एप्पलले उछिन्यो सबै मोबाइल कम्पनीलाई
वैशाख १७, न्यूयोर्क (अमेरिका) । यसै हप्ता प्रस्तुत गरिने मोबाइल फोन कम्पनीका वित्तीय प्रतिवेदनअनुसार एप्पल इङ्कको तुलनामा अरू कम्पनीहरू एकदमै फुच्चे देखिएका छन् । १९९७ सम्म झण्डै अज्ञात नै रहेको एप्पल एक्जन मोबाइल कर्पोरेशन पछि हाल विश्वकै दोस्रो सबैभन्दा बढी मूल्य भएको कम्पनी हो । यस वर्षको जनवरीदेखि मार्चसम्मको अवधिमा एप्पलले ५ अर्ब ९९ करोड डलरको खुद आम्दानी गरेको छ, जुन गतवर्षको सोही अवधिको भन्दा दोब्बर हो । एप्पलको यस्तो व्यापार विस्तारले अरू धेरै कम्पनी पछाडि परेका देखिन्छन् भने केहीले राम्रो पनि गरेका छन् ।त्यसमध्येको एउटा हरुवा माइक्रोसफ्ट कर्पोरेशन पनि भएको छ । गतवर्षनै माइक्रोसफ्टलाई विश्वको सबैभन्दा मूल्यवान् प्रविधि कम्पनीबाट एप्पलले विस्थापन गरेको थियो । गत शरद्कालीन प्रतिवेदनमा एप्पलको त्रैमासिक आम्दानीले माइक्रोसफ्टलाई उछिनेको थियो । यस वर्षको जनवरीदेखि मार्चसम्मको त्रैमासमा एप्पलले खुद आम्दानीमा पनि माइक्रोसफ्टलाई उछिनेको छ ।
त्यसैगरी एप्पलसँग पराजित हुने अर्को कम्पनी नोकिया कर्पोरेशन हो । अझै पनि अरू सबै कम्पनीभन्दा नोकियाले नै धेरै मोबाइल फोन बेच्ने गर्छ । तर, खासगरी स्मार्टफोनको क्षेत्रमा नोकियाको बजार हिस्सालाई एप्पलले कब्जा गरेको छ ।एप्पलसँग पराजित हुने अर्को प्रविधि कम्पनी रिसच इन मोसन लिमिटेड अर्थात् रिम हो । ब्ल्याकबेरीको निर्माता रिमको हालत पनि नोकियाकै जस्तो हुन पुगेको छ । मेमा सकिने त्रैमासमा आफ्नो खुद आय, आम्दानी र विक्री पहिले पूर्वानुमान गरेभन्दा कम हुने रिमले जानकारी दिएको छ । तर, एचटीसी कर्पोरेशन, सामसुङ इलेक्ट्रोनिक्स कम्पनी र मोटोरोला मोबिलिटी होल्डिङ्ग्स इङ्कले भने राम्रो गरेका छन् । गूगलको एण्ड्रोइड प्रणालीमा आधारित यी तिन कम्पनीका मोबाइल भने एप्पलकै आईफोन जस्तो आकार प्रकारका छन् । त्यसैगरी, अमेरिकाको नम्बर एक मोबाइल सेवा प्रदायक भेरिजन वायरलेसले आफ्नै किसिमको आईफोनबाट राम्रो अझ बढी मुनाफा गर्न सफल भएको छ । एपी/रासस
चीनद्वारा आशियानसँग सहयोग विस्तारको प्रतिबद्धता
वैशाख १७, जकार्ता (इण्डोनेशिया) । चीनका प्रधानमन्त्री वेन जिआबाओले बेइजिङले दक्षिणपूर्वी एशियाली देशहरूको सङ्गठन आशियानसँग सहयोग विस्तार गर्न चाहेको बताएका छन् । आफ्नो तीनदिने इण्डोनेशिया भ्रमणको अन्त्यमा दिइएको नीतिगत भाषणका बेला वेनले शनिवार त्यस्तो धारणा व्यक्त गरेका हुन् । इण्डोनेशिया दशओटा देश सदस्य रहेको आशियानमा आबद्ध सबैभन्दा ठूलो देश र वर्तमान अध्यक्ष पनि हो । वेनको आफ्नो भाषणमा आशियान र चीनबीच यसै वर्षको जनवरीदेखि लागू भएको स्वतन्त्र व्यापार सम्झौताको पनि प्रशंसा गरे । साथै, दूरसञ्चार, यातायात, विद्युत्देखि पूर्वाधार परियोजनालगायत विविध क्षेत्रमा तीव्र विकासलाई चीनले सहयोग पुर्याउने वेनले प्रतिबद्धता व्यक्त गरेका छन् । आशियानमा ब्रुनई, कम्बोडिया, इण्डोनेशिया, लाओस, मलेशिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनामलगायतका सदस्य देश आबद्ध छन् ।
यसैबीच, चिनियाँ कार उत्पादक बीवाईडी कम्पनीले इण्डोनेशियामा २ करोड डलरको लगानीमा कार वा ब्याट्री कारखाना निर्माण गर्ने भएको छ । चिनियाँ प्रधानमन्त्री वेन जिआबाओको दुईदिने इण्डोनेशिया भ्रमणका बेला इण्डोनेशियाली लगानी प्रमुख गीता विर्जवानले शनिवार उक्त जानकारी दिएका हुन् । बीवाईडीमा अमेरिकी अर्बपति वारने बफेटको पनि लगानी रहेको छ । इण्डोनेशिया दक्षिणपूर्वी एशियाकै सबैभन्दा ठूलो अर्थतन्त्र हो । त्यहाँ कारको उपभोक्ता मागमा तीव्र वृद्धि भइरहेको छ । बीवाईडीले इण्डोनेशियामा स्थानीय साझेदार खोजिरहेको पनि गीता विर्जवानले जानकारी दिए । रोयटर्स
पाकिस्तानबाट ठूलो मात्रामा गहुँ निर्यात
वैशाख १७, ह्यार्म्बर्ग (जर्मनी) । पाकिस्तानले ठूलो मात्रामा नयाँ बालीको गहुँ निर्यात गरेको छ । निजीस्तरका निर्यातकर्ताले गत हप्ता पाकिस्तानबाट २ लाखदेखि २ लाख २० हजार टन गहुँ निर्यात गरेका छन् । यूएइ, ताञ्जानिया, मलेशिया र भियतनामलगायतका देशका क्रेताहरूलाई प्रतिटन ३ सयदेखि ३ सय ९ डलरको दरले गहुँको नयाँ बाली विक्री गरिएको छ ।'यसै महीनादेखि भित्र्याउन थालिएको बाली अपेक्षाभन्दा निकै ठूलो परिमाणमा छ,’ एक व्यापारीले भने । पाकिस्तान सरकारले यस वर्ष२ करोड ५० लाख टन गहुँ बाली हुने पूर्वानुमान गरेको छ, जबकि वार्षिक गहुँ खपत २ करोड २० लाख टन रहेको छ । यसरी पाकिस्तानले यस वर्ष वार्षिक खपतभन्दा निकै बढी गहुँ उब्जनी गर्ने भएको छ । एशियाली व्यापारीहरूले शुक्रवार बताएअनुसार, पाकिस्तानी गहुँ निर्यातकर्ताहरूले निकै ठूलो मात्रामा गहुँ निर्यात गरिरहेका छन् । रोयटर्स
भारत-पाकिस्तान व्यापार सम्बन्धमा सुधार
वैशाख १७, इस्लामाबाद (पाकिस्तान) । भारत र पाकिस्तान व्यापारमार्फत शान्तिप्रक्रिया पुनः स्थापना प्रयासका लागि सहमत भएका छन् । आणविक शस्त्रास्त्र सम्पन्न यी दुई दक्षिण एशियाली प्रतिद्वन्द्वी छिमेकीबीचको शान्तिवार्ता २००८ को मुम्बई आक्रमणपछि भङ्ग भएको थियो । भारत खासगरी पाकिस्तानतर्फतेल र विद्युत् निकासीका लागि उत्सुक छ । उता, पाकिस्तानमा भने ऊर्जा सङ्कटले उद्योगधन्दा सुस्तिनुका साथै जनआक्रोश पनि बढिरहेको छ । तर, हाल पाकिस्तानले भारतबाट पेट्रोलजन्य पदार्थको आयातमाथि प्रतिबन्ध लगाएको छ ।
दुवैपक्षबीच इस्लामाबादमा २ दिनसम्म व्यापार वार्ता सम्पन्न भएको छ । आगामी २ महीनाभित्र विशेषज्ञका दुईओटा समूह स्थापना गर्ने दुवैपक्षद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । ती समूहले सबै किसिमका पेट्रोलियम पदार्थको व्यापारका लागि पहल र विस्तार गर्नेबारे अध्ययन गर्नेछन् । त्यसका साथै, विद्युत् व्यापारको सम्भाव्यताबारे पनि छलफल गरिनेछ । आगामी फेब्रुअरीमा शान्तिवार्तालाई जारी गर्ने दुईपक्षबीचको सहमतिकै अङ्गस्वरूप हालको व्यापार वार्ता भएको हो । दुई देशबीच विद्युत् प्रसारण लाइन तथा सीमावारपार पाइपलाइन निर्माण गर्ने सम्बन्धमा वार्ता गर्न आगामी अक्टोबरमा फेरि बैठक बस्ने पनि सहमति भएको छ । रोयटर्स
श्रीलङ्काको मूल्यवृद्धि दर ९ दशमलव ८ प्रतिशत
वैशाख १७, कोलम्बो (श्रीलङ्का) । श्रीलङ्काको वार्षिक मूल्यवृद्धि अप्रिलमा २७ महीनाकै उच्च ९ दशमलव ८ प्रतिशत पुगेको छ । यसरी मूल्यवृद्धिले पूर्वानुमानलाई नाघ्नुका साथै केन्द्रीय बैङ्कमाथि कडा मौद्रिक नीति ल्याउन दबाब परेको छ । अप्रिलको उपभोक्ता मूल्य वा वार्षिक मूल्यवृद्धि मार्चको ८ दशमलव ६ प्रतिशतभन्दा निकै माथि पुगेको छ । माग बढ्नुका साथै अप्रिलको शुरूदेखि सरकारले तेलको उपभोक्ता मूल्यलाई अन्तरराष्ट्रिय मूल्यअनुरूप नै निर्धारण गरेकाले तीव्र मूल्यवृद्धि भएको हो । वार्षिक औसत मूल्यवृद्धि मार्चको ६ दशमलव २ प्रतिशतबाट बढेर अप्रिलमा ६ दशमलव ६ प्रतिशतमा पुगेर १९ महीनायताकै उच्च भएको छ ।
त्यसैगरी तेल र खाद्यवस्तुबाहेकको मूल्यवृद्धि (कोर इन्फ्लेशन) पनि मार्चको ३ दशमलव ६ प्रतिशतबाट बढेर अप्रिलमा ४ दशमलव ७ प्रतिशत पुगेको छ । त्यसबाट श्रीलङ्काको ब्याजदर नीतिले पनि मूल्यवृद्धि गराएको देखिन्छ । 'कोर इन्फ्लेशन बढ्नुले मागजन्य दबाब बढेको देखिन्छ । आजैबाट हामीले मौज्दात अनुपात बढाइसकेका छौं भने अन्य उपयुक्त कदम पनि चाल्नेछौं,’ केन्द्रीय बैङ्कका प्रमुख अर्थशास्त्री के. डी. रणसिङ्घेले भने । रोयटर्स
Admin 2011-05-01