चीन, भारत र इण्डोनेशियाः सबैभन्दा तीव्र वृद्धिदरका अर्थतन्त्र
चैत १७, वाशिङटन (अमेरिका) । विश्वका ठूला अर्थतन्त्रहरूमा देखिएको महामन्दीको सुधार असन्तुलित देखिएको छ । कुनै राष्ट्रले तीव्र वृद्धि गरिरहेका छन् भने कुनैले अत्यन्त सुस्त गतिमा । चीन, भारत र अन्य प्रमुख अर्थतन्त्रले २००८ र २००९ को मन्दीबाट उम्केपछि पुनः पुरानै गतिमा तीव्र वृद्धि गरिरहेका छन् । उदीयमान अर्थतन्त्रहरूले मन्दीबाट छिट्टै पार पाएबाट उनीहरू आफै स्वतन्त्र रूपले सञ्चालन हुन सक्ने गरी ठूलो र बलियो भइसकेका देखिन्छन् । जबकि अमेरिका र अन्य धनी देशहरू भने अझै मन्दीबाट पार पाउन संघर्षरत नै देखिन्छन् ।
पहिलेजस्तो विकासशील देशहरू अमेरिकाको आर्थिक नेतृत्वमा भर परेका छैनन् । बरू विकासशील देशहरूको तीव्र आर्थिक वृद्धिले नै विश्वव्यापी अर्थतन्त्रलाई पुनर्बहालीतर्फ डोर्याइरहेको छ । विगत ३० वर्षा विश्वको आर्थिक समीकरणमा नै ठूलो परिवर्तन आइसकेको छ । विश्व बैङ्कका अनुसार, विश्वव्यापी आर्थिक उत्पादनमा विकासशील विश्वको हिस्सा १९८० को १८ प्रतिशतबाट बढेर गतवर्ष२६ प्रतिशत पुगिसकेको छ ।एशोसिएटेड प्रेस (एपी)को विश्वव्यापी अर्थतन्त्रबारेको सर्वेक्षण अनुसार, विश्वमा सबैभन्दा तीव्र वृद्धि गरिरहेका तीन अर्थतन्त्र चीन, भारत र इण्डोनेशिया विकासशील देश हुन् । त्यसैगरी सबैभन्दा सुस्त वृद्धिदर भएका तीन देश स्पेन, इटाली र बेलायत यूरोपेली देश हुन् । अमेरिका भने अर्जेण्टिना, दक्षिण अफ्रिकालगायत तीव्र वृद्धि गरिरहेका २२ देशमध्ये १२औं स्थानमा छ । एएफपी/रासस
ग्रीसमा डाक्टर र शिक्षक हडतालमा
चैत १७, एथेन्स (ग्रीस) । ग्रीसमा सरकारी स्कूलका शिक्षक र अस्पतालका डाक्टर काम छाडेर हडतालमा उत्रेका छन् । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च कटौतीको योजना ल्याएपछि उनीहरू हडतालमा उत्रेका हुन् । गएको मेमा ग्रीसलाई ऋण सङ्कटबाट उद्धार गर्नईयूले १ खर्ब ५५ अर्ब डलर ऋण दिएको थियो । त्यसैले ऋणग्रस्त ग्रीसले सरकारी खर्च घटाउन खोजिरहेको छ । गतवर्ष पनि सरकारको खर्च कटौती योजनाको विरोधमा प्रदर्शन र हडताल भएका थिए । सामाजिक सुरक्षा कोष प्रणालीमा रहेका डाक्टरहरू पनि बुधवार दोस्रो दिनको हडतालमा उत्रेका छन् । निश्चित अवधिको करारलाई स्थायी गरिनुपर्ने ती डाक्टरहरूको माग छ । त्यसैगरी स्वास्थ्य र शिक्षा सङ्गठनले स्कूल र अस्पताललाई गाभ्ने योजनाको पनि विरोध गर्ने
भएका छन् । एपी/रासस
एशियाली विपत्तिको क्षति अनुमान
चैत १७, ज्युरिच (स्वीट्जरल्याण्ड) । स्वीस बीमा कम्पनी ज्युरिच फाइनान्सल सर्भिसेजले यस वर्षा पाँच ठूला प्राकृतिक विपत्तिबाट ५० करोड डलरको क्षतिपूर्ति दाबी गरिने अनुमान गरेको छ । तीनमा अष्ट्रेलिया, जापान र न्यूजील्याण्डमा आएका पाँच विपत्ति छन् । जनवरी र फेब्रुअरीमा अष्ट्रेलियाको ब्रिसबेनमा बाढी, भिक्टोरियामा हुरी र यासीमा चक्रावतले क्षति पुर्याएका थिए । त्यसैगरी, फेब्रुअरीको अन्तिमतिर न्यूजील्याण्डको चर्चक्राइष्टमा भूकम्पले क्षति पुर्याएको थियो । गत मार्च ११ मा भने जापानले शताब्दीकै ठूलो भूकम्प र सुनामी क्षति बेहोरेको छ । ज्युरिचले करबाहेक ३५ करोड ३० लाख यूरोको क्षतिपूर्ति दिनुपर्ने प्रारम्भिक अनुमान गरेको छ । तर, न्यूजील्याण्ड र खासगरी जापानको क्षतिको पूर्ण विवरण अझै आइनसकेकाले क्षतिपूर्तिको पूर्ण विवरण आउन पनि समय लाग्ने ज्युरिचको भनाइ छ । एएफपी/रासस
भोडाफोनद्वारा एस्सारको हिस्सा खरीद
चैत १७, नयाँ दिल्ली (भारत) । बेलायती सञ्चार कम्पनी भोडाफोन ग्रूपले ५ अर्ब डलरमा उसको भारतीय साझेदार एस्सारको स्वमित्व खरीद गरेको बिहीवार बताएको छ । भोडाफोन र एस्सारको भारतीय मोबाइल फोन उद्योगमा संयुक्त लगानी छ । भोदाफोन एस्सार भनिने उक्त मोबाइल सेवाप्रदायक भारतको तेस्रो ठूलो मोबाइल फोन कम्पनी हो । कुल ५ अर्ब डलरको नगद भुक्तानी २०११ को नोभेम्बरसम्ममा अन्तिम फछर्योट भइसक्ने भोडाफोनको विज्ञप्तिमा भनिएको छ । एस्सार ग्रूपले उसको भोडाफोन एस्सारमा रहेको हिस्सा बेच्न चाहेको भनिएको छ । त्यसपछि भोडाफोनले भोडाफोन एस्सारको ७५ प्रतिशत हिस्सा नियन्त्रण गर्नेछ । यसअघि भोडाफोनले २००७ मा हचिशन एस्सारको ६७ प्रतिशत हिस्सा ११ अर्ब डलरमा खरीद गरेको थियो ।एएफपी/रासस
एसडीआर निर्धारणमा युआनको भूमिका
चैत १७, नानजिङ (चीन) । जी२० का अर्थमन्त्रीहरूको नानजिङ बैठकले अन्तरराष्ट्रिय वित्तमा चिनियाँ मुद्रा युआनले बढी भूमिका पाउनुपर्नेमा अनौपचारिक सहमति गरेको छ । तर, युआनलाई अमेरिकी डलरकै विकल्पका रूपमा भने प्रयोग गर्न नसकिने पनि बैठकको निर्णयछ । स्पेशल ड्रविङ राइट्स (एसडीआर) निर्धारण प्रक्रियामा युआनलाई पनि समावेश गर्नेबारे जी२० ले अध्ययन गर्नुपर्नेमा सहमति भएको फ्रान्सेली अर्थमन्त्री क्रिष्टिने लागार्देले बताइन् । सरकारहरूबीचको सम्झौतामा प्रयोग गर्न अन्तरराष्ट्रिय मुद्रा कोषले सृजना गरेको छद्म मुद्रालाई एसडीआर भनिन्छ । एसडीआर निर्धारण गरिने मुद्रा समूहको विस्तारका लागि तत्काल काम शुरू गरिने पनि क्रिष्टिनेले जानकारी दिइन् । हाल एसडीआर समूहमा अमेरिकी डलर, जापानी येन, यूरो र ब्रिटिश पाउण्ड रहेका छन् । त्यसमा अब युआन पनि थपिने भएको छ । युआनलाई एसडीआर समूहमा समाहित गरेपछि विश्व अर्थतन्त्र र वित्तमा चीनको भूमिका झनै बढ्नेछ । गतवर्ष नै विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा चीनले जापानलाई उछिनिसकेको छ । विश्व अर्थतन्त्रमा बढ्दो भूमिकासँगै चीनले युआनको वृद्धिदरमाथि गरेको नियन्त्रणलाई पनि खुकुलो पार्दै जाने जी२० का अन्य देशले अपेक्षा गरेका छन् ।
द कोरियाको आर्थिक वृद्धि आठ वर्षकै उच्च
चैत १७, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको अर्थतन्त्र २०१० मा ८ वर्षयताकै उच्च ६ दशमलव २ प्रतिशतले बढेको छ । केन्द्रीय बैङ्कले यसअघिको ६ दशमलव १ प्रतिशतको अनुमानलाई सच्च्याउँदै बुधवार उक्त जानकारी दिएको हो ।'गतवर्षकोरियाली अर्थतन्त्रले गति लिएको छ । पूर्वाधार लगानीमा तीव्र सुधार, निर्यातमा वृद्धि र निजीक्षेत्रको खपत बढेकाले अर्थतन्त्रमा सुधार देखिएको हो,’ बैङ्क अफ कोरियाले एक विज्ञप्तिमा भनेको छ ।त्यसैगरी २०१० मा घरेलु माग बढेकाले त्यसबाट अर्थतन्त्रकै सम्पूर्ण वृद्धिमा सकारात्मक प्रभाव परेको बैङ्कले बताएको छ । २०११ मा भने आर्थिक वृद्धि ४ दशमलव ५ प्रतिशतमा झर्ने बैङ्कको अनुमान छ । एएफपी/रासस
ज्याक डर्सी ट्वीटरका कार्यकारी अध्यक्ष
चैत १७, सान फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक ज्याक डर्सी नयाँ भूमिकामा फेरि ट्वीटरमा आउने भएका छन् । ३५ वर्षीय डर्सी २००८ मा ट्वीटरको प्रमुख कार्यकारीबाट राजीनामा गरेका थिए । उनी अब ट्वीटरको कार्यकारी अध्यक्षका रूपमा बहाल हुनेछन् । ट्वीटरमा सबैभन्दा धेरै शेयरहोल्डर भएकामध्ये डुर्सी पनि एक हुन् । डुर्सी हाल काम गरिरहेका स्क्वायर भनिने मोबाइल भुक्तानी सेवा कम्पनीको कार्यकारी अधिकृत पदमा पनि रहिरहने उनको योजना छ । स्क्वायरको कार्यालय पनि सान फ्रान्सिस्कोस्थित ट्वीटरको मुख्य कार्यालयनजिकै नै छ । ट्वीटरले आफ्नो लोकप्रियतामार्फत विज्ञापन देखाएर आम्दानी बढाउनेतर्फ प्रयासरत छ । एक विज्ञापन अनुसन्धान कम्पनी इमार्केटर इङ्कका अनुसार, ट्वीटरले यस वर्ष लगभग १५ करोड डलरको आम्दानी गर्नेछ । एपी/रासस
फेसबूकले डिप्रेशन गराउन सक्ने चेतावनी
चैत १७, शिकागो (अमेरिका) । फेसबूकमा धेरैबेर बिताउने किशोर किशोरीमा डिप्रेशनको समस्या बढ्न सक्ने अमेरिकाका बालविशेषज्ञहरूको संस्थाले चेतावनी दिएको छ । यस्तो अवस्थालाई 'फेसबूक डिप्रेशन’ भनिएको छ । तर, अन्य कारणबाट उब्जेको डिप्रेशन बढने वा फेसबूकको धेरै प्रयोगले नै डिप्रेशन ल्याउनेबारे भने अनुसन्धानकर्ताहरूमा मतभिन्नता देखिएको छ ।फेसबूकका कतिपय पक्षले खासगरी कमजोर आत्मविश्वास भएका बच्चाहरूलाई अप्ठेरोमा पार्ने डा. ग्वेन ओकिफको विचार छ । कतिपय स्टाटस अपडेट, अन्य साथीले रमाइलो गरेका फोटो आदिले केही बच्चाहरूलाई भने आफूले त्यस्तो रमाइलो गर्न नपाएको दुःख लाग्न सक्छ । त्यस्तो पीडा वास्तविक जीवनको सामाजिक स्थलको भन्दा पनि बढी पीडादायी हुन सक्छ, किनभने फेसबूकले वास्तविकतालाई बेग्लै किसिमले प्रस्तुत गर्छ । त्यसैले, संस्थाले सामाजिक सञ्जालबारे एउटा निर्देशिका नै जारी गरेको छ । यसअनुसार, केटाकेटीहरूलाई फेसबूकबाट हुन सक्ने डिप्रेशन, साइबरबुलिङ, सेक्सटिङलगायतका अन्य अनलाइन जोखिमबारे जानकारी दिनुपर्छ ।
शिकागो हाइस्कूलकी १६ वर्षीया एबी एबल्ट फेसबूक चलाइरहन्छिन् । आफूलाई फेसबूकले डिप्रेशन नगराएको भए तापनि कतिपय अरूलाई त्यसले असर गरेको हुन सक्नेमा एबल्ट पनि सहमत छिन् । 'यदि कसैको धेरै साथी छैनन् वा त्यति रमाइलो गरिरहेका छैनन् भने अरूको धेरै साथी वा धेरै रमाइलो देखेर दुःख लाग्न सक्छ,’ उनले भनिन् । त्यसैगरी स्टाटस र कमेण्टमा गरिएका व्यक्तिगत टिप्पणीले पनि मानसिक समस्या ल्याउन सक्ने डाक्टरहरूले औंल्याएका छन् । फेसबूकको प्रयोग आफैमा खराब नभएको बरू त्यसले कतिपय सकारात्मक प्रभाव पनि परेको उनीहरूको विचार छ । तर, एउटा सीमाभन्दा बढी जाँदा भने त्यसले नोक्सान गर्ने डाक्टरहरूले सुझाव दिएका छन् । एपी/रासस
Admin 2011-04-01