अर्ब डलरबाट ३२ प्रतिशतले घटेको छ । सोही अवधिमा उसका प्रतिद्वन्द्वीहरूले भने अझ बढी विदेशी लगानी भित्र्याएका छन् । सिङ्गापुरमा २०१० मा भएको विदेशी लगानी अघिल्लो वर्षभन्दा १ सय २२ प्रतिशतले, चीनमा ६ दशमलव ३ प्रतिशतले र मलेशियामा ४ सय १० प्रतिशतले बढेको छ । भारतले आर्थिक सुधारका लागि ढिलाइ गर्न नहुनेतर्फ तथ्याङ्कले सचेत गराएको लण्डनस्थित क्यापिटल इकोनोमिक्ससम्बद्ध अन्तरराष्ट्रिय अर्थशास्त्री केभिन ग्राइसले बताएका छन् । एएफपी/रासस
डब्ल्यूटीओद्वारा बोइङ-एयरबस विवादमा निर्देशन
माघ १६, जेनेभा (स्वीट्जरल्याण्ड) । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)ले अमेरिका र ईयूलाई एउटा अन्तिम तर गोप्य निर्देशन सोमवार दिने अपेक्षा गरिएको छ । अमेरिकी सार्वजनिक सहायता विमान कम्पनी बोइङलाई दिइएको विषयमा दुइ पक्षबीच दशकौंदेखिको विवादबारे डब्ल्यूटीओले निर्देशन दिने भएको हो । त्यसैगरी यूरोपले पनि एयरबसलाई अनुदान दिएको भन्दै अमेरिकाले प्रतिवाद गर्दै आएको छ । डब्ल्यूटीओको प्रावधानअनुसार, दुवै पक्षलाई दिइएको निर्देशन केही महीनासम्म गोप्य नै राख्नुपर्ने छ ।वासिङटनस्थित स्रोतका अनुसार दुवैपक्षलाई सोमवार १५:३० जीएमटी समयमा निर्देशन हस्तान्तरण गर्नुपर्ने छ । त्यसपछि दुवैपक्षका वकिलहरूलाई प्रतिवेदनका विविध पक्षहरू बुझ्न समय दिइनेछ । डब्ल्यूटीओले आफ्नो प्रारम्भिक प्रतिवेदन गत सेप्टेम्बरमा दुवै पक्षलाई उपलब्ध गराएको थियो । त्यसपछि ईयूलाई ४५ अर्ब डलर क्षतिपूर्ति डब्लूटीओका मध्यस्थकर्ताले प्रदान गर्ने अपेक्षा राखेको गत मङ्गलवार एयरबसले बताएको थियो । त्यसबाट बोइङले गैरकानूनी सहायता पाएको प्रमाणित हुने एयरबसकी प्रवक्ता बर्गसमाले बताइन् । उता बोइङकी प्रवक्ताले भने एयरबसको त्यस्तो दाबी हास्यस्पद रहेको बताइकी छन् । एएफपी/रासस